ताप्लेजुङ-भद्रपुरमा उडान थप, भाडा कति ?
फुङ्लिङ। ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ । यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए । प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उहाँले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ । यस पहिले सीता एयरले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।
अस्पतालमा औषधि नपाउँदा बिरामी समस्यामा
जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन् । विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन् । चिकित्सकले लेखिदिएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए । सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उनले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । ‘नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ’, उनले भने । सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ । स्वास्थ्यमा विद्युत् सेवा अवरुद्ध जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । ओपिडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो । विद्युत् प्राधिकरणले ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताए । स्वास्थ्य सेवा कार्यालयले प्राधिकरणलाई रु दुई लाख तिर्नसमेत बाँकी छ । १७ लाख रकम खर्चेर अस्पतालमा काम गरे पनि स्वास्थ्यले आफैँले केही पनि काम नगर्दा विद्युत्मा समस्या हुँदै आएको छ । विद्युत्का सामग्री आउँदै गरेको स्वास्थ्यका कार्यालय प्रमुख नवराज कँडेलले दिए ।
पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ, दैनिक १०० पर्यटक आउने
ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ । पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताए । पुनमगर भन्छन्, ‘सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।’ लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउँछन् । उनले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताए । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उनको भनाइ छ । ‘पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो’, पुनमगरले भने, ‘अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक–दुई दिन बसेर घुमेर जान्छन् ।’ स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउँछिन् । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उनको भनाइ छ । ‘यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्योु, उनले भनिन्, ‘अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन् ।’ अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताए । उनले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताए । उनले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताए । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ । उनले भने, ‘यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।’ बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउँछन् । एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको उनले बताए । अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउँछन् । ‘पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो’, उनले भने, ‘यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।’
झापामा फस्टाउँदै जडीबुटी खेती
झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले। यसको काँचो घाँस प्रतिकेजी २० र सुकेको घाँस १०० रुपैयाँमा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए। मेचीनगर–१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन्। कुलायन नेचुरल हर्बल उद्योग आफैंले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ। कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ। उद्योगले उत्पादन गरेको सुगन्धित तेल सिधै युरोप र अमेरिका निर्यात हुन्छ। गत वर्ष सरकारले विदेशी मुद्रा भित्र्याउन योगदान पुर्याएवापत उद्योगलाई सम्मान गरेको थियो। उद्योग आफैंले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको थियो। उद्योगले स्थानीय कृषकहरूलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नम्बर १०, १३, १४ र १५ मा धानखेत मासेर किसानले जडीबुटीका बिरुवा रोप्न थालेका हुन्। ‘थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिघामा पचौली रोपेँ’, अर्जुनधाराका डम्बर चौधरीले भने, ‘दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ। आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच बिघामा लगाएको छु।’ सामुदायिक वनमा खेती विस्तार झापाको अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन र भद्रपुरको कमलधाप सामुदायिक वनले जडीबुटी खेतीमा लगानी गरेका छन्। बीस बिघाबाट सुरु भएको यस्तो खेती अहिले पाँच सय बिघामा विस्तार भइसकेको छ। जुकेखाडीले १० बिघा र कमलधापले एक सय बिघा वन क्षेत्रमा लेमनग्रासको खेती गरेको छ। लेमनग्रासको घाँस काटेर उद्योगमा बिक्री गरिँदै आएको छ। जसलाई मेसिनमा पेलेर सुगन्धित तेल उत्पादन गरिन्छ। मेचीनगर–१४ कै बाल सुबोधिनी माध्यमिक विद्यालयको बाँझो रहेको २० बिघा जग्गा वार्षिक एक लाख ५० हजार बुझाउने शर्तबन्धमा ४० वर्षका लागि उद्योगले भाडामा लिएर ११ वर्षदेखि खेती गर्दै आएको छ। जहाँ मसाला, तेजपत्ता, कालो हर्दी, भेटिबर, नगरमोथे, सिट्रोनेलालगायतका जडीबुटीका रुख र घाँसको जंगल हुर्किसकेको छ। अरु एक सय बिघा जग्गा खेती विस्तारका लागि खोजी गरिरहेको उद्योगका सञ्चालक भरत बस्नेतले बताए। ‘सुरुमा हामीले जग्गा लिजमा लिएर जडीबुटी रोपण गर्यौं, अहिले किसानहरू आफैं म पनि खेती लगाउँछु भन्दै आउन थाल्नुभएको छ’, उद्योगी बस्नेतले भने, ‘किसानहरूले जति धेरै उत्पादन गरेता पनि किनिदिने ग्यारेन्टी उद्योगका तर्फबाट गरिदिएका छौं। खेतीका लागि प्राविधिक र बिरुवा सहयोगसमेत गरिरहेका छौं।’ नौ वर्षमा झापाका ६० जनाभन्दा बढी स्थानीय किसान र आधा दर्जन सामुदायिक वन जडीबुटी खेती अभियानमा जोडिनुभएको र पाँच सय बिघाभन्दा बढी जग्गामा यसको खेती फस्टाइरहेको उनले जानकारी दिए। महँगो अगरउडको खेतीमा लगानी हर्बल उद्योगले संसारकै महँगो मानिएको अगरउड (सुगन्धित काठ)को व्यावसायिक उत्पादन गर्ने महत्वाकाङ्क्षी परियोजना सुरु गरेको छ। सञ्चालक बस्नेतका अनुसार हाल उद्योगले दुई हजारवटा सेतोचन्दन (सुगन्धित काठ)को बिरुवा रोपेर हुर्काइरहेको छ। यसले उत्पादन दिन १५ वर्ष कुर्नुपर्छ। ‘सेतो चन्दन र अगरउडको उत्पादन गर्न सकियो भने महँगोमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भनेर हामीले इच्छुक किसानलाई प्रोत्साहित गरिरहेका छौं’, उद्योगी बस्नेतले भने। उद्योगले किसानलाई बिक्री वितरण गर्नका लागि हाल आफ्नो नर्सरीमा एक लाख अगरउडका बिरुवा हुर्काएको छ। किसानलाई ती बिरुवा दिएर उत्पादन खरिद गर्ने उद्योगले योजना बनाएको छ। उनका अनुसार भविष्यमा उद्योग आफैंले अगरउडको तेल निकाल्ने अलग्गै कारखाना स्थापना गर्ने सोच बनाएको छ। अगरउडको तेल अन्तर्राष्ट्रिय बजारमा तीन लाख प्रतिलिटरका दरले अहिले बिक्री भइरहेको छ। उद्योगमा हाल विभिन्न जडीबुटी पेलेर तेल उत्पादन हुँदै आएको छ। छवटा भेसल भएको उद्योगले आठ घण्टामा एउटा भेसलमा जडीबुटीजन्य काँचो घाँस पाँच सय केजी र सुक्खा घाँस तीन सय केजी प्रशोधन गर्दछ। ‘सुगन्धित साबुन र अरु केही हर्बल सामान उत्पादकले अलिअलि खरिद गरेर लैजानुहुन्छ’, उद्योगी बस्नेत भन्छन्, ‘हामीले उत्पादन गरेको अधिकांश तेल युरोप र अमेरिका निर्यात हुन्छ । विदेशी मुद्रा भित्रिने भएकाले मुलुकलाई पनि फाइदा निकै पुगेको छ।’ उद्योगले वार्षिक तीन हजार लिटर मसालाको तेल, दुई हजार पाँच सय लिटर लेमनग्रासको तेल, दुई हजार पाँच सय लिटर सिट्रोनेलाको तेल, एक हजार दुई सय लिटर पामरोजाको तेल र आठ सय केजी पचौलीको तेल उत्पादन गर्दै आएको उनले जानकारी दिए। कारखाना र नर्सरीमा गरेर उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि जडीबुटी उद्योगको विकास र विस्तार अनिवार्य रहेको धारणा व्यक्त गर्छन् ग्लोबल एग्रो एण्ड नर्सरी प्रालिका सञ्चालक दीपक नेपाल। उनले यो उद्योगअन्तर्गत हाल पाँच बिघामा जडीबुटीको नर्सरी व्यवसाय सुरु गरेका छन्। बिरुवा सहजै किन्न पाइने र उत्पादनले अरु बालीभन्दा तेब्बर आम्दानी दिने भएकाले झापामा जडीबुटीको खेतीतर्फ मध्यम किसान आकर्षित हुँदै गएको उहाँको भनाइ छ। पाँच बिघाभन्दा धेरै जग्गा भएका किसानले अन्नबाली लगाउन जनशक्ति र लागत धेरै पर्ने भएकाले जडीबुटी खेतीमा धेरै फाइदा देखेको उहाँ बताउँछन्। वातावरणलाई हरियाली राख्ने, जीवनस्तरमा सुधार आउने र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्नका लागि टेवा पुर्याउने क्षेत्र जडीबुटी भएको जनाउँदै उहाँले यसमा सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव राखे।
पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै
काठमाडौं । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । ‘हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ’, उनले भने, ‘अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।’ शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिए ।
नेपालमा रहेका एटीआर विमानमा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर-४२ र एटीआर-७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सबै सम्पुर्ण एटिआर ४२ र एटिआर(७२ वायुहरुमा कुनै प्राविधिक त्रुटी फेला नपरेको जनाएको छ । आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरेको जनाएको छ ।
टिभिएसको दुई बाइकले पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड
काठमाडौं । टिभिएसको दुई बाइकले उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड पाएको छ ।हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड पाएको हो । गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्डहरु पाएको थियो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस वर्ष पनि उत्कृष्ट कम्युटर अवार्ड पाएको टेकलेखले जनाएको छ । टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ्ग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ । यस्तै, अपाचेले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको बताइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ्ग डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको टेकलेखले जनाएको छ । । जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुमार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । यो अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात् चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत विन्दुले न्यून देखिएको छ । यो अवधिमा भन्सार राजस्व सङ्कलन सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार भन्सार राजस्व सङ्कलन पुस मसान्तसम्मको लक्ष्यको ५३ प्रतिशत बराबर मात्रै छ । छ महिना अवधिमा एक खर्ब ६१ अर्ब ८२ करोड ३० लाख बराबर भन्सार उठाउने सरकारी लक्ष्य रहेकोमा ८५ अर्ब ७८ करोड ७३ लाख बराबर मात्रै सङ्कलन भएको देखिएको हो । मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क असुलीमा पनि ७२ प्रतिशत बराबर मात्रै उपलब्धि हासिल भएको छ । पुस मसान्तसम्ममा एक खर्ब ८० अर्ब २४ करोड ८३ लाख बराबर भ्याट उठाउने सरकारी लक्ष्य रहेकोमा एक खर्ब ८० अर्ब २४ करोड ८३ लाख बराबर मात्रै उठेको देखिन्छ । चालु आवको अर्धवार्षिक अवधिमा अन्तःशुल्कतर्फ ९७ अर्ब ५० करोड ९६ लाख बराबर असुली गर्ने सरकारी लक्ष्य थियो । तर यही अवधिको वास्तविक अन्तःशुल्क असुली भने ७० अर्ब ५१ करोड बराबर छ । जुन अर्धवार्षिक लक्ष्यको ७२ दशमलव तीन प्रतिशत बराबर हो । यही अवधिमा सरकारले एक खर्ब १६ अर्ब ७९ करोड बराबर आयकर उठाएको छ । जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो । सरकारले पुस मसान्तसम्ममा एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार बराबर आयकर उठाउने लक्ष्य राखेको थियो । अर्धवार्षिक समीक्षा अवधिमा शिक्षा सेवा करतर्फ भने लक्ष्यअनुसार नै राजस्व उठेको छ । यो अवधिमा ७३ करोड ४८ लाख बराबर शिक्षा सेवा कर उठाउने सरकारी लक्ष्य रहेकोमा ७३ करोड ६७ लाख बराबर उठेको छ । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पछिल्लो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको राजस्व सङ्कलन १५ दशमलव ३२ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भन्सार राजस्व ३१ दशमलव ३८ र आन्तरिक राजस्व एक दशमलव छ प्रतिशतले घटेको देखिएको हो । आयात निरुत्साहन गर्नका लागि चालिएका कदमका कारण भन्सार राजस्व घटेको अर्थ मन्त्रालयको भनाइ छ । त्यस्तै घर जग्गाको कारोबारमा देखिएको शिथिलता र घट्दो शेयर बजारका कारण पूँजीगत लाभकरमा आएको कमी पनि लक्ष्यअनुसार राजस्व असुली हुन नसक्नुको कारण रहेको मन्त्रालयले जनाएको छ । रासस