‘साउथ एसिया एग्री समिट’ : प्रविधिको विकास, साझेदारी र खाद्य सुरक्षामा छलफल

<p>काठमाडौं । दक्षिण एसियामा कृषि क्षेत्रको विकाससँग जोडिएका र सरोकार राख्नेहरुको बीचमा ‘साउथ एसिया एग्री समिट’ कार्यक्रमको आयोजना भएको छ । कृषि क्षेत्रको विकासमा देखिएको चुनौति, अनुसन्धान तथा प्रविधिको विकास, साझेदारी र क्षेत्रीय खाद्य सुरक्षाको विषयमा छलफल गर्ने उद्देश्यले सो समिट आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो दिन व्यवसायिक सेसनमा बोल्ने वक्ताहरुले दक्षिण [&hellip;]</p>

काठमाडौं । दक्षिण एसियामा कृषि क्षेत्रको विकाससँग जोडिएका र सरोकार राख्नेहरुको बीचमा ‘साउथ एसिया एग्री समिट’ कार्यक्रमको आयोजना भएको छ । कृषि क्षेत्रको विकासमा देखिएको चुनौति, अनुसन्धान तथा प्रविधिको विकास, साझेदारी र क्षेत्रीय खाद्य सुरक्षाको विषयमा छलफल गर्ने उद्देश्यले सो समिट आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन व्यवसायिक सेसनमा बोल्ने वक्ताहरुले दक्षिण एसियमा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए । साथै वक्ताहरुले नीति निर्माता र व्यवसायीहरुले पछिल्लो समय अन्तराष्ट्रिय व्यापारमा गैर भन्सार अवरोध बढन थालेकाले यसमा सुधार आवश्यक रहेको विषयलाई पनि उठाएका छन् ।

समिटमा श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षा मन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सिमान्तकृत किसान रहेकाले उनीहरुको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले कृषि क्षेत्रको निर्यात लागत निकै महंगो भएको र यहाँका धेरै देशहरुमा खुद कृषिजन्य वस्तु आयात रहेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले संयुक्तरुपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले गरेका छन् ।

दुवई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुवईको बजारबाट फाइदा लिन सक्ने वताए। कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने धारणा राखेका थिए ।

समिटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोया नारायण ज्ञवालीले समिटका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने बताएका थिए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताउँदै लगानी बढदा निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने धारणा राखेका थिए ।

साफ्टा अन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरु घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा उनले जोड दिएका थिए । दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने सचिव ज्ञवालीले बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समिटले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने भन्दै कार्यक्रम नेपालमा आयोजना गरेको र कार्यक्रममा आफूहरुले साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकहरु बीच व्यापार विस्तारको अवसर भएपनि कृषिजन्य उत्पादनको निर्यातमा गैर भन्सार अवरोध लगायतका समस्या रहने गरेको अध्यक्ष गोल्छाले बताएका थिए ।

अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरुको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तराष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने धारणा राखेका थिए ।

समिटमा भारत सब–कन्टिनेन्ट एग्री फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर, विवेक अग्रवाल, एसियन पार्म आयल एलाइन्सका अध्यक्ष अतुल चतुर्वेदी, ग्लोबओइल अर्गनाइजिङ कमिटिका अध्यक्ष सन्दिप बाजोरिया, नेपाल घ्यु तथा तेल उत्पादक संघका अध्यक्ष सन्दिप अग्रवाल र भारत सब–कन्टीनेन्ट एग्री फाउन्डेसनका अध्यक्ष सुधाकर तोमार लगायतले आफ्ना विचारहरु राखेका थिए ।

समिटमा भारत सब–कन्टिनेन्ट एग्री फाउन्डेसनसँग नेपाल उद्योग वाणिज्य महासंघ र विश्वका अन्य विभिन्न निकायहरुबीचमा कार्यक्रम साझेदारीको समझादारी गरिएको थियो । समिटमा सहभागी श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षा मन्त्री नलीन फर्नान्डो, दुवई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोया नारायण ज्ञवाली, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

भारत सब कन्टिनेन्ट एग्री फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको समिटमा सम्मेलनमा १२ देशका करिब ४ सय उद्यमी तथा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको छ । विभिन्न भिन्न–भिन्न सेसन सहित समिट शुक्रबारसम्म चल्ने जनाइएको छ ।

Share News