हिमालयन बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान र आँखा परिक्षण शिविर संचालन
काठमाडौं । हिमालयन बैंकले तीसौं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका स्थित माछापुछ्रे स्वास्थ्य चौकी, दुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे । बैंकका अनुसार डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व , नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा माघ ४ गते देखि माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुछ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएको बैंकले जनाएको छ । यसै गरी ‘रक्तदान जीवनदान’ भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाएको बैंकले जनाएको छ ।
१० अंकले बढ्यो नेप्से, झण्डै साढे ३ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २१८३.६२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमशस् ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिम जिआइसी इन्स्योरन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर रहेको छ । यस्तै, आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४६ करोडको कारोबार भएको छ । कारोबार हुने कम्पनीहरुमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँको भएको छ ।
५ अर्ब लगानीमा नयाँ कम्पनी खोल्यो आईएमई समूहले, सडक निर्माणमा निजी क्षेत्रको प्रवेश
काठमाडौं । लगानी विस्तारमा आक्रामक रुपमा अगाडि बढिरहेको आइएमई समूहले ५ अर्ब रुपैयाँ पुँजी लगानी हुने नयाँ कम्पनी दर्ता गराएको छ । समूहले सडक पूर्वाधारमा समेत लगानी गर्ने उदेश्य राखेर उद्योग विभागमा वान क्यापिटल होल्डिङ्ग्स प्रालि दर्ता गरेको छ । निजी क्षेत्रले सडक पूर्वाधार निर्माणमा अगाडि बढ्न लागेको यो पहिलो पटक हो । तर सडक निर्माणको काम कुन मोडलका गर्न लागिएको हो भन्ने खुलाइएको छैन । ‘यो होल्डिङ कम्पनी हो । यसले विभिन्न क्षेत्रमा लगानी गर्छ’ आइएमई समूहका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले विकासन्युजसँग भने । यो समूहको नेतृत्व चन्द्रप्रसाद ढकालले गरेका छन् । चन्द्रप्रसाद र हेमराज दाजुभाई हुन् । पुस २० गते दर्ता भएका उक्त कम्पनीले केबलकार, सडक, जलविद्युत र उत्पादनमूलक उद्योगमा लगानी गर्ने उदेश्य राखेको उद्योग विभागले जनाएकाे छ । विभागमा दर्ता गर्दा कम्पनीले निर्माण क्षेत्र अन्तर्गतमा केबलकार र सडक निर्माणका लागि ३ अर्ब रुपैयाँ, इनर्जी वेस उद्योग (हाइड्रोपावर र सोलार विद्युत उत्पादन) मा १ अर्ब रुपैयाँ र उत्पादनमूलक उद्योगमा ९० करोड रुपैयाँको लगानी रहने प्रस्ताव गरेको छ । उक्त उद्योगले १५ किलोवाट विद्युत उपयोग गर्ने र ४० जनालाई रोजगारी दिने उल्लेख छ । आईएमई समूहको रेमिटेन्स, बैङ्क, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी रहेको छ । हाल यस समूहले देशका विभिन्न स्थानमा केबुलकार र होटल क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जीमा लगानी गरेको छ । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा. लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आईएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता रहेको छ । आईएमई समूहको लगानीमा आइएमई रेमिट, ग्लोबल आइएमई बैङ्क, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटल सञ्चालित छन् । यो समूहले नेपाल पूर्वाधार बैङ्क, नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनीमा पनि ठूलो लगानी गरेको छ ।
गृहमन्त्री लामिछानेले भेटे प्रेम आचार्यको परिवार
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ बानेश्वरमा मंगलबार आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यकाे परिवारलाई भेटेका छन् । बुधबार दिउँसो गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेटेका हुन् । आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।
इलाममा १५० मिटर लामो सिसाको पुल र साइकल ट्रयाक बन्दै, ८ करोड खर्च लाग्ने
फिक्कल । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल निर्माणको थालनी गरेको छ । नगरप्रमुख रणबहादुर राईले मङ्गलबार उक्त आयोजनाको शिलान्यास गरे । उनले भने, ‘नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त सिसाको पुलको निर्माण सुरु गरेका छौँ ।’ राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनका अनुसार दीर्घकालीन आयआर्जनको स्रोत पर्यटन हो । सिसाको पुलसहितको साइकल ट्र्याक निर्माणले यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने विश्वास राखिएको छ । प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्षभित्रमा यी आयोजनाको काम सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । उनका अनुसार सो आयोजनाका लागि नगरपालिका र प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोषको गरी सात करोड ९३ लाख ६४ हजार लागत रहेको छ । आगामी २०८१ माघमा काम सम्पन्न गर्ने गरी बिएस कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर काम सुरु गरेको हो । अत्याधुनिक शैलीमा निर्माण गरिने उक्त सिसाको पुल देशकै लामो भएको नगरपालिकाले दाबी गरेको छ । एक सय ५० मिटर लामो उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका विभिन्न भूभागको अवलोकन गर्न पाउनेछन् । यस्तै नगरपालिका र प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजारको लागतमा २०७९ असार मसान्तसम्ममा सक्ने गरी १३ दशमलव पाँच किलोमिटर साइकल ट्र्याक निर्माणका लागि राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरपालिकाले जनाएको छ । पुल र साइकल ट्र्याक सञ्चालनमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सूर्योदय–६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय–११ को पूर्णेडाँडासम्म साइकल ट्र्याक निर्माण हुनेछ । नगरप्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्र्याक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताउनुभयो । परियोजनाअन्तर्गत सूर्योदय–६ को कन्याममा ५९ लाख ८३ हजारको लागतमा साझा सुविधा केन्द्र निर्माण गरिनेछ । जहाँ ताजा सागसब्जी र तरकारीको सङ्कलन र बिक्री केन्द्र रहनेछ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सिङ गुम्बाको मर्मत गरिनेछ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ । उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अग्र्यानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारीसम्बन्धी र जैविक मल उत्पादनसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरिसकेको छ । रासस
तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधसमेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो । प्राधिकरणले आगामी ३० वर्षसम्म काठमाडौं उपत्यकाभित्र बिजुलीको माग सहजपूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताएका छन् । यस्तै नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाइने उनको भनाइ छ । उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो । प्रसारण पूर्वाधार तथा सवस्टेशनको अभावमा काठमाडौँमा बाध्यकारीरुपमा लोडसेडिङ हुनसक्ने अवस्था सिर्जना भएको प्राधिकरणको भनाइ छ । उपत्यकाभित्र कूल ६६ केभीदेखि दुई सय २० केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेशन निर्माण गर्नुपर्ने भएकाले विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको हो । सोही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्न लागिएको छ । सो सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार कूल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।
डिजी पे र द नेपाल टपबीच सहकार्य गर्ने सम्झौता
काठमाडौं । डिजी पे र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन् । डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बबरमहलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको छ। यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झन्डै ५० हजार पर्ने ६० सीसी रंगिन विज्ञापनमात्र १५ हजारमा १ हजार ५०० पर्ने वार्षिक ग्राहक मात्र १ हजारमा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएकाे छ । व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियानमार्फत आफ्नो विज्ञापन झन धेरै जनमानससम्म पुग्न सकिने कम्पनीले जनाएकाे छ ।
जापानमा भारी हिमपात, यातायात अवरुद्ध
टोकियो । भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् । बाक्लो तुषारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ । बुलेट रेलसेवाको हालत पनि यस्तै छ । इष्ट जापान रेलवे कम्पनीले तोहोकु– शिङ्कासेन सेवाका साथै यामागाता– शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ । तोकाइदो र सान्यो शिङ्कानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन् । परिस्थितिको विश्लेषण गरेरमात्र सेवा पुनः शुरु गरिने रेल सेवाका अधिकारीले बताएका छन् । हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ । चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन सञ्चालन नगर्न आदेश दिइएको छ । हिमपातका बेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ । जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौँ उडान रद्द गर्ने योजना बनाएका छन् । उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भएनभएको यकिन गर्न अनुरोध गरेका छन् । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ । बिहीबार पनि बुधबारको झै मौसम सफा नरहने विभागको अनुमान छ । रासस