विकासन्युज

छाला जुत्ता व्यवसाय सङ्कटमा

कैलाली । कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन् । व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन् । जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन् । अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताए । यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन् । छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन् । यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन् । विगत २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा छन् । ‘लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो’, उनले भने, ‘अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाइरहेको छु । श्रीमतीले यो व्यवसाय धान्नेछिन् ।’ केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा छन् । ‘मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौँ । सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौँ’, उनले भने, ‘कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ । तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन ।’ टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन् । यहाँ करिब ४० जनाले रोजगारी पाएका छन् । यहाँ छालाका जुत्ता हातैले बनाइन्छन् । लामो समयदेखि कच्चा पदार्थ किनेर आफैँले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्दछन् । छाला जुत्ता पसलमा अहिले महिला पनि काम गरिरहेका देखिन्छन् । टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सातवटा पसलमा महिला काम गरिरहेका हुन्छन् । महिला त्यहाँ कामदारका रूपमा नभइ कतिपयले आफैँं पसल सम्हालिरहेका छन् । कतिपय श्रीमानको सहयोगीका रूपमा काम गर्छन् । सन्तोषी नेपालीका श्रीमानले लामो समयदेखि छाला जुत्ता पसल गरे । यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उनी हाल विदेशमा छन् । अचेल पसल उनकी श्रीमती सन्तोषीले चलाइरहेकी छन् । सन्तोषीले जुत्ता, चप्पल आफैँ बनाउने गरेका छन् । ‘श्रीमानबाट मैले सीप सिकेँ, यहाँको कमाइले पुग्दैन भन्दै उनी विदेश जानुभयो’, सन्तोषीले भनिन्, ‘साँझ–बिहान घरको काम गर्छु । दिउँसो पसल आफैँले चलाएकी छु । जुत्ता बनाउन पनि सिकेकी छु । पसल चलेको छ ।’ पूजा नेपालीले पनि लामो समयदेखि श्रीमानसँगै सहयोगीका रूपमा काम गरिन् । उनले कामदार राख्नुभन्दा आफैँ काम गरौँ भनी यो सीप सिकेकि छन् । पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ । जुत्ता पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने पाँचदेखि छ प्रकारका जुत्ता चप्पल पाइन्छन् । टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन् । तर पनि बजार खासै नरहेको उनीहरूको गुनासो छ । टीकापुरमा उत्पादन भएका छालाका जुत्ता चप्पलको खपत यही हुन्छ । पछिल्लो समय आधुनिक जुत्ता चप्पल भित्रिँदा व्यवसाय खासै नचलेको उनीहरूको गुनासो छ । रासस

नेपालगन्ज भन्सारबाट गतवर्षको तुलनामा कम राजश्व असुली

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष नौ अर्ब रुपैयाँ भन्दा बढी राजस्व कम असुली भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब रुपैयाँ व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड रुपैयाँ कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार जमुनाह नाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आवको गत छ महिनामा ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार रुपैयाँ घाटा भएको छ । तर यो घाटा गत वर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड ६८ लाख ७२ रुपैयाँ हजार कम भएको अधिकृत शर्माले बताए । निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा धेरै भएको हो । सो कार्यालयका अनुसार निकासी ज्यादै न्यून भए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्यून हुँदा व्यापार घाटा उच्च भएको हो । भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार बराबरको सामग्री आयात भएकामा ९९ करोड ६३ लाख १० हजारको मात्र वस्तु निर्यात भएको छ । यसरी ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार व्यापार घाटा भएको छ । भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा सो नाकाबाट ४१ अर्ब ८४ करोड एक लाख ९९ हजारको वस्तु आयात भएकामा ९७ करोड तीन लाख चार हजारको सामग्री निर्यात भएको थियो । चालु आवमा चिनी, गहुँजस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नुलगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार कार्यालयले जनाएको छ । जमुनाहानाकाबाट पेट्रोलियम पदार्थ, शुद्ध फलाम, भटमासको पिना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्यास, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ । रासस

पाल्पामा पर्यटक लोभ्याउँदै बाघको मूर्ति

पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका-६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ। नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् । पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर-६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उनी बताउँछन् । ‘बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ’, उनले भने, ‘आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ।’ बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु दुई लाख सहयोगमा काम थालनी भएको हो। करिब तीन लाख रुपैयाँको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले ३० हजार रुपैयाँ बराबरको श्रमदानसमेत गरेका छन् । हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउँछन्। उनका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ। कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउँछन्। ‘यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ’, उनले भने। यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ। कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ। कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् । कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँको वातावरणमा आएपछि मेटाउने खालको वातावरण छ। बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ। सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन्। बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको (पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारीसाधनमा जान सक्ने) पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ। यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् । यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ। कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ । रासस

रासायनिक मल उपलब्ध गराउन चिया उद्योगीको माग

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देखि सरकारले चियाखेतीका लागि रासायनिक मल उपलब्ध गराउन छाडेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शिवकुमार गुप्ताले बताए । नेपालले विदेशमा चिया निर्यात गरेर बर्सेनि करोडौँ विदेशी मुद्रा आर्जनसमेत गर्दछ । यद्यपि चियाखेतीलाई आवश्यक पर्ने रासायनिक मल सरकारले उपलब्ध नगराएपछि तस्करी गरेर भित्र्याउन बाध्य हुनुपरेको उनको गुनासो छ । चिया व्यवसायमा लागेकाहरू चियाखेतीका लागि रासायनिक मलखादको व्यवस्था नगरिएकामा सरकारसँग असन्तुष्ट छन् । उद्योगीले भरपर्दो संयन्त्र बनाएर चियाखेतीका लागि रासायनिक मलको व्यवस्था मिलाउन माग गरिरहेका छन् । चिया गोडमेल र मलखाद प्रयोग गर्ने बेला सुरु भइसकेकाले मलको यथाशीघ्र व्यवस्था हुनुपर्ने उद्योगीहरूको माग छ । चिया बगानमा युरिया, डिएपी, पोटास, एमोनिया सल्फेटलगायतका रासायनिक मल जरुरत हुन्छ । नेपाल चिया उत्पादक सङ्घका महासचिव गुप्ताले विसं २०७६ अघिसम्म सरकारले चियाका लागि मल दिने गरेको सुनाए । त्यसयता सरकारी कोटामा मल नपाइएको उनको भनाइ छ । उद्योगीले चिया क्षेत्रले मल नपाइरहेको समस्या समाधानका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत पहल गर्न, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङलगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका छन् । साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन र ठूला चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउन सकिने सङ्घका महासचिव गुप्ताले बताए । जिल्लामा १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ । उक्त चियाखेतीका लागि वार्षिक एक हजार पाँच सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । रासस

कञ्चनपुरमा १५ शय्याको नगर अस्पताल निर्माण हुँदै

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण शुरु गरेको छ । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण शुरु भएको हो । सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । ‘दुई वर्षभित्र सक्नेगरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलोगरी काम शुरु भयो’, उनले भने, ‘आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी काम शुरु भएको छ ।’ सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको उनले बताए । बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताए । ‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ’, उनले भने, ‘ल्याब, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन ।’ उनले अस्पताल सञ्चालनमा आएमा यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए । स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम शुरु गरेको’, स्थानीय गणेश भट्टले भने, ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’ हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । रासस

वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व संकलन

पर्सा । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड चार लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा दुई खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए । सो भन्सार कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यानुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व सङ्कलन घटेको सूचना अधिकृत ढकालले बताए । सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुने उनको भनाइ छ । रासस

टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प

काठमाडौं । टर्कीको दक्षिण–पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ । सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ रेक्टरस्केल (म्याग्निच्युड मापन) गरिएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएको छ । कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको नाफा बढेसँगै ईपीएस २१ रुपैयाँ, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४.४० प्रतिशत बढेर १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क २५ प्रतिशत बढेर ७५ करोड १४ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.२३ प्रतिशत घटेर ३० करोड ६८ लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षका् सोही अवधिमा कम्पनीले ३३ करोड ४३ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४० करोड १६ लाख रुपैयाँ, कूल दाबी भुक्तानी ५९ करोड ९३ लाख ८३ हजार रुपैयाँ र भुक्तानी हुन बाँकी रकम १ अर्ब ३७ करोड ११ लाख १५ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर १ अर्ब ४० करोड ३९ लाख २० हजार रुपैयाँ, जगेडा कोष १७ प्रतिशत बढेर २८ करोड १४ लाख ३१ हजार रुपैयाँ, बीमा कोष १ अर्ब २५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र महाविपत्ति कोष २२ प्रतिशत बढेर १० करोड १९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.९९ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २१६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।