विकासन्युज

मिर्मिरे लघुवित्तको २३ प्रतिशत लाभांश पारित

काठमाडौं । मिर्मिरे लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको १२ औं साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित २३ प्रतिशत लाभांश पारित गरेको हो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।  बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुंजी ६५ करोड ३३ लाख कायम रहने छ । देशभर १५२ वटा शाखा संजाल मार्फत सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तले चालुआर्थिक आर्थिक वर्ष २०७९र०८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । यस वित्तीय संस्थाले यस अघि नै ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ । यस्तै, कम्पनीले एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा पुस ११ गते कम्पनीले  नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भइसकेको छ । कम्पनीको २०७९ असार मसान्तसम्ममा निक्षेप २ अर्ब ७४ करोड, लगानी कर्जा ८ अर्ब ८३ करोड, खुद मुनाफा १५ करोड ७४ लाख रहेको छ ।

निर्जीवन बीमा बजार, जोखिम र जोखिम मुल्यांकन

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चितता हो । बीमा करार गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा सेवा गरिदिने संस्था (बिमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बीमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गरिन्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिबेला कस्तो प्रकृतिको दुर्घटना हुन्छ, कसैलाई पनि थाहा हुँदैन । त्यसैले भोलिको दिनमा हुनसक्ने सम्भावित जोखिमबाट हुने क्षतिको न्यूनीकरण गर्न तथा भविष्यमा भैपरी आउने जोखिमबाट हुने क्षतिको हस्तान्तरण गर्नका लागि अपनाइने दुईपक्षीय कानुनी सम्झौता वा बीमा कम्पनीहरूसँग भविष्यमा भैपरी आउँदा हुने हानि-नोक्सानी र जोखिमबाट मुक्त हुनका लागि गरिने करार सम्झौता नै बीमा हो । नेपाल भूपरिवेष्टित राष्ट्र हो । यहाँ भू-धरातलीय विविधता अत्यधिक छ । एकै किसिमको भू-धरातलमा समेत फरक-फरक प्रकारको जोखिम रहेको पाउन सक्छौं । भविष्यमा घट्न सक्ने विपत्ति र यसका जोखिम न्यूनीकरणका अनेकौं उपाय छन् । तर त्यसको लागि यसबारे आवश्यक जानकारी हुन आवश्यक छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी र नेपाल सरकार पनि जोखिम व्यवस्थापनमा कुनै खास नीति आकलन नगरी बीमा दर रेट निर्धारण गरेको पाउन सक्छौं । खोलाको डिलमा बनेको घरको बनावट र सम्म मैदानमा बनेको घरको वर्गीकरण गर्ने प्रावधान एउटै छ । बाटो, उद्योग, पुल तथा स्टकको प्रकृति, स्टक रहेको स्थान, बीमामा उच्च जोखिम तथा भविष्यमा आउन सक्ने जोखिमको कारणबाट आर्थिक नोक्सानीको बारेमा आवश्यक मूल्यांकन नगरी कम्पनीका जोखिम मूल्यांकन कर्ता तथा बजार विभागका कर्मचारीहरूले बीमालेख जारी गर्ने गरेको देखिन्छ । हरेक बिमकले जोखिम न्यूनीकरण गरी बीमा जारी गर्नुपर्छ । तर बजारमा पहिला व्यापार-व्यवसाय वृद्धि तथा प्राप्ति गर्ने दौड चलिरहेको छ र बीमा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । बीमा कम्पनीमा कार्यरत बजार विभागका कर्मचारीहरूमा पनि जोखिम मूल्यांकनको आधारमा भन्दा पहिला कसरी व्यापार प्राप्ति गरी आफ्नो लक्ष्य पूरा गर्ने भन्नेमा ध्यान देखिन्छ । उनीहरू सेवा-सुविधा कसरी प्राप्त गर्ने भन्नेतर्फ केन्द्रित देखिन्छन् । नेपालका बीमा बजारमा दक्ष, नैतिक तथा पारदर्शी जनशक्तिको चरम अभाव छ । बीमा सम्बन्धी अध्ययन, अनुसन्धान तथा शैक्षिक सामग्रीहरू पनि निकै कमी छ । विकसित देशमा बीमालाई पहिलो प्राथमिकताका साथ लिइन्छ । साथै आˆनो सम्भावित जोखिम भएको बखत उनीहरूमा बीमाले जोखिम बहन गर्छ र आर्थिक नोक्सानीबाट मुक्त भइन्छ भन्ने विश्वास देखिन्छ । नेपालमा बीमा सम्बन्धी जनचेतनाको अभावमा यसको विश्वसनीयता ओरालो लाग्दै गएको छ । दक्ष जनशक्ति अभावले बीमा बजारको सम्भावना राम्रो भए पनि विस्तार हुनसकेको छैन । सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेको पाइँदैन । यद्यपि, यी क्षेत्रमा देखिएका सबै समस्या न्यूनीकरण गर्न सकिने खालका छन् । बीमा कम्पनीहरूले बीमालाई स्वच्छ, शुद्ध र पारदर्शी बनाउनुपर्ने हुन्छ । व्यवसायी तथा बीमितहरूले आˆनो व्यवसाय सञ्चालनमा मध्यम र उच्च जोखिम आकलन गरी बीमालेख लिनुपर्दछ । क्षति मूल्यांकनकर्ताहरूले दाबी मूल्यांकन गर्दा व्यावसायिक नैतिकता पालना गरे भने जटिलता आउँदैन । नेपाल सरकारले पनि बीमा एउटा महत्वपूर्ण आर्थिक क्षेत्र भएकोले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ । बीमा धेरै प्रकारका सिद्धान्तमा आधारित हुन्छन् । सामान्यतः परम सद्विश्वास, बीमायोग्य हित, क्षतिपूर्ति, योगदान र प्रतिस्थापनको सिद्धान्तमा आधारित हुन्छन् । तर, व्यवहारमा बीमालाई केवल एउटा बाध्यकारी बैंक तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गरेको ऋणको सुरक्षाका रूपमा लिने गरेको पाइन्छ । साथै जोखिम मूल्याङ्कन गरी जानी बुझेर बीमा गरेको पाइँदैन । २०७२ सालको विनाशकारी भूकम्प, विश्वव्यापी महामारी कोरोना, बेमौसमी बाढीपहिरो, सवारी दुर्घटना, विमान दुर्घटना र त्यसबाट हुन र पर्न गएको ठूलो आर्थिक र मानवीय क्षतिलगायत विपद्पछि नेपालीको सोच्ने तरिकामा सकारात्मक परिवर्तन आइरहेको छ । यद्यपि जुन गतिमा बीमा सचेतना र अभियान अघि बढ्नुपर्ने थियो, त्यति हुनसकेको छैन । नेपाल सरकारले सवारी साधनको अनिवार्य बीमा लागू गरेको छ । योसँगै घर तथा सम्पत्ति र स्वास्थ्य बीमा पनि त्यसरी नै अनिवार्य गर्न सक्छ । बीमाको पहुँच बढाउन सबैभन्दा पहिला त बीमासम्बन्धी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने हुन्छ । बीमा किन, केका लागि र कोसँग गरिन्छ भनेर प्रष्टसँग बुझ्नु र बुझाउनुपर्छ । नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगमार्फत उक्त सेवाको ‘डिजिटलाइजेसन’ ले निकै फड्को मारिरहेको अवस्थामा बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने प्रशस्त सम्भावना छन् । त्यसैले बीमा क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने र बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरू पनि प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने हुन्छ । हाल नेपालमा मोटर, सम्पत्ति, सामुद्रिक तथा पारवहन, ठेकेदारी तथा इन्जिनियरिङ, स्वास्थ्य तथा औषधोपचार, बाली तथा पशुपन्छी, दुर्घटना र बैंकर्स क्षतिपूर्ति बीमालेख प्रचलनमा छन् । हाल बीमा प्राधिकरणले पनि दक्ष जनशक्ति उत्पादनका लागि बीमा कम्पनीहरूसँगको सहकार्यमा इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपालको स्थापना गरेको छ । त्यसमार्फत समय-समयमा तालिम सञ्चालन गरी कर्मचारीहरूको दक्षता, कार्यक्षमता अभिवृद्धि गर्दै आएको छ । यसले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै उनीहरूको कार्यक्षमता अभिवृद्धिले सेवाप्रवाह गुणस्तरमा पनि अभिवृद्धि हुँदै जाने गर्छ । बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा घट्दै जाने र नयाँ-नयाँ बीमालेख ल्याउँदै जानाले पनि योे क्षेत्र फराकिलो बन्दै जान्छ । सम्पूर्ण व्यवसाय वा सम्पत्तिको बीमामा आकर्षण पनि बढ्छ । हालको बीमा दाबी प्रक्रिया केही जटिल तथा झन्झटिलो भए तापनि त्यसलाई समयसापेक्ष रूपमा सरलीकृत र ग्राहकमैत्री बनाउँदै लैजानुपर्ने हुन्छ । हाल बीमा प्राधिकरणले उधारोमा बीमालेख जारी गरी बिक्री गरिरहेको वा बीमितको खातामा पर्याप्त मौज्दात नभएको अवस्थामा पनि चेक दिई बीमालेख लिने गरेको पाइएको छ । त्यसैले मौज्दात सुनिश्चित नभई बीमालेख जारी नगर्न निर्देशन गरेको छ । दैवी प्रकोप, महामारी, द्वन्द्व, अपराध, जलवायु परिवर्तन, भूकम्प, ज्वालामुखी जस्ता कारणहरूबाट दैनिक मानवीय र भौतिक सम्पत्तिको ठूलो जोखिम र क्षति हुँदै गएको छ । नेपालमा अहिलेसम्म यस्ता दैविक र प्राकृतिक जोखिम उच्च देखिन्छ । समयमै पूर्वतयारी नगर्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । विपद्को अनुमान र आकलन गर्न सकिंदैन किनकि यो अनपेक्षित र अनिश्चित अवस्था हो । मानव जीवन र सम्पत्तिमा हरेक क्षण हरेक समय जोखिमको सम्भावना रहिरहन्छ । त्यसैले कुनै पनि क्षेत्र वा मानिस जोखिममुक्त छैन । विपदको क्षतिलाई न्यूनीकरण गर्न राम्रोसँग जानी, बुझी जोखिम न्यूनीकरण गर्ने माध्यम नै बीमा हो । त्यस्ता विपद्बाट बच्न र सम्भावित क्षति न्यूनीकरण गर्न बीमा नै उपयुक्त विधि हो । (लेखक आईएमई जनरल इन्स्योरेन्स कम्पनी, केन्द्रिय कार्यालयमा प्रबन्धकको रुपमा कार्यरत छन् )

मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो । ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका थिए । उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताएका थिए । दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले गत पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । उनले गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न सिङ्गापुरबाट आइपुगे सर्भेयर

काठमाडौं । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । ‘बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ’, उनले भने । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ । ‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ’, प्रवक्ता पौडेलले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ । आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्नूस् : उड्डयन प्राधिकरण

काठमाडाैं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको हो । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए । ‘कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यक्ता छैन, जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउँछ,’ उनले भने । प्रवक्ता निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ती र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारहरु बाहेक अरुलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न आग्रह गरे । यस्तै, उनले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारे । उहाँले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आईतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको बताए । आईतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ । जहाजको ब्ल्याक बक्स फेला परिसकेको र काठमाडौं ल्याइ जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ । सरकारले आईतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेका जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ ।

नेपाल लाइफको बीमा रकम अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका छन् । यस अभियान अन्तर्गत माघ महिनाभरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्नेछन् । यसका साथै भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने ग्राहक मध्येबाट हरेक हप्ता एकजनाले इयरबड्स पाउने कम्पनीले जनाएकाे छ । त्यस्तै, पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्णले १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेपनि कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पे सँग सम्झौता गरेको छ । य २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ।

यी ७ नेपाली ब्राण्ड : जो विश्व प्रसिद्ध र महँगो मूल्यमा बिक्छन्

काठमाडौं । नेपालमा केही बन्दैन, एउटा सियो पनि विदेशबाट आयात गर्नु पर्छ भन्ने वाक्यांश तपाईं हामीले बेलाबखत सुनिरहन्छौं । यो वाक्यांशमा पुरै सत्यता भने छैन । नेपालमै उत्पादन गरेर विश्व ब्राण्ड बनेका वस्तुहरु पनि बजारमा धेरै छन् । नेपालमा उत्पादन भएर विश्वमा चर्चित र विश्व ब्राण्डका रुपमा परिचित वस्तुहरुले प्रशिद्धी मात्रै कमाएका छैनन् राम्रै पैसा पनि कमाएका छन् । कतिपय वस्तुहरु मानिसको दैनिकी जोडिएका छन् भने कतिपय वस्तुहरु मानिसहरुले सुख सयलका लागि प्रयोग गर्ने गरेका छन् । ती वस्तुहरु विश्व बजारमा पुगेर प्रशिद्धी मात्रै कमाएका छैनन्, अब्बल र प्रतिस्पर्धी पनि बनेका छन् । ती वस्तुहरु विश्व ब्राण्ड बन्ने दौडमा पनि छन् । आज हामीले पाँच नेपाली उत्पादनको विषयमा चर्चा गरेका छौं । जुन वस्तु विश्व बजारमा चर्चित मात्रै छैनन्, महँगो पनि उतिकै छन् । दी गोर्खा लेदर दी गोर्खा लेदर कम्पनी एक विश्व प्रशिद्ध कम्पनी हो । यसले उत्पादन गरेका उत्पादनहरु विश्व बजारमा चर्चित छन् । यो कम्पनीले विभिन्न किसिमका लेदरका झोला तथा पर्सहरुको उत्पादन गर्छ । कम्पनीले उत्पादन गरेको एउटा सामान्य झोलाको मूल्य नै न्यूनतम डेढ लाख रुपैयाँ पर्छ भने पर्सको पनि न्यूनतम ३० हजारदेखि १ लाख बढी पर्छ । यस कम्पनीले विभिन्न रङ्गका पर्स तथा झोलाहरु उत्पादन गर्छ । गोर्खा सैनिकको नामबाट स्थापना भएको यस कम्पनीको स्थापना सन् १९७० मा भएको हो । हिमालयन पेट सप्लाई हिमालयन पेट सप्लाई कम्पनीले कुकुरले खाने छुर्पीको उत्पादन गर्दै आएको छ । घरपालुवा कुकुरहरुलाई खानाका रुपमा प्रयोग गरिने छुर्पी पनि विश्व चर्चित र महँगो उत्पादन हो । यस कम्पनीको अफिस अहिले जापान सिङ्घापुर, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न ठाउँमा रहेको छ । यस कम्पनीले १५० अमेरिकी डलबर बढीको मूल्य तोकेको छ । छुर्पी नेपालमा उत्पादन भएर निर्यात हुन्छ । निर्यात भएको छुर्पीबाट हिमलायन पेट सप्लाईले कुकुरको खानाका रुपमा उत्पादन गरेर बिक्री गर्दै आएको छ । नेपाली युवा–युवतीबीच लोकप्रिय छुर्पी (दुर्खा) अमेरिकामा कुकुरका लागि पोषिलो खाना मान्निछ । कम्पनीले वार्षिक करिब ५० करोड रुपैयाँको छुर्पी अमेरिका निर्यात गर्ने गरेको बुझिएको छ । कोबोल्ड वाच कोबोल्ड वाच आकर्षक डिजाइनको घडी उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले उत्पादन गरेको घडी रोलेक्स घडी भन्दा पनि महँगो पर्ने बताइएको छ । काठमाडौंको कोबोल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालय घडीको मुख्यालय भने अमेरिकामा छ । डायलमा सगरमाथाको चट्टान र अधिक चिसो खप्न सक्ने क्षमताकै कारण कोबोल्ड हिमालय सिरिजका घडी यूरोपेली मुलुकका नागरिकको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ । सगरमाथाबाट ल्याएर यस घडीमा पत्थर राखिएको कारण यो घडी महँगो हुने बताइएको छ । कोबोल्ड कम्पनीले बनाएको एउटा घडीको मूल्य नै १५ हजार बढी अमेरिकी डलर पर्छ । यो घडी मुख्यतः अमेरिका, नेपाल र जर्मनीमा बन्छ । यो घडीको मूल्य २ लाखदेखि झण्डै १७ लाखसम्म पर्छ । निर्यातभन्दा पनि नेपाल आउने विदेशीहरूले कोबोल्ड हिमालय सिरिजका घडी खरीद गर्ने गरेका छन् । शेर्पा एड्भेञ्चर गियर हिमाल आरोहणमा वा हाइकिङमा प्रयोग हुने कपडाका लागियो कम्पनी प्रशिद्ध छ । यसमध्ये शेर्पा एड्भेन्चरले ज्याकेट, डाउन ज्याकेट, स्वेटर, हुकलगायतका उत्पादनका माध्यमबाट विश्वका धेरै मुलुकमा न्यानो छरेको छ । शेर्पा एड्भेन्चर गियरले त अमेरिकामा आउटलेट नै खोलिसकेको छ । त्यस्तै विभिन्न डिलर र प्रयोगकर्तामार्फत शेर्पाका उत्पादन पश्चिमा देश विशेषगरी यूरोपेली मुलुकहरूमा निर्यात हुन्छन् । यस कम्पनीको सामान महँगो पनि उतिकै हुन्छ । यार्सागुम्बा ह्विस्की नेपालको हिमाली भेगमा पाइने सर्वगुण सम्पन्न टिपिकल वस्तु हो ‘यार्सागुम्बा’ । जसले विश्व बजारमा नेपालको पहिचान दिलाउँछ । त्यही यार्सागुम्बाकै कारण पनि नेपाल विश्वमा चिनिन थप मद्दत पुगेको छ । अहिले नेपाली उत्पादन यार्सागुम्बा ह्विस्की पनि एक चर्चित ब्राण्ड बनेको छ । विश्व बजारमा स्थापित पेयपदार्थहरुलाई टक्कर दिँदै यार्सागुम्बा चर्चित ब्राण्डका रुपमा अगाडि बढेको छ । यस कम्पनीले हिमाली भेगमा पाइने यार्सागुम्बा संकलन गरी ह्विस्की उत्पादन गर्छ । कम्पनीले पेय पदार्थ उत्पादन गर्न सुरु गरेको धेरै समय भएको छैन । तर, छोटो समयमा नै विश्व बजारमा लोकप्रियता पाएको छ । यो ब्राण्डको ह्विस्कीको मूल्य न्यूनतम २५० डलर पर्छ । गोल्ड स्टार किरण शूज म्यानुफ्याक्चरिङ प्रालिले उत्पादन गर्ने गोल्डस्टार जुत्ता पनि विश्व बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ । बाँकी विश्वबजारमा भने अधिकृत बिक्रेताहरूमार्फत् पुगिरहेको छन् । अहिले गोल्डस्टार जुत्ता लगाउने स्वदेशीभन्दा पनि विदेशी बढिरहेका छन् । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाबिलिस’ हुने प्रयासमा गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने कम्पनीका अध्यक्ष अमिर प्रताप अध्यक्ष राणा बताउँछन् । सन् २०१५ मा कम्पनीले बढी निर्यात गरेर बढी कर तिरेवाफत उत्कृष्ट करदाताको रुपमा पनि सम्मानित भएको थियो । उद्योगले दैनिक दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । सन् २०१५ मै यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । ३ हजारले रोजगारी पाएको किरण सुज उद्योग उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो । ‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाबिलिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्, ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’ वाइवाइ वाईवाई चाउचाउ पनि नेपाली ब्राण्ड हो । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले उत्पदान गर्ने वाइवाइ चाउचाउ अहिले विश्व ब्राण्ड बनेको छ । चौधरी ग्रुपको वाइवाइ चाउचाउ दक्षिणएशिया, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत विश्वका ३० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको छ । अहिले विश्वमा साढे दुई अर्ब प्याकेट बिक्री भइरहेको वाइवाइ ले विश्वको चाउचाउ बजारको २.३ प्रतिशत हिस्सा ओगटेको चौधरी ग्रुपको दाबी छ ।

सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन् : बेलाबेलामा झस्कन्छु

काठमाडौं । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् । स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन् । संयोगवश आइतबार पनि विहानै उनी सेतीको खोँच झरे । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार विहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे । एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए । ‘ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ’, उनले भने, ‘खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।’ माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए । सेती खोँचमा आफू मात्रै नभइ अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए । ‘यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ’, उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।’ जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए । नदीको दुवैतर्फ रहेका घनावस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका वस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुनेनै छ ।’ सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमबार विमानको विहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना भन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याविन, ककपिट आदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।