स्किल सेवाको घर मर्मत सेवा अब चितवनमा पनि
काठमाडौं । घरको मर्मत सेवा उपलब्ध गराउँदै आएको स्किल सेवाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अब चितवनमा पनि सेवा उपलब्ध गराउने भएको छ । ‘घरको डाक्टर’ नामले चिनिने स्किल सेवाले विगत ५ वर्षदेखि काठमाडौं उपत्यकामा ‘होम इन्स्पेक्सन’ सेवा उपलब्ध गराउँदै आएको छ । ५ वर्षमा झन्डै ३० हजार घरहरुमा आफ्नो सेवा दिइसकेको स्किल सेवाले जनाएको छ । दक्ष, योग्य, विषेशज्ञ प्राविधिक जनशक्तिले हाइ–टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने ,समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा हमेशा अग्रपङ्गितिमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले अन्य मुख्य शहरहरुमा पनि आफनो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ भने यहि अउदो २२ गते बाट चितवनमा समेत आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । चितवनमा भरतपुरको हाकीम चोकमा कार्यालय रहने र कम्पनीको सेवा लिन चाहनुहुने १०० भन्दा बढी घरधनीले अग्रिम बुकिङ समेत गराइसकेको कम्पनीका बजारीकरण तथा बिक्री शाखा प्रमुख सफल प्रधानले जानकारी दिए । करिब ४०० भन्दा बढी पार्ट टाइम स्टाफ र ८० भन्दा बढी स्टाफ फुल टाइम काम गरी रहेको यस कम्पनीको मूख्य कायार्लय काठमाण्डौँको बबरमहलमा छ । स्किल सेवाको सेवा लिनका लागि कम्तिमा ५ दिन अघी नै बुक गराउन पर्दछ । जसमा समस्या, समस्याको स्रोत,समस्याको कारण, त्यस समस्याले निम्ताउन सक्ने सम्भावित क्षति र समस्या समाधान गराउन लाग्ने खर्च समेत उल्लेख गरिएको हुन्छ ।
डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर विज्ञापन गर्ने विरुद्ध प्रहरीको खोजी
काठमाडौं । डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर औषधिको विज्ञापन गर्नेलाई प्रहरीले खोजिरहेको डा. भगवान कोइरालाले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. कोइरालाले सो बताएका हुन् । ‘अनुमति बिना मेरो फ़ोटोको दुरुपयोग गरी कुनै उपचार सामाग्री को सामाजिक संजालमा बिज्ञापन गर्ने ब्यक्ती लाइ प्रहरी ले अनुसन्धान गर्दैछ’, डा. कोइरालाले फेसबुकमा उल्लेख गरेका छन् । फेसबुकमा चेथसेरा नामक ह्यान्डलबाट डा. कोइरालाको फोटो राखेर फुट फंगसको उपचार गर्ने भनी प्रचार गरिएको छ । सो प्रचारमा आफ्नो फोटोको प्रयोग अनुमति नभएको डा. कोइरालाको स्टाटसले बताउँछ ।
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङको ब्रेक थ्रु
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । ‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान सहज भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए । आयोजनाको पहिलो प्याकेजअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो भने अन्तिम विस्फोट मङ्गलबार गरिएको प्रमुख शिल्पकारले बताए । पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । हालसम्म मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेका छन् । आयोजनाका अनुसार पाँच सय ३९ दशमलव आठ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको काम सिनो हाइड्रो, चीनले गरिरहेको छ । त्यस्तै, तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ । निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
रवि भन्छन् : मेरो मौनता आजसम्मका लागि मात्रै हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले आफुलाई भन्न बाँकी, लेख्न बाँकी र गरिहाल्न बाँकी सबै काम आजै गरिदिन बताउँदै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,’ उनले लेखेका छन् । शुक्रबार सर्वोच्चले नागरिकता रद्ध गरेपछि लामिछानेको सांसददेखि गृहमन्त्री पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सामान्य सदस्यता पनि खारेज भएको थियो । आइतबार नागरिकता पुन: प्राप्त गरेपछि लामिछानेले पार्टीको पद भने पाइसेकेका छन् ।
जिल्ला आयुर्वेद अस्पताल काठमाडौंबाट दैनिक दर्जनौंले उपचार सेवा लिँदै
काठमाडौं । जिल्ला आयुर्वेद अस्पताल काठमाडौंबाट दैनिक दर्जनौं विमारीहरुले आयुर्वेद उपचार सेवा लिने गरेका छन् । दैनिक रुपमा ५० भन्दा धेरै विमारीहरुले आयुर्वेदिक उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ । विमारीहरुलाई अस्पतालले ओपीडी, ल्याब, अक्वुपंचर र साइकोथेरापी सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालका अनुसार दैनिक रुपमा ३५ जनाले ओपीडी, ५ जना भन्दा धेरैले ल्याब, ५ जना भन्दा धेरैले अक्वुपंचर र १० जना भन्दा धेरैले साइकोथेरापी सेवा लिने गरेका छन् । अस्पतालले महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना र विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । त्यस्तै अस्पतालले स्तनपान गराइरहेका आमाहरुलाई लक्षित गरेर चेतनामुलक सामग्री तथा परामर्श प्रदान गर्ने गरेको छ । सेवा प्रवाहको लागि आफ्नै भवन र पर्याप्त कार्यकक्ष नभएको अस्पतालले जनाएको छ ।
आत्मदाह गरेका प्रेमप्रसादका श्रीमतीले बैंकविरुद्ध उजुरी गर्ने
काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छिन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ । गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । ‘मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चालेको होइन । अहिले उनको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ । मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।’, उनले भनिन् । उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् । सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ । अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताइन् । ‘हिजो बुधबार सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौंमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिएका थिए’, उनले भनिन् । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ । इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन् । उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन् । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ । श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौं आउने बताइन् । उनले भनिन्, ‘उनलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उनलाई शहिद घोषणा गर्न माग पनि गरेकी छु ।’ रासस
कृषि प्राविधिक पढेका वीरबहादुर राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएका हुन् । बाह्रैमहिना च्याउ उत्पदान गर्दै आएका उनले फार्म सञ्चालनका लागि सात लाख रुपैयाँ लगानी गरेका छन् । यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ । ‘कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा ५० हजार रुपैयाँ लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ’, उनले भने, ‘उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।’ उनले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा एक सय ५० रुपैयाँ देखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तीन महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उनको भनाइ छ भने पन्ध्र क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ । ‘च्याउ बिक्री गरी वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको छ’, उनले भने, ‘उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ ।’ रानाले कन्या र पिङ्की जातको च्याउको उत्पादन गरिरहेका छन् । मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ । आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उनले बताए । निजीस्तरबाट सञ्चालित कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालामा उनले च्याउको बीउ आफै उत्पादन गर्छन् । च्याउ उत्पादनका लागि पराल काट्ने, उमाल्ने, पोका बनाउने, बीउ राख्ने, स्प्रे गर्ने, प्याकिङ, ग्रेडिङलगायतका कार्यमा घरपरिवारले सहयोग गर्ने गरेका छन् । हालै विवाह बन्धमा बाँधिएका रानाले च्याउ खेतीकै आम्दानीले विवाहको खर्च जुटाएका हुन् । ‘प्राविधिक शिक्षा पढेका अधिकांश युवाको रोजाइँ निजामति सेवा प्रवेश हुन्छ’, कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालाका सञ्चालक चुडामणि जोशी भन्छन्, ‘निजामति सेवामा प्रवेश पाउन नसकेका युवाको दोस्रो रोजाइँमा बैदेशिक रोजगारी पर्ने गरेको छ, प्राविधिक शिक्षा पढेर स्वदेशमै स्वरोजगारमा संलग्न हुनेको सङ्ख्या विरलै देख्न पाइन्छ ।’ रासस
पर्सामा करिब साढे ६ हजार उद्योग थपिए
पर्सा । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए । यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दत्र्ता भएका छन् । यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट छ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।