अनलाइन सेवाको नाममा सरकारी निकायको ज्यादती, एकले अर्कालाई पत्याउँदैनन्
काठमाडौं । केही दिनअघि सामाजिक सञ्जाल (फेसबुक) मा सेयर लगानीकर्ता शिव चन्द्रले तस्वीर राख्दै लेखे, ‘सवारी साधनको कर तिर्नको लागि यातायात ब्यवस्था कार्यालय सानो भ¥याङ पुग्दा अचम्मको तर ब्यवहारिक दृश्य देखियो, १० बजे खुल्ने कार्यालयमा सेवाग्राही ९ बजे अगाडि नै पुग्ने रहेछन्, सबैभन्दा पहिले ५ नं झ्याल अगाडि सानो चिटमा आफ्नो सवारी साधन नं र क्रम संख्या लेखेर सानो ढुंगाले थिचेर चिट लाई क्रमशः लाइन लगाउँदै जानुपर्ने रहेछ ।’ १० बजे कार्यालय खुल्दा सम्म १७० भन्दा बढी चिटहरु लाईनमा थिए । १० बजे काउण्टर नं ५ खुल्छ त्यसपछि सबै चिट बाहक ग्राहकहरु ईमान्दारिता पुर्वक आफ्नो क्रम सँख्या अनुसार लाईन बसेर ब्लु बुक बुझाएर सँगै रहेको लक्ष्मी बैंकको काउन्टर नं १, २, ३, ४ छेउ आएर बस्ने अनि आफुलाई माईकिङ गरेर बोलाएको काउण्टरमा गई कर भुक्तानी गर्ने भनेर लेखे । उनले थप लेखेका छन्, ‘यति गरिसकेपछि सँगै छेवैमा रहेको हाकिम सापको काउण्टरमा ब्लू बुक, कर भुक्तानी गरेको रसिद र बीमाको कागज पत्र बुझाएपछि एकछिन पछि अर्को झ्यालबाट नवीकरण भएर आफ्नो ब्लू बुक हात पर्ने रहेछ, यो सम्पूर्ण प्रकृया एकदेखि डेढ घण्टा भित्र पुरा हुने रहेछ, उनले व्यङ्ग्य गर्दै भनेका छन्, ‘वाह ! यातायात व्यवस्था कार्यालयको दोहोरो अनलाइन सिस्टम ।’ यातायात व्यवस्था कार्यालयले अनलाइनबाटै काम हुने भनेपनि मान्छेहरु बिहानै गएर लाइन बस्नु पर्ने बाध्यतालाई उनले स्टाटसार्फत् भन्न खोजेका थिए । गोर्खाका रमेश दाहाल अनलाइनबाट बाइकको ब्लू बुक नवीकरण गर्न नमिलेपछि बाध्य भएर कार्यालयमै आउनु परेको गुनासो गर्छन् । ‘यातायात कार्यालयले अनलाइनबाट पनि भुक्तानी गर्न व्यवस्था मिलाएको छ, मेरो बाइकको नवीकरण सकियो, अनलाईनबाट भुक्तानी गर्ने प्रयास गरे, तर मेरो बाइकको नम्बर नै देखाएन, उनले भने, ‘अनलाइनबाट नम्बर नै नदेखाएपछि बाध्य भएर कार्यालय आउनु पर्याे’, उनले भने । पोखरा लेखनाथका अशोक आफूले अनलाइनबाट पासपोर्ट नवीकरण गर्न नसकेको गुनासो गर्छन् । ‘मेरो पासपोर्टको मिति सकिएको छ, नवीकरण गर्न पनि नयाँ सरह अनलाईन फर्म भर्नुपर्ने रैछ, फर्म भर्न राहदानी विभागको साइट खोल्न थालेको ५ दिन भयो, आफूले जति प्रयास गरेपनि सफल नभएपछि बाध्य भएर साइबर जानुपर्याे’, उनले भने, ‘आफ्नो ५ दिनको मेहेनत खेर गयोे, साइबरलाई ३ हजार रुपैयाँ बुझाएर नवीकरणको फर्म भरेँ ।’ पोखराबाट अनलाईन फर्म भरेर पासपोर्ट लिन राहदानी विभागमा लाइनमा बसेका अशोकले नाम मात्रका सरकारी अनलाईनले सहज रुपमा सेवा प्रवाह भन्दा पनि धेरै समस्या दिने गरेको बताए । पछिल्लो समय राहदानी, यातायात, मालपोत, उद्योग, कम्पनी रजिष्ट्रार, खानेपानी, विद्युत, कर, श्रम, अदालत सहितका सेवाग्राहीको धेरै भिडलाग्ने सरकारी कार्यालयमा रहेका नाम मात्रको अनलाईन सेवाले हैरान बनाउने गरेको सेवाग्राहीहरु बताउँछन् । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका प्रमुख हरिहर पोखरेल यातायात कार्यालयको अनलाईन सेवा प्रभावकारी नभएको बताउँछन् । ‘ब्लू बुक नवीकरण अनलाईबाट गर्न मिल्छ, रकम भुक्तानी गर्दा बाइक तथा गाडीको नम्बर नै नदेखिने समस्या हुन थालेपछि प्रभावकारी भएन’, उनले भने । कार्यालयले सबै साधनको नम्बर रजिष्टरको तयारी थालेको भन्दै छिट्टै सम्पूर्ण काम अनलाइनबाटै हुने बताए । ‘हामीले गाडीको सम्पूर्ण विवरणहरु अनलाइन इन्ट्री गर्ने र कागजपत्रहरु इस्क्यान गरेर राख्ने गरी टेन्डर आह्वान गरेका छौँ, सबै गाडीहरुको विवरण राखेपछि अनलाइनबाट भुक्तानी गर्न मिल्छ’, उनले भने, ‘यो वर्ष गुर्जुधारा बाहेकका अन्य कार्यालय डिजिटलाइजेसनमा जान्छन् ।’ उनले गुर्जुधारामा बाइक धेरै दर्ता हुँदा डाटा इन्ट्रीमा केही समय लाग्ने भन्दै चालू आर्थिक वर्षको अन्तिम तिर सबै कामहरु अनलाइनबाट हुने बताए । सरकारले अनलाइन मार्फत् दिने सेवामा सबैकोे पहुँचका लागि भन्दै हालै विद्युतीय सुशासन आयोग गठन गरेको छ । आयोगले अनलाइनको विषयमा जानकारी दिन देशैभर नागरिकर सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी थालेको छ । उक्त केन्द्रले सरकारी वेबसाइटमा फारम भर्ने तरिका लगायत अनलाईनमा आवेदन दिन सिकाउनेछन् । सरकारले अनलाइन सेवालाई प्रभावकारी बनाउने भन्ने नीति बनाएपनि सेवाग्राहीले भने सेवा पाउन सकेका छैनन् । स्थानीय, प्रदेश र संघीय सरकारका बजेट भाषण वा नीति तथा कार्यक्रममा सरकारी सेवालाई सर्वसुलभ बनाउने, सेवा प्रवाहमा सर्वसाधारणको पहुँच बढाउने र सरकारी सेवालाई डिजिटाइज गर्ने भन्ने नीति प्राथमिकताका साथ राख्छन् । तर, त्यसको कार्यान्वयनमा भने सरकार असफल भइरहेको छ । अनलाइन सेवाको नाममा सर्वसाधारणले भने सास्ती भोगिरहेका छन् । विभिन्न निकायले सीमित मात्रामा उपलब्ध गराउने अनलाइन सेवा पनि एक–अर्कासँग सम्बन्धित पनि देखिँदैनन् । एउटा निकायले अर्को निकायको डिजिटल डकुमेन्ट पनि नपत्याउने अवस्था छ । जसले गर्दा सेवाग्राहीले एउटै प्रकृतिको विवरण विभिन्न निकायमा पटकपटक बुझाउन लाइन बस्नुपर्ने मात्र नभएर एउटै किसिमको सेवा लिन बारम्बार भौंतारिनुपर्ने अवस्था सिर्जना भएको छ ।
सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि अनुगमन आवश्यक : परिसंघ
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दै आएको यती एयरलाइन्सको एटीआर जहाजको गत माघ १ गते पोखरामा भएको दुर्घटनाले कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पुर्याउन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ। परिसंघको पर्यटन समितिले आज एक विज्ञप्तिमा जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो। ‘विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर हाम्रो पर्यटन उद्योगमा देखिएको हुँदा यस्ता दुर्घटनाले देशको दिगो समृद्धिका लागि बलियो आधारका रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम पनि उत्तिकै रहन्छ’ । विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ, यसो हुन नदिन तत्कालका लागि दुर्घटनाको अध्ययन गर्न गठित छानबिन तथा जाँच आयोगले वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र निष्पक्ष अध्ययन गरेर सोको प्रतिवेदन शीघ्र तयार पारी तथ्य सार्वजनिक गर्दै सरकारले नेपालको हवाई सुरक्षातर्फ आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्दछ। यसको थप विश्वसनीयताका लागि दुर्घटनाको छानबिनमा अन्तर्राष्ट्रिय विज्ञहरुको संलग्नता हुँदा राम्रो हुने हाम्रो सुझाव छ।’ संकटका बेला समन्वय र संचार अत्यन्तै महत्त्वपूर्ण रहने हुँदा राज्यको निकायबाट निजीक्षेत्रको लगानी संरक्षण हुने र गन्तव्यको छवी जोगिने गरी आवश्यक कदमहरु चालिनुपर्दछ भन्ने परिसंघको धारणा छ। ‘चुस्त नियमन तथा प्रभावकारीअनुगमन लगायतका आवश्यक उपायहरुको अबलम्बनसहित सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि आवश्यक ठोस कार्य गर्न पनि परिसंघको पर्यटन समिति सरकारलाई आग्रह गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ। पर्यटन नेपालीहरुको अर्थतन्त्रकै एक मौलिक प्रतिस्पर्धात्मक क्षमता र उच्च सम्भावना भएको क्षेत्र हो । ‘एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा गरिने गतिविधिबाट चलायमान हुने अर्थतन्त्र हो पर्यटन’, विज्ञप्तिमा भनिएको छ, ‘करिब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट यात्रा गर्ने र देशभित्रका सुन्दर तथा दुर्गम गन्तव्यहरुसम्मको यात्रा पनि अधिकांशरुपमा हवाई माध्यमबाटै हुने गरेको सन्दर्भमा सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवाको सुनिश्चितता आजको प्रमुख आवश्यक्ता हो। यसैले यसमा दृढताकासाथ सुधार ल्याउन अत्यन्त जरुरी छ।’ यसका साथै पछिल्ला केही दिनयता हवाई दुर्घटनासँग जोडेर सामाजिक सञ्जालहरुमा भ्रम सिर्जना गर्ने अपुष्ट सामग्रीहरुसमेत भाइरल भैरहेको र कतिपय विदेशी सञ्चार माध्यमले समेत तिनलाई सन्दर्भ मान्दा देशको साखमा नै आँच पुर्याउने जोखिम देखिएकाले सामाजिक सञ्जालमा यस्ता सामग्रीको प्रचारप्रसारमा निगरानी तथा नियन्त्रणका लागि पनि सरकारको सम्बन्धित निकायको परिसंघले ध्यानाकर्षण गराएको छ। ‘नागरिकस्तरबाट पनि सकंटको समयमा थप जिम्मेवार हुनपर्ने दायित्वबोध गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा त्यस्ता सामग्रीहरुको तथ्य र वास्तविकता सुनिश्चित गरेरमात्र विश्वास गर्न हामी अनुरोध गर्दछौँ’, परिसंघले भनेको छ। परिसंघले उक्त दुर्घटनाबाट ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रहुरुका साथै चालकदलका सदस्यहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’ प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
काठमाडाैं । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले । विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला ९साविकको हाँकु गाविसमा०मा उहाँ जन्मिएकी हुन् । गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मिएकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५/५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो । तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र बिद्रोह थाल्यो । यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य भइन् । पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उनी अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन् । त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला सङ्गठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी) क्षेत्रीय ब्यूरो सदस्य बनिन् । विसं २०५९ मा माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनिन् । पार्टीको क्षेत्रीय ब्यूरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आएकी छिन् । नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक युद्ध मोर्चामा सहभागी भइन् । अछामको मङ्गलसेन आक्रमणपछि जुम्ला घर फर्कँदै गर्दा कालीकोटको सेराबाडामा उनी सेनाको घेरामा परिन् । कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनी बाँचिन् । विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन् । उनको एक छोरी छन् । हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेएकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रुपमा चिनिन्छिन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा (माओवादी केन्द्र) बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । यही माघ ४ गते बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकबाट प्रदेशसभामा कायम रहेको ४० सदस्य संख्या ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनी उपसभामुखमा निर्वाचित भएकी छिन् । माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेशसभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो । सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भइन् ।
हुम्लामा हिमपात, जनजीवन कष्टकर
हुम्ला । हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।
दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर
लहान । रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ । ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए। ‘ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ। त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ’, उनले भने । चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाई हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो। अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बताउँछन् । सरकारले समर्थन मूल्य कायम गरेपछि अहिले यहाँका उखु किसान धमाधम उखु बिक्री गरिरहेका छन् ।
कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून
सुर्खेत । कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि त्यसको कार्यान्वयन भने न्यून देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट पर्याप्त विनियोजन गरेको देखिन्छ। कार्यान्वयनको पाटो भने निकै फितलो रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा २४ करोडभन्दा बढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश सरकारले छुट्याएको थियो। तर कार्यान्वयन भने करिब चार करोडमात्र भएको थियो । मुख्यमन्त्री मातहत रहने गरी मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएकामा चालु आवदेखि सम्बन्धित मन्त्रालयलाई जिम्मा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। चालु आव २०७९/८० मा रु पाँच करोड बजेट विनियोजन गरिए पनि खर्च हुनसकेको छैन। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत दलित वर्ग उद्योग विकास कार्यक्रमअन्तर्गत १० वटै जिल्लाका लागि पाँच करोड बजेट छुट्याइएको मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत तेजेन्द्र रावतले जानकारी दिए। कार्यक्रमको सहमति र बाँडफाँटका लागि प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मात्रालयमा पठाएकाले कार्यक्रम कार्यान्वयन ढिला भएको र केही दिनमा कार्यान्वयन गरिने उनले बताए। प्रदेश सरकारले मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रमका लागि सुर्खेतमा ८८ लाख, दैलेखमा ७७ लाख, हुम्लामा ७२ लाख, सल्यानमा ३९ लाख तथा रुकुमपश्चिम र जाजरकोट रु ४०–४० लाख बजेट छुट्याएको छ। यस्तै जुम्ला, मुगु, डोल्पा र कालीकोटमा ३५–३५ लाख यो चालु वर्षमा बजेट छुट्याएको अधिकृत रावत बताउँछन्। प्रदेश सरकारले मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रम कार्यविधि, २०७७ लागू गरेको छ। आर्थिक, सामाजिक, सांस्कृतिकरूपले पछि परेका कर्णालीका दलितको ज्ञान, सीप र क्षमता अभिवृद्धिमार्फत उनीहरूको जीविकोपार्जन, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा र सम्मान अभिवृद्धि गराउने प्रदेश सरकारको उद्देश्य छ । रासस
सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक ५ हजार
काठमाडाैं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रूपैयाँ उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । गाउँपालिकाले त्रैमासिकरूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ । अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए । मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिकरूपमा पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताइन् । सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पु-याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले जानकारी दिए ।