विकासन्युज

प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लिए शपथ

काठमाडौं । प्राइम बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । श्रेष्ठले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पुस ३० गते बसेकाे बैंककाे समितिको ४५९ औं बैठकबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति थियो ।

उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ ।प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरिन् । त्यस्तै, एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी भएका थिए ।

देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं । नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् । काँग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरेकी थिइन् । हाल बहाल रहेको २६८ मध्य बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएका सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे । नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए । एमाले स्थायी कमिटीका सदस्य समेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक पेस

काठमाडौं । राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गरेका हुन् । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताए । उनले मुुुलुको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ ।

इसेवाको प्रादेशिक कार्यालय मधेश प्रदेशमा पनि 

काठमाडौं । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । प्रादेशीक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घााटन गरे । अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशीक कार्यालय मार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन् । देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ । इसेवाबाट इन्सयोरेन्सकाे प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

फुटसल प्रतियोगिता आयोजना गर्दै डिएभी कलेज

काठमाडौं । डिएभी कलेजले धनराशि सहित फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी कलेजले अन्तर कलेज चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने भएको हो । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ । माघ २० गतेदेखि २२ गतेसम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।

कर्पोरेट पे प्रणालीमा पुससम्म २०२ अर्बको कारोबार फर्छ्यौट

काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पे मार्फत कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धी भएको कम्पनीले जनाएको छ । हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् यस प्रणाालीमा बैंकरवित्तीय संस्थाका ६१ सय भन्दा बढि व्यावसायिक ग्राहकहरु आवद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै, यस प्रणालीको एउटै प्ल्याटफर्ममा एक भन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेकोले छ । यस प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोडसम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टी फ्याक्टर अथेन्टिकेसनको समेतको व्यवस्था रहेको छ । साथै, यस प्रणालीमा व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।

गोरु पाल्ने कृषकलाई १० हजार अनुदान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो । नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनु पर्नेछ । अनुदानका लागि नगरपालिकाले दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ ।