विकासन्युज

ठूल्ठूला भवन र चिल्ला गाडी बैंकहरुकै कारण पाइएको हो, नाफा कमाउनु पर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले नाफा कमाउनु हुन्न भन्ने तर्क राख्न नहुने बताएका छन् । साेमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुको नाफा कमाएको भन्दै वहस भएको बताउँदै त्यस्तो धारणा राख्न नहुने बताएका हुन् । ‘अहिले शहरमा देखिने ठूल्ठूला भवन र चिल्ला गाडीहरु बैंकहरुकै कारण भएको हो, अनावश्यक नाफा कमाए भन्नु हुँदैन, बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ, ठूलो बैंक हुँदा जिम्मेवारी बढेको छ, कान्तिपथमा सानो कुनामा रहेको फाइनान्स कम्पनी आज अन्तर्राष्ट्रिय स्तरको बैंक बनेकाे छ, बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ,’ उनले भने । उनले पछिल्ला दिनमा पूर्वाधारमा बैंकको ठूलो भूमिका निर्वाह गरेको गरेकाे बताए । अध्यक्ष गाेल्छाले  पछिल्लो समय अर्थतन्त्र संकुचित हुँदा उद्योगी व्यवसायीको मनोबल घटेको भन्दै नयाँ सरकार आएपछि केही सुधार भएकाे दाबी गरे । यस्तै, उनले मौद्रिक नीतिले क्याल्कुलेटिभ रिस्क लिनु पर्ने बताउँदै निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउनु पर्नेमा जाेड दिए ।

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारको पहल

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शङ्कदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ । सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन् । कम्पनीको दबाबका विरुद्ध आवाज उठाउँदा आफूहरुमाथि कुटपिटसमेत भएको उनीहरुको गुनासो छ । कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरुलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकको भनाइ छ । बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सबल हुन्छन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सक्षम र सबल हुने बताएका छन् । उनले मर्जरले बैंक तथा वित्तीय क्षेत्रमा शुसासन कायम गर्न पनि सहयोग पुर्याउने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं बीच भएको मर्जर पछि सोमबार एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा गभर्नर अधिकारीले सो बताएका हुन् । ‘बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सवल हुनेछन्, सुशासन कायम हुनेछ’, गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले एक दशक अघि नै राष्ट्र बैंकले मर्जरको नीति लिएको बताउँदै २०७० को दशकमा वित्तीय क्षेत्र सुशासनको अभाव देखिएको बताए । बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको हुँदा मर्जर तथा एक्विजिसनको नीति लिएको उनले बताए । २ सय ६८ को संख्यामा रहेका बैंकिङ संस्थाहरु अहिले ६७ वटामा झरेको गभर्नर अधिकारीको भनाइ छ । बैंकहरुको ठूलो हुँदा सेल्फ बेसिसमा अघि बढ्नुपर्ने र सानो कर्जालाई प्राथमिकता दिनुपर्ने गभर्नर अधिकारीले बताएका छन् ।

ढकालको नेतृत्वमा २१ संस्थालाई एउटा बनाउनु असाधारण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ वटा विद्युतीय संस्थालाई मर्ज गरेर एक बनाउनु असाधारण भएको बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको नेतृत्वको बैंक मर्जरले वित्तीय क्षेत्रमा ठूलो फड्को मारेको बताए । ‘मर्जरले ठूला परियोजनामा लगानीको स्रोत निश्चित भएको छ, बैंकिङ क्षेत्रमा दखिएको अस्वस्थ प्रतिस्पर्धा हट्दै जाने हाम्रो अपेक्षा छ’, उनले भने, ‘अर्थतन्त्र सुधार गर्ने सरकारको मुख्य एजेन्डा हो, निजि क्षेत्रका माग सम्बोधन गर्न र अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री, गभर्नर र म आफू स्वयंम बसेर छलफल गरिरहेका छौँ ।’ यस्तै, उनले पुँजी बजारको सकारात्मक सुधारले अर्थतन्त्र सहज भएको बताउँदै बत्तीय क्षेत्रले आपसी समझदारी अनुसार लगानी गर्नुपर्नेमा जोड दिए । ‘चन्द्र ढकालको आर्थिक विकास र मेरो राजनीतिक विकास एउटै हो, हामी दुई सामान्य परिवारबाट आएर छोटो समयमा यति धेरै उचाइ हासिल गर्नु आफैमा एउटा ठूलो काम हो’, उनले भने ।

राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा प्रभावित बनेको थियो । सेवा प्रभावित भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो । राहदानी विभागले आज एक सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ । राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको बैठकमा निर्देशन दिएका थिए । सोही निर्देशनानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसीटिभी फुटेज

काठमाडाैं । सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी जडान गर्न सकिएको छैन । नेपाल प्रहरीको अभिलेखले पनि धेरै घटना सिसिटिभी को श्रव्य दृश्यकै आधारमा अनुसन्धान गरी निष्कर्षमा पुगिएको र कारबाही भएका छन् । समाजमा शान्तिसुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारबाही गर्न, चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलापलाई न्यूनीकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउन सिसिटिभी प्रभावकारी रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् । उनले प्रमाण बेसमा काम हुने भएकाले सिसी क्यामेरा महत्त्वपूर्ण रहने र अझै धेरै ठाउँमा आवश्यक भएको बताए । गत साउन २४ गते दिउँसो काठमाडौँ लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा फर्किनन् । साँझ प्रहरीकहाँ जानकारी पुगेपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सिसिटिभी फुटेजका आधारमा उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लाग्यो । चालक फेला पारी सोधपुछ गरेपछि प्रहरीले किशोरीलाई फेला पार्न सफल भयो । काठमाडौँको पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा एक महिलाको ५० हजार हरायो । त्यहाँको सिसिटिभी परीक्षण गर्दा एकजना मोटरसाइकल चालकले टिपेको फेला पारेपछि उक्त रकम पनि फिर्ता गराउन प्रहरी सफल भयो । यी दुईवटा प्रतिनिधि घटना हो । यस्तै र अन्य आपराधिक घटना तथा दुर्घटनाको सफल अनुसन्धानमा सिसिटिभी क्यामेराको फुटेज महत्त्वपूर्ण सहयोग बन्दै आएको छ । त्यति मात्रै होइन दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गर्न समेत सिसिटिभी प्रभावकारी बनेको प्रहरी प्रवक्ता राई बताउँछन् । नेपाल प्रहरीले आफ्नै अप्टिकल फाइबर प्रयोग गरी २०६३ सालमा ११ वटा क्यामेरामार्फत गतिविधि नियन्त्रण सुरु गरेको थियो । हाल काठमाडौं उपत्यकामा मात्रै तीन हजार दुई सय ३१ क्यामेराहरू सञ्चालित छ । प्रहरीले यो सङ्ख्या बर्सेनि बढाउँदै लगिरहेको छ । तर अझै पर्याप्त छैन । हाल नेपालभर १० हजार एक सय ३२ सिसी क्यामरा जडान भएकामा सात हजार चार सय २८ चालू अवस्थामा रहेका छन् । गत आर्थिक वर्ष ०७८/०७९ मा सिसिटिभी फुटेजका आधारमा सात सय ८२ र चालु आवमा दुई सय ६८ वटा घटनाको सफल अनुसन्धान भएको प्रहरीको अभिलेखमा उल्लेख छ । आव ०७८/०७९ मा उपलब्ध गराइएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लङ्घन गरी फरार सात हजार चार सय सात, ट्राफिक लेन/फिल्ड अनुशासनअन्तर्गत तीन हजार आठ सय ४० जना कारबाहीमा परेका थिए । चालु आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका तीन हजार नौ सय ८७, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही एक हजार आठ सय ५७ जनालाई सिसिटिभी कै आधारमा पहिचान गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । कुनै पनि सवारी दुर्घटना वा घटनापश्चात् पीडितले सिसिटिभी फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्तपश्चात् सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभी फुटेज प्राप्तिका लागि कारणसहित काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरेपश्चात् मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ ।

विद्युतीय चुलो जडानका लागि सिन्धुपाल्चोकले माग्यो प्राधिकरणसँग सहयोग

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि मागपत्र बुझाएका छन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष नेपालसहितको टोलीले मागपत्र बुझाएको हो । आगामी आवभित्र पालिकाभित्रका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिए । उनले जनताका आवश्यक दैनिकीलाई मध्यनजर गर्दै जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताए । उनले गाउँपालिकालाई दाउरा र ग्यास चुलोरहित बनाउन सो अवधारणालाई अघि बढाइएको बताए । मागपत्रलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो कार्यक्रम सञ्चालनका लागि आवश्यक ट्रन्सफर्मर, प्लास्टिक, कोटेड, तारलगायत आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

आज बैंकिङ क्षेत्रका लागि ऐतिहासिक दिन, ग्लोबल आइएमई बैंक लिडर बन्यो : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जर पश्चात् ग्लोबल आइएमई बैंक नम्बर वान बन्ने बताएका छन् । सोमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले यसअघि पनि नम्बर वान रहेको बैंक मर्जर पश्चात् झनै नम्बर वान बैंक बन्ने दाबी गरेका हुन । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर नेपाली बैंकका लागि आजको दिन ऐतिहासिक दिन भएको भन्दै उनले मर्जरको नेतृत्व ग्लोबल आइएमई बैंक ले नै गरेको बताए । ‘५ वाणिज्य बैंक, १० विकास र ६ वटा फाइनान्स कम्पनी गरि २१ वटा संस्थाको एउटा बैंक बनेको छ, दुई बराबर दुई चार होइन ५ को नितिमा गएको छ’, उनले भने, ‘हाम्रो मर्जरले अन्य संस्थालाई पनि मर्जरमा जान प्रोत्साहन गरेको छ ।’ उनले बैंकका सेयरधनी लगायत कर्माचारिको अथक प्रयासले मर्जर सफल भएको भन्दै बैंक अधिकास सुचकमा नम्बर वान भएको बताए । मर्जर पश्चात १० प्रतिशत बजार हिस्सा ग्लोबल बैंक्ले ओगट्ने बताउँदै आकारमा मात्रै नभएर गुणस्तरीयता मा पनि रचनात्मक परिवर्तन ल्याउने उनले बताए । एउटै परियोजना निर्माण गर्न धेरै बैंकको सहयोग आवस्यक रहेकोमा मर्जर पश्चात् एउटै बैंक ले ठूलो परियोजना निर्माण गर्ने उनको भनाई छ ।