राष्ट्रिय बीमा संस्थानमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । राष्ट्रिय बीमा संस्थानले कर्मचारीको माग गरेको छ । बीमा संस्थानले करार सेवाका लागि विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत १ जना र एक्चुरी (सहायक) २ जना गरी कुल १० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि संस्थानले सीएका लागि स्नातक तह उत्तीर्ण गरी सीए सरहको उपाधि प्राप्त गरेको र कम्प्युटर अधिकृतका लागि ब्याचलर सफ्टवयेर इन्जिनियरिङ्ग, कानुन अधिकृतका लागि कानुन विषयमा स्नाकोत्तर तह उत्तीर्ण र एक्चुरीका लागि म्याथम्याटिकल साइन्समा स्नातक तह उर्तिण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीले तोकेबमोजिम दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
अघि बढ्यो २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । कूल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । यसको डिजाइन बहाव १३ दशमलब चार घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाको कूल हेड दुई सय सात मिटर रहेको छ । आयोजनाबाट वार्षिक सरदर एक सय पाँच गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । यस्तै, डाईभर्सन स्किमबाट वार्षिक दुई सय १६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ । रोल्वालिङ खोलामा बाँधबाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ । आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ । विद्युत् गृहमा दुई वटा टवाईन रहनेछ । ती टबाईनबाट १० दशमलब ४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई सात सय ४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा पानी खसालिनेछ । विद्युत् गृहबाट उतपादित बिजुली आठ दशमलब चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रस्तावित ३३/२२० केभी सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमासमेत गुणात्मक वृद्धि हुनेछ । अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादनका लागिसमेत रोल्वालिङ खोला जलविद्युत् आयोजना सहयोगी हुनेछ । आयोजनाको डिजाइनलगायतको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो । सो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको आयोजनाको रुपमा चित्रण गर्दै आएका छन् । रासस
बीमाशुल्क आर्जनमा आईएमईपछि गुराँस लाइफ एग्रेशिभ, अर्ब क्लबमा थपियो प्रभु लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन भएको छ । पुसदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्ससमेत गरी २० वटा जीवन बीमा कम्पनीले सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । जुन पछिल्लो एक महिना अर्थात मंसिरसम्मको तुलनामा ३९.०९ प्रतिशतले बढी हो । मंसिरसम्ममा १९ वटा जीवन बीमा कम्पनीले ५१ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सबै कम्पनीको व्यवसायमा सुधार देखिन्छ । रकमको आधारमा नेपाल लाइफको अग्रता कायमै छ । कम्पनीले चालु आवको ६ महिनामै १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । मंसिरसम्ममा १५ अर्ब ६२ करोडको व्यवसाय गरेको कम्पनीले एक महिनामै १९.२३ प्रतिशतले वृद्धि गरेको छ । यससँगै १० अर्ब बढीको जीवन बीमाशुल्क संकलन गर्नेको सूचीमा नेपाल लाइफ एक्लै छ । प्रतिशतको आधारमा भने आईएमई लाइफ इन्स्योरेन्स एग्रेशिभ बनेको छ । कम्पनीले पुस एक महिनामै ३२.६० प्रतिशत बढी व्यवसाय विस्तार गरेको छ । गत मंसिरसम्म १ अर्ब ४७ करोड रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा १ अर्ब ९५ करोड प्रिमियम उठाएको छ । आईएमईपछि गुराँस लाइफ एग्रेशिभ देखिन्छ । समीक्षा अवधिमा गुराँस लाइफले २८.५३ प्रतिशतले जीवन बीमाशुल्क संकलनमा वृद्धि गरी १ अर्ब ४३ लाख रुपैयाँ कायम गरेको छ । जुन अघिल्लो महिनासम्ममा १ अर्ब ११ करोड रुपैयाँ थियो । यो अवधिमा अर्ब बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा प्रभु लाइफ इन्स्योरेन्स थपिएको छ । गत मंसिरसम्ममा ८२ करोड ५३ लाख रुपैयाँ बराबरको बीमशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब ३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा २५.७२ प्रतिशतले बढी हो । यस्तै, ५ अर्बदेखि १० अर्बको बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् । यता १ अर्बदेखि ५ अर्बको सूचीमा अधिकांश कम्पनी छन् । समीक्षा अवधिमा महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन मंसिरसम्मको तुलनामा २०.९१ प्रतिशतले बढी हो । त्यस्तै, पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्ममा ५९ करोड ८२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ । कुनको कति ?
आदर्श लघुवित्तको २१.०५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
कस्तो बन्ला धरान-लेउती सुरुङमार्ग ?
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले धरान–लेउती सुरुङ मार्ग निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरे । बजेटमा सो सुरुङमार्ग निर्माणको विषयलाई प्राथमिकता दिए पनि बजेट विनियोजनको विषयले भने प्राथमिकता पाउन सकेको छैन । तर, गृहकार्य अहिले सो परियोजनाका लागि बजेट सुनिश्चित गर्ने तयारी भइरहेको बताइएको छ । यसका लागि भइरहेको बुझिएको छ । केही समय अगाडि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रले धरान–लेउती सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको थियो । जोगवनी किमाथांका व्यापारिक मार्गको दुरी र समय घटाउने उद्देश्यले उक्त सुरुङ मार्गको अवधारणा लिइएको हो । बजेट वक्तव्यअनुसार नै पहिलो चरणको सम्भाव्यता अध्ययन पूरा भएको छ । उक्त सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउने तयारी भइरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रका सूचना अधिकारी सौरभ बज्राचार्यले बताए । ‘यो आयोजना मन्त्रालयमा छलफल भएर सहमति भयो भने अगाडि बढाउने हो, सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउने तयारी भइरहेको छ,’ उनले भने । अहिले उक्त सुरुङमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाउनको लागि विभिन्न गृहकार्य भइरहेको बताइएको छ । २०७९ असार अन्तिममा सार्वजनिक भएको फिजिबिलिटी रिपोर्टमा सुरुङमार्ग निर्माण गर्दा १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने उल्लेख छ । धरान लेउती सुरुङमार्गको अध्ययन ‘टीएमएस ईआई माभेन रेस जेभी’ ले गरेको हो । उक्त सुरुङमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष ०७९/०८० मा एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सो बजेट सुरुङमार्ग निर्माणको लागि पर्याप्त नभएको उनको भनाइ छ । सुरुङमार्गको लम्बाई ३.८९ किमि हुने बताइएको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माणको लागि बजेट सुनिश्चित गरेपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हुने पनि बज्राचार्यले जानकारी दिए । उनका अनुसार सो सुरुङमार्ग दुई लेनको हुनेछ । सम्भाव्यता अध्ययन पुरा भएपनि आगामी आर्थिक वर्ष २०८०/८१ मा अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरे काम अगाडि बढ्नेछ । छोटो दुरी तथा सहज आवागमन गर्न सकिने उद्देश्यले यो सुरुङमार्गको अवधारणा अगाडि सारिएको हो । धरान–लेउती सुरुङमार्ग निर्माण सम्पन्न भएमा करिब १० मिनेटमा लेउती पुग्न सकिन्छ । हाल बस यात्राबाट करिब डेढ घण्टा समय लाग्छ । सरकारले महत्वका साथ हेरेको यो परियोजनाले धरानको खानेपानी समस्या समाधान हुने बताइएको छ ।
नाडेप लघुवित्तले १० प्रतिशत बोनस बाँड्ने, नगद कति छ ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
पर्यटनमन्त्री किरातीको निर्देशन पछि निगमले सुरु गर्यो अनलाईन टिकेटिङ
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको हो । ईसेवा वालेटमा उक्त सुविधा केही दिन अघि मात्रै थपिएको हो । यसअघि निगमको केन्द्रीय कार्यालय, वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फतबाट मात्रै टिकट खरिद गर्ने गरिएकोमा अब मोबाइलबाटै टिकट खरिद गर्न सकिने भएको हो । सुरुवाती चरणमा इसेवाबाट उक्त सुविधा दिएको निगमले विस्तारै अन्य पेमेन्ट गेटवेहरु मार्फत समेत टिकट काट्न सकिने सुविधा दिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले एक महिनाभित्र सहज रुपमा अनलाईन मार्फत टिकट काट्न सकिने व्यवस्था लागु गर्न निगम सञ्चालक समितिलाई निर्देशन दिएका थिए । पर्यटनमन्त्रीमा नियुक्त भएपछि निगमको अनुगमनका गएका मन्त्री किरातीले निर्देशन दिएको एक सातामै निगमले अनलाईन मार्फत टिकट् काट्न सकिने व्यवस्था लागु गरेको हो । यसअघि निगमले अनलाईन बाटै टिकट काट्न सकिने व्यवस्था लागु भैसकेको जनाएको थियो । निगमको बेवसाइटमा अनलाईन मार्फत टिकट काट्न सकिने सुविधा रहेको उल्लेख भएता पनि डिजिटल वालेटबाट टिकट काट्ने सुविधा उपलब्ध गराईएको थिएन ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ७ हजार पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ। बुधबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार आठ रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।