विकासन्युज

परराष्ट्रमा पौडेल र स्वास्थ्यको जिम्मा गिरीलाई

काठमाडौं । नेकपा (एमाले) ले परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको टुंगो लगाएको छ । एमालेकी राष्ट्रिय सभा सदस्य विमला पौडेल राईलाई परराष्ट्र र पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका हुन । पौडेलले नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने दोस्रो महिला हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला परराष्ट्र मन्त्री भएकी थिइन् । यसअघि सोमबार साँझसम्म गिरिको नाम परराष्ट्रमन्त्रीका लागि तय भएको थियो । तर, अध्यक्ष ओलीले उनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका हुन ।

माओवादीबाट को को बन्दैछन मन्त्री ?

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा रेखा शर्मा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को जिम्मेवारी अमनलाल मोदीले पाउने भएका छन् । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीको जिम्मा पाइसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । अध्यक्ष प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गरेर तीन मन्त्रीको नाम टुंगाएका हुन ।

काँचो इँटा उत्पादन तथा निकासीमा कर

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो । इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गर्दै कर निर्धारण गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । काँचो इँटा उत्पादन गर्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको हो । त्यसो त भक्तपुरका रहेका ६१ इँटाभट्टामध्ये ४१ भट्टा रहेको चाँगुनारायणमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले इँटा उद्योगलाई हटाउनुपर्ने माग गर्दै स्थानीय जनस्तरदेखि कार्यपालिकामा समेत पटक–पटक आवाज उठ्दै आइरहेको छ । रासस

भारतमा एक प्रतिशत धनीसँग ४० प्रतिशत सम्पत्ति, ५० प्रतिशत बासिन्दासँग तीन प्रतिशत मात्रै

एजेन्सी । भारतमा १ प्रतिशत धनी मानिसहरु कुल सम्पत्तिको ४० प्रतिशतको मालिक बनेका छन् । अक्सफार्मले हालै सार्वजनिक गरेको प्रतिवेदनले भारतका ५० प्रतिशत बासिन्दासँग ३ प्रतिशत मात्रै सम्पत्ति रहेको खुलासा गरेको छ । भारतका धनी व्यक्तिहरुको सम्पत्तिमा २ प्रतिशत ट्याक्स लगाउने हो भने ३ वर्षसम्म कुपषित मानिसहरुको लागि ४० हजार चार सय २३ करोड भारु रकम प्राप्त हुनसक्ने अक्सफार्मले जनाएको छ । त्यस्तै, भारतका १० जना धनी व्यक्तिहरुको सम्पत्तिमा एकपटक पाँच प्रतिशत कर लगााउने हो भने एकसय ३७ लाख करोड भारतीय रुपैयाँ जुट्न सक्छ, जुन सन् २०२३ को हेल्थ एण्ड फैमिली वेलफेयर मिनिस्ट्री अथवा आयुष मन्त्रालयको अनुमानित फण्ड भन्दा १.५ गुणा बढी हो । अक्सफार्मले बताएअनुसार कोरोना महामारीको समयमा भारतका अरबपतिहरुको सम्पत्तिमा १२१ प्रतिशतले वृद्धि भएको छ । महामारी शुरु भएपछि २०२२ नोभेम्बर सम्ममा अरबपतिहरुको सम्पत्तिमा १२१ प्रतिशतले वृद्धि भएको थियो । भारतमा सन् २०२२ मा अरबपतिहरुको संख्या वृद्धि भएर १६६ पुगेको छ, जुन सन् २०२० सम्ममा १०२ मात्रै थियो । भारतका सबैभन्दा धनी १०० जना व्यक्तिको स्वामित्वमा अहिले ६६० अर्ब डलर सम्पत्ति पुगेको छ । रिपोर्टकाअनुसार भारतमा अधिक सम्पत्ति सिमित धनीहरुका हातमा भएपनि धेरै कर भने गरिवहरुले बुझाउने गर्दछन् । भारतको प्रणालीले दलित, आदिवासी, मुस्लिम, महिला र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई नै पिडित बनाएको अक्सफार्मका सिइओ अमिताभ बेहरले बताएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताए । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो । दुर्घटनामा बेपत्ता तीन जनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।

घुमाउने पुल : ४ वर्षमा एकतिहाइ काम

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटक–पटक ध्यानाकर्षण गरायौँ’, उनले भने । त्रिशूली नदीको वारिपारि ‘फाउण्डेशन’मात्र बनेको छ । अब ‘आर्क’को काम सुरु हुनलागेको अध्यक्ष चुमानले बताए। एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गरेका छन् । मन्त्रालयका सचिव र महानिर्देशकसहितको टोलीले पुलको अवलोकन गरी पुलको कामलाई तीव्रता दिन निर्देशन दिएको छ । ‘महानिर्देशकज्यूले निर्माण व्यवसायीलाई फोन गरी यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ, निर्माण व्यवसायीले पैसाको अभावका कारण काम गर्न ढिलाइ भएको बताउनुभएको छ’, अध्यक्ष चुमानले भने, ‘पैसाको अभावलाई मन्त्रालयबाटै केही समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जिबनी निर्माण कम्पनी हेटौँडाले पाएको छ ।’ गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो । उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारयणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्‍याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम सुरु भइसकेको छ । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आउनेजाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

ताप्लेजुङ-भद्रपुरमा उडान थप, भाडा कति ?

फुङ्लिङ। ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ । यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए । प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उहाँले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ । यस पहिले सीता एयरले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।

अस्पतालमा औषधि नपाउँदा बिरामी समस्यामा

जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन् । विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन् । चिकित्सकले लेखिदिएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए । सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उनले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । ‘नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ’, उनले भने । सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ । स्वास्थ्यमा विद्युत् सेवा अवरुद्ध जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । ओपिडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो । विद्युत् प्राधिकरणले ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताए । स्वास्थ्य सेवा कार्यालयले प्राधिकरणलाई रु दुई लाख तिर्नसमेत बाँकी छ । १७ लाख रकम खर्चेर अस्पतालमा काम गरे पनि स्वास्थ्यले आफैँले केही पनि काम नगर्दा विद्युत्मा समस्या हुँदै आएको छ । विद्युत्का सामग्री आउँदै गरेको स्वास्थ्यका कार्यालय प्रमुख नवराज कँडेलले दिए ।