विकासन्युज

बीजबजारमा ७० प्रतिशतसम्मको छुट पाइने

काठमाडौं । बीजबजारमा सेवाग्राहीहरूले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । ई–कमर्स प्लेटफर्म बिजबजारले माघ महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट दिने भएको हो । अफरका केही योजनाहरू माघ २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ । बिजबजारले माघ २० गते फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ सेवाग्राहीहरूले तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन् । २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर ‘बिजबजारको अनलाइन सपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्यापटप वा डेस्कटपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै टाइप गरेर पनि यो सेवा लिन सक्नेछन् ।

२२ अंकले घटेको बजारमा कसले बढी कमायो ?

काठमाडौं । बिहीबारको सेयर बजार २२.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर २०९४.५४ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५८ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा आज स्ट्याण्डर्ड चार्टड बैंक रहेको छ । बैंकको १० करोड बढीको सेयर कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्तका लगानीकर्ता रहेको छन् भने सबैभन्दा बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् ।

पुर्वाञ्चल ल्यूब आयलमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने

काठमाडौं । पुर्वाञ्चल ल्युब आयलमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने भएको छ । अल्फा प्लस भेन्चर्सले मोरङ्गमा रहेको पुर्वाञ्चल ल्यूव आयलमा लगानी गर्ने भएको हो । लगानी गर्नको लागि पुर्वाञ्चल ल्युब आयलको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले बुधबारका दिन हस्ताक्षर गरेका छन् । अल्फा प्लस भेन्चर्सको लगानी पश्चात पुर्वाञ्चल ल्युब आयलमा नयाँ ल्यु्रबीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर बिक्री वितरण हुने छ । यस सम्झौताले सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिवृद्धि भई कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले बढ्ने बताइएकाे छ । पुर्वाञ्चल ल्युब आयलले विगत २३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दे आएको कम्पनीले जनाएको छ ।  

भीमसेनथापा गाउँपालिकाका सबैको बीमा राष्ट्रिय बीमा कम्पनीमा, शाखाबाटै भुक्तानी दिन निर्देशन

काठमाडौं । गण्डकी प्रदेशको गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सम्बन्धी सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा यही माघ १८ गते उक्त गाउँपालिका र कम्पनीबीच सम्झौता भएको हो । सम्झौतापत्रमा भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजरा र राष्ट्रिय बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौतामा गाउँपालिकाभित्रका सबै नागरिकको दुर्घटना बीमा र घरहरूको सम्पत्ति बीमा गर्ने, सरकारी सम्पत्तिहरूको बीमा गर्नका लागि आवश्यक कार्य अगाडि बढाउने, कृषि तथा पशुपन्छी बीमा र कृषि औजारहरूको बीमा क्रमिक रूपमा गर्दै जाने लगायतका विषयहरू उल्लेख गरिएको छ । त्यस्तै, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् । बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले आर्थिकरूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्न आग्रह गरे । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिनका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिए । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमाप्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नै गर्नुपर्ने बताए । यसैगरी, नेपाल बीमा प्राधिकरणको आयोजनामा यही माघ १८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्ने जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन र शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न आग्रह गरे । कार्यक्रमहरूमा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका प्रतिनिधि, अगुवा कृषक, कृषि तथा पशु प्राविधिक, बीमा अभिकर्ता, संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई  ६ महिना कैद तोकेको थियो । संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् । बिहिबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् । आफू उपसभामुख भएर केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट यस्तो जानकारी पाएको उनले बताइन् । उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताइन् । उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् । उनले सांसदहरू काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन् । उनले भनिन्, ‘महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’ उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताए ।

म्याग्दीबाट २० करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिए । ‘सरदर प्रतिकिलो ६० का दरले २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ’, उनले भने ‘अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको छ ।’ जिल्लाको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । सुन्तला जोन कार्यालय म्याग्दीकी नायब प्राविधिक सहायक रुपा विकले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताए । गत वर्ष दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा १३ करोड भित्रिएको थियो । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुगेका थिए । वर्षमा १० मुरी धान फल्ने खेतमा चार सय बिरुवा सुन्तला लगाएकी हुमेनले यसपाली बगैँचाबाटै सात लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताए । ‘छोरा विदेशिए, छोरिको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाडेर कानको चार तोला सुन बेचेर खाल्डा खनी सुन्तलाका बिरुवा किनेर रोपेको थिए’, उनले भने, ‘सुन बेचेर रोपेको सुन्तलाले सुनै फलाएको छ ।’ सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् । रासस

घरजग्गा व्यापारी बन्दै बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको माघसम्म सयौं घरजग्गा बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका २ सयभन्दा बढी संख्यामा घरजग्गा लिलाममा राखेको जनाएको छ । पटक–पटक गरी बैंकले देशभरिका विभिन्न ठाउँको गैर बैंकिङ्ग सम्पत्ति र कर्जामा रहेको धितो लिलाम बिक्री गरिरहेको छ । पछिल्लो समय सबैभन्दा धेरै धितो लिलाम गर्ने बैंकमा एनआईसी एशिया बैंक अग्रस्थानमा छ । यस्तै, सनराइज बैंकले पछिल्लो पटक आफ्नो स्वामित्वमा रहेका देशभरिका ४१ ठाउँको घरजग्गा बिक्रीमा राखेको छ । घरजग्गासँगै बैंकले विभिन्न मोडलका सवारी साधन पनि लिलाम गरिरहेको छ । यस्तै, प्रभु बैंकले १४ जिल्लाका २९ ठाउँको घरजग्गा बिक्रीमा राखेको छ भने माछापुच्छ्रे बैंकले १६ जिल्लाको २० वटा घरजग्गा र सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक सहित घरजग्गा लिलाममा राखेको छ । यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जामा राखिएको धितो धमाधम लिलाम गरेर बिक्री गरिरहेका छन् । पत्रपत्रिकाहरु बैंक तथा वित्तीय संस्थाहरुका लिलामीका सूचनाले भरिभराउ छन् । प्रत्येक दिन कुनै न कुनै बैंक तथा वित्तीय संस्थाले लिलामीका सूचना प्रकाशन गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेको धितो हेर्दा बैंकहरु पैसाको कारोबार गर्नेभन्दा पनि घरजग्गाको कारोबार गर्ने संस्थाका रुपमा देखिन थालेका छन् । लिलामीमार्फत् घरजग्गा नै बिक्री गर्न थालेपछि बैंकले ऋणीको उठिबास नै लगाएको आरोप पनि लाग्दै आएको छ । तर, आफ्नो खराब कर्जा कम गरेर ऋण असुलीमा बैंक अब्बल सावित गर्न धितो लिलामीमा राखेको बैंकरहरु बताउँछन् । लिलामीका सूचना प्रकाशन गर्दा बैंकको रिकभरीमा सघाउन पुग्ने उनीहरुको धारणा छ । साथै, ऋणीको धितो असुलेर बैंकले आफ्नो गैर बैंकिङ सम्पत्ति घटाउँदै जाने रणनीतिमा बैंकहरु भएपनि गैर बैंकिङ सम्पत्ति भने बिक्री हुँदैन । यसरी बैंकहरुले लिलाम राखेको धितो बिक्री नहुने हो भने हाल पैसाको कारोबार गर्ने बैंकहरु भविष्यमा घरजग्गाको मात्रै कारोबार गर्ने संस्था बन्न सक्ने आँकलन धेरैले गरेका छन् । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटा भने सधैंभरि यस्तै अवस्था नरहने उनको दाबी छ । बैंकले आफ्नो रिकभरीलाई बढावा दिएको उनले बताए । साथै, खराब कर्जा बढेपछि प्रोभिजन राख्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले धितो लिलाम राख्नु परेको उनको भनाइ छ । ‘भारतमा ८/९ प्रतिशतको खराब कर्जा अुनपात सामान्य हो किनभने भारतमा ठूला प्रोजेक्ट फाइनान्सिङ वा बुक फाइनान्स गरेका हुन्छन् तर, रिटर्न ढिला हुन्छ, नेपालमा कडाइ छ, अलिकति स्थिति तलमाथि हुने बित्तीकै प्रभाव धेरै देखिन्छ,’ उनले भने, ‘लामो समयसम्म यस्तै स्थिति रहँदैन, ऋणीले केही न केही उपाय लगाएर कर्जा चुक्ता गर्छन् किनकी ऋणीलाई पनि आफ्नो सम्पत्तिको माया लाग्छ ।’ लिलाम गरेर नै घरजग्गा बिक्री हुन्छ भन्ने हुँदैन । रिकभरीको प्रक्रिया अनुसार लिलामीमा राखिएको उनले बताए । अहिलेको वास्तविकता भनेको आर्थिक गतिविधि कम भएको हो । समग्र आर्थिक नीतिमा नै पुन्संरचना गर्नुपर्ने देखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदा सबै सन्तुलनमा आउने उनको बुझाइ छ । ‘आर्थिक गतिविधि कम हुनेबित्तीकै सबै सुस्ताउँछ, अब सन्तुलन कायम राख्नु पर्छ, बाह्य क्षेत्र सन्तुलन मिलाउँदा आन्तरिक बिग्रन्छ, आन्तरिक सन्तुलन मिलाउँदा वाह्य बिग्रन्छ, त्यसैले सबै कुरामा सन्तुलन कायम राख्नु पर्ने देखिएको छ,’ उनले भने । कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्यालका अनुसार पछिल्लो समय बैंकको धितो लिलाम बढ्दो अवस्थामा छ । बैंकले खराब कर्जा व्यवस्थापन गर्न लिलामीको औजार प्रयोग गरेको उनले बताए । एक/दुई वटा भए केही फरक पर्दैन तर धेरै भएपछि गर्न लिलामी गर्न बाध्य भएको उनको भनाइ छ । ‘बैंकले आफ्नो नियम अनुसार पैसा उठाउनु पर्छ, अहिले पत्रिकामा लिलामका सूचना नभएका दिन छैनन्, ग्राहकको पनि कर्जा तिर्दैन भन्ने मनसाय हुँदैन, कोभिड–१९ पछि उत्पादन नहुँदा व्यापार व्यवसाय घटेको छ, कसैले नियतवश नतिर्ने भन्ने एक/दुई मात्रै हुन्छन् तर, नभएर नतिर्ने भन्ने धेरै हुन्छन्,’ उनले भने । यदि धितो लिलाम भएन भने बैंकले साकार गर्नु पर्ने हुन्छ । धितो लिलाम बिक्री भएन भने भोलिका दिनमा घरजग्गाको मात्रै बैंक हुन्छ भन्ने तिर जान नहुने उनले बताए । अर्थतन्त्र सहज वा सुधार भएपछि बैंक तथा वित्तीय संस्था पुरानै अवस्थामा फर्किने उनको भनाइ छ । ‘कसैले पनि ऋण नतिरेपछि घरजग्गा मात्रै बैंकले लिएर के गर्ने हो ? बैंकसँग पैसा भएपछि मात्रै पैसा बेचेर क्यास फ्लो हुन्छ, नगद कारोबार भएपछि नै आम्दानी गर्ने हो, अरुका घरजग्गा मात्रै लिलाम गर्ने बैंकको सोच हुँदैन, ऋणीलाई उठिबास् लगाउने बैंकको उद्देश्य हुँदैन,’ उनले भने, ‘यो त सुरक्षाका लागि धितो राखेको मात्रै हो, हाम्रो देशमा सहज नभएको हुँदा धितो राख्नु परेको हो, मन्दीका कारण समयमा असुल गर्न नसकेका मात्रै हुन्, विगतका वर्षमा यस्ता घटना त्यति धेरै थिएन ।’ कोरोना महामारीका बेलामा बैंकहरुले विभिन्न औजार प्रयोग गरेर कर्जालाई नियमित गरिरहेका थिए । तर, कोरोना पश्चात् अर्थतन्त्र सुधार हुनुको साँटो झन् नकरात्मक हुन थाल्यो । जसले गर्दा ऋणीहरुको नगद कारोबारमा असर परेको बैंकरहरुको भनाइ छ । जबसम्म कर्जा खराब कर्जामा परिणत हुँदैन तबसम्म बैंकले धितो लिलाम गर्दैनन् । बैंकले कुनैपनि कर्जाको वर्गीकरण गरेको हुन्छ । यदि ऋणी भागेर गएमा, ऋणीले ब्यापार व्यवसाय बन्द गरेमा वा धितो गलत ठहरिएमा लिलाम प्रक्रिया अघि बढाउँछन् । ‘आजका दिनसम्म राम्रो कर्जा छ तर, ऋणी भागेर गयो भने लिलाम प्रक्रिया अघि बढाउँछ, जस्तो असारमा ५ प्रतिशत, असोजमा २५ प्रतिशत, पुसमा ५० प्रतिशत हुन्छ, ओभर ड्यू भएको ६ महिना हुनुपर्याे की ५० प्रतिशतमा शंका गरिएको हुनुपर्याे राष्ट्र बैंकले भन्छ,’ एक वाणिज्य बैंकका डीसीईओले भने, ‘यदि ऋणीले कर्जा तिर्ने योजना बनाउँछ भने समय थप दिन्छ तर, ५० प्रतिशत प्रोभिजन भइसकेपछि असारमा १ सय प्रतिशतपुग्छ, १ सय प्रतिशत प्रोभिजन बैंकले राख्न सक्दैन, बैंकमा खराब कर्जा मात्रै बढ्छ ।’ शतप्रतिशत प्रोभिजन राख्नुभन्दा लिलाम प्रक्रिया गर्याे भने खराब कर्जा केही व्यवस्थापन गर्न सकिन्छ । बैंकले लिलाम गरेको जग्गा सस्तोमा पाउँछ भनेर खरिद गर्न आउने गरेका छन् । तर, पछिल्लो समय घरजग्गा कारोबार पनि कम भएकाले धितो लिलाम कम हुने गरेको उनी बताउँछन् । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल विगतमा यस्ता सूचनाहरु कमै आउने भएपनि पछिल्लो समय बढ्दै गरेको बताउँछन् । ‘बैंकहरुले ऋण असुलका लागि धितो लिलाम गर्नु स्वभाविक हो, संसारको अभ्यास नै यही हो, स्वीकारेको सम्पत्ति बिक्री नगरेर बैंक आफै राख्न सक्दैन, लिलामको उद्धेश्य ऋण असुल गर्ने प्रयोजन हो,’ उनी भन्छन्, ‘यसमा राष्ट्र बैंकले बाध्यात्मक अवस्था सिर्जना गरेको छैन ।’ बैंकहरुको काम पैसाको कारोबार भएको र पछिल्लो समय घरजग्गाको लिलामी बढाउँदा कतै बैंकहरु घरजग्गा व्यवसायी जस्तो देखिने होकि भन्ने बुझाइ पनि आम जनमानसमा रहेको उनी बताउँछन् ।