इसेवाले ल्यायो १ रुपैयाँमा १ लाख सुविधाको हेल्थ केयर प्याकेज
काठमाडौं । इसेवाबाट दैनिक एक रुपैयाँ भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले स्वास्थ्यमा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको कम्पनीले जनाएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक १ रुपैयाँमा दुई लाख ३० हजार सम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुईलाख ३० हजार सम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, एक सय रुपैयाँ इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा ५०० रुपैयाँ, आवरन छाला, कपाल क्लिनिकमा दश प्रतिशत र द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुट जस्ता सुविधा रहेका छन् । यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स मार्फत अस्पतालको बेड चार्जमा दशहजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एकलााख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एकलाखसम्म, अन्त्येष्टि यातायात खर्च एकलाखसम्म, अन्त्येष्टि खर्च दशहजारसम्म जस्ता सुविधा रहेका छन् । यसैगरी आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एकलाखसम्म, पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च दशहजार रूपैयाँ स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधी भित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ । साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सन्चलान गर्न नसकेमा २६ हप्ता सम्म बीमाको ५ प्रतिशत वा वार्षिक बीस हजार बराबरको रकम उपलब्ध हुनेछ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ६५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ६० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिने कम्पनिले जनाएको छ ।
अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए । प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउँदै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए । आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे । गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै उनले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहेको बताए । कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्नेमा उनले जोड दिए । सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको भन्दै उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे ।
सिबिआईएल क्यापिटलको स्वतन्त्र संचालकमा जोत्सना बोहोरा र अभिजित मुल नियुक्त
काठमाडौं । सिबिआईएल क्यापिटलको स्वतन्त्र संचालकहरुमा जोत्सना बोहोरा र अभिजित मुल नियुक्त भएका छन् । बैंकको पुस २४ गते बसेको बैठकले स्वतन्त्र संचालकमा बोहोरा र मुललाई नियुक्त गरेको हो । यसअघि क्यापिटलको स्वतन्त्र संचालक रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डे रहेका थिए । स्वतन्त्र संचालक बोहोराको विभिन्न बिमा कम्पनीहरुमा १८ वर्षभन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ । यस्तै, स्वतन्त्र संचालक मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा ७ बर्ष भन्दा बढीको अनुभव रहेको छ ।
तीन वर्षमा ३८ अर्ब ५८ करोड आम्दानी गर्ने काठमाडौं महानगरको प्रक्षेपण
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ बर्षको आय प्रक्षेपण गरेको छ । मंगलबार जेडिए भवनको सभा कक्षमा बसेको बैठकले आर्थिक बर्ष २०८०/०८१, ०८१/०८२ र ०८२/०८३ को आय प्रक्षेपण गरेको हो । महानगरले तीन आर्थिक वर्षमा ३८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको आय प्रक्षेपण गरेको छ । जसअनुसार आ. व. २०८०/०८१ को आय ११ अर्व ८० करोड २० लाख रुपैयाँ हुनेछ । त्यसैगरी आ. व. ०८१/०८२ को १३ अर्व १२ करोड ३० लाख रुपैयाँ र आ. व. ०८२/०८३ को १३ अर्व ६६ करोड ३० लाख रुपैयाँ आय हुने प्रक्षेपण महानगरको छ । नेपाल सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने समानीकरण, शसर्त तथा निशर्त अनुदान, राजस्व बाँडफाँड, रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायतका शीर्षकहरुको सिलिङ् प्राप्त नभएकोले प्रक्षेपित अङ्क थपघट हुन सक्ने जनाईएको छ । महानगरले आ. व. ०७८/०७९ मा १० अर्व ६० करोड ४८ लाख ३८ हजार रुपैयाँ आय गरेको थियो । चालु आर्थिक बर्षको अनुमानित आय १० अर्व ४१ करोड ९५ लाख ९ हजार रहेकोमा हालसम्म ४ अर्व ४१ करोड ६५ लाख ४ हजार रुपैयाँ आय संकलन भइसकेको छ । समितिको बैठकमा आर्थिक बर्ष २०८०÷०८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने विषयमा छलफल भएको छ । सडकको पहुँच र प्रकृतिका आधारमा निर्धारण हुने भएकोले वडा कार्यालयबाट छलफल चलाएर सडकको प्रकृति शिफारिस गर्न अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । महानगरले गएको ७ बर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । महानगरपालिकाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक २ बर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ । यसअघि व्यववसायिक नभएका ठाउँ अहिले व्यवसायिक भइसकेका छन् । कर निर्धारण प्रणालीलाई एकरुपता दिन पर्ने भएको छ । यसकारण कर पुनरावलोकन गर्नुपर्ने भएको हो । ‘करको दरभन्दा दायरा बढाउनु पर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,’ समितिका संयोजक एवं महानगरका उपप्रमुख सुनिता डंगालले भनिन, ‘कर निर्धारण प्रणालीलाई बैज्ञानिक बनाएर दायरामा नभएका करदातालाई दायरामा ल्याउनुपर्छ, कर तिर्नेले तिरेको ति¥यै, नतिर्नेले कहिल्यै तिर्नै नपर्ने अवस्था हुनुहुँदैन ।’
सुन्तला बिक्रीबाट साढे २ करोड आम्दानी गर्दै म्याग्दीका किसान
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा साढे दुई रुपैयाँँ करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् । राखुकी सन्तकुमारी पुनले यस वर्ष सुन्तला बिक्री गरेर करिब २२ लाख रुपैयाँ आम्दानी गरेको बताए । ‘मैले पनि यो वर्ष सुन्तला बिक्री गरेर २१ लाख रुपैयाँ आम्दानी गरेँ’, उनले भने । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताए । किसान पुनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम २० हजार रुपैयाँदेखि अधिकतम २१ लाख रुपैयाँसम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमती राना, कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्छन् । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसानहरु पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैँचाबाटै सुन्तला बेचेर ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए । त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । दस वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तला जात फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् । ‘अबको केही वर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ’, उनले भने । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको छ । केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीहरूमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधी प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ । ‘सिङ्गो वडा नै सुन्तला खेतीमा आर्कर्षित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौँ’, वडाध्यक्ष पुनले भने । हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको वडाध्यक्ष पुनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौँ खर्च हुने गरेको छ । भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ । त्यसैगरी वडा नं ४ मा पर्ने बास्कुना गाउँबाट पनि यस वर्ष एक करोड रुपैयाँको सुन्तला गाउँबाट नै निर्यात भएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । बास्कुनाकी गौमती खत्रीले यस वर्ष साढे चार लाख रुपैयाँको सुन्तला बिक्री गरेको सुनाइन् । अघिल्लो वर्ष दुई लाख ५५ हजारको सुन्तला बिक्री गरेकी खत्रीले यस वर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी भएको उनको भनाइ छ । खत्रीको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेकाले यस वर्ष उत्साहित छन् । गाउँमा आएका व्यापारीहरुले सुन्तला टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारी साधनसमेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ । सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखदेखि १२ लाख आम्दानी हुने कृषक दीर्घबहादुर खत्रीले बताए । उनको बगैँचामा करिब पाँच सय सुन्तलाका बोट रहेका छन् । खत्रीले विगत १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । ‘सुन्तला खेतीबाट किसानहरुले राम्रो आम्दानी लिएका छन्, सुन्तला खेतीलाई थप प्रवद्र्धन गर्ने र युवालाई आकर्षित गर्न अर्को वर्ष सुन्तला महोत्सव लगाउने योजना बनाएका छौँ’, वडाध्यक्ष खड्काले भने । म्याग्दीको भकिम्ली, बरञ्जा, हिस्तान, घार, राँखु, दाना, विम लगायतका गाउँहरु सुन्तला उत्पादन पकेट क्षेत्र हुन् । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटै स्थानीय तहको तीन सय ५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । जिल्लामा वार्षिक १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।
युनाइटेड र अजोड इन्स्योरेन्सले गर्यो मर्जर सम्झौता
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच मंगलबार मर्जर हुने सम्झौता भएको हो । उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् । दुवै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।
युवालाई रोजगारी र राजनीतिक नियुक्तिमा अधिकतम प्राथमिकता दिन्छौं : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताएका छन् । बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका हुन् । ‘सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको छ, हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो, यसलाई कम हामी कसैले पनि आँक्नु हुँदैन,’ उनले भने । प्रधानमन्त्री दाहालले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिए । सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने उनले बताएका छन् ।
भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै नेपाल रेडक्रस
काठमाडौं । डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका ६ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए । साथै डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई ती तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालेको हो । सोसाइटीका अनुसार ती तीन जिल्लाका भूकम्प अतिप्रभावित तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो । सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ । एक हप्ताभित्र ती सामग्री वितरण भइसक्ने संस्थाले जनाएको छ । स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएका सोसाइटीले जनाएको छ । भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न ७३ हजार ६ सय, अत्यावश्यक वस्तु खरिद गर्न १५ हजार र शौचालय निर्माण गर्न १० हजार गरी ९८ हजार ६ सय प्रदान गर्न थालिएको सोसाइटीले जनाएको छ । सोसाइटीका अनुसार भूकम्पबाट सबैभन्दा बढी डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरुकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । सोसाइटीले ती तीनसय अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ । स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरुकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । सबैभन्दा बढी क्षति पूर्वीचौकीमा भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको डोटीको पूर्वीचौकी गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन भइरहेको छ । त्यहाँ ९० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा आठ सय २४ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ । क्रमशः जिल्लाका सबै पालिकामा सर्वेक्षण गरिनेछ । पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्पबाट आवास गुमाएकाहरुलाई नेपाल रेडक्रसको सहयोगमा अस्थायी आवास निर्माण सुरु भएको जानकारी दिए । सर्वेक्षणमा स्थानीय तहमा कार्यरत प्राविधिक र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका विज्ञ इञ्जिनियर संलग्न छन् । भूकम्पबाट डोटीका नौ स्थानीय तहका पाँच सय ४१ निजी आवास पूर्ण रुपमा क्षति भएका, चार हजार एक सय ४६ घरहरुमा आंशिक क्षति पुगेको, ४७ विद्यालय, नौ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । आइएफआरसीले संकटासन्न समुदायको उत्थानशीलताका लागि निरन्तर मानवीय सहयोग जारी रहने जनाएको छ । रासस