राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन् । बिहीबार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका हुन् । उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताए । उनकाे अनुसार उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्नेछ । ‘आज सभामुखको निर्वाचन भयो, हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, प्रतिष्पर्धा भयो, बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो, भोली उपसभामुखको निर्वाचन हुन्छ, आजकै प्रक्रियामा हुन्छ,’ उनले भने । ‘राष्ट्रपतिको कुरा बाँकी रहेको छ, हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ, हामी त्यो कोशिस जारी राख्छौं,’ उनले थपे ।
पाँच वर्षमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने गरी काम गरौं : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बिहीबार निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि कम्पनीहरुलाई निर्देशन दिए । ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ, बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले भने । हालै भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्ने बताए । ‘कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्याे, त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुप¥यो, कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्याे,’ उनले भने । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए । यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गर्नुहुुँदै बीमा कम्पनीहरुमा बीमा अभिकर्ता नदोहोरिने गरी छनौट गर्नका लागि प्राधिकरणको अनलाइन प्रणालीमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (पान) इन्ट्री गर्नुपर्ने प्रावधान राख्न लागिएको जानकारी दिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सिल्क एक्सपोर्ट र क्लासिक ग्रुपबीच व्यवसायीक सम्झौता
काठमाडौं । सिल्क एक्सपोर्ट र क्लासिक ग्रुपबीच व्यवसायीक सम्झौता भएको छ । लामो समयदेखि चीन र भारत लगायत अन्य मुलुकमा सामान निर्यात गर्दै आइरहेको सिल्क एक्सपोर्टबीच सामान निर्यात गर्ने बारे सम्झौता भएको हो । यस सम्झौता पश्चात क्लासिक ग्रुपद्वारा उत्पादिन म्याट्रेस सिरक र बेडसिट जस्ता सामानहरु सिल्क एक्सपोर्टले तिब्बतमा बजारीकरण तथा प्रवर्धन गर्नेछ । यो सम्झौताले हाल देशले भोगिरहेको व्यापार घाटालाई केही हदसम्म भएपनि घटाउन मद्धत गर्ने विश्वास गरेको सिल्क एक्सपोर्टले जनाएको छ ।
पेटेन्ट दर्तामा सरकार उदाशिन, आविश्कारमा निराशा
काठमाडौं । नुवाकोटको बेलकोटगढी– १२, मदानपुर घर भएका अनुसन्धानकर्ता राम–लक्ष्मण रिमालको दाजुभाइले १२ वर्ष अगाडी ‘विद्युतीय भोटिङ मेसिन’ निर्माण गरे । गत मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सोही विद्युतीय भोटिङ मेसिनको प्रयोग भयो । विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्दा मतपरिणाम दुई/तीन घण्टाभित्रै सार्वजनिक भयो । १०० विद्युतीय भोटिङ मेसिनमध्ये एमालेले महाधिवेशनमा ९० वटा मेसिनको प्रयोेग गरेर विभिन्न ४८ पदका लागि मतदान भएको थियो । विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट निर्वाचन आयोगले मत्रपत्र छाप्न परेन भने भिन्नभिन्न मतपत्र बोकेर मतदान गर्नुपर्ने झन्झट पनि भएन र खासै खर्च पनि गर्नु परेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा समेत सोही भोटिङ मेसिनको प्रयोग भयो । भोटिङ मेसिन निर्माणकर्ता लक्ष्मण रिमाल विस २०६४ सालपछि अनुसन्धान गरेर तयार पारिएको विद्युतीय भोटिङ मेसिनबाट दुई राजनीतिक दलका निर्वाचनसँगै विभिन्न संघसंस्थाको ११० वटा निर्वाचन सम्पन्न गरिसकेको बताउँछन् । ‘हामीले १२ वर्षदेखि भोटिङ मेसिन सञ्चालनमा ल्याएका हौँ, सञ्चालनलमा ल्याएपछि ठूलादेखि साना निर्वाचन सम्पन्न भैसकेका छन्’, उनले भने, ‘हामीले बनाएको मेसिनमा मतदान छिटो हुने, मत बदर पटक्कै नहुने र मतगणना पनि ‘बटन क्लिक’ गर्दा छिनमै नतिजा सार्वजनिक हुन्छ ।’ उनीहरूले इलेक्ट्रोनिक भोटिङ मेसिन बनाउन २०६४ सालपछि रिसर्च गरेका थिए । सोही अध्ययनको आधारमा भोटिङ मेसिन बनेको थियो । ‘हामीले मेसिन सञ्चालनमा ल्याएको १२ वर्ष भयो, ७ वर्षदेखि पेटेन्ट लिनका लागि उद्योग विभागमा आवेदन दिएका हौँ, अहिलेसम्म अनुमति पाइसकिएको छैन’, उनले भने । उद्योग विभागमा जनशक्ति कम हुँदा र छिटो परिवर्तन हुने कर्मचारीका कारण समेत भोटिङ मेसिनको पेटेन्ट लिन ढिलाई भएको उनको भनाइ छ । ‘विद्युतीय भोटिङ मेसिनको पेटेन्ट लिन निवेदन दर्ता गर्यौं तर उद्योग विभागबाट किन चाहियो पेटेन्ट कपिराइट तथा ट्रेडमार्क नै ठिक छ भन्दै हाम्रो फाइल नै अगाडि बढाइएन, सरकारी तवरबाट जुन सहयोग हुनुपर्ने हो भएन, पेटेन्टका लागि अनुमति दिने निकायकाटै सहजीकरण नभएपछि तयार पारिएको ५/६ वटा पेटेन्टको निवेदन दर्ता नै गरेनौँ,’ उनले गुनासो गर्दै भने । बौद्धिक सम्पती संरक्षण समाजका पूर्व अध्यक्ष एवंम नेपाल सरकारका पूर्व सचिव भारत बहादुर थापा उद्योग विभागको ढिलासुस्तीले धेरै आवेदन थुप्रिएको बताउँछन् । ‘मैले लामो समय उद्योग विभागमा बिताएँ, म उद्योगमा हुँदा पेटेन्टका लागि आवेदन नै पर्दैनथ्यो तर अहिले धेरै आवेदन परेको छ, तर सरकारले टुंगो लगाउनै सकेन, उनले भने ।’ उनले सरकारी तवरबाट पेटेन्ट दर्ताका लागि सहजीकरण नहुँदा र एउटै आवेदनलाई लामो समयसम्म टुंगो नलगाउँदा नयाँ आवेदन दिनेमा पनि निराशा बढ्दै गएको सुनाए । सात सय आवेदन, ८२ लाई अनुमति वि.स. २०३१ सालदेखि हालसम्म पेटेन्ट दर्ताका लागि उद्योग विभागमा ७ सयभन्दा बढीको आवेदन परेको छ । तर अनुमति ८२ वटाले मात्रै पाएका छन् । ठूलो संख्यामा पेटेन्ट दर्ताका लागि विभागमा आवेदन परेपनि अधिकाशंले आवश्यक कागजपत्र नै पूरा नराख्दा समस्या हुने गरेकोे विभागका अधिकारीहरु बताउँछन् । विभागका औद्योगिक सम्पत्ति शाखाका निर्देशक हरि पंगेनी पेटेन्ट दर्ताका लागि निवेदन दिनेको संख्या धेरै भएपनि अनुमति पाउनेको संख्या न्यून रहेको स्वीकार गर्छन् । उनका अनुसार पछिल्लो एक दशकमा जम्मा ८ वटा मात्रै पेटेन्ट दर्ता भएका छन् । यो अवधिमा कुनै पनि विदेशी पेटेन्टको दाबीलाई दर्ता गरिएको छैन । कुनै व्यक्तिले आविष्कार गरेको वस्तु वा पदार्थको बनावट वा कुनै नयाँ सिद्धान्त अथवा सूत्रद्वारा पत्ता लगाइएको उपयोगी आविष्कारलाई पेटेन्ट मानिन्छ । अरू कसैले त्यस्तो आविष्कार नक्कल नगरोस् भनी दर्तामार्फत पेटेन्ट अधिकार सुरक्षित गरिएको हुन्छ । विभागको तथ्यांकअनुसार, अहिलेसम्म देशमा ४६ स्वदेशी र ३६ विदेशी गरी ८२ वटा पेटेन्ट दर्ता भएका छन् । दर्जनौं यस्ता दाबीको फस्यौट हुन सकेको छैन । आवेदन परेका पेटेन्टसँग सम्बन्धित विज्ञ नै नभएको उनले बताए । विभिन्न खालका निवेदन परेका छन् । तर, त्यसको विषयमा विज्ञसँग बसेर छलफल गर्नुपर्छ, छलफलका लागि विज्ञ नहुँदा समेत निवेदन थुप्रिएको विभागका अधिकारीहरु बताउँछन् । नेपालमा आविष्कार पनि कम हुने र त्यस्तो आविष्कार नवीनतम् हो वा होइन भनी ठम्याउने विभागको क्षमता कमजोर भएकाले पेटेन्ट दर्ता कम भएको बताउँछन् । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार, पेटेन्ट अधिकार सुरक्षित राख्न बिल्कुल नयाँ आविष्कारलाई मात्र दर्ता गरिने व्यवस्था छ । अरूको आविष्कारमा आधारित भएर गरिएका सुधारलाई पेटेन्ट अधिकार दिने विषयमा विद्यमान कानून मौन छ, त्यसैकारण पनि पेटेन्ट दर्ताको संख्या कम भएको विभागको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंकले घोराहीका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र दाङ जिल्लाको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्र्तगतको कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने बैंकले जनाएको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवामा उद्यमशीलताको विकास गरी राष्ट्रिय उत्पादन र रोजगारीमा जोड्न सघाउ पुर्याउने बताए । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उद्यमशीलताको विकास भई सानो सानो आम्दानीका लागि वैदेशिक रोजगारीमा जाने संस्कारको न्यूनिकरण हुने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पुर्याइरहेको बताए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
गोरखा महोत्सवको सातौं दिन, २५ हजारले गरे अवलोकन
काठमाडौं । ‘११ औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९’ मा बिहीबारसम्म २५ हजारले अवलोकन गरेका छन् । गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला सुरु भएको सात औं दिनसम्ममा २५ हजारले अवलोकन गरेकाे संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । ‘पहिलाको तुलनामा अहिले मेला अवलोकन गर्ने मानिसको संख्या कम नै छ, आर्थिक मन्दीले पनि होला, हामी मेलाको अन्तिम तिर आइपुगेका छौं, बाँकी रहेको केही दिनमा अझै यो भन्दा बढीले अवलोकन गर्ने विश्वास लिएका छौं,’ उनले भने । प्रदर्शनीमा एक सय वटा स्टलहरू राखिएको छन् । उक्त स्टलमा कृषि, औधाेगिक, स्थानीय उत्पादन आदि राखिएको पनि श्रेष्ठले बताए । उनले मेला अवधिभर ५० हजारले अवलोकन गर्ने अपेक्षा संघले राखेको बताए । संघले गोरखाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित उक्त महोत्सव आयोजना गरेकाे हाे । गोरखा महोत्सव माघको ७ गतेसम्म सञ्चालन हुने छ । कोभिड–१९ को प्रभाव पश्चात् विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरिएको अध्यक्ष श्रेष्ठले बताए । उक्त महोत्सवमा आयोजनामा ५१ लाख रुपैयाँ खर्च हुने पनि श्रेष्ठले जानकारी दिए । ‘आर्थिक विकासको आधारः कृषि पर्यटन, उद्योग व्यापार’ भन्ने नारा साथ आयोजना भएको मेलामा शनिबारसम्म सञ्चालन हुने छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा
न्युजिल्याण्ड । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छिन् । बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । ‘म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,’ पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भनिन् । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन् । पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए । कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उनले देशको नेतृत्व गरिन् । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उहाँ विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छिन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री हुन् । रासस
‘साउथ एसिया एग्री समिट’ : प्रविधिको विकास, साझेदारी र खाद्य सुरक्षामा छलफल
काठमाडौं । दक्षिण एसियामा कृषि क्षेत्रको विकाससँग जोडिएका र सरोकार राख्नेहरुको बीचमा ‘साउथ एसिया एग्री समिट’ कार्यक्रमको आयोजना भएको छ । कृषि क्षेत्रको विकासमा देखिएको चुनौति, अनुसन्धान तथा प्रविधिको विकास, साझेदारी र क्षेत्रीय खाद्य सुरक्षाको विषयमा छलफल गर्ने उद्देश्यले सो समिट आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो दिन व्यवसायिक सेसनमा बोल्ने वक्ताहरुले दक्षिण एसियमा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए । साथै वक्ताहरुले नीति निर्माता र व्यवसायीहरुले पछिल्लो समय अन्तराष्ट्रिय व्यापारमा गैर भन्सार अवरोध बढन थालेकाले यसमा सुधार आवश्यक रहेको विषयलाई पनि उठाएका छन् । समिटमा श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षा मन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सिमान्तकृत किसान रहेकाले उनीहरुको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले कृषि क्षेत्रको निर्यात लागत निकै महंगो भएको र यहाँका धेरै देशहरुमा खुद कृषिजन्य वस्तु आयात रहेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले संयुक्तरुपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले गरेका छन् । दुवई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुवईको बजारबाट फाइदा लिन सक्ने वताए। कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने धारणा राखेका थिए । समिटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोया नारायण ज्ञवालीले समिटका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने बताएका थिए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताउँदै लगानी बढदा निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने धारणा राखेका थिए । साफ्टा अन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरु घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा उनले जोड दिएका थिए । दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने सचिव ज्ञवालीले बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समिटले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने भन्दै कार्यक्रम नेपालमा आयोजना गरेको र कार्यक्रममा आफूहरुले साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकहरु बीच व्यापार विस्तारको अवसर भएपनि कृषिजन्य उत्पादनको निर्यातमा गैर भन्सार अवरोध लगायतका समस्या रहने गरेको अध्यक्ष गोल्छाले बताएका थिए । अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरुको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तराष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने धारणा राखेका थिए । समिटमा भारत सब–कन्टिनेन्ट एग्री फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर, विवेक अग्रवाल, एसियन पार्म आयल एलाइन्सका अध्यक्ष अतुल चतुर्वेदी, ग्लोबओइल अर्गनाइजिङ कमिटिका अध्यक्ष सन्दिप बाजोरिया, नेपाल घ्यु तथा तेल उत्पादक संघका अध्यक्ष सन्दिप अग्रवाल र भारत सब–कन्टीनेन्ट एग्री फाउन्डेसनका अध्यक्ष सुधाकर तोमार लगायतले आफ्ना विचारहरु राखेका थिए । समिटमा भारत सब–कन्टिनेन्ट एग्री फाउन्डेसनसँग नेपाल उद्योग वाणिज्य महासंघ र विश्वका अन्य विभिन्न निकायहरुबीचमा कार्यक्रम साझेदारीको समझादारी गरिएको थियो । समिटमा सहभागी श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षा मन्त्री नलीन फर्नान्डो, दुवई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोया नारायण ज्ञवाली, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । भारत सब कन्टिनेन्ट एग्री फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको समिटमा सम्मेलनमा १२ देशका करिब ४ सय उद्यमी तथा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको छ । विभिन्न भिन्न–भिन्न सेसन सहित समिट शुक्रबारसम्म चल्ने जनाइएको छ ।