एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए
जापान । एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ। रासस
सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’ प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए । ‘देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ’, उनले भने ।
नवलपरासीको अवैध क्रसर उद्योग बन्द
नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो । मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । ‘बन्द गरिएका उद्योगलाई तीन दिनभित्र सक्कल कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्र्पक राख्न भनिएको छ’, पोखरेलले भने । सुनवल नगरपालिका ११ को ईन्द्रेणी क्रसर उद्योग, सुस्ता गाउँपालिका ५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका १३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका २ को मामाभाञ्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका ४ को नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका ९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको हो । सुनवल ४ मा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा थिए ।
मंगलबार विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए । ज्येष्ठ सदस्य जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराए ।
४६ अंकले बढ्यो सेयर बजार, ७ हाइड्रो कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । सोमबार पनि सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ४६.७६ अंकले बढेको छ । नेप्सेको अनुसार सेयर बजार बढेर २२११.३८ विन्दुमा पुगेको छ । यस्तै, आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा ७ वटा नै हाइड्रो कम्पनीहरु रहेको छ भने एउटा लघुवित्त रहेको छ । नेप्सेको अनुसार आज १४ करोड कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार रिदी हाइड्रोपावरको २० करोड रुपैयाँको भएको छ ।
खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै
काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् । उनका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन । उनले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताए । उनले भने, ‘कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरु खोपबाट बञ्चित भएको देखिएको छ ।’ उनले आजदेखि खोप लगाउने काम सुरु भएको समेत बताए । ‘प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको छ, धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उहाँहरुले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ’, उनले भने । हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन् । उनले भने, ‘खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जान्छ, असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रुपमा देखिने गरेको छ ।’ बाँकेमा खोपको स्थितिलाई हेर्दा आर्थिक वर्ष २०७८/७९ मा दादुराविरुद्धको पहिलो मात्रा लगाउने ९८ प्रतिशत छन् भने दोस्रो मात्रा लगाउने ९५ प्रतिशत छन् । आव २०७७/७८ मा दुवै मात्रा खोप लगाउने ९२ प्रतिशत छन् । आव २०७६/७७ मा ९० प्रतिशतले पहिलो मात्रा र दोस्रो मात्रा लगाउने ७९ प्रतिशत छन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अध्ययनले सन् २०२२ मा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको देखाएको छ । सन् २०१६ मा खोपबाट बञ्चित हुने बालबालिको सङ्ख्या एक प्रतिशत मात्र देखिएको छ । गत पुस १२ गते नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ५ मा दादुराका पहिलो बिरामी देखिएका थिए । दादुराका लक्षण देखिएका १५ बिरामीमध्ये पाँच को नमूना परीक्षण गरेपछि दादुरा पुष्टि भएको हो । वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा देखिएको छ । आइतबारसम्म उपमहानगरका १० वडा र खजुरा गाउँपालिकाको वडा नं २ मा दादुराका बिरामी फेला परेका थिए । सबैभन्दा धेरै बिरामी उपमहानगरपालिकाको वडा नं ८ मा २८ र वडा नं ७ मा २५ जना रहेका छन् । वडा नं ९, १०, ११, १५ र २२ मा १० बिरामी भेटिएका हुन् । पाँच महिनाका बालबालिकादेखि ६५ वर्ष उमेर समूहकामा दादुराका बिरामी छन् । दादुराका कारण एक बिरामीको मृत्यु भइसकेको जनाइएको छ । दादुराका बिरामीलाई फोक्सो र कानको समस्यादेखि अपाङ्गतासम्म हुनसक्छ । यसबाट मृत्युको समेत जोखिम हुने गर्छ । सम्भावित स्वास्थ्य जटिलता कम गर्न शिविरमार्फत तत्काल उपचारको व्यवस्था गरिएको छ । प्रभावित क्षेत्रमा केन्द्रबाट बालचिकित्सक, विश्वस्वास्थ्य सङ्गठन र युनिसेफको समूह खटिएको छ । दादुराका बिरामी पत्ता लगाउने, शिविर खडा गरेर खोज्ने क्रम जारी छ । डा दाहालका अनुसार दादुराको महामारी नियन्त्रण गर्न बिरामी पत्ता लगाउने र तत्काल उपचार गर्ने, बिरामीलाई भिटामिन ‘ए’ दिने, आइसोलेनमा राख्ने तथा खोप लगाउने काम भइरहेको छ । सङ्क्रमण नियन्त्रण गर्न दुई हप्ता विद्यालय बन्द गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । धुलिखेल अस्पतालले आगामी दिनमा सो क्षेत्रका समुदायमा खोपप्रतिको गलत बुझाइ र सचेतना बढाउन अहिले अध्ययन टोलीसमेत खटाएको छ । स्वास्थ्यकर्मीले उपमहानगरपालिकालाई झण्डै दुई साता विद्यालय बन्द गर्न सुझावसमेत दिएको छ ।
सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छ : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले संसद्मा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहमा विगत झैँ दृढताका साथ उभिने बताए । अध्यक्ष लिङ्देनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन, सबैको विचारभन्दा माथि देश छ, देशभन्दा माथि नागरिक छन्, त्यसैले देशलाई शिरमा राखेर मुलुकका यावत् समस्यालाई सामूहिकरुपमा समाधान गर्ने दिशातर्फ अग्रसर हुनसक्नुपर्छ ।’ अध्यक्ष लिङ्देनले संसद्मा पार्टीको अपेक्षित सङ्ख्या नभए पनि जनमतको सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । सबै राजनीतिक दल मिलेर देशको समस्या समाधान गर्ने जनादेश रहेको भन्दै उनले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने बताए । ‘जनताले कुनै एउटै राजनीतिक दलमाथि विश्वास गर्न सकेनन् र अहिलेको जनमतले पनि त्यही भनेको छ । सबै राजनीतिक दल मिलेर मात्रै देशको समस्याको निकास गर्न सकिन्छ भन्ने जनादेश छ’, अध्यक्ष लिङ्देनले भने । उनले जनताले कृषिका लागि बीउ, मल पाउन नसकेको र विकास निर्माणको काम पनि सुस्त रहेको भन्दै यी सबै समस्याको समाधान गर्न आफूहरु प्रतिनिधिसभामा आएको उल्लेख गरे ।
थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग
काठमाडौं । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ । विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन् । जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न सङ्घ संस्थाले बत्ती जडान गरेका हुन् । उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बेलबहादुर भुजेलले बताए । उनले चालु आर्थिक वर्षमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँदोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको जानकारी दिए । विभागले बत्ती जडान गरे पनि सञ्चालन भने ट्राफिक कार्यालयले गर्दै आएको छ । ‘ललितपुर महानगरलगायतका स्थानीय तहले आफैँ पनि ट्राफिक बत्ती जडान गरिरहेका छन्’, उनले भने, ‘कतिपय स्थानमा बत्ती जडान गर्दा समन्वय हुनुपर्ने भए पनि नभएको पाइएको छ ।’ उनले फरक–फरक निकायबाट जडान भएका बत्तीको प्रविधिमा एकरुपता नभएकाले एकरुपता ल्याउने गरी काम अघि बढाइएको बताए । ‘यसका लागि वान डोर सिस्टम लागू गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘अगामी दिनमा ‘एडप्टिभ ट्राफिक कन्ट्रोल’ प्रविधि जडान गरिनेछ ।’ उनले सुरुमा बढी चाप हुने स्थानमा बत्ती जडान गरेपछि अन्य स्थानमा जडान गरिने बताए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा निर्माण भएको भक्तपुरको कोटेश्वर(सूर्यविनायक सडकमाा जाइकाले नै बत्ती जडान गरेका थियो । हाल उक्त सडक खण्डमा रहेका पाँच वटा बत्तीले काम गरिरहेको विभागको भनाइ छ ।