विकासन्युज

२० प्रतिशत लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । इन्फिनिटी लघुवित्तले साधारण सभा बोलाएको छ । लघुवित्तको माघ १७ गते बसेको संचालक समितिको बैठकले फागुन १३ गतेको लागि साधारण सभा बोलाएको हो । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति पनि तोकेको छ । कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात फागुन १ गतेसम्म कम्पनीको सेयरधनीको रुपम नेपाल स्टक एक्सचेन्जमा  सक्रिय भएकाले मात्र लाभांश प्राप्त गर्नेछन् ।

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला, वार्षिक १५ लाख आम्दानी

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० रुपैयाँ हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले जानकारी दिइन् । स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउन छ महिला सामूहिकरुपमा लागेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताइन् । ‘हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यहीँ सीपलाई व्यवसायमा जोडेका हौँ’, उनले भनिन् । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उनले सुनाइन् । वाार्षिकरुपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । ‘आफ्नो कमाइ नहुँदा घरका श्रीमान्सँग आश्रित हुनुपर्ने थियो ।  अहिले त्यो बाध्यता हटेको छ’, भट्टराई भन्छिन् । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले जनाइन् । बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत सहरमा हुने गरेको छ । जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दो छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ। उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ । उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ । सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताइन्। आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उनको सुझाव छ । ‘हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ’, उनले भनिन् । ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई एक सय रुपैयाँसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ। चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य दुई सय ५० रुपैयाँसम्म पर्छ । उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाइन् । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उनले बताइन् । आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौँ। महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यहीँ उद्योगले अचार लैजाने आशामा छौँ’, उनले भनिन् । महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरुपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताए । ‘सिधै बजेट दिएका छैनौँ, तालिममार्फत सहकार्य गरिरहेका छौँ’, उनले भने । रासस

नेत्रज्योति संघले सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच गर्ने

काठमाडौं । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । आँखा उपचार सम्बन्धी आम जनतामा जनचेतना फैलाउने र पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त र महासंघका तर्फबाट अध्यक्ष बिपुल पोख्रेलले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा।डा। चेतराज पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धि समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससंगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताए । उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताए । वि।स २०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् । कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई, कार्यकारी निर्देशक शैलेस कुमार मिश्र र महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

जनवरीमा भित्रिए ५५ हजार पर्यटक, कुन देशबाट कति संख्यामा आए ?

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गरे । जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ । सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ। कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो। उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो । रासस

एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १५ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १५ जना मात्र रहेकाले मङ्गलबार सबै प्रक्रिया पूरा गरी आजदेखि काममा खटाइएको प्रमुख सुवेदीले जानकारी दिए । उनले भने, ‘यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो । सहजकर्ता मात्रै होइन शिक्षण सहयोगी पनि कामपाले नियुक्त गर्न लागेको छ ।’ शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँचरपाँच जना सहजकर्ता आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ । त्यसैगरी शिक्षण सहयोगीका लागि गणित विषयका ६० र विज्ञान विषयका ६० जना आवश्यकता रहेको जनाइएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक १५ हजार तोकिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट चार हजार विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको प्रभावकारिता हेरी आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने कामपाको तयारी रहेको पनि प्रमुख सुवेदीले जानकारी दिए ।

कालीगण्डकीको देवशिला भारतको अयोध्या पुग्यो

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरे । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए । ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने जानकारी दिए । यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो । रासस

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् यूएइको दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरेकाे भन्दै झापाका ३ उद्योगविरुद्ध मुद्दा दायर

झापा । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए। बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो । भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए । मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उनले बताए । बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्री–वितरण भइरहेका छन् । नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराईले बताए । खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ । विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ । जिल्लामा सङ्कलित खाद्यवस्तुको नमूना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ । रासस