सुनको मूल्य प्रतितोला एक लाख ४६ सय पुग्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै, आज तेजावी सुन प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सोमबार मन्त्रिपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवायले बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने जनाएकोे छ ।
रेमिट्यान्स कम्पनीको पुँजी वृद्धिले भित्रिन सक्छ दैनिक लाखौं डलर
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुको पुँजी वृद्धि गर्नु पर्ने व्यवस्था गरेसँगै दैनिक लाखौं रकम रेमिट्यान्स भित्रिने दाबी गरेको छ । पुँजी वृद्धि भएपछि कम्पनीको क्षमता बढेर दैनिक लाखौं डलर रेमिट्यान्स भित्र्याउने दाबी राष्ट्र बैंकले गरेको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ मा गर्दै रेमिट्यान्स कम्पनीको चुक्ता पुँजी न्यूनतम १० करोड र २५ करोड रुपैयाँ हुनुपर्ने कानुनी व्यवस्था गरेको छ । अब रेमिट्यान्स कम्पनीले राष्ट्र बैंकले तोके बमोजिम चुक्ता पुँजी पुर्याउनु पर्नेछ । तर, २५ करोड रुपैयाँ पुँजी पुर्याउन भने बाध्यात्मक व्यवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख कार्यकारी निर्देशक रामु पौडेल रेमिट्यान्स कम्पनीले राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना गर्दैन भन्न नमिल्ने बताउँछन् । उनका अनुसार रेमिट्यान्स कम्पनीको वृत्ति विकासका लागि पुँजी वृद्धिको व्यवस्था गरिएको हो । ठूलो पुँजी भएका कम्पनीले सोही अनुसारको काम गर्न पाउने भएकाले रेमिट्यान्स कम्पनीको पुँजी बढाउनमा जोड दिएको उनले बताए । ‘सबै रेमिट्यान्स कम्पनीले तोकिएको अवधिमा १० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्छ, २५ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने कम्पनीले रेमिट्यान्स कार्ड सेवा प्रदान गर्न पनि पाउँछन्, त्यसबाहेक राष्ट्र बैंकले अरु काम गर्न पनि दिन सक्छ,’ उनले भने, ‘२५ करोड पुँजी भएका कम्पनीले यो काम गर्न दिनुस् भनेर आउँछन् भने राष्ट्र बैंक रेमिट्यान्ससँग सम्बन्धित थप सेवा दिन सक्छ, त्यसका लागि पुर्वाधार र पुँजी पुर्याउन सक्नु पर्यो ।’ २५ करोड पुँजी पुर्याउन बाध्यात्मक नभएपनि १० करोड पुँजी भने अनिवार्य पुर्याउनु पर्ने उनले बताए । उनका अनुसार २०८५ सालसम्म कम्पनीले मर्जर तथा एक्विजिशन माफर्त भएपनि १० करोड पुँजी पुर्याउनै पर्नेछ । ‘अहिले अधिकांश कम्पनीको पुँजी २ करोड रुपैयाँ छ, २र२ करोड पूँजी भएका ५ वटा कम्पनी मर्ज गरेर भएपनि १० करोड पुर्याउन सक्छन्, ठूलो कम्पनी भएपछि काम पनि धेरै गर्न सकिन्छ, अहिले हरेक काम प्रिफण्डिङमा मात्रै हुन्छन्,’ उनले भने, ‘एकै दिन लाखौं डलर भित्र्याउन सक्छन्, विदेशी पार्टनरले पनि विश्वास गर्छ, १० करोड पुँजी भनेको धेरै ठूलो होइन, सबै सिस्टमको लागत बढ्दै गएको छ, जोखिम पनि बढ्दै गएको छ ।’ पुँजी वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । रेमिट्यान्स कम्पनीले राम्रो काम गरिरहेको हुँदा अझै थप बलियो र सक्षम कम्पनी बनाउनु पर्ने उनको भनाइ छ । रेमिट्यान्स कम्पनीहरुले २०८१ असारभित्र न्यूनतम ३ करोड, २०८२ असारभित्र न्यूनतम ४ करोड, २०८३ असारभित्र न्यूनतम ६ करोड, २०८४ असारभित्र न्यूनतम ८ करोड र २०८५ असारभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन राष्ट्र बैंकले समय सीमा तोकेको छ । यस्तै, चुक्ता पुँजी २५ करोड रुपैयाँ भएका कम्पनीलाई भने थप काम गर्न पाउने व्यवस्था गरिएको छ । कार्यकारी निर्देशक पौडेलका अनुसार २५ करोड पुँजी भएका कम्पनीले सहायक कम्पनीमार्फत् भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालन सम्बन्धी कार्य गर्न पाउनेछन् । यस्तै, रेमिट्यान्स कार्ड जारी गरी विप्रेषण कारोबार र राष्ट्र बैंकले तोके बमोजिमका अन्य कार्यहरु गर्न पाउनेछन् । आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० खिलेन्द्र पौडेलले २र४ वर्षदेखि काम गरेका रेमिट्यान्स कम्पनीलाई १० करोड पुँजी भनेको धेरै ठूलो रकम नभएको बताए । पाँच वर्षमा १० करोड पुँजी सहजै पुर्याउन सकिने उनले बताए । कम्पनीका सञ्चालकहरुले आफैं पुर्याउनु पर्ने र यदि आफैं थप गर्न नसक्ने भए मर्जर तथा एक्विजिशनको माध्यमबाट पुँजी बढाउनुपर्ने उनको धारणा छ । ‘पुँजी वृद्धि गर्न राष्ट्र बैंकले समय दिएको छ, २०८५ सम्म १० करोड पुँजी पुर्याउन सहजै सकिन्छ, स(साना कम्पनी मर्जरका माध्यमबाट पुँजी बढाउनुपर्छ, जसको थोरै मात्रै रकम संस्थापक आफैले थप गर्नुपर्छ,’ उनले भने, ‘यदि कुनै कम्पनीसँग रिजर्भमा रकम छ भने त्यो रकम क्यापिटलमा राख्नुपर्यो, २ करोड पुँजी भएका कम्पनी थोरै छन् ।’ विदेशमा रहेका कम्पनीले १र२ लाख डलर पुँजी भएको कम्पनीलाई विश्वास नगर्ने भएकाले पुँजी वृद्धि आवश्यक रहेको उनको भनाइ छ । आइएमई रेमिटको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेपछि एक अर्ब चुक्ता पुँजी पुग्ने उनले बताए । यस्तै, राष्ट्र बैंकले विदेशमा शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको भएपनि सम्भव नरहेको उनले बताए । नेपालबाट मात्रै स्वीकृति लिएर शाखा सञ्चालन गर्न सम्भव नहुने उनको भनाइ छ । पहिला पनि आन्तरिक रेमिट्यान्स कारोबार गर्न लाइसेन्स नदिएको बताउँदै उनले हालसम्म राष्ट्र बैंकले कारोबार नगर्नु भनेर कुनै निर्देशन वा पत्र नपठाएको बताए । ‘राष्ट्र बैंकले पहिला पनि आन्तरिक कारोबारका लागि लाइसेन्स दिएको थिएन, कारोबार बन्द गर्न केही समय दिनुपर्छ, तुरुन्तै सेटलमेन्ट गर्न सकिँदैन,’ उनले भने । नेपाल रेमिटर्स एशोसियसनका उपाध्यक्ष रितेस मित्तल साना कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्न गाह्रो हुने भएपनि कम्पनी बलियो र सक्षम हुने बताउँछन् । उनले मर्जरका माध्यमबाट भएपनि पुँजी वृद्धि गर्न सकिने उनको भनाइ छ । ‘चुक्ता पुँजी वृद्धि गर्न साना कम्पनीलाई गाह्रो हुन्छ तर, पुँजी वृद्धि गरेर कम्पनी बलियो हुन्छ, मर्जरका माध्यमबाट पुँजी वृद्धि गर्न सकिने व्यवस्था गरेको हुँदा त्यो पनि सम्भव छ,’ उनले भने । उनले आन्तरिक रेमिट्यान्स कारोबार विस्तारै रोक्नुपर्ने बताए । एकैचोटी रोक्दा समस्या पर्न सक्ने भएकाले सहज हुने गरी बन्द गर्नु पर्ने उनको माग छ । नगद कारोबारलाई घटाएर डिजिटल कारोबार बढाउन खोजेको देखिएको उनले बताए । ‘डिजिटल कारोबारमा जोड दिन राष्ट्र बैंकले आन्तरिक कारोबार रोक्का गरेको हुनसक्छ, पहिला १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो । घटाएर २५ हजारमा झारेको थियो, अब गाउँगाउँमा वालेट पुगेपछि आन्तरिक कारोबार रोक्का गरेको हुन सक्छ,’ उनले भने । नेपाल रेमिटर्स एशोसियसनका पूर्व अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्स कम्पनीको पुँजी वृद्धि गर्न गाह्रो विषय नरहेको बताए । पुँजी गर्दा कम्पनीको क्षमता वृद्धि हुने उनको भनाइ छ । यसले संस्थापकको बिजनेशका साथै कमिटमेन्ट पनि बढ्ने उनले बताए । ‘पूँजी वृद्धि गर्न गाह्रो हुँदैन, साना कम्पनीलाई गाह्रो हनुे भएकाले ५ वर्ष समयसम्म समय दिइएको हो, विप्रेषण विनियमावली २०६७ देखि हालसम्म आउँदा थोरै पुँजी बढाउनु स्वभाविक हो, संस्थाको पूँजी धेरै हुँदा कम्पनी आफैं बलियो हुन्छ,’ उनले भने । उनले आन्तरिक रेमिट्यान्स बन्द गर्ने भनेर पहिलाको व्यवस्था हटाएपछि कम्पनीहरु पनि बन्द हुने बताए । व्यवसायीलाई घाटा पर्ने भएपनि सर्वसाधारण जनतालाई पनि समस्या हुने उनको भनाई छ । ‘नेपालभरि बैंकको पहुँच पुगेको छैन, अहिले पनि सबैले रेमिट्यान्स कम्पनीबाटै रकम आदान प्रदान गरिरहेका छन्, लाखौं मानिसहरु आफ्नो पढाई वा कामको सिलसिलामा घर बाहिर छन्, उहाँहरुको सेवा बन्द हुँदा समस्या आउँछ,’ उनले भने । राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले विदेशी विनिमय विभागबाट व्यवस्था गरेका सर्कुलरले आन्तरिक रेमिट्यान्स रोकेको बताए । कुनै पनि काम नियम भन्दा विपरित गर्न नपाईंने उनले बताए । रेमिट्यान्स कम्पनीले विदेशबाट ल्याएको रेमिट्यान्स जुनसकै ठाउँमा नेपाली रुपैयाँमा दिन सक्ने उनको भनाई छ । तर, नेपालको एक ठाउँबाट अर्को ठाउँमा भने पठाउन नपाइने उनले बताए । ‘विदेशबाट पठाएको १ लाख रुपैयाँसम्म नेपालका जुनसुकै ठाउँबाट झिक्न मिल्छ, त्यो बाहेक खातामा जम्मा पनि गर्न सक्छन् तर, आन्तरिक कारोबार भने रोकेको हो, जस्तो काठमाडौंबाट जुम्ला र जुम्लाबाट पठाएर काठमाडौंमा झिक्न भने पाईंने छैन,’ उनले भने, ‘आन्तरिक रेमिट्यान्स कारोबार गर्न इन्टरनेट, मोबाइल बौंकिङ्ग, आईपीएस, एनि ब्रान्च बैंकिङ सिस्टमबाट गर्न सकिन्छ, कुनैपनि बैंकबाट पठाएर अर्को बैंकबाट रकम झिक्न सक्ने सिस्टम छ ।’ आन्तरिक पेमेन्ट सिस्टमलाई प्रमोट गर्नका लागि आन्तरिक कारोबार बन्द गरेको उनले बताए । राष्ट्र बैंकले नगद कारोबार कम गर्न खोजिरहेको र पारदर्शीतामा जोड दिएको उनको भनाई छ । साथै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यलाई रोक्न पनि उक्त व्यवस्था गरिएको उनले बताए ।
रसुवामा पदयात्रीलाई गुणस्तरीय सेवा
रसुवा । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको छ । दोस्रो ‘सिजन’ अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको हो । विशेषगरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन शुरु हुन्छ । हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मङ्सिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दासमेत हिमपात नभएको र फागुनमा पर्नसक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताए । उनले भने, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’ असोज, कात्तिक, मङ्सिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँकुण्ड, लाङ्टाङ एवं तामाङ सम्पदामार्गको गतलाङ, नाकथली, थुमनलगायतका क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्नेगरेको बताइएको छ । दोस्रो सिजनअन्तर्गत आन्तरिक रूपका मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ । पर्यटकका लागि धुञ्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङ्टाङका लागि ठूलोस्याफ्रु, बम्वो, लामाहोटल, घोडातबेला, लाङ्टाङ, क्याङ्जेनलगायतका स्थानमा सयौं होटल सञ्चालित छन् । पश्चिम लाग्दा तामाङ सम्पदा मार्ग र पूर्व लाग्दा लाङ्टाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ । तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे रहेका छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीयस्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताए । रासस
संस्कार सिकाउँदै संस्कृत शिक्षा
लेखनाथ । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ । पोखरमा चिसाखोला वेदविद्याश्रम, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, संस्कृत क्याम्पस, संस्कृत मावि, केदारेश्वर विद्याश्रम, ढुङ्गेसाँगुस्थित वात्स्यायन गुरुकूल विद्याश्रम, लेखनाथको डाँडाको नाकस्थित गुरुकूल विद्याश्रमलगायतका स्थानमा संस्कृत शिक्षाको अध्यापन गरिन्छ। संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ। संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय पोखराको लेकसाइडस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले श्रीकेदारेश्वर वैदिक गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०७३ सालदेखि सञ्चालनमा आएको उक्त विद्याश्रममा ६९ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका प्राचार्य गणेश पौडेलका अनुसार विद्याश्रमले कक्षा ६ मा विद्यार्थी भर्ना लिई कक्षा १२ सम्म अध्यापन गराउने उद्देश्यले विद्याश्रम सञ्चालनमा ल्याइएको हो। हाल विद्याश्रममा ६ देखि ११ कक्षासम्म अध्यापन भइरहेको छ। गत वर्ष आठ जना विद्यार्थीले एसइई दिएकामा पाँच जना ए प्लस र २ जना बि प्लस र एक जनाले बि ग्रेड ल्याएर उत्तीर्ण भएको जानकारी पौडेलले दिए । पोखराको केदारेश्वरस्थित विद्याश्रममा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । विद्याश्रममा परम्परागततर्फ संस्कृत व्याकरण, वेद, कर्मकाण्ड र संस्कृत भाषा विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी प्राचार्य पौडेलले दिए। यसका साथै परम्परागततर्फ पुराण, रामायण, उपनिषद्, योग, ध्यान र सङ्गीतमा पनि अध्यापन गराइने बताइएको छ । केदारेश्वर वैदिक गुरुकूल विद्याश्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गणेश भण्डारीले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताए। संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ। संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा देशभक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी भण्डारीको भनाइ छ। विद्याश्रमका शिक्षक माधव शर्माका अनुसार विद्यार्थीले प्रत्येक सोमबार केदारेश्वर मन्दिरमा साँझ महाआरती गर्ने गरेका छन्। समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ शर्माको छ। सरकारको स्वीकृति लिएर पढाइएको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ। नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास शर्माको छ। विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पुर्याउन यो शिक्षा फलदायी हुने उनले बताए । रासस
हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजारसहित कारोबारी पक्राउ
फाइल फाेेटाे काठमाडौं । प्रहरीले काठमाडौंबाट हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजार रुपैयाँ र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेशरनिर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै चार लाख रुपैयाँको चेकसमेत बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल रहेका छन् । मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि उक्त कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिए। उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए । रासस
हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँगसम्बन्धी प्रभावकारी कानून बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताद्वय मनीषकुमार श्रेष्ठ र कल्पना भाट रिजालले आज दायर गर्नुभएको रिट निवेदनमा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन आदेश माग गरिएको छ। रिट निवेदनमा भनिएको छ, ‘हवाई सेवा लिने नेपालीले नेपालको संविधानको धारा, १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लङ्घन हुन पुगेको छ, नेपाल अब हवाई सेवालाई सुरक्षित, भरपर्दो, विश्वासयोग्य र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसको ख्याति बढाउनका लागि सरकार तथा सम्बद्ध निकायले ठूलै कसरत गर्नुपर्ने देखिन्छ।’ नेपालमा हवाई दुर्घटना हुने गरेको छ भन्ने बारेमा विस्तृत अध्ययन गरी समस्याको समाधान गर्ने उपायका बारेमा सुझाव दिन एउटा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न, नागरिक उड्डयनसँग सम्बन्धित प्रभावकारी कानून बनाउन र युरोपेली युनियनले भनेबमोजिम नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउन जरुरी भएको रिट निवेदनमा छ। रासस
तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
नवलपरासी । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए। विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् । उनका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय ८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ । गत वर्ष जिल्लामा एक हजार एक सय ३५ हेक्टर जमिनमा एक हजार दुई सय ३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो । तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो । विषेशगरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताए। तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पु¥याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउँछन् । जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सस्र्युँको उत्पादन पनि बढ्ने देखिएको छ । यस वर्ष जिल्लामा एक हजार दुई सय ६० हेक्टर जमिनमा एक हजार सात सय १५ मेट्रिक टन सस्र्युँ उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार गत वर्ष जिल्लामा एक हजार दुई सय ७० हेक्टर जमिनमा एक हजार सात सय आठ मेट्रिक टन सस्र्युँ उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायतका तेलहन बालीको उत्पादन बढेको हो । रासस