अरुण भ्याली हाइड्रोपावरले लाभांश पारित गर्न बोलायो साधारण सभा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले माघ २७ गतेको लागि साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको ८.४२१ प्रतिशत लाभांश पारित गर्नेछ । यस्तै, सभाले कम्पनीको वार्षिक प्रतिवेदनहरु पनि पारित गर्नेछ । कम्पनीले माघ १८ गतेको लागि एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका अर्थ माघ १७ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्नेले मात्र कम्पनीको लाभांश पाउनेछन् ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान १२ बजेदेखि टेलिकमको मोबाइल तथा ल्याण्ड लाइनमा समस्या देखिएको हो । टेलिकमले के कारणले १२ बजेदेखि सबै सेवा अवरुद्ध भएको विषयमा अध्ययन भैरहेको जनाएको छ । अहिले केही पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन् ।
‘टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे’
पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उनी सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०र१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । ‘केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए’, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, ‘ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।’ यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उनी पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागे । ‘कसैले बम पड्काएको हो कि भन्ने लाग्यो’, उनले सुनाए, ‘ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।’ केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । ‘बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो’, उनले भने, ‘आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।’ खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, ‘धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।’ आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन् । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । ‘भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ‘ अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बसेका छन् । ‘यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन’, उनले भने । पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ । घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ । सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ । रासस
गुहेश्वरी मर्चेन्टको बुक क्लोज माघ २० गते
काठमाडौं । गुहेश्वरी मर्चेन्टको बुक क्लोज तोकिएको छ। कम्पनीको सोमबार बसेको बैठकले साधारण सभा प्रयोजनको लागि माघ २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १९ गतेसम्म गुहेश्वरी मर्चेन्टको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सेयरधनीले मात्र लाभांश पाउनेछन् । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको साधारण सभा माघ २७ गते हुँदैछ ।
क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ । सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् । क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यस प्राकृतिक प्रकोपमा हालसम्म १९ जनाको ज्यान गएको छ भने धेरै मानिस घरबारविहीन भएका छन् । स्थानीय प्रशासनले उद्धारका लागि अभियान चलाएको छ तर निरन्तरको आँधीका कारण नागरिकहरुको उद्धार हुन सकिरहेको छैन । यहाँको राष्ट्रिय मौसम सेवाले आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक उत्तरपश्चिमी क्षेत्रमा थप आँधी आउन सक्ने र यसबाट ठूलो विनाश निम्त्याउन सक्ने अनुमान पनि गरेको छ । यहाँको स्थानीय सलिनास नदीमा पानीको सतह खतराको तहमा पुगेको बताइएको छ । नदीमा देखिएको खतरापछि यहाँका उद्धारकर्मीहरुले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।क्यालिफोर्नियाका स्थानीय सञ्चारमाध्यमका अनुसार क्यालिफोर्नियामा आएको बाढीले गत हप्तामा मात्र दुई लाख भन्दा बढी घर र व्यवसायहरूले बिजुली कटौतीको सामना गरेका छन् । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि नै निरन्तरको वर्षाका कारण बाढी र पहिरो समेत आएको छ । यसका कारण यहाँका नागरिकले आधारभूत आवश्यकताको पनि जोहो गर्न नसकेको बताइएको छ । अधिकारीहरुले खराब मौसमका कारण बाढी र पहिरोको पनि समस्या देखिएको बताएका छन् । जसका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका खेती लगाइएका खेतहरु तथा सडकहरू पनि डुबानमा परेका छन् । राससख
आजदेखि कालिञ्चोक दर्शनको आइपीओ खुला
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६० करोडको १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, दुई प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ ।
सुनको मूल्य एक लाख ५१ सय पुग्यो
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
भेडापालनबाट ९ लाखसम्म आम्दानी गर्दै भोजपुरका किसान
भोजपुर । व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन्। बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन्। युवा विदेशबाट फर्केर व्यावसायिक भेडापालन गर्न थालेका छन्। पछिल्लो समय भेडाको मासुसँगै ध्यू, तथा ऊनबाट बन्ने सामग्रीको माग राम्रो छ। भेडापालक कृषकले भेडाको ऊन, घ्यू, महि, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिन्छन्। ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत किसानको आम्दानीको स्रोत बनेको छ। एक कृषकले यो व्यवसायबाट बार्षिक पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको भेडापालक कृषक गोविन्द बस्नेतले जानकारी दिए। ‘भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ’, किसान बस्नेतले भने, ‘यहाँ उत्पादन भएको सामग्री देशका विभिन्न ठाउँबाट माग हुन्छ । बजारको माग धान्न समस्या छ।’ औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताए। घ्यू डढेको घाउ खत हटाउन राम्रो मानिन्छ। घ्यू प्रतिकिलो चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुन्छ । ऊन प्रति केजी सात सय र मासु प्रति धार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्छ। कठेतले भने, ‘घ्यूको माग धेरै छ। माग अनुसारको घ्यू पुर्याउन समस्या छ। धैरै पौष्टिक हुने भएकोले अन्य विभिन्न रोगको लागि पनि उपयोगी मानिन्छ। भेडाको बल्याक्ख्रा (बोका)को पनि माग धेरै छ। यसको मासु निकै स्वादिष्ट मानिन्छ।’ यहाँ एक कृषकसँग एक सय ५० वटासम्म भेडा रहेको छ। धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने कठेतको भनाइ छ। कठेतले भने, ‘दुःख धेरै छ। तर भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ। एक सय ५० देखि दुई सयसम्म हुँदा पाल्दा वर्षमा आठदेखी नौ लाखसम्म आम्दानी लिन सकिन्छ।’ घ्यू, राडी, पाखी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडाँैलगायत ठाउँमा जान्छ। पछिल्लो समय युवा पुस्ता भेडापालनमा आकर्षित भएको कठेतको भनाइ छ। विदेश गएर आएका युवाले व्यावसायिक भेडापालन गरिरहेका छन्। ‘युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ’, कठेतले भने, ‘गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन्।’ मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक भेडापालन गरेका छन्। अहिले भेडा तल्लो भेगमा झारिएको छ। यसबाट हिउँद भन्दा तातो मौसममा बढी आम्दानी लिन सकिन्छ। हिउँदमा भेडालाई चरण क्षेत्रको अभाव हुने हुँदा आम्दानी अलि कम हुन्छ। भेडा वर्षातमा माथिल्लो र हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ। तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक भक्तकुमार राईले जानकारी दिए। धेरै दुःखको काम भएकाले यस्तो पेशामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनु पर्ने राईको भनाइ छ। ‘हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन्’, कृषक राईले भने, ‘कतिपय मर्छन्। यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने। धेरै दुःख कष्टका साथ पुख्र्यौली पेशा धानेका छौँ। तर राज्यको ध्यान हामीमा गएको छैन।’ भेडा बिरामी हुँदा औषधि लिन टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ। राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उनको भनाइ छ। आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको नुर्वु शेर्पाले बताए। भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उनको भनाइ छ। त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिन्छ। भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोगले धेरै दुःख दिदै आएको छ। ‘भेडापालनमा धेरै समस्या छ’ कृषक शेर्पाले भने, ‘पहिलो समस्या चरण क्षेत्रको हो। सामुदायिक वनले महँगो शुल्क लिन्छन्। एउटा वन क्षेत्रमा चराए वापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । रोग तथा वन्यजन्तुको आक्रमणले पनि क्षति पुग्छ।’ चरण क्षेत्र भएका मैयुङ, टेम्के डाँडा, चखेवालगायत क्षेत्र भेडापालनलाई उपयुक्त स्थान मानिन्छ। रासस