रसुवामा पदयात्रीलाई गुणस्तरीय सेवा

<p>रसुवा । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको छ । दोस्रो  ‘सिजन’ अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र  ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको हो [&hellip;]</p>

रसुवा । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको छ । दोस्रो  ‘सिजन’ अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र  ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको हो ।

विशेषगरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन शुरु हुन्छ ।  हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मङ्सिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दासमेत हिमपात नभएको र फागुनमा पर्नसक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताए । उनले भने, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’ असोज, कात्तिक, मङ्सिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले  गोसाइँकुण्ड, लाङ्टाङ एवं तामाङ सम्पदामार्गको गतलाङ, नाकथली, थुमनलगायतका क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्नेगरेको बताइएको छ । दोस्रो सिजनअन्तर्गत आन्तरिक रूपका मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ ।

पर्यटकका लागि धुञ्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङ्टाङका लागि ठूलोस्याफ्रु, बम्वो, लामाहोटल, घोडातबेला, लाङ्टाङ, क्याङ्जेनलगायतका स्थानमा सयौं होटल सञ्चालित छन् । पश्चिम लाग्दा तामाङ सम्पदा मार्ग र पूर्व लाग्दा लाङ्टाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ । तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे रहेका छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीयस्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताए । रासस

Share News