विकासन्युज

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

काठमाडौं । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गरे । नेकपा एमालेका इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशङ्का उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरुले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिए । नेकपा एमालेकी दीलकुमारी थापाले पोखरामा विमानस्थल दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन समिति गठन भएको हुनाले जटिसक्दो छिटो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै हालसम्म तारा यएरको विमान दुर्घटना छानबिन समिति प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीेका नन्दा चपाईले वीर अस्पतालमा आन्द्राको ‘एमआरआई’ गर्ने मेसिन १५ वर्षदेखि सञ्चालनमा नआएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जतिसक्दो छिटो त्यसलाई सञ्चालनका ल्याएर गरिब जनतालाई सेवा दिनुपर्ने बताए । नेकपा एकीकृत समाजवादीका सुन्दरबहादुर विश्वकर्माले नेपालमा पछिल्लो समयमा आत्महत्या गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको जनाउँदै यस्ता घटना के कारणले बढ्दै गएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी भएको बताए ।

५ पटकभन्दा बढी ट्राफिक सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स खारेज

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टलेसवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्र्तगत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिए । उनका अनुसार पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन हुन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका छन् । यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना आठ पटक, १३ जना छ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका बताइएको छ । ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्राको होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

१० कराेड लगानीमा वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु, मुटु रोगीको उपचारमा सहज हुने

काठमाडौं । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउँदै उनले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरुन् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिए । मन्त्री गिरीले अस्पतालका उपकरण छिटो विग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गरे । स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले क्याथल्याबले मुटु रोगीको उपचार गर्न सहज हुने बताइन् । उनले संविधानले सुनिश्चित गरेको आधारभूत निःशुल्क स्वास्थ्य सेवालाई कार्यन्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले मुलुककै पुरानो र ठूलो अस्पतालमा क्याथल्याब आवश्यक महुसुस गरेर स्थापना गरिएको बताए । उनले चार मुटु रोग विशेषज्ञ भएको अस्पतालमा एउटा क्याथल्याब सेवाको विस्तार गरिएको र यसबाट बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा उपलब्ध सहज हुने उल्लेख गरे । हृदयाघात भएर आउने बिरामीलाई २४ घण्टाभित्र प्राइमरी एन्जिओप्लाष्टिक (मुटुको नशा खोल्न) क्याथल्याब आवश्यक पर्दछ । क्याथल्याबमा मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नशा खोलेर बचाउने गरिन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा सुरु गरिएको बताए । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले क्याथल्याब सञ्चालन भएपछि कुनै पनि मुटुका बिरामीको उपचार यहीअस्पतालमै गर्न सकिने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये दैनिक चार/पाँचजना बिरामीको क्याथल्याब गर्नुपर्ने हुन्छ । कतिपय क्याथल्याब गर्नुपर्ने बिरामीलाई अस्पतालले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पठाउने गर्दथ्यो । ‘अब हामीले क्याथल्याब सञ्चालन गरेपछि कुनै पनि मुटुका बिरामीको उपचार यही अस्पतालमा गर्न सक्षम भएका छौं,’ निमित्त प्रमुख प्रशासकीय अधिकारी बस्नेतले भने । उनका अनुसार नौ करोड ७० लाख रुपैयाँको लगतमा स्थापना गरिएको सो क्याथल्याव आइतवार शुरु गरिने जनाइएको छ ।

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गरिने

धुलिखेल । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो । सो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले जथाभावी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । उहाँका अनुसार पालिका स्वयंले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ । तत्कालन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । जसअनुसार यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकामा त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ । अटेर गरी यस्ता क्रियाकलाप गर्ने सवारी चालक तथा यात्रुलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारबाही गरिने उक्त समझदारीमा उल्लेख छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी सवारी चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ल, पालिकाका कर्मचारी, प्रहरीचौकी भकुण्डेबेंसीका इञ्चार्ज प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै नियम पालन गर्न आग्रह गरेका थिए । नियम पालना गरे/नगरेको निगरानी गरी नगरेको पाइएमा कारबाही गर्ने नगरपालिका प्रशासनले जनाएको छ । राजमार्ग सरसफाइका लागि नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको थियो । रासस

सिभिल मलमा एक पुरुषले आफैंमाथि लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंमा एक जना पुरुषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् ।काठमाडौंको सुन्धारास्थित सिभिल मलमा अन्दाजी ३० वर्षीय एक युवकले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको जानकारी दिएका छन् । घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उनले बताए ।

गुराँस लघुवित्तकाे संचालकमा पुन: निराैला

काठमाडौं । गुराँस लघुवित्तको संचालकमा पुन अर्जुन प्रसाद निरौला नियुक्त भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले निरौलालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । विराटनगर १२ निवासी निरौलाको पदावधि पुस ३० गते समाप्त भएको थियो ।

तीन व्यक्तिबाट ७३१ थान राहदानी जफत

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार चार सयसहित धनुषाका ४५ वर्षीय एमडि नजिमलाई गएराति प्रहरीले पक्राउ गरेको छ । कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको पाँच सय दरको २४ थान र दुई सय दरको १२ थान गरी जम्मा १४ हजार चार सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

काठमाडौं महानगरपालिकाले एसइई नतिजाका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गर्न लागिएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने बताइएको छ । सहजकर्ताका लागि गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच÷पाँच जना आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराइनेछ । त्यसैगरी शिक्षण सहयोगीका लागि गणित विषयका ६० र विज्ञान विषयका ६० जना आवश्यकता रहेको जनाइएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ । प्रमुख सुवेदीका अनुसार कामपाले यसका लागि बुधबार सूचना सार्वजनिक गरेको छ । सूचना सार्वजनिक भएको सात दिनभित्र योग्यता पुगेका व्यक्तिले आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।