विकासन्युज

दुर्घटना बीमा गरेरै भएपनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले माघ १० गते उक्त स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए । अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पुर्याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्न प्राधिकरणसँग आग्रह गरे । दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात आग्रह गरे । त्यस्तै, बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुति गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरे ।

मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड ७ वर्षमा पनि भएन कालोपत्र

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन । दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा पाँच पटकसम्म म्याद थप्दासमेत राजमार्गले सार्थकता नपाएको हो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि पाँच पटकसम्म म्याद थप्दासमेत कालोपत्र सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ । उक्त सदरमुकाम खण्डको सडक कालोपत्र हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचनासमेत भएको छ । सडकको ट्र्याक खुलेको २५ पुग्दासमेत यो खण्डमा सडक कालोपत्र हुन नसकेको हो । नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रहेको उक्त सडकको खहरेखोलादेखि बिहूँ सापकोटा चोकसम्मको सडक १७ किलोमिटर सडक पकट–पटक म्याद थप्दा पनि कालोपत्र हुन नसकेको छ । दुई वर्षमा कालोपत्र गर्ने काम निर्माण व्यवसायीले सात वर्षमा समेत पाँच पटक म्याद थप्दा पनि सम्पन्न नभएको हो । कालोपत्रका लागि जिल्लामा रहेको एक सय ४२ किलोमिटरमध्ये घोडाँबाधेदेखि बागलुङ जिल्ला ददरमुकाम बागलुङ बजारसम्म रहेको २५ किमी सडकमध्ये गत वर्ष मात्रै सदरमुकामतर्फको चार र बिहूँतर्फको चार गरी आठ किमी मात्रै सडक कालोपत्र गरेर छोडेपछि ठेकेदार कम्पनी सम्पर्कमा आएको थिएन । अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थपेको ठेक्का आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ठेक्का रद्द गर्ने चेतावनीपछि बल्ल काममा देखिन थालेको छ । असारसम्म दुवै उक्त खण्डका दुई निर्माण व्यवसायीलाई अन्तिम पटकका लागि म्याद थपिए पनि कामले तीव्र गति पाउन नसकेपछि ठेक्का रद्द गर्ने चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । मध्यपहाडी पहाडी पुष्पलाल राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार असारसम्म ठेकेदार कम्पनीलाई म्याद थप्दासमेत कामले तीव्रता नपाएपछि ठेक्का तोेड्ने चेतावनी दिइएको हो । ‘निर्माण व्यवसायीले तत्कालै काम थाल्ने तर काम नथाले ठेक्का रद्द गर्ने गरी निर्माण व्यवसायी र आयोजनाबीच लिखित सहमति भएको थियो, अहिले उपल्लो बिहूँ र तल्लो खहरेखोला आसपासमा केही काम थालेको छ’, उनले भने, ‘सात वर्षमा पाँच पटक म्याद थप्दासमेत काम नगरे असारपछि ठेक्का रद्द हुन्छ, आश गरौँ निर्माण व्यवसायीले असारसम्म सडक कालोपत्र गरेर सक्नेछ ।’ सात वर्षमा पाँच पटक म्याद थप्दासमेत सडक कालोपत्र हुन नसक्दा स्थानीयहरुले अहिले धुलोको सास्ती खेप्दै आएका छन् । सडकमा यातायातका साधन गुड्न थालेको २६ वर्ष बित्दासमेत सडक सम्पन्न नहुनु दुःखद रहेको स्थानीय जङ्गबहादुर कार्कीले गुनासो गरे । ‘घरअगाडि बाट सवारी गुड्न थालेकै २६ वर्ष भयो, अहिले त कालोपत्र होला भन्दाभन्दै सात वर्ष बित्यो, अहिले बजारबाट घर नजिकैसम्म कालोपत्र आएको छ, घरै अघिबाट सडक अलपत्र छ’, कार्कीले भने, ‘बरु गाउँ–गाउँका सडक कालोपत्र भए, साना सडकहरु चिल्ला छन् तर राष्ट्रिय राजमार्गकै यो बिजोक छ, कतिन्जेलसम्म धुलो खाने हो ।’ स्थानीय कार्कीले हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे यो सडकको नियति नै बनेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहूँ खण्ड र बिहूँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहूँ खण्ड २०७३ साल माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहूँ घोडाबाँधे खण्ड २०७२ साल माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । अहिले बिहूँ खण्डमा सडक सम्याउने र नाली निर्माण गर्ने काम भइरहेको छ भने खहरेतर्फ बेस बिच्छ्याउने कार्य भइरहेको छ । कूल एक हजार सात सय ७६ किलोमिटर राजमार्गमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये १७ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ । अहिले लोकमार्गको घोडाबाँधेदेखि गलकोटसम्मको कालोपत्र सडक मर्मत कार्य भइरहेको छ । बाढी तथा पहिराले क्षति पु¥याएको घोडाँबाधेदेखि गलकोटसम्मको सडक रु ५० करोड लागतमा ठेक्कामा गएर मर्मतको काम थालिएको हो । रासस

बिग डिजिटलको नयाँ अफर, शून्य व्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिने

काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले यहि जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो । एनआईसी एसिया बैंकका ग्राहकलाई डिजिटलले शुन्य व्याजदरमा किस्ताबन्दीमा आइफोन लगायत अन्य फोन, ल्यापटप, म्युजिकल इन्टुमेन्ट र घरायसी सामाग्रीहरु खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो । जसमा शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्न सकिनेछ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने कम्पनीले जनाएको छ । यो अफर एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् । जसका लागि ग्राहकले एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा विग डिजिटलले बिक्री वितरण गर्ने संम्पुर्ण डिजिटल सामाग्रीहरु खरिद गर्न सक्नेछन् । नयाँ अफर बिग डिजिटल भक्तपुरको कमलविनायक र ललितपुरको ग्वार्खो शाखामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पोखरा महोत्सवमा १० करोडको कारोबार

गण्डकी । पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औं संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्नाका साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट १० करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, चिडियाखाना निर्माण, सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने तथा शिक्षा, स्वास्थ्य र खेलकुदको विकास गर्ने लक्ष्यका साथ क्लबले महोत्सव गर्दै आएको अर्थ व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । महोत्सवस्थलबाट लेखनाथस्थित पँचभैयामा निर्माणाधीन चिडियाखाना अध्ययन अवलोकनका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो । सो अवधिमा आठसयभन्दा बढी दर्शकले सेवा लिएका थिए । महोत्सवको अर्को आकर्षण घोडचडी थियो । यसबाट पाँच सय जनाले घोडसवारको मज्जा लिनाका साथै एक हजार पाँच सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । कास्की निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले महोत्सव समापन समारोहमा युनाइटेड क्लबले महोत्सवको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै यस्ता कार्यको अन्य सङ्घ संस्थाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । रासस

अब ४५ दिनमा पृथ्वीबाट मंगल ग्रहमा पुग्न सकिने

एजेन्सी । संसारका धेरै देशहरूले दशकौंदेखि मंगल ग्रहमा मानिस पठाउने तयारी गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा गर्न ७ महिना लाग्छ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग उस्तै समय लिएका छन्। तर, अब नयाँ प्रविधिको सहयोगले यो यात्रा ४५ दिनमा नै गर्न सकिने भएको छ । यो नयाँ प्रविधिको नाम ‘न्यूक्लियर थर्मल एण्ड न्युक्लियर इलेक्ट्रिक प्रोपल्सन’ राखिएको छ । नासाले मानव मंगल मिशनको लागि यस्तो रकेट बनाउन लागेको हो, जसमा परमाणु ईन्धन प्रयोग हुनेछ। सो रकेट दुई प्रविधिको सहयोगमा बनाइनेछ । पहिलो, परमाणु थर्मल प्रोपल्सन, यसमा परमाणु रिएक्टर हुन्छ, जसले तरल हाइड्रोजन प्रोपेलेन्टलाई तताउँछ। विज्ञहरुका अनुसार यसो गर्दा प्लाज्मा बन्ने छ । यो प्लाज्मा रकेट नोजलबाट बाहिर निकालिनेछ, जसले रकेटलाई अगाडि बढ्नको लागि उच्च गति दिनेछ। सन् १९५५ मा अमेरिकी वायुसेना र आणविक ऊर्जा आयोगले यस्तो प्रणोदन प्रणाली निर्माण गर्ने प्रयास गरेको थियो । दोस्रो प्रविधिको नाम न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सन हो। यसमा परमाणु रिएक्टरले आयन इन्जिनलाई बिजुली दिन्छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्रले क्सीनन् जस्ता ग्यासहरूलाई गति दिन्छ, जसले रकेटलाई अगाडि बढाउने गति प्राप्त हुन्छ । सन् २००३ र २००५ मा पनि यो प्रणाली बनाउने प्रयास वैज्ञानिकहरुले गरेका थिए । नयाँ प्रविधिमार्फत वैज्ञानिकहरूले रकेटको कार्यसम्पादन झन्डै दोब्बर गर्न सक्नेछन् । रकेट बनाउने यो अवधारणा फ्लोरिडा विश्वविद्यालयका हाइपरसोनिक्स कार्यक्रम क्षेत्रका प्रमुख प्रोफेसर रायन गोसेले दिएका हुन्। यसको पहिलो चरणको विकासका लागि उनीसँगै थप १३ जनालाई अनुसन्धानमा समावेश गरिएको छ । आयोजनाका लागि १२.५ हजार डलर उपलब्ध गराइएको छ । यो अवधारणा कार्यान्वयनमा आएपछि मानिसलाई मंगल ग्रहमा जान निकै सजिलो हुनेछ । अहिले प्रयोग भइरहेको प्रविधिमा अन्तरिक्षयानलाई पृथ्वीबाट मंगल ग्रहमा जान ७ देखि ९ महिना लाग्छ । यदि हामीले यही गतिमा मंगल ग्रहमा मानिस पठाउने हो भने हरेक २६ महिनामा एउटा उडान मंगल ग्रहमा पुग्ने विज्ञहरूको अनुमान छ। साथै, मिसन ३ वर्षसम्म मात्र चल्न सक्नेछ । तर, नयाँ प्रविधिबाट मंगल ग्रह जाने बाटो भने सहज हुनेछ । पृथ्वीबाट मंगल ग्रहको यात्रा मात्र ६।५ हप्ताको हुनेछ, जसले मिसनको लागत घटाउने र समय बढाउनेछ । अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणमा मानिसहरूलाई स्वास्थ्य समस्याहरू पनि कम हुने छन्। नासाको यो रकेट कहिले तयार हुन्छ भन्ने बारे कुनै जानकारी भने छैन ।

प्रेम आचार्यको उपचार शुल्क नलिने किर्तिपुर अस्पतालको घोषणा

काठमाडौं । बानेश्वरमा आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च नि:शुल्क हुने भएको छ । किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको छ। आचार्यको बुधबार बिहान मृत्यु भएको छ ।  

घट्यो आरपिएसमार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले आफ्ना आरपिएस/कनेक्ट आइपिएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । याेसँगै आरपिएस मार्फत १० हजारसम्मकाे भुक्तानी गर्दा २ रुपैयाँ र साेभन्दा २० लाखसम्मकाे भुक्तानीमा ५ रुपैयाँ काराेबार शुल्क लाग्नेछ । आरपिएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवंम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा उक्त शुल्क लागु हुनेछ । हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।

स्वास्थ्य संस्थाको निर्माण अलपत्र पार्ने ५ कम्पनीलाई कारबाही

वीरगञ्ज । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालित विभिन्न आठवटा स्वास्थ्य संस्था निर्माणको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कारबाही गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । योजनाको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरे पनि लामो समयसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोडेर पुनः ठेक्कामार्फत काम अघि बढाइएको प्रमुख थापाले बताए । प्रमुख थापाका अनुसार अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी दोलखा, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडा, डाँफे/तिरुपति जेभी पर्सा, टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौं, म्याग्लुङ/टौदह/पञ्चकन्या जेभी काठामाडौं र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखामाथि कारबाही गरी ठेक्का तोडिएको छ । पटक पटक स्पष्टीकरण सोधिए पनि सन्तोषजनक जवाफ नआएको र निर्माण गर्नेतर्फ चासो नदेखाएकाले उनीहरुसँगको ठेक्का तोडिएको प्रमुख थापाको भनाइ छ । अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी दोलखाले स्वास्थ्य चौकी पटेर्वा सुगौली पर्सा, स्वास्थ्य चौकी भवन शङ्कर सरैया पर्सा, स्वास्थ्य चौकी जिगडवा बेलबिछवा रौतहट निर्माणको सम्झौता गरेको थियो । यस्तै स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडाले भेडहारी उपस्वास्थ्य चौकीको स्तरोन्नति तथा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो भने डाँफे/तिरुपती जेभी पर्साले पिपरपाती पछ्रौटा उपस्वास्थ्य चौकी हेल्थ पोष्ट भवन निर्माण गर्ने सम्झौता गरेको थियो । त्यस्तै टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौँले चार परिवारको स्टाफ क्वार्टर भवन निर्माण कलैया बाराको निर्माण सम्झौता गरेको थियो । म्याग्लुङ/टौदह/पञ्चकन्या जेभी काठामाडौंले स्वास्थ्य चौकी भवन निर्माण औराहा पर्सा र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखाले स्वास्थ्य चौकी भवन निर्माण सम्झौता पर्साको निर्माण सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले जनाएको छ । कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम सुरु नगर्ने र गुणस्तहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीहरुमाथि निगरानीसमेत बढाएको प्रमुख थापाको कथन छ ।