विकासन्युज

मर्चेन्ट बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा नम्बर वान बन्नेछ : अध्यक्ष पृथ्वी बहादुर पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मर्चेन्ट बैंकहरुमा एनआइएमबी नम्बर वान बन्ने बताएका छन् । बुधबार नेपाल इनेभेष्टमेन्ट र मेगाको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नियम कानुन भित्र रहेर नम्बर वान बैंक बन्छौं, मर्जरपछि ठूल्ठूला लगानीमा लगानी गर्न सकिनुको साथै नयाँ नयाँ प्रोजेक्ट ल्याएर सम्पन्न गर्न सकिनेछ,’ उनले भने । यस्तै, उनले पछिल्ला दिनहरूमा फिनटेक कम्पनीहरु धेरै आइरहेको बताए । ‘फिनटेक कम्पनीहरु धेरै आइरहेको छ, आगामी दिनमा यसले बैंकको भन्दा धेरै राम्रो काम गर्यो भने बैंकको अस्तित्व घट्छ,’ उनले भने । पाँडेले आफ्नै निर्देशन बमोजिम राष्ट्र बैंकले मर्जर निति ल्याएको बताउँदै उनले खर्च कटौती गर्न मर्ज हुन पुगेको बताए । यस्तै, मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले फुटेकाे पैतालामा चप्पल लाएर आएकाे ग्राहकलाई पनि बैंकले उनीहरुले बुझ्ने गरी सेवा दिनसक्नु पर्ने बताएका छन् । उनले नेपाल इन्भेष्टमेन्ट बैंक कुखुराले जस्तो कराउन नजान्ने बताए । ‘नेपाल इन्भेष्टमेन्ट बैंक कुखुराले जस्तो कराउन जान्दैन, कुखुरा एउटा अण्डा पार्दा धेरै कराउँछ तर कछुवाले सयौं अण्डा पार्दा आवाज नै निकाल्दैन, कछुवा जस्तै शान्त स्वभावमा इन्भेष्टमेन्ट बैंक अब्बल बनेको छ,’ उनले भने ।      

मनोहरा नदीको तटीय भाग र आसपास ८४ प्रजातिका चरा भेटिए

भादगाउँ। मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन् । मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगत वर्षको तुलनामा कम सङ्ख्यामा चरा भेटिएको फोटोग्राफर श्रेष्ठले बताए । बढ्दो सहरीकरण र नदी तटीय क्षेत्रमा मानवीय अतिक्रमण, सहरीकरणलगायत कारणले पछिल्लो समय चराहरुको सङ्ख्यामा उल्लेख्य कमी आइरहेको उनको भनाइ थियो । फोटोग्राफर श्रेष्ठकाअनुसार खोला आसपास क्षेत्रमा बढ्दो निर्माण, डोजर र ड्रिल आदिको प्रयोगले चराचुरुङ्गीको बासस्थान विनाश हुँदै गइरहेको छ । जल पक्षीहरुको सङ्ख्यामा कमी आउनाको अर्को कारक खोलाको पानी प्रदूषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याँक्ने, ढल मिसाउने, विभिन्न उद्योग कलकारखाना आदिबाट फिल्टर नगरी वा प्रशोधन नगरी नदीमा सिधै पानी विसर्जन गर्ने गरिएकाले पनि पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाव हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको चरा गणनामा संलग्न अर्का फोटोग्राफर चन्द्र चक्रधरले बताए । ‘नदी प्रदूषणले गर्दा प्राकृतिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको सङ्ख्यामा कमी आएको छ,’ उनले भने । मनोहरा क्षेत्रमा अर्को ठूलो समस्याका रुपमा रहेको बालुवा चोरी निकासीले गर्दा चराहरूको सङ्ख्यामा कमी आएको टोलीको निष्कर्ष छ । बालुवा तस्करीका कारण खोला आसपासमा मानवीय गतिविधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाव हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठले बताए । मनोहरा नदी र मध्यपुर थिमि–८ र ९ मा रहेको मनोहरा मिनी कोसीटप्पुमा साइप्रस र युरोपका विभिन्न देशहरुबाट जाडो छल्नका लागि विभिन्न प्रजातिका आगन्तुक चराहरु आउने गर्दछन् । मनोहरा नदी आसपास चरा गणनामा श्रेष्ठको नेतृत्वमा फोटोग्राफरहरु चन्द्र चक्रधर, विनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, विद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, विक्की अदुवा र शैलेन्द्र भासिक सहभागी थिए । रासस

प्रधानमन्त्री प्रचण्डले सामुदायिक विद्यालयको गुणस्तर सुधार्छु भनेको विषय लागू गर्न सम्भव छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १९ गते सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले दिएको ३० बुँदाको निर्देशनमा सामुदायिक विद्यालयको स्तरको विषय पनि उठाइएको थियो । ‘सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकारण के हो भन्ने खोजी गर्नैपर्छ’, प्रधानमन्त्रीले आफ्नो निर्देशनमा भनेका छन् । संविधानअनुसार आधारभूत तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सरकारी वा सामुदायिक विद्यालयहरुमा शिक्षाको स्तर औसतमा नआएको विषय वर्षेनी सार्वजनिक हुने परीक्षाको नतिजाले पनि देखाएको छ । साथै, सरकारी तथा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो नभएको विषयमा धेरैले विभिन्न मञ्चमार्फत् आफ्नो विचार अभिव्यक्त गर्ने गरेका पाइन्छ । सामुदायिक विद्यालयहरुमा के कारण वा समस्याले गर्दा शिक्षाको गुणस्तर कायम हुन सकेको छैन वा समयानुकुल हुन सकेको छैन भन्ने विषयमा शिक्षाविद् डा. कोइराला सामुदायिक तथा सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कम हुनुमा मुलतः राजनैतिक नेतृत्व र सरकार नै दोषी भएको बताउँछन् । सबै शिक्षकहरु राजनीतिक नेतृत्वको मातहतमा नै रहेको हुँदा नेतृत्व तहबाट विद्यालयमा शिक्षकहरुले राम्रो गुणस्तर कायम गर्नका लागि निर्देशन भएमा मात्रै सम्भव भएको उनले बताए । ‘सबै शिक्षकहरु राजनीतिक नेतृत्वको अन्तर्गतमा रहेका छन्, जुन दिन राजनीतिक नेतृत्वले शिक्षकलाई हाम्रो पार्टीले अपेक्षा गरेको शिक्षाको गुणस्तर यो हो, त्यसैले आफ्ना शिक्षकहरु लागि पर्छन भनेको दिनमा मात्रै शिक्षाको गुणस्तरमा सुधार हुन्छ’, डा. कोइरालाले भने । शिक्षाको गुणस्तरको जिम्मेवारी शिक्षकको भएको हुँदा शिक्षक महासंघले शिक्षकहरुलाई पढाउनुपर्छ भनेर नभनेर गैरजिम्मेवार भएको डा. कोइरालाको आरोप छ । शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले आफूहरुलाई ट्रेड युनियवादी बुझेको तर व्यवसायिक शिक्षकको नबुझेको उनले बताए । ‘म सिकर्मी हुँ भनेपछि काठको काम त जान्न पर्यो नी, काठ बिग्रियो भने त्यसको जवाफ मैले दिनुपर्छ नी’, डा. कोइरालाले भने । डा. कोइरालाले शिक्षकहरुलाई व्यवसायिक बनाउन नसकिएको कारणले गुणस्तरमा समस्या भएको बताए । संविधानको अनुसूची ८ अनुसार स्थानीय तहलाई कक्षा १२ सम्मको जिम्मेवारी दिएको र सो निकाय जिम्मेवार नहुँदा पनि शिक्षाको गुणस्तर कायम गर्नमा समस्या देखिएको उनको भनाई छ । उनी भन्छन्, ‘१२ कक्षा सम्मको शैक्षिक गुणस्तर कायम गर्नका लागि उनीहरुले प्रतियोगिता गराउने हो की, प्रतिस्पर्धा गराउने हो की, शिक्षकहरुलाई तालिम दिने हो की, शिक्षकहरुको बीचमा संवाद गर्ने हो की आदि के गर्ने भन्ने काम त त्यो निकायको हो नी ।’ शिक्षाको गुणस्तर कायम गर्नमा प्राणालीको पनि दोष रहेको कोइरालाको भनाइ छ । शिक्षकको वितरण प्रणालीमा समस्या भएको भन्दै उनले भने, ‘मुस्ताङमा ३ जना विद्यार्थीको लागि ३ जना शिक्षक दिनसक्ने तर कञ्चनपुरमा १ सय विद्यार्थीको लागि १ जना शिक्षक दिने अहिलेको व्यवस्था छ, मुस्ताङको शिक्षकलाई कञ्चनपुरमा सार्नुपर्छ भन्ने बुद्धी किन नआएको हो ?’ शिक्षकहरु कक्षा गणना दिने हो की विद्यार्थी गणना गरेर दिने भन्ने विषयमा कुनै निर्णय नभएको भन्दै उनले पछिल्लो समयमा जन्मदर घटेको र विद्यालयमा विद्यार्थी संख्या पनि घटेको कारणले कक्षाअनुसार शिक्षक दिने अवस्था नबनेको बताए । सरकारी विद्यालयमा १ शिक्षक बराबर २३ जना विद्यार्थी रहेको र निजी विद्यालयमा भने १ जना शिक्षक बराबर २८ जना विद्यार्थी अध्ययन गर्ने अवस्था रहेको बताउँदै उनले संख्यात्मक अवस्था हेर्दा भने शिक्षक थप्न सक्ने आधार नभएको बताउँछन् । डा. कोइरालाका अनुसार पछिल्लो समयमा प्रविधिको विकास भएको सन्दर्भमा विद्यार्थीहरुमा प्रविधिको सहायतामार्फत् छिटो सिक्न सक्ने क्षमता देखिएको तर सो सन्दर्भमा शिक्षक आउटडेटेड भएका छन् । तर, शिक्षकहरुलाई बर्गिकरण गर्ने काम भने नभएको डा. कोइरालाको भनाइ छ । शिक्षकहरुलाई क्षमताअनुसार बर्गिकरण अरुले गरिदिँदा विरुद्धमा आउने अवस्था रहने हुँदा त्यसको लागि मापदण्ड बनाउँदा आँफैले आफ्नो अवस्थाको मूल्यांकन गर्ने अवस्था सिर्जना हुने भन्दै उनले त्यसरी असक्षम शिक्षकहरुलाई हटाउन सजिलो हुने बताए । शैक्षिक क्यालेन्डर बनाउने तर त्यसलाई सही ढंगले कार्यान्वयन गर्ने काम नभएको डा.कोइरालाको भनाइ छ । ‘यदी कुनै दिन भौतिक कक्षा हुँदैन भने अनलाइन कक्षा सञ्चालन गर्न मिल्दैन ?, टेलिभिजनबाट कक्षा सञ्चालन गर्न मिल्दैन ?, प्रोजेक्ट वर्क दिन मिल्दैन ?, अनुसन्धानको काम दिन मिल्दैन ?’, उनले भने, ‘यी ४/५ वटा विषय त वैकल्पिक रुपमा दिनुपर्यो नी ।’ विद्यार्थीले जन्मसिद्ध नै धेरै कुराहरु जानेर आएको हुने र व्यवहारिक विषयलाई जोडेर पढाउने काम गर्न सकेमा शैक्षिक क्षेत्रले धेरै छिटो फड्को मार्ने बताउँदै उनले शिक्षकहरुमा सो प्रकारको क्षमताको अभाव रहेको उनले बताए । अहिलेकै पाठ्यक्रममा आधारित पाठयपुस्तक पढाउँदा सरकारी विद्यालयको तुलनामा निजी विद्यालयले राम्रो नतिजा दिएको विषयमा डा.कोइरालाले अध्ययन विधिमा रहेको कमजोरीलाई औंल्याए । उनले निजी शैक्षिक संस्थाहरुले विद्यार्थीलाई घोकाउने काम गरेको तर सरकारी विद्यालयले सो अवलम्बन नगरेको बताए । ‘घोक्नु समस्या होइन भन्ने कुरा विद्यार्थीहरुलाई लाग्यो भने त्यो विधि पनि राम्रो हुनसक्छ’, उनले भने, ‘हामी कम्युनिटी ब्रेनका मान्छे हौं, सज्ञानात्मक ब्रेनका मान्छे हौं, यो ब्रेनको विशेषता नै घोक्ने हो ।’ यो कुरा सरकारी विद्यालयमा बुझ्ने बुझाउन नसकिएको र निजी विद्यालयहरुले संज्ञानात्मक विधिलाई समात्न सफल भएको उनले बताए । अध्ययन विधि कुन विषयमा कस्तो लागू गर्ने भन्ने विषयमा पनि राम्रोसँग कार्यान्वयन नहुँदा समस्या रहेको उनको भनाइ छ । तर, शिक्षा क्षेत्रमा भएका समस्याहरुलाई समाधान गर्ने वा सुधार गर्ने इच्छाशक्ति भएको नेतृत्वको अभावको कारणले नै समस्या बल्झिरहने काम भएको डा.कोइरालाको भनाइ छ ।

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

झापा । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत हाइब्रिट जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताए । भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च एसजेएफको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने जनाए । उनले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताए । भारतका गृहमन्त्री राजनाथ सिंहसँग हालै एक कार्यक्रमका सन्दर्भमा राजदूत डा शर्माको कुराकानी भएको थियो । सो क्रममा गृहमन्त्री सिंहले नेपालको नयाँ सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । सो अवसरमा मञ्चका नेपाल शाखा संयोजक प्रकाश सिलवालले ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक उक्त अन्तर्राष्ट्रिय सम्मेलनका विषयवस्तुबारे अवगत गराएका थिए ।

बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, सिद्धार्थ बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसमा लागि ६ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हाे । बैंकले एक सूचना प्रकाशित गर्दै डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक सस्थाहरुबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुकक उम्मेदवारले माघ ११ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट र मेगाको एकीकृत कारोबार सुरु, सबै सुचकमा सक्षम भएको दावी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार सुरु भएको हो । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । दुई बैंकबीच शेयर स्वाप अनुपात १००:९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा श्री ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक बन्ने भएकी छन् । एकीकृत काराेबार सुरुवात कार्यक्रममा बाेल्दै अध्यक्ष पाँडेले बैकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहिआएका दुबै बैंक एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तिय सुचकहरुमा अग्रता हासिल गर्न सक्षम हुने बताए । यसका साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको पनि बताए । यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै सेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने उनले बताए । मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४.१२ अर्ब, कुल पूँजी ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, त्यसैगरी कुल निक्षेप ३६०.२ अर्ब तथा कर्जा लगानी ३२९.०६ अर्ब भएकाे छ । बैंककाे ग्राहक संख्या ३० लाख पुगेकाे छ । त्यसैगरी, मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ ।

शीतलहरले जनजीवन कष्टकर बन्दै

बर्दिया। शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो । चिसोका कारण शरीर काप्ने र हातखुट्टा कठ्याङ्ग्रिने गरेको मधुवन नगरपालिका–१ बड्की टडुवाका स्थानीयवासी कुशव थापाले बताए । ‘केही दिनदेखि घामको मुख देख्न पाइएको छैन । केटाकेटी, वृद्धवृद्धा र पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन्’, उनले भने । जाडोले गर्दा दम, रुघाखोकीलगायत समस्या देखिन थालेको छ । चिसो बढेपछि सामुदायिक विद्यालय पनि बिदा भएको त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिका–१ सूर्यपटुवाका प्राध्यापक इन्द्रबहादुर सुनारले बताए । चिसोले नगरभित्र रहेका सामुदायिक विद्यालयमा एक हप्ता जाडो बिदा दिएको मधुवनका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बताए । बर्दियाका आठवटै पालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छैनन् । केही विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा सकिएसँगै माघी र जाडोलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने तयारी भइरहेको छ । शीतलहर तथा तुषारोका कारण कृषि क्षेत्रमा समेत असर पुगेको छ । शीतलहरका कारण आलु, टमाटर, तोरीलगायतका अन्नबाली तरकारीका बिरुवामा क्षति पुगेको छ । घाम नलागेपछि पशुचौपायासमेतले सास्ती खेप्न बाध्य छन् । अत्यधिक चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न, अतिविपन्न परिवारलाई न्यानो कपडाको बन्दोवस्त गर्न सङ्घसंस्थालाई आह्वान गरेको छ । जाडोका कारण बर्दिया अस्पतालमा आउने बिरामीको सङ्ख्यासमेत बढदो छ । चिसो बढेपछि बर्दियाका विभिन्न स्वास्थ्यचौकीमा दम, रुघाखोकी, ज्वरोलगायत श्वासप्रश्वासका बिरामीको चाप बढेको सूर्यपटुवा स्वास्थ्यचौकी प्रमुख पूर्णबहादुर खत्रीले बताए । यतिखेर चिसो अत्यधिक बढेकाले सावधानी अपनाउनु पनि उत्तिकै आवश्यक छ । चिसोमा तातो झोलिलो पदार्थ पिउनुपर्ने, न्यानोमा बस्ने, आगो ताप्ने गर्न सुझाव दिए। मौसम रापिलो नहुँदासम्म स्वास्थ्यसँग खेलवाड गर्न नहुने खत्रीको भनाइ छ । जाडोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती, सुत्केरी महिलाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए । रासस  

विदेश भ्रमणमा स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारीको हालिमुहाली (नामावलीसहित)

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २७ जना पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक भ्रमण सम्बन्धी विवरण अनुसार चालू आवको साउन महिनादेखि कात्तिक तेस्रो सातासम्ममा ती पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका हुन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै भ्रमण विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भएको छ । मन्त्रालयमार्फत् चालूआवको ४ महिनामा भएका ५२ वटा भ्रमण कार्यक्रम मध्ये सबैभन्दा ३१ वटा भ्रमण विश्व स्वास्थ्य संगठनको कार्यक्रम अन्तर्गत भएको छ । जसमा ७९ जना पदाधिकारी तथा कर्मचारी भ्रमणमा गएका थिए । स्वास्थ्य मन्त्रालयबाट हुने अधिकांश विदेश भ्रमणमा संघीय मन्त्रालयको मात्रै पहुँच रहने र प्रदेश तथा अन्य तहका कर्मचारीले अवसर नपाउने गरेको देखिएको छ । चालू आवको ४ महिनामा मन्त्रालयबाट १ सय २७ जना कर्मचारीले गरेको भ्रमणमा काठमाडौं उपत्यका बाहिरका जम्मा ८ जना कर्मचारीहरुले मात्रै अवसर पाएको विवरणमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यका बाहिर रहेका प्रदेश सरकार अन्तगर्तका स्वास्थ्य कर्मचारी र अस्पतालका कर्मचारीहरुले एकपटक पनि अवसर नपाउने तर मन्त्रालय र विभागका कर्मचारीहरुले ४ महिनाकै अवधिमा पनि ३/४ पटक भ्रमण गरेको विवरणले देखाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले भने यस विषयमा आफुलाई खासै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यी हुन् विदेश भ्रमणमा जाने कर्मचारी [pdf id=379659]