समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै [&hellip;]</p>

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा उनले जोड दिए ।

‘हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ’, उनले भने, ‘हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।’

हजारौं शहीद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद बनेको खुसी व्यक्त गरे । ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं’, उनले भने ।

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भएपनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उनले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनु पर्ने बताए ।

व्यवस्थापिक संसद सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्दै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गरे ।

Share News