देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताए । ‘अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको छ, वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा छ, आयात गर्ने स्थिति छैन र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको छ, अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको छ,’ उनले भने । यस्तै, अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए । ‘विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको छ र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको छ,’ उनले भने ।
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त
काठमाडाैं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलले दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए । उनी २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ ।
जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुन्छ, गृहमन्त्री लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनमत अनुसारको सरकार बनेको भन्दै जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको बताए । अध्यक्ष लामिछानेले प्रतिपक्षीले रचनात्मक सुझाव दिए सरकारले सोहीअनुसार काम गर्ने बताए। उनले प्रतिपक्षले कुनै विषय अड्काउने नभई सहयोग गरेर काम गर्ने अपेक्षा सरकारले लिएको बताए ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी गराए । प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।
सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस काफ्ले नियुक्त
काठमाडाैं । सिबिआईएल क्यापिटलकाे अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । क्यापिटलकाे आइतबार सम्पन्न भएकाे संचालक समितिकाे बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलकाे तर्फबाट राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईंटेलको उपस्थिति रहेको थियो । सि.बि.आई.एल.क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हाे । यस कम्पनीमा कर्मचारी संचय कोष तथा उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ ।
समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा उनले जोड दिए । ‘हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ’, उनले भने, ‘हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।’ हजारौं शहीद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद बनेको खुसी व्यक्त गरे । ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं’, उनले भने । फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भएपनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उनले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनु पर्ने बताए । व्यवस्थापिक संसद सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्दै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गरे ।
सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयका आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गरेको पाण्डेले बताए । बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराएका थिए । बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बेवारिसे सवारी साधन वर्षौंदेखि प्रहरी नियन्त्रणमा
काठमाडौं । यहाँ वर्षौदेखि प्रहरी नियन्त्रणमा रहेका एक दर्जन बेवारिसे सवारी साधन जीर्ण बन्दै गएका छन् । जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको एउटा बोलेरो गाडि र मोटरसाइकल गरी १२ सवारी साधन चार वर्षदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ती सवारी साधनका कुनै पनि कागजात नभएको र वर्षौदेखि सवारी धनीसमेत सम्पर्कमा आएका छैनन् । लामो समय प्रहरी कार्यालयको खुल्ला स्थानमा राखिँदा उक्त सवारीसाधन काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । मोटरसाइकलका अधिकांश भाग घामपानीले काम नलाग्ने अवस्थामा पुगिसेका छन् । कार्यालयले लिलाम बिक्री गरी सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताइएको छ । कार्यालय परिसरमा १२ बेवारिसेसहित अन्य ३२ वटा कागजात चुस्तदुरुस्त नभएका सवारी साधन पनि वर्षौदेखि थन्किएका छन् । ट्राफिक जाँचका क्रममा चार वर्ष अघिदेखि समातिएका सवारी साधन लिन नआउँदा ती पनि कवाडमा परिणत भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।