पाल्पामा पर्यटक लोभ्याउँदै बाघको मूर्ति
पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका-६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ। नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् । पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर-६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उनी बताउँछन् । ‘बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ’, उनले भने, ‘आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ।’ बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु दुई लाख सहयोगमा काम थालनी भएको हो। करिब तीन लाख रुपैयाँको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले ३० हजार रुपैयाँ बराबरको श्रमदानसमेत गरेका छन् । हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउँछन्। उनका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ। कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउँछन्। ‘यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ’, उनले भने। यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ। कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ। कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् । कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँको वातावरणमा आएपछि मेटाउने खालको वातावरण छ। बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ। सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन्। बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको (पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारीसाधनमा जान सक्ने) पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ। यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् । यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ। कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ । रासस
रासायनिक मल उपलब्ध गराउन चिया उद्योगीको माग
झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देखि सरकारले चियाखेतीका लागि रासायनिक मल उपलब्ध गराउन छाडेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शिवकुमार गुप्ताले बताए । नेपालले विदेशमा चिया निर्यात गरेर बर्सेनि करोडौँ विदेशी मुद्रा आर्जनसमेत गर्दछ । यद्यपि चियाखेतीलाई आवश्यक पर्ने रासायनिक मल सरकारले उपलब्ध नगराएपछि तस्करी गरेर भित्र्याउन बाध्य हुनुपरेको उनको गुनासो छ । चिया व्यवसायमा लागेकाहरू चियाखेतीका लागि रासायनिक मलखादको व्यवस्था नगरिएकामा सरकारसँग असन्तुष्ट छन् । उद्योगीले भरपर्दो संयन्त्र बनाएर चियाखेतीका लागि रासायनिक मलको व्यवस्था मिलाउन माग गरिरहेका छन् । चिया गोडमेल र मलखाद प्रयोग गर्ने बेला सुरु भइसकेकाले मलको यथाशीघ्र व्यवस्था हुनुपर्ने उद्योगीहरूको माग छ । चिया बगानमा युरिया, डिएपी, पोटास, एमोनिया सल्फेटलगायतका रासायनिक मल जरुरत हुन्छ । नेपाल चिया उत्पादक सङ्घका महासचिव गुप्ताले विसं २०७६ अघिसम्म सरकारले चियाका लागि मल दिने गरेको सुनाए । त्यसयता सरकारी कोटामा मल नपाइएको उनको भनाइ छ । उद्योगीले चिया क्षेत्रले मल नपाइरहेको समस्या समाधानका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत पहल गर्न, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङलगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका छन् । साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन र ठूला चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउन सकिने सङ्घका महासचिव गुप्ताले बताए । जिल्लामा १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ । उक्त चियाखेतीका लागि वार्षिक एक हजार पाँच सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । रासस
कञ्चनपुरमा १५ शय्याको नगर अस्पताल निर्माण हुँदै
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण शुरु गरेको छ । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण शुरु भएको हो । सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । ‘दुई वर्षभित्र सक्नेगरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलोगरी काम शुरु भयो’, उनले भने, ‘आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी काम शुरु भएको छ ।’ सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको उनले बताए । बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताए । ‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ’, उनले भने, ‘ल्याब, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन ।’ उनले अस्पताल सञ्चालनमा आएमा यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए । स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम शुरु गरेको’, स्थानीय गणेश भट्टले भने, ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’ हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । रासस
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व संकलन
पर्सा । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड चार लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा दुई खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए । सो भन्सार कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यानुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व सङ्कलन घटेको सूचना अधिकृत ढकालले बताए । सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुने उनको भनाइ छ । रासस
टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प
काठमाडौं । टर्कीको दक्षिण–पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ । सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ रेक्टरस्केल (म्याग्निच्युड मापन) गरिएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएको छ । कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको नाफा बढेसँगै ईपीएस २१ रुपैयाँ, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४.४० प्रतिशत बढेर १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क २५ प्रतिशत बढेर ७५ करोड १४ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.२३ प्रतिशत घटेर ३० करोड ६८ लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षका् सोही अवधिमा कम्पनीले ३३ करोड ४३ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४० करोड १६ लाख रुपैयाँ, कूल दाबी भुक्तानी ५९ करोड ९३ लाख ८३ हजार रुपैयाँ र भुक्तानी हुन बाँकी रकम १ अर्ब ३७ करोड ११ लाख १५ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेर १ अर्ब ४० करोड ३९ लाख २० हजार रुपैयाँ, जगेडा कोष १७ प्रतिशत बढेर २८ करोड १४ लाख ३१ हजार रुपैयाँ, बीमा कोष १ अर्ब २५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र महाविपत्ति कोष २२ प्रतिशत बढेर १० करोड १९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.९९ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २१६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।
कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा.डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो । थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि वि.सं २०७८ चैत १० गते सम्झौता गरेका थिए । केन्द्रबाट डा.रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा.सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा. सुमित आचार्य, डा.दीपा लामिछाने र रेडियोलोजिस्ट डा.समीर दवाडी संलग्न थिए । त्यस्तै, सुर्खेत अस्पतालबाट डा.पूजन बल्ल, डा.जनी बज्राचार्य, फिजिसियन डा.कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसियुमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न थिए । प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा.डम्बर खड्काले जनाए । प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘अब कर्णालीका बिरामीले काठमाडौँ धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु एक समेत खर्च गर्नुपर्दैन, यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन,’ उनले भने । मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए । ‘म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ, सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे, मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ,’ उनले भने । अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए । पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उनले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताए । आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवद्र्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सङ्ग्रहालयलाई मनोरञ्जनभन्दा पनि ज्ञानको भण्डारका रूपमा लिइनुपर्नेमा जोड दिँदै आवश्यक सामग्री सङ्कलनसँगै प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा.गणेशबहादुर गुरुङले पर्वतीय सङ्ग्रहालय विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय भएको दाबी गर्दै यसलाई शैक्षिक एवं जीवनपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले सङ्ग्रहालयमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्ने गरेको तर सङ्ग्रहालय अहिले पनि आत्मनिर्भर बन्न नसकेको बताए । यसअघि मुख्यमन्त्री अधिकारी र मन्त्री गुरुङले सङ्ग्रहालय स्थापनाकालमा योगदान गर्ने डा.हर्क गुरुङ, खड्कविक्रम शाह र दावानर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यापर्ण गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेपाल पर्वतारोहणको झण्डोत्तोलन गर्दै, सङ्ग्रहालय परिसरमा तेजपातको बिरुवा रोपिएको थियो ।