विकासन्युज

आजदेखि कालिञ्चोक दर्शनको आइपीओ खुला

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६० करोडको १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, दुई प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ ।

सुनको मूल्य एक लाख ५१ सय पुग्यो

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

भेडापालनबाट ९ लाखसम्म आम्दानी गर्दै भोजपुरका किसान

भोजपुर । व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन्। बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन्। युवा विदेशबाट फर्केर व्यावसायिक भेडापालन गर्न थालेका छन्। पछिल्लो समय भेडाको मासुसँगै ध्यू, तथा ऊनबाट बन्ने सामग्रीको माग राम्रो छ। भेडापालक कृषकले भेडाको ऊन, घ्यू, महि, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिन्छन्। ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत किसानको आम्दानीको स्रोत बनेको छ। एक कृषकले यो व्यवसायबाट बार्षिक पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको भेडापालक कृषक गोविन्द बस्नेतले जानकारी दिए। ‘भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ’, किसान बस्नेतले भने, ‘यहाँ उत्पादन भएको सामग्री देशका विभिन्न ठाउँबाट माग हुन्छ । बजारको माग धान्न समस्या छ।’ औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले घ्यूको माग  धेरै रहेको कृषक शेरबहादुर कठेतले बताए। घ्यू डढेको घाउ खत हटाउन राम्रो मानिन्छ। घ्यू प्रतिकिलो चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुन्छ । ऊन प्रति केजी सात सय र मासु प्रति धार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्छ। कठेतले भने, ‘घ्यूको माग धेरै छ। माग अनुसारको घ्यू पुर्याउन समस्या छ। धैरै पौष्टिक हुने भएकोले अन्य विभिन्न रोगको लागि पनि उपयोगी मानिन्छ। भेडाको बल्याक्ख्रा (बोका)को पनि माग धेरै छ। यसको मासु निकै स्वादिष्ट मानिन्छ।’ यहाँ एक कृषकसँग एक सय ५० वटासम्म भेडा रहेको छ। धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने कठेतको भनाइ छ। कठेतले भने, ‘दुःख धेरै छ। तर भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ। एक सय ५० देखि दुई सयसम्म हुँदा पाल्दा वर्षमा आठदेखी नौ लाखसम्म आम्दानी लिन सकिन्छ।’ घ्यू, राडी, पाखी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडाँैलगायत ठाउँमा जान्छ। पछिल्लो समय युवा पुस्ता भेडापालनमा आकर्षित भएको कठेतको भनाइ छ। विदेश गएर आएका युवाले व्यावसायिक भेडापालन गरिरहेका छन्। ‘युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ’, कठेतले भने, ‘गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन्।’ मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक भेडापालन गरेका छन्। अहिले भेडा तल्लो भेगमा झारिएको छ। यसबाट हिउँद भन्दा तातो मौसममा बढी आम्दानी लिन सकिन्छ। हिउँदमा भेडालाई चरण क्षेत्रको अभाव हुने हुँदा आम्दानी अलि कम हुन्छ। भेडा वर्षातमा माथिल्लो र हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ। तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक भक्तकुमार राईले जानकारी दिए। धेरै दुःखको काम भएकाले यस्तो पेशामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनु पर्ने राईको भनाइ छ। ‘हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन्’, कृषक राईले भने, ‘कतिपय मर्छन्। यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने। धेरै दुःख कष्टका साथ पुख्र्यौली पेशा धानेका छौँ। तर राज्यको ध्यान हामीमा गएको छैन।’ भेडा बिरामी हुँदा औषधि लिन टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ। राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उनको भनाइ छ। आम्दानी  हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको नुर्वु शेर्पाले बताए। भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उनको भनाइ छ। त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिन्छ। भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोगले धेरै दुःख दिदै आएको छ। ‘भेडापालनमा धेरै समस्या छ’ कृषक शेर्पाले भने, ‘पहिलो समस्या चरण क्षेत्रको हो। सामुदायिक वनले महँगो शुल्क लिन्छन्। एउटा वन क्षेत्रमा चराए वापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । रोग तथा वन्यजन्तुको आक्रमणले पनि क्षति पुग्छ।’ चरण क्षेत्र भएका मैयुङ, टेम्के डाँडा, चखेवालगायत क्षेत्र भेडापालनलाई उपयुक्त स्थान मानिन्छ। रासस

पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौंमा ल्याइदै

पोखरा । आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौं लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौं लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ ।

यी हुन् आज नियुक्त हुने १२ मन्त्री, कुन पार्टीबाट कति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरुले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ३, नेकपा एमालेबाट ४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका हुन । नयाँ मन्त्रीमण्डलमा एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी बन्ने पक्का भएको हो । यस्तै भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, सामान्य प्रशासन तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती बन्ने भएका हुन । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान कानुन र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ । गत पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले सपथ लिएका थिए । उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए । सोही दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए ।

काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा छ : विष्णु रिमाल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताएका हुन् । उनले सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा काँग्रेस नेताहरु सक्रिय भइरहेको भन्दै नेपाली काँग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढीरहेको बताए । उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताए । उपमहासचिव रिमालले नेपाली काँग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समिकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सभामुखको निर्वाचनमा यही माघ ५ गते हुँदैछ । उनले काँग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुविधामा पारिदिने ढंगले अघि बढीरहेको बताए । उपमहासचिव रिमालले नेपाली काँग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने पनि दाबी गरे । उनले आफू बाहेक अन्य दलहरुले संविधान नै बुझ्दैनन् भन्ने किसिमले काँग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताए । उनले काँग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताए । उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बनेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएको बताए । उनले वर्तमान सत्ता समिकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पारे । उपमहासचिव रिमालले भने, ‘काँग्रेसको भित्री मनमा चाहीँ मुलतः मेरो विचारमा यो गोप्य मतदान भएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा चाहीँ आफ्नो पक्षमा केही परिणाम ल्याउन सकिन्छ कि भन्ने आशय होकि भन्ने अन्दाज गर्न सकिन्छ । अहिले काँग्रेसका नेताहरुको एक किसिमको दौड हेर्दाखेरी राष्ट्रपतिको तयारी गर्ने र राष्ट्रपतिको लागि मत माग्ने । अथवा नेपालमा स्थिरताको लागि चाहीँ नयाँ ढंगले जानुपर्छ भनेर सरकार आफूले चलाउने गरी प्रमुख प्रतिपक्ष रहने निश्चित रहेको एमालेसँग समझदारी गरेर पनि जान सक्थ्यो ।  किनभने जुन दलको व्यक्ति प्रतिनिधि सभाको सभामुख भएपनि तत्काल त्यो दलको उसले पोजिशन छोड्नुपर्दछ ।’ उपमहासचिव रिमालले नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न काँग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गरे ।

मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

काठमाडौं । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल भैरहवा-बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी हुन् । उनको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । काठमाडौं उपत्यका नआई ठूला उद्योग चलाएर राजधानीमा बलियो उपस्थिति जनाउन सफल उद्यमी पनि हुन् उनी । व्यापार र सेवा क्षेत्रभन्दा उद्योग क्षेत्र बढी जोखिमपूर्ण मानिन्छ नेपालमा । तर, अग्रवाल यस्ता उद्योगी हुन् जसले उद्योगमा मात्र लगानी गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटो, मिलानो जुत्ता चप्पल उनको ठूला उद्योग हुन् । त्यस्तै, तेज ब्राण्डको तोरीको तेल, नमस्ते ब्राण्डको भटमासको तेल, सनफ्लावर तेल, पाम आयल उत्पादन गर्दै आएका छन् । मिनरल वाटर बोतल लगायत औद्योगिक प्याकेजिङ सामाग्रीको उद्योग पनि उनले चलाइरहेका छन् । ती उद्योगमा प्रत्यक्ष रुपमा करिब १८०० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा २५०० सयभन्दा बढीले रोजगारी पाएका छन् । ‘मलाई रोजगारी सिर्जना गर्न सक्ने क्षमता भगवानले दिएका छन्’ उनले गौरवका साथ सुनाए । नेपालका धेरै व्यवसायीले उद्योगलाई भन्दा व्यापार वा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ । राजेश अग्रवालले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् । ‘जानेको काम गर्ने हो । जुन क्षेत्रमा सफलता मिलेको छ, त्यसमा विस्तार गर्दै जाने हो,’ उनले भने । अग्रवालले फेरि पनि उद्योगलाई नै प्राथमिकतामा राखेका छन् । ‘नेपालको अर्थतन्त्र आयातमुखी छ । आयातलाई विस्तापित गर्न उद्योग स्थापित हुनुपर्छ । त्यसैले म उद्योग क्षेत्रको भविष्य पनि राम्रो देख्छु’ उनले भने, ‘नेपालीको लागि आवश्यक वस्तु उत्पादन गरेर आयातलाई विस्थापित गर्न सकियो भने त्यो पनि देशको लागि ठूलो सेवा हो, मेरो समर्पण यसैमा हुनेछ ।’ उद्योगमा मात्र लगानी किन गरेको, किन सेवा वा व्यापार क्षेत्रमा लगानी नगरेको भनेर राजेशका मित्रहरुले चासो चिन्ता पनि जाहेर गर्छन् । उद्योग क्षेत्रमा मात्र लगानी केन्द्रीत गर्दा जोखिम बढी हुन्छ भन्ने पनि छ । तरपनि उनले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् होटल, हस्पिटल, टेलिकम जस्ता सेवामा पनि ठूलो बिजनेशको स्कोप छ, तर त्यसमा मेरो अनुभव छैन, विज्ञता नभएको क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण ठान्छु,’ उनले भने– ‘मैले उद्योग क्षेत्रमा नै विविधीकरण गरेको छु ।’ पुस्तान्तरणसँगै धेरै व्यावसायिक घरानाको व्यवसाय र प्रकृति पनि फेरिएको छ । हजुरबा उद्योगी थिए भने बढी नाफाको खोजीमा छोराछोरी व्यापार वा सेवा क्षेत्रमा लागेको पाइन्छ । नाति पुस्ता त सूचना प्रविधिको क्षेत्र हुँदै व्यापारको भूमण्डलिकरणतिर लम्किरहेको पाइन्छ । विदेशमा व्यापार गराउन छोरा छोरीलाई अर्को देशको नागरिक बनाउने र नेपाली नागरिकता नै त्याग्न लगाउने व्यापारी पनि छन् । तर राजेशको छोरा शोमेश अग्रवाल पनि उद्योगमा् जमिसकेका छन् । ‘मेरो हजूरबुवाले पनि उद्योग चलाउनु भयो, मेरो बुबाले पनि राइस मिल, मैदा मिल, सह–मिल चलाउनु भयो, मैले ठूला र राष्ट्रिय स्तरको उद्योगमा लगानी गरे, छोराले पनि श्री स्टीलको नेतृत्व गरिरहेको छ’ उनले भने । महामारीले बजार संकूचित भएको र अर्थतन्त्र सङ्कटमा रहेको अवस्थामा पनि राजेश अग्रवालका कम्पनीहरुले वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन् । अर्घाखाँची सिमेन्ट उद्योग खोलेपछि उनी राष्ट्रियतरको व्यवसायी बने, जब क्लिङकर खानीसहितको उद्योग लगानी गरे । धेरै उद्योगमा उनी कार्यकारी भूमिकामा छन् । ‘सबै उद्योगमा प्रत्यक्ष निगरानी गर्दै आएको छु, सबै उद्योगमा आफै पुग्छु’ उनले भने– ‘अब कम्पनीको मोडल परिवर्तन गर्दैछु, पहिला एकल स्वामित्वका कम्पनी चलेका थिए, पछि पार्टरसिप मोडल फस्टायो, अब पब्लिक कम्पनी बनाउनुपर्छ, नाफा धेरैमा वितरण गर्ने अभ्यासले राम्रो हुन्छ, पब्लिक कम्पनी भएपछि कर्मचारी पनि बढी जिम्मेवार हुन्छन्, उनीहरुले पनि बढी लाभ पाउँछन् ।’ नयाँ योजना राजेश अग्रवालले तत्कालका लागि नयाँ योजनाको तयारी त गरेका छैनन् तर अवस्था सामान्य हुने बित्तिकै ठूला परियोजनामा हात हाल्ने उनको सोच रहेको छ । ‘अहिले तत्काल नयाँ उद्योग खोलिँदैन, भएका उद्योग बचाउन कठिन भैरहेको छ,’ उनी भन्छन्, ‘हरेक देशमा दजनसंख्या बढिरहेको हुन्छ, प्रतिव्यक्ति आम्दानी बढिरहेको हुन्छ, देशको जीडीपी बढिरहेकोे हुन्छ, ४ प्रतिशतले जीडीपी बढेको छ भने ८ प्रतिशतले उपभोग बढिरहेको हुन्छ । त्यस्तै मूल्यवृद्धि जोडिएर आएको हुन्छ, यस हिसावले बजार विस्तार हुन्छ भन्ने विश्लेषणको आधारमा उद्योग ल्याएका हुन्छौं, नेपाल जस्तो देशमा हरेक वर्ष बिजनेशन ग्रोथ १८/२० प्रतिशत हुनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ, तर पछिल्लो समय कोडिभ महामारी, तरलताको अभाव, उच्च व्याजदर वृद्धिले गर्दा बजारमा मागको कमी आएको छ, निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ, जुत्ता, कपडाको बजारमा मध्यम स्तरको प्रभाव रहेको छ, खाद्यान्यमा कम असर छ, यो अवस्थामा नयाँ उद्योग ल्याउन सकिँदैन ।’ मोफसलबाट उदाएका व्यवसायी राजेश अग्रवालले उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गरेर पनि सफल हुन सकिन्छ भन्ने ट्रेण्ड सेट स्थापित गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटोजस्ता ठूला उद्योग स्थापनापछि राष्ट्रिय स्तरको उद्योगपतिको छवि बनाएका अग्रवालले सिमेन्ट र स्टील भारतमा निर्यात थालेर नेपाली अर्थतन्त्रमा नयाँ आशाको ज्योति बालेका छन् । ‘अवस्था राम्रो थियो भने पूर्वी नेपालमा नयाँ सिमेन्ट उद्योग लगानी गर्ने सोचमा थियौं, फलाम खानी खोजिरहेका छौं,’ उनले भने– ‘पहिला डण्डी आयात गर्दथ्यौ, पछि बिलेट आयात गरेर नेपालमा डण्डी बनाउन थाल्यौं, अहिले स्पञ्ज आइरन र स्क्र्याप आइरन आयात गरेर बिलेट नै नेपालमा उत्पादन थालेका छौं, भविष्यमा हामीले फलाम खानीको खोजी गर्ने, स्पञ्ज आइरन पनि नेपालमै बनाउने काम गर्न सक्छौं, त्यसले देशको परनिर्भरता कम गर्छ ।’ डण्डी आयात हुँदा १०० रुपैयाँ विदेश जान्थ्यो भने बिलेट आयात गर्दा ८५ रुपैयाँ विदेश जान्थ्यो, स्पञ्ज आइरन आयात गर्दा ७० रुपैयाँ विदेश जान्छ । अब नेपालमा नै खानी पायौं, नेपालमै स्पञ्ज आइरन उत्पादन गर्न सक्यौं भने कोइला मात्र आयात गरे पुग्छ, ७० रुपैयाँ मात्र आयातमा खर्च हुन्छ । हामी उद्यमीले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोच्नुपर्छ । घर घरमा बिजुलीबाट खाना पकाउन थाल्यौं भने एलपी ग्यास किन चाहियो, किन आयात गर्नुप¥यो ? नेपाली उद्यमीहरुले पहिले आयातलाई कसरी प्रतिस्थापन गर्ने भनेर सोच्नु पर्ने र त्यसपछि निर्यात वृद्धिमा ध्यान दिनुपर्ने उनको विचार छ । ‘अहिले हामीले अर्घाखाची सिमेन्ट, श्री स्टील निर्यात गर्न थालेका छौं, यो शुरुवात मात्र हो, भारतमा हामीले हाम्रो ब्राण्ड स्थापित गर्न समय लाग्छ, त्यहाँका उपभोक्तामा ब्राण्ड कन्सस्नेश बढी छ । ब्राण्ड स्थापित भएपछि मात्र ठूलो मात्रामा निर्यात गर्न सकिन्छ । सरकारले पनि निर्यात प्रोत्साहनको लागि सकारात्मक सोच राखेको छ ।’ पछिल्लो आर्थिक सङ्कटले अरु व्यवसायीको जस्तै उनको पनि मनोबल भने गिरेको रहेछ । ‘सपना धेरै थिए, तर पछिल्ला वर्ष अर्थतन्त्र सङ्कटमा छ, आयात नै बढेको छ । निर्यात कम भएको छ, अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदानको हिस्सा घट्दै गएको छ, १ रुपैयाँको निर्यात गर्दा ११ रुपैयाँको आयात भैरहेको छ, बैङ्कले कर्जा दिँदा पनि उद्योग, व्यापार, सेवा क्षेत्रमा एउटै व्याजदर राखिएको छ, आयातमुखी अर्थनीतिलाई निर्यातमुखी बनाउने दिशामा काम भएको छैन’ उनले वर्तमान अवस्थाको वर्णन गरे । ‘भारतमा १०० करोडमा खोल्न सकिने उद्योगको लागत नेपालमा १२५ करोड परिरहेको छ, भारतमा उद्योगले ८ प्रतिशत व्याजमा कर्जा पाइरहेको छ भने नेपालमा १४ प्रतिशत व्याज तिर्नुपरेको छ, भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले हाम्रो लागत कसरी कम गर्न सकिन्छ भनेर सोच्नुपर्नेछ,’ उनी भन्छन्– ‘भारत र चीनबाट आयत हुने सामानमा २५ प्रतिशत भन्सार कर लगाउँदा पनि नेपाली वस्तु भन्दा विदेशी वस्तु सस्तो पर्ने अवस्था रहेको छ । व्यवसायी र सरकारको भूमिका उद्योग व्यापारमा जमेका व्यवसायीहरुमा राजनीतिक प्याँस जाग्दै गएको छ । संसदमा व्यावसायिक पृष्ठभूमि भएको सांसदहरुको संख्या बढ्दो छ । तर राजेश अग्रवाललाई राजनीतिमा जाने इच्छा छैन । ‘राष्ट्रसेवा गर्नको लागि राजनीति गर्नुपर्छ वा सरकारी पैसा खल्तीमा हाल्ने काम गर्नुपर्छ भन्ने छैन’ उनी भन्छन्– ‘तर व्यवसायी साथीहरु जो संसदमा पुग्नु भएको छ, उहाँहरुले आर्थिक विकासलाई बढवा दिने, उद्योग व्यवसायलाई प्रोत्साहित गर्ने नीति निर्माणमा सकारात्मक भूमिका खेल्नुहुनेछ, त्यसले देशमा व्यावसायिक वातावरण बनाउन मद्दत गर्नेछ ।’ सरकारको नीति र सरकारी सेवा कस्तो हुनुपर्छ भन्ने विषयमा उनले अर्को उदाहरण सुनाए । ‘सन २०१० मा म हङ्कङ् पुगेको थिए बहिनीकोमा, बिहान ६ बजे घरमा पुगेँ, ९ बजेतिर एउटा डाक्टर र एक जना नर्स घरमा आए, म झसङ्ग भए । यहाँ के भइरहेको छ ? कोही बिरामी छ कि भनेर मैले बहिनीलाई सोधेँ । बहिनीले भनिन्, ‘आज बच्चाको खोप लगाउने दिन हो, त्यसैले डाक्टर नर्स गाडी लिएर, खोप, औषधि लिएर घरमा आएका हुन् ।’ त्यहाँ के रहेछ भने बच्चा जन्मिएको हरेक घरमा सरकारले खोपसहित डाक्टर नर्स घरमा पठाउँदो रहेछ । जसको घरमा बच्चा जन्मिए पनि त्यो देशको बच्चा हो, भोलि देश बनाउने उसैले हो, ऊ स्वस्थ, बुद्धिमान, चतुर भयो भने देशलाई लाभ हुन्छ । पछि यो बच्चा रोगी भयो, लुलो-लंगडाे भयो भने देशलाई भार हुन्छ, देशको नोक्सान हुन्छ भन्ने सोचेको रहेछ सरकारले । हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यही देशका लागि हो, समाजको लागि हो । हामी मरेर जान्छौं तर ती सम्पत्ति यही भूमिमा रहिरहनेछन् । ‘हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यहि भूमिमा रहिरहने छ, तपाईं हामी मरेर जान्छौं, सम्पत्ति सबै देशको लागि हो, समाजको लागि हो’ उनले भने । ‘हामी २००८ मा अमेरिकातिर घुम्न गएका थियौं । हर्षिस ब्राण्डको चकलेट उद्योगमा पुगेका थियौं । त्यो धेरै ठूलो उद्योग रहेछ । ५० हजारभन्दा बढीले रोजगारी पाएका रहेछन् । मैले सोधे– यो उद्योग कसको हो ? उहाँहरुले भन्नु भयो कि त्यो उद्योगका मालिक, उनको परिवारका सदस्यहरु सबै बिते, अब कोही पनि छैनन्, त्यो उद्योग ट्रष्टको रुपमा चलेको छ ।’ ‘नयाँ नयाँ उद्योग खोल्दै आएका छौं, हामीले सम्पत्ति सिर्जना गर्ने हो, केयर गर्ने हो, राष्ट्र निर्माणमा सहयोग गर्ने हो, यो सबै सम्पत्ति राज्यको हो’ उनले भने, ‘उद्यमी भनेको सम्पत्तिको केयरटेकर मात्र हो, राष्ट्र निर्माणको अभियान हो ।’ प्रकृतिले असाध्यै धनी देश हो नेपाल । यो देश विकासको लागि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छ । आधुनिक तरिकाको मोटरबाटो, पुल, सुरुङमार्ग लगायतका पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक छ । अहिलेको भैरहवाबाट पोखरा जाँदा ६ घण्टा लाग्छ । अब तीन घण्टामा पुग्ने गरि सिधा सुरुङमार्ग कसरी बनाउने भनेर सोच्नुपर्छ । जसरी नागढुंगामा सुरुङ मार्ग बन्दैछ, हेटौडा-काठमाडौं सुरुङ मार्गको सोच आएको छ, यस्ता पूर्वाधार बने भने नेपाली उद्योगको उत्पादन लागत कम हुन्छ । बजारीकरण सजिलो हुन्छ । त्यसले उद्यमशीलताको विकासमा ठूलो योगदान गर्छ । ‘यस्तो परियोजना निर्माण सरकारबाट मात्र सम्भव छैन, सरकार र निजी क्षेत्र मिलेर यस्ता पूर्वाधार निर्माण गर्नुपर्दछ, जसले १००/२०० वर्ष पछिका पुस्ताले पनि लाभ लिन सकून्’ अग्रवालले भने । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : ‘सक्रिय व्यवसायिक जीवनबाट बिश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

सिरहामा ट्रकको ठक्करबाट मृत्यु

फाइल फ सिरहा । सिरहाको धनगढीमाईमा आजविहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नंको ट्रकको ठक्करबाट सिरहाकै सुखीपुर नगरपालिका–८ का अन्दाजी ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो । ट्रकको ठक्करबाट सख्त घाइते साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पु¥याए पनि उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्स्च्यिुटका प्रिन्सिपल तथा बाली विशेषज्ञ हुन् । बिदाको दिन भए पनि इन्स्च्यिुटकै कामले गोलबजार आउँदै गर्दा दुर्घटना भएको इन्स्च्यिुटका सञ्चालक समिति सदस्य बासना मोक्तानले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।