
काठमाडौं । ‘११ औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९’ मा बिहीबारसम्म २५ हजारले अवलोकन गरेका छन् ।
गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला सुरु भएको सात औं दिनसम्ममा २५ हजारले अवलोकन गरेकाे संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
‘पहिलाको तुलनामा अहिले मेला अवलोकन गर्ने मानिसको संख्या कम नै छ, आर्थिक मन्दीले पनि होला, हामी मेलाको अन्तिम तिर आइपुगेका छौं, बाँकी रहेको केही दिनमा अझै यो भन्दा बढीले अवलोकन गर्ने विश्वास लिएका छौं,’ उनले भने ।
प्रदर्शनीमा एक सय वटा स्टलहरू राखिएको छन् । उक्त स्टलमा कृषि, औधाेगिक, स्थानीय उत्पादन आदि राखिएको पनि श्रेष्ठले बताए । उनले मेला अवधिभर ५० हजारले अवलोकन गर्ने अपेक्षा संघले राखेको बताए ।
संघले गोरखाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित उक्त महोत्सव आयोजना गरेकाे हाे । गोरखा महोत्सव माघको ७ गतेसम्म सञ्चालन हुने छ ।
कोभिड–१९ को प्रभाव पश्चात् विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त महोत्सवमा आयोजनामा ५१ लाख रुपैयाँ खर्च हुने पनि श्रेष्ठले जानकारी दिए । ‘आर्थिक विकासको आधारः कृषि पर्यटन, उद्योग व्यापार’ भन्ने नारा साथ आयोजना भएको मेलामा शनिबारसम्म सञ्चालन हुने छ ।