विकासन्युज

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयका आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गरेको पाण्डेले बताए । बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराएका थिए । बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बेवारिसे सवारी साधन वर्षौंदेखि प्रहरी नियन्त्रणमा

काठमाडौं । यहाँ वर्षौदेखि प्रहरी नियन्त्रणमा रहेका एक दर्जन बेवारिसे सवारी साधन जीर्ण बन्दै गएका छन् । जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको एउटा बोलेरो गाडि र मोटरसाइकल गरी १२ सवारी साधन चार वर्षदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ती सवारी साधनका कुनै पनि कागजात नभएको र वर्षौदेखि सवारी धनीसमेत सम्पर्कमा आएका छैनन् । लामो समय प्रहरी कार्यालयको खुल्ला स्थानमा राखिँदा उक्त सवारीसाधन काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । मोटरसाइकलका अधिकांश भाग घामपानीले काम नलाग्ने अवस्थामा पुगिसेका छन् । कार्यालयले लिलाम बिक्री गरी सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताइएको छ । कार्यालय परिसरमा १२ बेवारिसेसहित अन्य ३२ वटा कागजात चुस्तदुरुस्त नभएका सवारी साधन पनि वर्षौदेखि थन्किएका छन् । ट्राफिक जाँचका क्रममा चार वर्ष अघिदेखि समातिएका सवारी साधन लिन नआउँदा ती पनि कवाडमा परिणत भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट र मेगाको सेयर पुस २७ गतेदेखि रोक्का

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट र मेगाकाे सेयर पुस २७ गतेदेखि राेक्का हुने भएकाे छ । दुई बैंककाे एक आपसमा मर्जर भई पुस २७ गतदेखि काराेबार हुने भएपछि सेयर राेक्का हुने भएकाे हाे । बैंककाे साेमबार बसेकाे बैठकले १५ दिनकाे लागि सेयर राेक्का गर्ने निर्णय गरेकाे हाे । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ ।  

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौं । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो । पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यस्तै उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थियो ।

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज सुरु भएको छ । दिउँसो १ बजे बैठक सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । साथै उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाए । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद छन् ।

खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य

काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो । हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिए । खुकुरी रमले खेलहरुको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरुमा सहकार्य गरेको यो पहिलो पटक भने होइन । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताए । आफूहरुले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवद्र्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरुको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाई छ । खुकुरी रमले आगामी दिनमा समेत खेलहरुको प्रवद्र्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनको भनाई छ । खुकुरी रमले हिमाल सरसफाई, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।

अपहरण र बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

बागलुङ । एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पुर्याएर अभियुक्त थापाले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले उक्त सजाय सुनाएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका इजालाश अधिकृत गङ्गाधर सापकोटाले बताए । उक्त घटनाका सम्बन्धमा पीडितका परिवारले २०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले थापालाई भदौ २७ गते चितवनबाट पक्राउ गरी कात्तिक ७ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक बनाइ जबरर्जस्ती करणी गरेको कसुरमा कारबाही अघि बढाउनका साथै पूर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा राखिएको थियो ।

चिसोले हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकोट । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका कर्णालीका हिमाली जिल्लामा सरकारले हिउँदे बिदा दिँदै आएका छन् । जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे बिदा हुन्छ भने फागुन २ गतेबाट सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् । पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मङ्सिरमै जाडो बढेको थियो । तर यो हुम्लामा चिसो बढेपनि हिमपात भने भएको छैन । जिल्लाको तापक्रम माइनसमा झरेको छ भने सदरमुकामसहित जिल्लाभरमा रहेका खानेपानीका पाइपमा बरफ जमेर धारा बन्द भएका छन् । जिल्लामा कूल एक सय ५१ वटा सामुदायिक विद्यालय छन् । जसमा २७ वटा मावि र एक सय २४ वटा आधारभूत विद्यालय छन् । यस्तै निजी विद्यालयसमेत बन्द छन् । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन १ सम्म हिउँदे बिदाको प्रावधान छ । यहाँका विद्यालयले वार्षिक परीक्षा भने आगामी चैत महिनामा सञ्चालन गर्नेछन् । यसअघि मङ्सिर महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिएको थियो । कोरोनाअघि यहाँ फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । कोरोनापछि जिल्लामा नयाँ शैक्षिक सत्र सञ्चालनमा परिवर्तन भएको छ ।