विकासन्युज

पोखरा महोत्सवमा १० करोडको कारोबार

गण्डकी । पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औं संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्नाका साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट १० करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, चिडियाखाना निर्माण, सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने तथा शिक्षा, स्वास्थ्य र खेलकुदको विकास गर्ने लक्ष्यका साथ क्लबले महोत्सव गर्दै आएको अर्थ व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । महोत्सवस्थलबाट लेखनाथस्थित पँचभैयामा निर्माणाधीन चिडियाखाना अध्ययन अवलोकनका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो । सो अवधिमा आठसयभन्दा बढी दर्शकले सेवा लिएका थिए । महोत्सवको अर्को आकर्षण घोडचडी थियो । यसबाट पाँच सय जनाले घोडसवारको मज्जा लिनाका साथै एक हजार पाँच सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । कास्की निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले महोत्सव समापन समारोहमा युनाइटेड क्लबले महोत्सवको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै यस्ता कार्यको अन्य सङ्घ संस्थाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । रासस

अब ४५ दिनमा पृथ्वीबाट मंगल ग्रहमा पुग्न सकिने

एजेन्सी । संसारका धेरै देशहरूले दशकौंदेखि मंगल ग्रहमा मानिस पठाउने तयारी गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा गर्न ७ महिना लाग्छ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग उस्तै समय लिएका छन्। तर, अब नयाँ प्रविधिको सहयोगले यो यात्रा ४५ दिनमा नै गर्न सकिने भएको छ । यो नयाँ प्रविधिको नाम ‘न्यूक्लियर थर्मल एण्ड न्युक्लियर इलेक्ट्रिक प्रोपल्सन’ राखिएको छ । नासाले मानव मंगल मिशनको लागि यस्तो रकेट बनाउन लागेको हो, जसमा परमाणु ईन्धन प्रयोग हुनेछ। सो रकेट दुई प्रविधिको सहयोगमा बनाइनेछ । पहिलो, परमाणु थर्मल प्रोपल्सन, यसमा परमाणु रिएक्टर हुन्छ, जसले तरल हाइड्रोजन प्रोपेलेन्टलाई तताउँछ। विज्ञहरुका अनुसार यसो गर्दा प्लाज्मा बन्ने छ । यो प्लाज्मा रकेट नोजलबाट बाहिर निकालिनेछ, जसले रकेटलाई अगाडि बढ्नको लागि उच्च गति दिनेछ। सन् १९५५ मा अमेरिकी वायुसेना र आणविक ऊर्जा आयोगले यस्तो प्रणोदन प्रणाली निर्माण गर्ने प्रयास गरेको थियो । दोस्रो प्रविधिको नाम न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सन हो। यसमा परमाणु रिएक्टरले आयन इन्जिनलाई बिजुली दिन्छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्रले क्सीनन् जस्ता ग्यासहरूलाई गति दिन्छ, जसले रकेटलाई अगाडि बढाउने गति प्राप्त हुन्छ । सन् २००३ र २००५ मा पनि यो प्रणाली बनाउने प्रयास वैज्ञानिकहरुले गरेका थिए । नयाँ प्रविधिमार्फत वैज्ञानिकहरूले रकेटको कार्यसम्पादन झन्डै दोब्बर गर्न सक्नेछन् । रकेट बनाउने यो अवधारणा फ्लोरिडा विश्वविद्यालयका हाइपरसोनिक्स कार्यक्रम क्षेत्रका प्रमुख प्रोफेसर रायन गोसेले दिएका हुन्। यसको पहिलो चरणको विकासका लागि उनीसँगै थप १३ जनालाई अनुसन्धानमा समावेश गरिएको छ । आयोजनाका लागि १२.५ हजार डलर उपलब्ध गराइएको छ । यो अवधारणा कार्यान्वयनमा आएपछि मानिसलाई मंगल ग्रहमा जान निकै सजिलो हुनेछ । अहिले प्रयोग भइरहेको प्रविधिमा अन्तरिक्षयानलाई पृथ्वीबाट मंगल ग्रहमा जान ७ देखि ९ महिना लाग्छ । यदि हामीले यही गतिमा मंगल ग्रहमा मानिस पठाउने हो भने हरेक २६ महिनामा एउटा उडान मंगल ग्रहमा पुग्ने विज्ञहरूको अनुमान छ। साथै, मिसन ३ वर्षसम्म मात्र चल्न सक्नेछ । तर, नयाँ प्रविधिबाट मंगल ग्रह जाने बाटो भने सहज हुनेछ । पृथ्वीबाट मंगल ग्रहको यात्रा मात्र ६।५ हप्ताको हुनेछ, जसले मिसनको लागत घटाउने र समय बढाउनेछ । अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणमा मानिसहरूलाई स्वास्थ्य समस्याहरू पनि कम हुने छन्। नासाको यो रकेट कहिले तयार हुन्छ भन्ने बारे कुनै जानकारी भने छैन ।

प्रेम आचार्यको उपचार शुल्क नलिने किर्तिपुर अस्पतालको घोषणा

काठमाडौं । बानेश्वरमा आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च नि:शुल्क हुने भएको छ । किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको छ। आचार्यको बुधबार बिहान मृत्यु भएको छ ।  

घट्यो आरपिएसमार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले आफ्ना आरपिएस/कनेक्ट आइपिएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । याेसँगै आरपिएस मार्फत १० हजारसम्मकाे भुक्तानी गर्दा २ रुपैयाँ र साेभन्दा २० लाखसम्मकाे भुक्तानीमा ५ रुपैयाँ काराेबार शुल्क लाग्नेछ । आरपिएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवंम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा उक्त शुल्क लागु हुनेछ । हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।

स्वास्थ्य संस्थाको निर्माण अलपत्र पार्ने ५ कम्पनीलाई कारबाही

वीरगञ्ज । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालित विभिन्न आठवटा स्वास्थ्य संस्था निर्माणको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कारबाही गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । योजनाको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरे पनि लामो समयसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोडेर पुनः ठेक्कामार्फत काम अघि बढाइएको प्रमुख थापाले बताए । प्रमुख थापाका अनुसार अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी दोलखा, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडा, डाँफे/तिरुपति जेभी पर्सा, टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौं, म्याग्लुङ/टौदह/पञ्चकन्या जेभी काठामाडौं र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखामाथि कारबाही गरी ठेक्का तोडिएको छ । पटक पटक स्पष्टीकरण सोधिए पनि सन्तोषजनक जवाफ नआएको र निर्माण गर्नेतर्फ चासो नदेखाएकाले उनीहरुसँगको ठेक्का तोडिएको प्रमुख थापाको भनाइ छ । अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी दोलखाले स्वास्थ्य चौकी पटेर्वा सुगौली पर्सा, स्वास्थ्य चौकी भवन शङ्कर सरैया पर्सा, स्वास्थ्य चौकी जिगडवा बेलबिछवा रौतहट निर्माणको सम्झौता गरेको थियो । यस्तै स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडाले भेडहारी उपस्वास्थ्य चौकीको स्तरोन्नति तथा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो भने डाँफे/तिरुपती जेभी पर्साले पिपरपाती पछ्रौटा उपस्वास्थ्य चौकी हेल्थ पोष्ट भवन निर्माण गर्ने सम्झौता गरेको थियो । त्यस्तै टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौँले चार परिवारको स्टाफ क्वार्टर भवन निर्माण कलैया बाराको निर्माण सम्झौता गरेको थियो । म्याग्लुङ/टौदह/पञ्चकन्या जेभी काठामाडौंले स्वास्थ्य चौकी भवन निर्माण औराहा पर्सा र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखाले स्वास्थ्य चौकी भवन निर्माण सम्झौता पर्साको निर्माण सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले जनाएको छ । कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम सुरु नगर्ने र गुणस्तहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीहरुमाथि निगरानीसमेत बढाएको प्रमुख थापाको कथन छ ।

ज्योति विकास बैंकले माग्यो कर्मचारी

काठमाडौैं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देहि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।    

एनआईसी एशिया बैंकले जुम्लादेखि काठमाडौंसम्मका ६९ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका विभिन्न ६९ स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ६९ स्थानको गैर-बैकिङ्ग सम्पत्ति बिक्रीमा गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर-बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रहीसूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका २४ जिल्लाको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बर्दिया, पर्सा, नवलपरासी (वर्दघाट सुस्ता पूर्व), चितवन, काठमाडौं, मोरङ्ग, कास्की, रुपन्देही, धनकुटा, मुगु, कालिकोट, बारा, सुनसरी, पाँचथर, ललितपुर, परासी नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), रौतहट, दाङ, जुम्ला, सुर्खेत, सर्लाही, रुकुम, दोलखा र सिन्धुलीका विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्ने भएको छ ।

कामपाले एनआईसीसँग गर्यो सफ्टवेयर एकीकृत, शुल्क तिर्दा बैंक भौचर भर्नु नपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैंक भौचर भरिरहनु पर्दैन । ‘वडाको लेखाशाखामा विवरण भरेपछि सोही विवरणका आधारमा बैंक भौचर सिर्जना हुन्छ र बैंकमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ,’ उनले भने । सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । कामपाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा लक्ष्यको ४१ प्रतिशत राजस्व असुल गरिसकेको छ । चालु आवका लागि कामपाले १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकामा हालसम्म चार अर्ब ३४ करोड असुल गरिसकेको छ । गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष एक करोडले बढी राजस्व असुल भएको कामपा राजस्व विभाग प्रमुख डा अधिकारी बताउँछन् । विगतको वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आएपनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा अधिकारीको भनाइ छ । यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कमपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको वक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ ।