विकासन्युज

नबिल बैंकले खातामा पठायो साढे ११ प्रतिशत नगद लाभांश, बोनस कहिले आउँछ ?

काठमाडौं । नबिल बैंकले गत वर्षको नाफाबाट वितरण गरेको लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । सेयरधनीहरुले डिम्याट खातामा अद्यावधिक गराएको बैंक खाता नम्बरमा लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न ३८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले पुस २९ गतेदेखि नगद लाभांश नै सेयरधनीहरूको खातामा पठाएको जनाएको छ । बोनस सेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात् सेयरधनीहरुको खातामा जम्मा गरिने बैंकले जनाएको छ । हालसम्म अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई यथाशीघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको गरेको थियो । त्यसैले अघिल्लो दिनसम्ममा कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन् ।

बुटवल पावरको नाफा बढेसँगै ईपीएस पनि बढ्यो, विद्युत बिक्री आम्दानी ४३ करोड

काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६ प्रतिशत बढेर २२ करोड ८७ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु वर्ष ६ महिनामा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशत बढेर ५ करोड ७३ लाख १० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९६ लाख २२ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेका कारण यस्तो आम्दानी बढेको हो । बैंकहरुको निक्षेपको ब्याजदर बढेपछि कम्पनीको निक्षेपमा राखिएको रकमबाट आम्दानी बढेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख ६५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ३१ लख २२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५ प्रतिशत बढेर ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी २ प्रतिशत घटेर ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ बढेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७३ गुणा रहेको छ ।

आदर्श लघुवित्तको नाफामा ५० प्रतिशत गिरावटसँगै ईपीएस १३.९२ रुपैयाँ घट्यो

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५०.१४ प्रतिशत घटे ७ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेर ९० लाद ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९४ लाख ६९ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.५४ प्रतिशत घटेर १ करोड २३ लाख ९१ हजार रुपैयाँ र सञ्चालन नाफा ३२.६८ प्रतिशत घटेर ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेर २ करोड ७ लाख रुपैयाँ, जगेडा कोष १२६.९५ प्रतिशत बढेर १ करोड ७२ लाख ६२ हजार रुपैयाँ, सापटी ६.६५ प्रतिशत घटेर १० करोड ७२ लाख रुपैयाँ, निक्षेप १९.२३ प्रतिशत बढेर १५ करोड ५२ लाख ७५ हजार रुपैयाँ र कर्जा ८.६० प्रतिशत बढेर २८ करोड ४० लाख २१ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी आम्दानी १३ रुपैयाँ ९२ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ९८.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७३ प्रतिशत बढेर २.२९ प्रतिशत, कस्ट अफ फण्ड १.११ प्रतिशत बढेर १०.०५ प्रतिशत, आधार दर १६.८८ प्रतिशत रहेको छ ।

नबिल बैंकले गर्याे ३ वटा ऋणपत्रको ब्याज भुक्तानी, तपाईकोमा आयो ?

काठमाडौं । नबिल बैंकले ३ वटा ऋणपत्रको ब्याजदर भुक्तानी गरेको छ । बैंकले ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’, ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ र ‘१०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५’ को ब्याज भुक्तानी गरिएको जनाएको छ । नबिल बैंकले जारी गरेको १० प्रतिशत नबिल डिबेन्चर २०८२, ८ प्रतिशत नबिल डिबेन्चर २०८५ र १०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५ को अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम पुस मसान्तसम्म कायम लगानीकर्ताहरुको बैंक खातामा पठाईएको बैंकले बताएको छ । विविध कारणले ब्याज रकम हालसम्म पनि खातामा प्राप्त नभएका लगानीकर्ताहरुले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको डिबेन्चर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गरी ऋणपत्रको ब्याज बापतको रकम प्राप्त गर्न बैंकले भनेको छ । साथै, हितग्राही खातामा बैंक खाता नम्बर बैंकहरुको मर्जर वा एक्विजिशनको कारणले परिवर्तन भएको भए द्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ । साथै, ईटिडिएस प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताहरुले हितग्राही खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउनुपर्नेछ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीले हकमा ब्याज रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २७ लाख २८ हजार ५ सय कित्ता सेयर छुट्याएको छ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ । यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १० गतेसम्म र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

रवि लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयमा उजुरी, ५ वर्षको कैद माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी परेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने ३५ वर्षिय युवराज पौडेलले  लामिछाने विरुद्ध उजुरी गरेका हुन् । जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको बताउँदै उनले  लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारवाही गरी पाउँ भन्दै उजुरी दिएका छन् । उनले माघ १७ गते रवि विरुद्ध जाहेरी दर्ता नलिएको जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गर्न माग गरेका छन् । यस्ताे छ जाहेरी श्री जिल्ला सरकारी वकील कार्यालय प्रमुख ज्यू, जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं, बबरमहल । मिति २०७९।१०।२४ विषय : मुलुकी फौजदारी कार्याविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाई पाऊँ । महोदय, उपरोक्त सम्बन्धमा म निवेदक कुल बहादुर खत्रीको छोरा सिन्धुली जिल्ला कमलामाई नगर पालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने बर्ष ३५ को युबराज पौडेल (सफल) ले निज रवि लामिछानेले गरेको कसूर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसूरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारवाही गरी पाऊँ । गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसूरदारको नामको राहदानी, राहदानी ऐन बमोजिम रद्ध गर्न तथा राहदानी सम्बन्धी कसूरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसूरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसूरको अनुसन्धान तथा कानून बमोजिम मुद्धाको कारवाही चलाई पाऊँ भनी मिति २०७९ | १० | १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदा हुदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेकोले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम आवाज  यो उजुरी दर्ताको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गरी दिन हुन यो निवेदन पेश गरेको छु । निवेदक निज कुल बहादुर खत्रीको छोरा सिन्धुली जिल्ला कमलामाई नगर पालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने बर्ष ३५ को युबराज पौडेल (सफल)

तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार, आठ निकाय मिलेर रातदिन काम

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे । मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न निर्देशन दिएका थिए । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताए । खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले आठ निकायलाई एक ठाउँमा ल्याएर रातदिन काम गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । सडक विभागले सडक मर्मत गरे पनि अरु निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उनले बताए । अहिले सरकारको देश र समाजप्रतिको कार्यभार सामाजिक र आर्थिक रुपान्तरण गरेको उनले बताए । लाखौँ जनताको सङ्र्षपछि राजनीति परिवर्तन भएकाले अब नागरिकले महसुस गर्ने गरी विकास गर्न लागिने उनले बताए । भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपालमा विद्युत्, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूणर् भूमिका रहेको उको भनाई छ ।

महुरे–राजापानी सडक कालोपत्र : अलपत्र छाडेर उपकरणसहित हिँड्यो ठेकेदार

खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ । दिक्तेल–गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे–राजापानी सडकखण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका ठेकेदार निर्माणस्थलमा प्रयोग गरिएका गाडी, क्रसर मेसिनलगायत आवश्यक उपकरणसहित निर्माणाधीन सडक अलपत्र छाडेर हिँडेको हो । काम सुरु गरेको लामो समयसम्म अलपत्र बनेको सडकमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । ‘पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको थियो’, उनले भने, ‘निर्माणाधीन सडक अलपत्र छाडेर उपकरण उठाउन थालेपछि सम्बन्धित निकायमा खबर ग¥यौँ । जिल्ला प्रशासन कार्यालय खोटाङले समेत कुनै चासो नदिएपछि निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामानसमेत उठाएर हिँड्यो ।’ निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको स्थानीय बासिन्दाको आरोप छ । निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्बन्धित मालिक आएर लगेका हुन् । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते योजनाको सम्झौता गरेको थियो । करिब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का रु ४१ करोड ५० लाखको लागतमा लिएको हो । काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साइड इञ्चार्ज परिवर्तन गर्दै स्थानीय बासिन्दालाई छल्ने काम गरेको वडाध्यक्ष राईले बताउनुभएको छ । निर्माण कम्पनीले हालसम्म १४ जना साइड इञ्चार्ज (निर्माणस्थलमा खटिने कम्पनीका प्रमुख) परिवर्तन गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । कालोपत्रको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो । भारत कन्ट्रक्सन/सिद्धी शाहीका प्रतिनिधि सन्तोष ढकालले केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासमक्ष मङ्सिर–१६ गतेदेखि पुस–१३ गतेसम्मको कार्यविवरण पेश गरेका थिए । जेभीले मङ्सिर १६ गतेदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, मङ्सिर २३ गतेदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस ३ गतेदेखि १० दिनसम्म बेस फिँजाउने र पुस १३ गतेदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेका थिए । महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिने सिद्धी शाही जेभीका सञ्चालक दीपेन्द्र शाही नेपाली कांग्रेस डोल्पाका सभापति हुन् । शाहीले जिम्मा लिएका जिल्लाका अन्य आयोजनाको कामसमेत अलपत्र अवस्थामा रहेका छन् । उता, सोही सडकखण्डको राजापानी–फोक्सिङटार र फोक्सिङटार–अँधेरीखोला सडकखण्ड पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले कालोपत्रको काम नगरेपछि गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरले गत पुस ८ गते ठेक्का तोड्न सिफारिस गरेको थियो । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट (एक सय एक किलोमिटर) लामो सडकखण्डको दुई प्याकेज कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्टिएको छ । उच्च अदालत पाटनले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्ड डिबीएसटी कालोपत्र योजनाको ठेक्का तोड्ने गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगर्दा सडक कालोत्रको काम वर्षौँसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो । ठेक्का तोड्ने निर्णयविरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न अन्तरिम आदेश दिएको हो । ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो । ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी काठमाडौंले फोक्सिङटार–सिम्पानी (राजापानी) सडकखण्डमा काम पुनः सुरु गरेको जनाइएको छ । अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा विश्वस्त हुने ठाउँ भने नभएको खोटाङ क्षेत्र नं १ बाट निर्वाचत प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताए । ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्यसम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सूचना जारी गरेको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ फागुन १४ गते शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक पूर्वी तराई जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ । निर्माण सुरु गरिएको २८ वर्षसम्म कालोपत्र नभएको यस सडकखण्ड हिउँदमा धुलो र वर्षामा हिलोका कारण अवरुद्ध हुँदै आएको छ । रासस