काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन् ।
बिहीबार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका हुन् ।
उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताए । उनकाे अनुसार उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्नेछ ।
‘आज सभामुखको निर्वाचन भयो, हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, प्रतिष्पर्धा भयो, बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो, भोली उपसभामुखको निर्वाचन हुन्छ, आजकै प्रक्रियामा हुन्छ,’ उनले भने ।
‘राष्ट्रपतिको कुरा बाँकी रहेको छ, हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ, हामी त्यो कोशिस जारी राख्छौं,’ उनले थपे ।