सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँमा आएको छ । यो सुन हिजो प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताप्लेजुङको हिमाली क्षेत्रमा चिसोले जनजीवन प्रभावित
फुङ्लिङ । चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ । पछिल्लो हप्ता चिसो बढेका कारण जनजीवन प्रभावित बन्दै गएको हो । घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । असामान्यरूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउन निकै मुस्किल पर्न थालेको स्थानीयवासी बताउँछन् । समुद्र सतहबाट तीन हजारभन्दा माथिका हिमाली बस्तीमा चिसोले बढी सताएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं ७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ । याङ्मा चार हजार दुई सय मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो । उक्त हिमाली बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छाडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन् । यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन् । पछिल्लो केही सातायता निकै चिसो बढेको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताए । चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको शेर्पाको भनाइ छ । केही दिनयता निकै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको सोही गाउँका टाँसी तेन्जिङले शेर्पाले बताए । बाक्लो हुस्सु लाग्ने र तुषारो पर्ने गरेकाले चिसो ह्वात्तै बढेको शेर्पाले बताए । हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुषारो मात्र पर्नाले चिसो निकै बढेको उनको भनाइ छ । उनले हिउँ नपरेसम्म चिसो कायम रहने बताए । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले पनि हिउँ नपरेका कारण बढी चिसो भएको बताए । घाम नलाग्ने, बाक्लो हुस्सु र तुषारो मात्र पर्ने हुँदा अधिक चिसो भएको वालुङले बताए । उनले हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र तुलनात्मकरूपमा चिसो कम हुने बताए । चिसोले मानिसको दिनचर्यासँगै पशुचौपायालाई निकै समस्या पारिरहेको उनले बताए । चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न सहरबजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए । वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ । यसरी बढ्दो चिसोले सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बन्दै गइरहेको छ । तुलनात्मकरूपमा हिमाली क्षेत्रका बस्तीको जनजीवन बढी प्रभावित र कष्टकर बन्दै गएको छ । चिसो बढेपछि हिमाली बस्तीका बासिन्दा यतिबेला अधिकांश समय घरभित्रै बस्दै आएका छन् । पशुचौपायालाई न्यानो गोठ तथा ग्वालीमा राखेको स्थानीयवासी बताउँछन् । सदरमुकाम फुङ्लिङ बजारमा पनि निकै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन् । केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ती वितरण
काठमाडौें । महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरेका छन् । विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
हुम्लामा गोल्डकप हुने, विजेतालाई एक लाख ५० हजार नगद र ट्रफी
हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए । गोल्डकप विजेताले एक लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले एक लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले ७५ हजार रुपैयाँ पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए । हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ । रासस
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता
बुद्धभूमि । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ। साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ। वैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेका छन्। बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी चिन्ता बजार मूल्यको छ। ‘अहिलेसम्म पर्याप्त मल पाइएको छैन, बीउबिजन पनि गुणस्तरहीन हुँदा आपतउस्तै छ’, उनले गुनासो गर्दै भने, ‘किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो।’ बरई पुर्खाले नै गर्दै आएको तरकारी खेती अँगाल्न पुगेका थिए। बुवाले गर्दै आएको तरकारी खेती आफूले पनि अँगालेको उनले बताए। ‘म ४० वर्षको भएँ, यही तरकारी खेतीबाहेक दायाँबायाँ लागेको छैन’, उनले भने। पुर्खौँदेखि तरकारी खेती गरे पनि उनको जीवन भने फेरिएको छैन। घरको स्थिति विगतजस्तै छ। छोराछोरी सरकारी विद्यालयमा जसोतसो पढ्न पाएका छन्। ‘तरकारी खेती गरेर जीवन कहिले फेरिने हो, म त सपना देख्छु’, उनी भन्छन्। अर्का किसान श्रीप्रसाद मौर्या पनि व्यावसायिक तरकारी खेती गर्न लागेको तीन दशक बढी भएको छ। पन्ध्र कठ्ठा क्षेत्रफलमा मौर्याले तरकारी खेती गर्दै आएका छ्न। बाह्रै महिना तरकारी फलाउने मौर्याको जीवन बरईको जस्तै छ। ‘वर्षभरि तरकारी खेती गर्यो, आम्दानी सापोनापो उहीँ हुन्छ’, उनले भने, ‘तरकारी फलायो फलायो मूल्य पर्दैन, समयमा मल पाइँदैन, बीचमा बिचौलिया हाबी हुन्छन्, लगानी पनि उठ्न सक्दैन।’ अहिले बजारमा पाइने सबैथरिका मौसमी तरकारी उनले उत्पादन गरेका छन्। तर उनको मनमा खुसी भने छैन। भारतबाट चर्को मूल्यमा मल ल्याउनुपर्ने अवस्था भएको उनको गुनासो छ। जसोतसो उत्पादन गरेको तरकारी पनि बजारसम्म पुर्याउन निकै कठिन भएको उनी बताउँछन्। बरई र मौर्याका जस्तै यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सामूहिक समस्या हो। जिल्लामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले विभिन्न समस्या झेल्दै आएका छन्। समयमा मलखाद र बीउ नपाइनु, सिँचाइ सुविधा अभाव हुनु, बिक्री केन्द्र नहुनु र बीचमा बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान मर्कामा छन्। कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ। जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नगरपालिका वडाको वडा नं ३, ४, ५, बुद्धभूमि नगरपालिकाको बुड्ढी, शिवराज नगरपालिकाको शिवपुर, चन्द्रौटा, बाणगङ्गा नगरपालिकाको मोतीपुरलगायतका स्थानमा व्यावसायिक तरकारी खेती हुँदै आएको कार्यालयले जनाएको छ। जिल्लाको उत्तरी क्षेत्रमा बजारीकरण भएको कारण किसानले उत्पादन गरेको तरकारी सजिलै बिक्री हुने गरे पनि दक्षिणी क्षेत्रका किसान मर्कामा पर्ने गरेका छन्। भारतीय सीमाबाट दैनिक भित्रने तरकारीले बजार ढाक्दा नेपाली किसान मर्कामा परेका हुन्। भारतको भन्दा नेपालको तरकारी महँगो हुने किसान बताउँछन्। ‘उत्पादन लागत बढ्दा स्वभाविक बेच्दा महँगो पर्छ, भारतबाट आउने तरकारी तुलनात्मकरूपमा सस्तो पर्छ, तौलिहवाका तरकारी किसान राम गुप्ता भन्छन्’, ‘यसले गर्दा हामी मर्कामा छौँ ।’ यहाँ सडकको राम्रो पहुँच नहुँदा पनि दक्षिणी भेगका किसान मर्कामा पर्ने गरेका छन्।
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।
गोरखा नगरपालिकाको नाम ‘पृथ्वीनारायण’ राख्न माग
गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरेर ‘पृथ्वीनारायण नगरपालिका’ राख्न माग गरेको छ। नगरप्रमुख कृष्णबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा गोरखाले नाम परिवर्तन गर्न माग गरेको हो। राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले नगरप्रमुख रानामगरलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक राखिएकामा नगरपालिकालाई धन्यवाद राप्रपाले धन्यवाद दिएको छ। मुलुक सङ्घीय संरचनामा जानुअघि गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका रहेको थियो। सङ्घीयता कार्यान्यनसँगै नगरपालिकाको नाम परिवर्तन गरी ‘गोरखा’ राखिएको हो। यसैबिच नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती मनाउन गोरखामा धुमधामका साथ तयारी थालिएको छ। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आज गोरखा सदरमुकाम क्षेत्र राष्ट्रिय झण्डासहितको ध्वजापताकाले सजाइएको छ। बुधबार ठूलो आँगनमा नेपाली सेना र गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
सिन्धुपाल्चोकमा ७ सय मेट्रिकटन आलु उत्पादन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेका छन् । गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिए। सात सयमध्ये पाँच सय गाउँपालिकाभित्र बिक्री तथा खपत र दुई सय मेट्रिकटन पालिका बाहिर बिक्री भएको कृषि शाखा प्रमुख निमराज गिरीले बताए । ‘गत वर्ष किसानका घरघरमा पुगेर आलुको बीउ बाँडेका थियौँ । अहिले उत्पादित आलुले बजार पाएकामा किसानमा हौसला बढेको छ’, उनले भने । स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेको छ । कृषि शाखा प्रमुख गिरीले आर्गनिक उत्पादनलाई वृद्धि गराउन तालिमको व्यवस्था गर्न लागिएको बताए । गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै कृषिलाई पर्यटनसँग जोड्ने बताए । पर्यटन र कृषिबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । अहिले गाउँपालिकाभित्रका कृषि उत्पादनले बजार पाउन थालेपछि किसान उत्पादनमुखी हुन थालेका छन् । गाँउपालिका भरिमा पाँच सय घरपरिवार आलुमा आत्मनिर्भर छन् ।