
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका विभिन्न ६९ स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो ।
बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ६९ स्थानको गैर-बैकिङ्ग सम्पत्ति बिक्रीमा गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
बैंकको नाममा दर्ता रहेको गैर-बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।
उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रहीसूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेका २४ जिल्लाको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बर्दिया, पर्सा, नवलपरासी (वर्दघाट सुस्ता पूर्व), चितवन, काठमाडौं, मोरङ्ग, कास्की, रुपन्देही, धनकुटा, मुगु, कालिकोट, बारा, सुनसरी, पाँचथर, ललितपुर, परासी नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), रौतहट, दाङ, जुम्ला, सुर्खेत, सर्लाही, रुकुम, दोलखा र सिन्धुलीका विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्ने भएको छ ।