महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम २१ जिल्लामा सम्पन्न, ७ सय महिला स्वरोजगार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम पहिलो चरणमा २१ जिल्लामा सम्पन्न भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको थियो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा कार्यक्रमको उद्धघाटन गरेका थिए । रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाडौं, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट, धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भएको यस कार्यक्रममा १ हजार ७५० भन्दा बढी सहभागी भएका थिए । ७०० भन्दा बढी महिला स्वरोजगार भमएको कम्पनीको भनाइ छ । कम्पनीले फागुन र चैत्रभित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिने योजना बनाएको छ । दोस्रो चरणमा १ हजार महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य कम्पनीले लिएको छ ।
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सर्वाेच्चमा सुनुवाइ सुरु
काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।
भोजपुरमा चिराइतो खेतीबाट किसानले गरे मनग्ग आम्दानी
भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन् । गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताए । विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ । “चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ”, उनले भने, “विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन सात–आठ हजारमा पनि बेचियो । यस वर्ष घरबाटै प्रतिमन ३० हजारका दरले बिक्री भयो ।” बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाइ छ । बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उनको भनाइ छ । किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ । “किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ”, उनले भने, “बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।” टेम्केमैयुङ गाउँपालिका–१ का करिब एक सय बढी कृषकले चिराइतोको व्यवसायिक खेती गरिरहेको राउतले जानकारी दिए । यहाँको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यावसायिक खेतीमा लागेका छन् । आफ्नो क्षेत्रबाट तीन सय मन बढी चिराइतो उत्पादन भएको कृषक राउतले जानकारी दिए । यहाँका किसानले आलु, मकै फल्ने बारीमा व्यावसायिक चिराइताको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए । यहाँका एक जना कृषकले औषतमा २० देखि ५० मन ४० केजीको एक मन सम्म उत्पादन गर्ने उनले बताए । यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको राउतको भनाइ छ । “मैले यो वर्ष पाँच लाख रुपैयाँ बढी आम्दानी गरेँ”, उनले भने, “मैले सुरुमा प्रतिमन २६ हजारले बेचेँ, अहिले प्रतिमन ३० हजारमा बिक्री भइरहेको छ ।” चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताउनुभयो । आलु, मकैबाट ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरे पाँच लाखदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । चिराइतोले आलु, मकैभन्दा अलि ढिलो लाभ दिने गर्दछ । तालिम तथा आवश्यक ज्ञान पाएमा अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । “पराम्परागतरूपमा खेती गरिरहेका छौँ”, बस्नेतले भन्नुभयो, “यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ बढी आम्दानी लिन सकिन्छ । हालसम्म राज्यबाट खासै सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो ।” एकपटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादनयोग्य हुन समय लाग्ने किसानको भनाइ छ । बर्सेनि आम्दानी लिन फरक–फरक जमिनमा खेती गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी गोमादेवी विष्टले बताइन् । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेको उहाँले बताउनुभयो । “दुई–चार वर्षअघिसम्म चिराइतोले उचित मूल्य पाएको थिएन”, उनले भने, “पछिल्लो समयमा मूल्यमा वृद्धि भएको छ । अहिले घरबाटै प्रतिमन ३० हजारमा बिक्री भइरहेको छ ।” “एघार रोपनी बारीमा चिराइतो खेती गरिरहेकी छु”, उनले भने, “विगतमा मूल्य घटेका कारण उत्साह कम थियो । तर गत वर्षबाट केही भए पनि मूल्य बढेको छ । मूल्य नपाउँदा प्रतिमन छ हजारमा बिक्री गरेको अनुभव पनि छ । अहिले पाएको मूल्य त धेरै राम्रो हो ।” यस वर्ष यहाँबाट ५० हजार दुई सय ६२ किलो चिराइतो बाहिर गएको तथ्याङ्क रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ । बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयले जनाएको छ । यहाँको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती गरिन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्र हुन् । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने गर्दछ । ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायतमा चिराइतो प्रयोग गर्न सकिन्छ । पात, डाँठ, जरालगायत भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने व्यवसायी बताउँछन् ।
आत्मदाह गरेका आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु
काठमाडौं । मंगलबार बानेश्वरको संसद भवन अगाडी आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ । बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो । यस अभियानमा चर्चित मुटुरोग विशेषज्ञ ओम मुर्ति अनिलले उनको खातामा ५१ हजार रुपैयाँ जम्मा गर्दै सबैलाई उनको छोरीहरुको लागि सहयोग गरिदिन सामाजिक संजालमार्फत आग्रह गरेका छन् । ‘प्रेमजी को घटनाले स्तब्ध छु, मैले क़ेही आर्थिक सहयोग गरेको छु, समस्त मित्रहरुले पनि उहाँको छोरीहरुको लागि सक्दो सहयोग गर्दिनुहोला, फोटोमा बैंक डिटेल छ,’ उनले लेखेका छन् । उनीसँगै धेरै मानिसहरुले उनका श्रीमतीको बैंक खातामा रकम जम्मा गरी सहयोग गर्न लागि सामाजिक संजालमार्फत अपिल गरेका छन् । व्यवसाय संकटमा परेर बैंकको ऋण तिर्न नसकेपछि संसद भवन अगाडि नै आत्मदाहको प्रयास (पत्रसहित) संसद् भवन अगाडि शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन ६० लाख ऋणमा परेर आत्मदाह गरेका आचार्यको राज्यसँग २५ माग
यस्तो बन्नेछ नयाँ विशेषता बोकेको प्रस्तावित ‘नेपाल विश्वविद्यालय’
काठमाडौं । नेपालमा दर्जन बढी विश्वविद्यालय सञ्चालनमा आइसकेको अवस्थामा ‘नयाँ विशेषता’ बोकेको प्रस्तावित ‘नेपाल विश्वविद्यालय’ ऐन निर्माणको चरणमा पुगेको छ । प्रस्तावित विश्वविद्यालयको विधेयक निर्माणको काम सम्पन्न भई राष्ट्रिय सभामा दर्ता भएर विषयगत समितिमा जाने अवस्थामा छ । संसदीय प्रकृयामार्फत् विश्वविद्यालयको ऐन निर्माण भइसकेपछि नेपालमा विश्वविद्यालयको एक संख्या थपिनेछ । तर, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिमा सदस्यको रुपमा रहेका डा. सुर्यराज आचार्यले भने ‘नेपाल विश्वविद्यालय’ विशुद्ध नयाँ विशेषता बोकेको विश्वविद्यालय निर्माण हुने बताए । नेपालमा अहिले सञ्चालनमा रहेका विश्वविद्यालयहरुमा एउटा विषयमा मात्रै आधारित रहेर अध्यापन गर्ने गरिएको र आवश्यक जनशक्ति उत्पादन हुन नसकेको कारणले नयाँ विश्वविद्यालयको स्थापना गर्न खोजिएको उनको भनाइ छ । डा. विपिन अधिकारीको नेतृत्वमा रहेको ६ सदस्यीय ‘नेपाल विश्वविद्यालय आवश्यक पर्ने कानून निर्माण, स्रोतहरुको पहिचान तथा परिचालन समिति’ मार्फत नेपाल विश्वविद्यालय पूर्वाधार समितिले प्रस्तावित ‘नेपाल विश्वविद्यालय’को विधेयक निर्माण गरेको हो । विश्वविद्यालयको विधेयकमा यसको संस्थागत संरचना, पदाधिकारी नियुक्तिको प्रकृया र सञ्चालन प्रकृया नयाँ विशेषता सहितको हुने उल्लेख गरिएको छ । विश्वविद्यालयमा संरक्षक परिषद्, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल र कलेज हुनेछन् र ती संस्थाहरुको सामूहिक रुप नै विश्वविद्यालय हुने विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै विधेयकअनुसार विश्वविद्यालयको पदाधिकारीमा कुलपति, उपकुलपति, रजिष्ट्रार, डिन, निर्देशक र प्रिन्सिपल रहनेछन् । विधेयकमा कार्यकारी परिषद् नै विश्वविद्यालयको कार्यकारी निकाय हुने प्रस्ताव गरिएको छ । जसमा उपकुलपतिको संयोजकत्वमा डीन र निर्देशकको तर्फबाट एक–एक जना प्रतिनिधि र रजिष्ट्रार रहने उल्लेख गरिएको छ । कार्यकारी परिषद्ले वार्षिक बजेट निर्माण गर्ने, शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने र शुल्क निर्धारण गर्ने लगायतका काम गर्नेछ । डा. सुर्यराज आचार्यका अनुसार नेपाल विश्वविद्यालयले केही नयाँ विशेषताको अभ्यास गर्नेछ । ‘अहिले अन्य विश्वविद्यालयहरुको उपकुलपति, रेक्टर र डिन लगायतका पदाधिकारीहरुलाई राजनीतिक ढंगले नियुक्ती गर्ने गरिन्छ, तर प्रस्तावित नेपाल विश्वविद्यालयमा प्राज्ञिकहरुको कार्यकारी परिषद् भन्ने हुन्छ, यो नै कार्यकारी हुन्छ’, डा. आचार्यले भने । विधेयकमा विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान कार्यलाई व्यवस्थित गर्ने निकायको रुपमा प्राज्ञिक परिषद् गठन गर्ने उल्लेख गरिएको छ । जसमा उपकुलपतिको संयोजकत्वमा डिन, अनुसन्धान निर्देशक, प्राध्यापक, विषय विज्ञ, निर्देशकहरुबाट एक–एक जना प्रतिनिधि र रजिष्ट्रार सदस्य सचिव रहनेछन् । प्राज्ञिक परिषद्ले प्राज्ञिक कार्यक्रम, पाठ्यक्रम शिक्षण विधि, अनुसन्धान तथा नवपर्वतन सम्बन्धी कार्यक्रम लगायतका कामहरु गर्ने र कार्यकारी परिषद्लाई सुझाव दिने काम गर्नेछ । विश्वविद्यालयले अध्यापन अनुसन्धान केन्द्र प्रयोजनका लागि स्कुल र अनुसन्धान र नवपर्वतनका लागि अनुसन्धान केन्द्र निर्माण गर्ने विधेयकमा व्यवस्था गरिएको छ । ‘अहिलेका विश्वविद्यालयले सरकारी वा निजी क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सकेका छैनन्, चाहे राज्यको संयन्त्रमा काम गर्ने जनशक्ति होस वा नीति निर्माण गर्ने तहमा चाहिने जनशक्ति होस’, डा. आचार्यले भने, ‘त्यसैले हाम्रो मोटिभेसन के हो भने साँच्चीकै विश्विद्यालयजस्तो देखिने, त्यसको प्राज्ञिक पक्ष/वातावरण होस, पढ्ने पक्षमा त्यस्तो जाँगर पनि होस र अध्यापन गर्नेसँग पनि त्यस्तो गुणस्तर होस ।’ भएका पुराना विश्वविद्यालयहरुमा कर्मचारी सरुवा गरेजस्तै प्रकृतिले पदाधिकारी नियुक्ती गर्ने परम्पराको कारण विश्वविद्यालय भित्रको आधारभूत प्रकृति नै प्राज्ञिक नभएर प्रशासनिक हुन गएको डा. आचार्य टिप्पणी गर्छन् । त्यसैले नेपाल विश्वविद्यालय प्राज्ञिक व्यक्तिहरुको सहभागितामा बनाइने संरक्षण परिषदले सरकारको राजनीतिक हस्तक्षेप भन्दा बाहिरबाट नै उपकुलपति लगायतको पदाधिकारी नियुक्ति गर्ने उनको भनाइ छ । अहिलेका विश्वविद्यालयहरुले प्रदान गर्ने शिक्षामा विषयगत एकांकीपना भएको र यस्तो अभ्यास विश्वका अन्य मुलुकमा नभएको डा. आचार्यको भनाइ छ । ‘यहाँ ११ कक्षादेखि नै शिक्षा, मानविकी, म्यानेजमेन्ट के पढ्ने भनेर छुट्याउँछन्, कुनै पनि देशमा यस्तो प्रकारको अभ्यास हुँदैन’, विश्वविद्यालयमा डक्टर र इन्जिनियरिङ पढ्नेको पाठ्यक्रम हेर्यौं भने त्यहाँ विषयगत अध्ययन भन्दा बाहिरको आधारभूत ज्ञान पनि दिईँदैन ।’ सोही कारणले डाक्टरहरुले आजको दिनमा स्वास्थ्य मन्त्रालय पनि हाँक्न सक्नु पर्नेमा व्यवस्थापन र अर्थराजनीतिक ज्ञानको पाटोमा कमि भएका कारणले गर्दा त्यसो हुन नसकेको डा. आचार्य बताउँछन । विश्वका विभिन्न विश्वविद्यालयहरुमा आफ्नो विशिष्टिकृत विषयमा दक्ष हुने तर अन्य विषयमा पनि सामान्य जानकारी राख्ने प्रचलन जस्तै नेपाल विश्वविद्यालयले पनि शुरुवात देखि नै सो प्रकारको पाठ्यक्रम अगाडि बढाउने उनको भनाइ छ । अहिलेका विश्वविद्यालयमा प्राध्यापन गर्ने अधिकांश प्राध्यापकहरु प्राज्ञिक बन्ने भन्दापनि जागिर जोगाउने मानसिकताका भएको उनी बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयमा एउटा प्राज्ञिक सोधपत्र नभइकन प्राध्यापक भएका छन्, विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरुको आफ्नो विषयमा अनुसन्धान, क्षमता र सोध हुनुपर्छ, तर, त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने एउटा प्राध्यापकको सोधपत्र छैन, पत्रिकामा आर्टिकल लेखेको भरमा मेरो कृति यति छ भनेर जागिर खाने परम्परा छ’, डा. आचार्यले भने । नेपाल विश्वविद्यालयमा प्राध्यापकहरुको छनोटको विधि नयाँ गरिने उनको भनाइ छ । त्यसको लागि प्राध्यापकको कक्षा लिने क्षमता, आफ्नो विषयवस्तुमा दखल र अनुसन्धानमा निरन्तर रुपमा संलग्नताको आधारमा प्राध्यापक लिने व्यवस्था गरिने हुँदा अहिलेका विश्वविद्यालय भन्दा नितान्त फरक र भिन्न गुणस्तरको विश्वविद्यालय बन्ने डा. आचार्यको भनाइ छ । अहिलेको विश्वविद्यालयको परिवेशमा देशभित्रैका क्षमतावान व्यक्तिले पनि प्राध्यापन क्षेत्रमा प्रवेश गर्न नसक्ने अवस्था रहेको भन्दै उनले दक्ष जनशक्तिको लागि विश्वभरी नै समन्वय गरिरहेको र विश्वभरी छरिएर रहेका क्षमतावान प्राध्यापकहरु ल्याएर शुरुवात गर्ने तयारी रहेको उनले बताए । शुरुवातमा नै अहिले भइरहेका विश्वविद्यालय भन्दा भिन्न अभ्यास गर्ने उनको भनाइ छ । ‘देशभित्रै रहेका जो सक्षम प्राध्यापन गर्न सक्ने छन् तिनीहरुलाई ढोका खुला हुन्छ, दोस्रो नेपाली मुलका तर, विदेशी विश्वविद्यालयहरुमा अनुसन्धान गरिरहेका व्यक्तिहरु र तेस्रोमा क्षमतावान विदेशी जनशक्ति नै भित्र्याउने छौं’, उनले भने । डा. आचार्यले नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिअन्तर्गत अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरुबाट प्रतिनिधित्व गरेका सल्लाहकार समिति रहेको र उनीहरु नेपाल विश्वविद्यालयको अभियानमा सरिक भएको उनको भनाइ छ । गुणस्तरमा देखिनेगरी विश्वविद्यालयको तयारी गरिरहेको र भविष्यमा सबै विषयमा जाने तर शुरुवातको चरणमा थोरै तर गुणस्तरमा सम्झौता नगरीकन सिमित विषयको अध्यापन शुरु गर्ने डा.आचार्यको भनाइ छ । नेपाल विश्वविद्यालय पूर्वाधार समितिका निर्देशक बिजयराज बडुका अनुसार विश्वविद्यालय स्थापनाको लागि नवलपरासीका मध्यविन्दु नगरपालिका र होप्सेकोट गाउँपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने प्रस्ताव गरेका छन् । सोही अनुसार विश्वविद्यालय पूर्वाधार तयारी समितिले ती लगायतका सोही क्षेत्रका अन्य भूगोलमा पनि अध्ययन गरिरहेको छ । अहिलेसम्म समितिले विधेयक निर्माण गर्ने, अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गर्ने, वैदेशिक भ्रमण गर्ने, जग्गाको समन्वय गर्ने लगायतका कामहरु गरेको छ । नेपाल सरकारले समितिलाई कार्यालय सञ्चालन लगायतका कामहरु गर्नको लागि ३० लाख र चालु आर्थिक वर्षमा ५० लाख निकासा गरेको निर्देशक बडु बताउँछन् । सरकारले ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) आदेश २०७७ मार्फत सो विश्वविद्यालय निर्माणको प्रकृया अगाडि बढाएको हो । अहिले विश्वविद्यालय अनुदान आयोगसँग जोडिएर नेपालमा ११ वटा विश्वविद्यालय सञ्चालनको अवस्थामा रहेका छन् । त्यस्तै, गण्डकी प्रदेश, मधेस प्रदेश र प्रदेश नम्बर १ ले पनि विश्वविद्यालय स्थापना गरेका छन् । जसमा मधेस प्रदेशले २ वटा विश्वविद्यालय स्थापना गरेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको घट्यो बोनसदर
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । लाभांश संशोधनसँगै कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ । कम्पनीले यसअघि ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर नेपाल बीमा प्राधिकरणबाट संशोधन भएर आएसँगै कम्पनीले चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर दिने भएको छ । र, सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको नयाँ प्रस्ताव छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ । ६.९९ प्रतिशत बोनस पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ ।
६० लाख ऋणमा परेर आत्मदाह गरेका आचार्यको राज्यसँग २५ माग
काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि नै एक युवकले आत्मदाहको प्रयास गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कने बित्तिकै इलाम घर भएका प्रेम प्रसाद आचार्यले आत्मदाहकाे प्रयास गरेका हुन् । लगत्तै उनलाई अस्पतालमा लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममै मृत्यु भएको छ । नयाँ बानेश्वरमा आफूलाई आगो लगाउनु अगाडी उनले सामाजिक सञ्जाल (फेसबुक) मा आफ्नो जिवन भोगाई सार्वजनिक गरेका थिए । वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट शून्य उपलब्धी पाएको उनले उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको लामो स्याटसबाट व्यवसाय संकटमा परी बैंकको ऋण तिर्न नसकेपछि आत्मदाहको प्रयास गरेको उल्लेख गरेका थिए । उनले ६० लाख ऋण रहेको समेत उल्लेख गरेका थिए । यस्ता छन् उनले सरकारकासँग माग गरेका २५ माग : १) राष्ट्रिय उत्पादनमा भ्याट शून्य गर । आयातित वस्तुमा बरु २० प्रतिशत उपभोग्य वस्तुमा मूल्यबृद्धिको प्रमुख कारण भ्याट हो । २. Buyers Pay First जस्तो आकर्षक बजार क्रय बिक्रय नीति लागू गर सरकार। उधारो बजारको अन्त्य गर। यहाँ निमुखा उत्पादक/supplier ले भाटभटेनी, big mart, Dabur Nepal, जस्ता ब्यापारिक डनहरुलाइ पाल्नु परिरहेको छ। उधारोमा उनिहरुलाइ सामान दिइरहनुपरेको छ र त्यै सामान बेचेर पैसा अन्यतिरै (share, जग्गा) आदिमा घुमाएर बैंकमा मुद्दती खोली ब्याज खाइवरी अनि अन्य थप मुनाफा कमाइवरी मात्र उत्पादक/supplier लाई बल्लतल्ल दिन्छन् तबसम्म उत्पादक/supplier, ऋणले, ब्याजले, operating capital shortage ले मरिसकेका हुन्छन् । धनी पैसाले नै उक्लेको उक्लै, गरिब थिचिएको थिच्यै। ३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर। धेरै नाफा गर्दा करको दर घट्ने हुनाले सबै उद्योगी/ब्यपारी धेरै नाफा गर्ने तर्फ लाग्नेछन। ४. Land Leasing प्रणाली लागू गर। जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनताहरु अल्छे भएका हुन। एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र देउ। ५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर। सहरका अनुत्पादक जग्गाले जति नै valuation गाउका उत्पादक जग्गाले पनि पावोस। शहरका ४ आना जग्गा बैंकमा राख्दा त्यो नबेची पैसा आउदैन। तर गाउका उत्पादनशिल जग्गाले आम्दानी दिइरहन्छ, फसल र उत्पादनले पैसा आइरहन्छ र बैंक ऋण तिर्ने आधार बढी हुन्छ। ६. सबै बाहालका घर लाई करको दायारामा ले। महिनाको १०,०००/- तलब खाने कर्मचारीले चाहिँ १% TDS तिर्नुपर्ने तर सहरका महिनाको लाखौं घर बाहाल उठाउने घरहरुले कर नतिर्दा हुने? तिमिलाइ थाहा छ सरकार? घरबाहाल तिरी हाले पनि भाडावालालाइ तिराउछन। तिम्रो धेरै राजस्व घर बहालमा चुहावट भैरहेको छ। ७. भाट्भटेनी, BIG MART, पतन्जली, डाबर नेपाल, युनिलिभर, जस्ता ठुला औद्योगिक तथा ब्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन नियमन गर सरकार। उनिहरुले जसो भन्यो बजार तेतै जान्छ। तिमिलाइ थाहा छ सरकार? आफ्नो कम्पनी profile high बनाउनलाइ रास्टृय-अन्तर्राष्ट्रिय कम्पनी हरुले भाटभाटेनीमा आफ्नो सामानको उपस्थिती देखाउछन, उसलाइ उच्च margin दिएर, बरु घाटा नै सहेर। तर बाहिरी बजारमा त्यही सामान कम margin मा अझ भाटभटेनी लाई दिदाको घाटा पुर्ती हुनेगरी बेच्छन् र दैनिक उपभोग्य सामानको मुल्यबृद्धी भैरहेको छ। ८. दर्ता नगरी खुलेका online पसल हरु सब बन्द गर्दे सरकार। कि बैधानिक दर्ता भै कर तिरेको हुनुपर्यो। ९. वैदेशिक रोजगारमा official visa मा जान चाहाने लाई श्रम स्वीकृती को लफडा लनगा सरकार। तिमिलाइ थाहा छ? खाडिमा महिनाको लाखौं कमाउन सकिने visa मा त्यहाका कम्पनीहरुले demand र embassy attestation को लफडा गरि रहदैनन। जस्ले गर्दा पढेलेखेका skilled युबाहरु लाखौं कमाउन सकिने खाडिको जागिर बाट बन्चित भैरहेका छन। सरकार तिम्रो श्रम कागज नेपालको airport मा देखाउने एउटा खास्टो मात्र हो, अनि दलाल पोस्ने official घुस, त्यति हो श्रम document. अनि पत्र पत्रीका मा आउने डिमाण्ड फगत देखाउनलाइ मात्र हो manpower हरुको, राम्रो तलब र सुबिधा भएको माग मा manpower लाई सम्पर्क गर्यो भने, त्यो त देखाउनलाइ छापेको भन्छन सिधै, थाहा छ सरकार तिमिलाइ? १०. अनुदान र subsidy प्रणाली को सबै पुरानो file निकाल सरकार, कति भ्रस्टाचार भएको रहेछ थाहा पाउछस। गर्नेलाइ हर तरहको प्रोत्साहन, अनुदान मिलोस। कागज पत्रमा सिमित कम्पनिहरुलाइ मात्र होइन। यहाँ अनुदानका लागि proposal लेखिदिने, कागजपत्र दरिलो बनाइदिने, केही दिनलाइ भाडामा अनुगमनका लागि फर्म देखाइदिनेको झुण्ड नै छ यो देशमा। ११. बिचौलियाको अन्त्य गर सरकार। देशका सबै पालिकाहरु लाई एकै ठाउमा भेट गराउने गरि पालिका बजार नामक online national web server को बिकास गर सरकार। जहाँ सम्बन्धित पालिकाको कृषि तथा औद्योगिक उत्पादनको बिबरण हुने छ मुल्यसहित। नेपाल भित्र कुन पालिकामा के उपलब्ध छ र कुन पालिकालाइ के चाइहेको छ, demand and supply command त्यहिबाट हुने गरि ब्यवस्था मिला सरकार। बिचौलिया सब चट हुनेछन् । १२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन् । यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस् । नेपाली ब्राण्डमै बिस्वमा निर्यात होस। बिस्वले हाम्रा उत्पादन चिनुन। त्यतातिर लाग सरकार। १३. गाजा खेतिले बैधानिकता पाओस। गाजा र त्यसको बोटबाट बन्ने सामानको बिस्व बजारमा धेरै माग छ। देश २-४ बर्शमै समृद्ध हुनेछ। १४. शिक्षा, स्वस्थ, सार्बजनिक यातायातमा निजिकरण दुरुत्साहित गर सरकार। यी राज्यले जनतालाइ दिनुपर्ने आधारभुत सेवा हुन। सबैको पहुचमा सरल र सहज तरिकाले यी बस्तु तथा सेवा उपलब्ध गरा सरकार। यो देशमा बिरामी परियो भने उपचार गर्ने पैसा नभएर मर्नु पर्छ सर्बसाधारण। १५. सरकारी कर्मचारी, शिक्षक आदिलाइ घर पायक जागिर नभएमा अनिबार्य आवास सुबिधा उपलब्ध गरा सरकार। तिमिलाइ थाहा छ? एउटा सरकारी अधिकृतले सहरमा बसि जागिर खादा आवास, बच्चाको शिक्षा, औसधि उपचार आदि गर्न महिनाको ४०-४५ हजार तलबले पुग्दैन। अनि भ्रष्टाचार नगरेर के गरोस त? १६. सार्बजनिक खरिद ऐन मा व्यापक सुधार गर सरकार। जस्ले थोरै कबोल गर्छ उस्लाइ ठेक्का होइन। जस्ले बैज्ञानिक र आधुनिक बिकास अवधारणा अनुसार आफै बजेटिङ गरेर ठेक्का प्रस्ताब गर्छ उसलाइ बिकास निर्माणको ठेक्का दिने गर सरकार। १७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्ड सम्मको सजाय हुने ब्य्वस्था लागू गर संसद। १८. जातिय आरक्षणको अन्त्य गरि किसान र गरिबलाइ पहिचान परिचयपत्र मार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार। १९. भारतसगको खुल्ला सिमाना अन्त्य गर सरकार। कमसेकम भारतिय नागरिक नेपाल आउदा जहाँसुकैको boarder बाट on arrival visa निश्चित समयलाइ दिने गर र त्यस्को अभिलेख सधैं अद्यावधिक गर सरकार। २०. आयात प्रतिस्थापन गरि सधै घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहान गर सरकार। उत्पादन वृद्धिमुखी कार्यक्रम आओस देशमा। उत्पादनमुलक उद्योगले हर तरहको प्रोत्साहन पाओस् सरकार। २१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर। तिमिलाइ थाहा छ सरकार? हाम्रो देशको ६०% पैसा बचत तथा ऋण सहकारी मार्फत परिचालित छ, ४०% मात्र निजि तथा सरकारि बैंक मार्फत परिचालित छ। सहकारिको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर। २२. बिकास खर्च जनताले राज्यलाइ दिएको करबाट गर्ने हो। बिकास साझेदारिको नाममा फेरि पुर्बाधार बिकास हुने ठाउको उपभोक्ताबाट २५% रकम उठाइने गरिएको छ, त्यो बन्द गर सरकार। २३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” बिसयलाइ बिद्यालय शिक्षामा अनिवार्य गर सरकार। जिवनयापन गर्न, पैसा कमाउन सीप र कला नै चाहिन्छ। २४. सरकारी कर्मचारी/शिक्षक/सस्थानका कर्मचारी/जनप्रतिनिधि/साम्सद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिबार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर सरकार। २५. बैंक ऋणको ब्याजदर ७% भन्दा कहिले माथी नउठ्ने गरि सिमित गर सरकार। तिमिलाइ थाहा छ? देशको पैसा जति सबै ठुला ब्यपारिको हातमा छ र देशका अधिकाम्स बैंकमा तिनै ठुला ब्यपारिको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनिहरुले नै रचेको बैंकको ब्याजदर वृद्धि हो ऐले।
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी
कैलाली । कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट २२ लाख रुपैयाँ आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले तीन सयका दरले करिब एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य सङ्घका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक कृष्ण बजगाईँले जानकारी दिए । महोत्सवमा रहेका कक्षका कारोबार र अवलोकनकर्ताको उपस्थिति सन्तोषजनक रहेको बताए । टिकट बिक्रीको जिम्मा सङ्घले नेपाल रेडक्रस सोसाइटी टीकापुरलाई दिएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा कृषि प्रदर्शनी र शैक्षिक प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । अघिल्ला वर्षभन्दा यस वर्ष महोत्सवमा होटल व्यवसायीले पर्याप्त आम्दानी गरेका छन् । महोत्सवमा टीकापुरस्थित आँखा उपचार केन्द्रले निःशुल्क परीक्षण र औषधि वितरण गरिरहेको छ । महोत्सवको एक लाख बढीले अवलोकन गर्ने तथा ५० लाख बढी कारोबार हुने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिइरहेका छन् । महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल, गायक रामजी खाण, भीम विष्ट, रेखा जोशी, लालबहादुर धामी अछामी बड्डो, हाँस्यकलाकार सन्दीप क्षेत्री, हेमराज अधिकारी खन्ट्या खलास, गायिका शान्तिश्री परियार, लक्ष्मी आचार्य, माधवी घर्तीमगर, रमेशराज भट्टराई, अञ्जु कुश्मी, झरना बोहरा, मनिष खड्का, गायिका शोभा त्रिपाठी, मेलिना राई, चक्र बम, एलिना चौहान, सोनु कुश्मी, टङ्क तिमिल्सिना, रचना रिमाल, अनिता चलाउने, मञ्जु पौडेललगायतको प्रस्तुती रहेको छ ।