कोहलपुर नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । कोहलपुर नगरपालिकाको वडा नम्बर १२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने वडाध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा रहेको शाहले उल्लेख गरे । यसअघि, लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर १ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर १ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच भएको थियो । यस्तै, वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच भएको थियो । वडा नम्बर २ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर २ मा ऐलानी जग्गा नापजाँचको काम बुधवार पूरा भएको छ । ‘हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पार्ने योजनामा थियौँ,’ नगरप्रमुख आचार्यले भने । अबको केही महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगरप्रमुख आचार्यले बताए । कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर १२ का वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट नौ जना, भूमि आयोगबाट छ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना गरी २१ जना अमिनको टोली खटिएको छ । ‘जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ,’ उनले भने । कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन् । रासस
प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै
बागलुङ । बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ । विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दै आएका छन् । अहिले उनीहरुकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ । पदमार्ग निर्माणमा हालसम्म ६० लाख रुपैयाँ खर्च भएको छ । प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए । ‘मन्दिरसम्म पुग्न सहज होस भनेर पदमार्ग निर्माण गरिएको हो’, उनले भने । काठेखोला–६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ । निर्माणका लागि स्थानीयले जनश्रमदान गर्दैछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन् । पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए । पदमार्गमा स्थानीय स्लेट (ढुङ्गा) बिच्छाइएको छ । यहाँबाट धौलागिरि, माछापुछे, अन्नपूर्णलगायत हिमाल देख्न सकिन्छ । बागलुङ बजारदेखि करिब एक घण्टामा यहाँ पुग्न सकिन्छ । मन्दिर नजिकै गुुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए । रासस
३९ करोडमा उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो । सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ उर्लाबारी–८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताए । उनी भन्छन्, ‘उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौँ, आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्याङ्की निर्माण गर्छौं ।’ सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक–१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ । हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ । योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् । विसं २०५२ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी योजना अघि बढाएको थियो । रासस
३८ लघुवित्तको लाभांश : २३ वटाको घट्दा औषत २१ प्रतिशत, कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको लाभांशदर घटेको छ । गत वर्ष भन्दा लघुवित्त वित्तीय संस्थाहरुको लाभांश दर औषत ५ प्रतिशत घटेको हो । हालसम्म ३८ वटा लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा गरेका छन् । जसमा जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् । यी लघुवित्त बाहेक अन्य ३५ वटा लघुवित्तको लाभांश दर औषत २१ प्रतिशत मात्रै रहेको छ । गत वर्ष ३५ वटा लघुवित्तको औषत लाभांश दर २६ प्रतिशत रहेको थियो । हालसम्म लाभांश घोषणा गरेका लघुवित्त संस्थाहरुमा २३ वटा संस्थाको लाभांश घटेको छ । जसमा सबैभन्दा धेरै सपोर्ट लघुवित्तको २० प्रतिशत घटेको छ । गत वर्ष लघुवित्तले ३१.५७ प्रतिशत लाभांश वितरण गरेको थियो भने यस वर्ष घटाएर ११.५७ प्रतिशत मात्रै लाभांश वितरण गरेको हो । यस्तै, सबैको लघुवित्तको १३.७ प्रतिशतm, गुराँस लघुवित्तको १३.६ प्रतिशत, स्वाभिमान लघुवित्तको १२.९ प्रतिशत, एनएमबि लघुवित्तको १२.१ प्रतिशत, फरवार्ड लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको १२ प्रतिशत, निर्धन उत्थान लघुवित्तको लाभांश ११.११ प्रतिशत र नाडेप लघुवित्त र मिथिला लघुवित्तको १०.५ प्रतिशत लाभांश दर घटेको छ । यस्तै, इन्फिनिटी लघुवित्तको ९.१६ प्रतिशत, सिभिल लघुवित्तको ८.४ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.३४ प्रतिशत र समता लघुवित्तको ७ प्रतिशत लाभांश दर घटेको छ । यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६.५ प्रतिशत, साधना लघुवित्तको ६.३ प्रतिशत, आशा लघुवित्तको ५.३ प्रतिशत, छिमेक लघुवित्तको ४.७ प्रतिशत र स्वाबलम्बन लघुवित्तको ४ प्रतिशत घटेको छ । यस्तै, स्वरोजगार लघुवित्तको १.८ प्रतिशत, मेरोमाइक्रोफाइनान्स लघुवित्तको १.१ प्रतिशत र महुली लघुवित्तको १ प्रतिशत लाभांश घटेको छ । यस्तै, ३ वटा लघुवित्तका लाभांश दर भने स्थिर रहेको छ । महिला लघुवित्तको ५० प्रतिशत, नयाँ सारथी लघुवित्तको २० प्रतिशत र डिप्रोक्स लघुवित्तको २१.०५२३ प्रतिशत लाभांश स्थिर रहेको छ । यस्तै, यस वर्ष विभिन्न ८ वटा लघुवित्तको लाभांश दर बढेको छ । सबैभन्दा धेरै आँधीखोला लघुवित्तको ११.६ प्रतिशत, फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९.५ प्रतिशत, कालिका लघुवित्तको ७ प्रतिशत, मिर्मिरे लघुवित्तको ३ प्रतिशत, आरएमडीसी लघुवित्तको २.४ प्रतिशत र साना किसान लघुवित्तको १.१ प्रतिशत लाभांश बढेको छ । यस्तै, नेरुडे लघुवित्त र आरएसडीसी लघुवित्तको समान ०.५ प्रतिशत लाभांश बढेको छ । यस वर्ष नेशनल माइक्रोफाइनान्स लघुवित्त र इन्फिनिटि लघुवित्तले बोनस सेयर मात्रै दिएका छन् भने नगद लाभांश वितरण गरेका छैनन् । हालसम्म लाभांश घोषणा गरेका लघुवित्तहरुमा सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तले वितरण गर्ने भएको छ । लघुवित्तले ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तै, दोस्रोमा उपकार लघुवित्तको ६५ प्रतिशत, तेस्रोमा महिला लघुवित्तको ५० प्रतिशत, चौंथोमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको ३८.५ प्रतिशत र पाँचौंमा सिवाईसी नेपाल लघुवित्तको ३१.५८ प्रतिशत वितरण गर्ने भएका हुन् । ३८ वटा लघुवित्तले लाभांश घोषणा गरेपनि हालसम्म १५ वटा लघुवित्तले मात्रै वार्षिक साधारण सभा गर्ने निर्णय गरेका छन् । जसमध्ये ९ वटा लघुवित्त संस्थाको सम्पन्न भइसकेको छ भने ६ वटाको हुन बाँकी रहेको छ । हालसम्म आँधीखोला लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, गुराँस लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, सिवाइसी लघुवित्त, फर्स्ट माफइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तै, नेरुडे लघुवित्त, इन्फिनिटी लघुवित्त, निर्धन उत्थानल लघुवित्त, महिला लघुवित्त, मिथिला लघुवित्त, मिथिला लघुवित्त र उपकार लघुवित्तले वार्षिक साधारण सभाको मिति पनि तय गरिसकेका छन् । अझै ४५ वटा लघुवित्तले भने वार्षिक साधारण सभा बारे कुनै निर्णय गरेका छैनन् ।
बोक्सीको आरोप लाउने २ जनालाई ५ वर्ष कैद सजाय
काठमाडौं । ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका २ जनाविरुद्ध कैद सजायको फैसला भएको हो । बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई ५ वर्ष कैदसहित ६० हजार रुपैयाँ जरिवाना र मुनालाई ५ वर्ष कैदसहित ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ । पीडितलाई नगद ६० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ । दीपकले ३० हजार रुपैयाँ, मुनाले १५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताए । बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले १५ हजार रुपैयाँ व्यहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ । विसं २०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए । पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामार्फत न्यायका लागि ४ वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । जिल्ला न्यायधिश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो । जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुङ्ग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ ।
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा १ महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको हकमा भने कार्यतालिका प्रकाशित भएको मितिभन्दा २ दिनअघिसम्म मात्र भर्ना भएका विद्यार्थी मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ । कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने उल्लेख गरिएको छ । तर, विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिने र प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश नगरिने भएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो । निर्देशिकामा वि.सं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ । निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै सङ्घ, सङ्गठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन् । निर्देशिकामा स्ववियु कार्यसमिति २ सय विद्यार्थी बराबर पाँच सदस्यीय कार्यसमिति, २०१ देखि १ हजारसम्म विद्यार्थी भए ७ जनाको कार्यसमिति, १ हजार एकदेखि ३ हजारसम्म भए ९ जनाको र ३ हजार १ देखि ५ हजारसम्ममा ११ सदस्यीय र ५ हजार १ देखिमाथि भए १३ जनाको कार्यसमिति हुने उल्लेख गरिएको छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ । चैत ५ गते देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्ध प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।
प्रिमियर इन्स्योरेन्सको नाफा साढे १५ करोड रुपैयाँ, ईपीएस कति ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म कम्पनीको नाफा ०.३४ प्रतिशत बढेर १५ करोड ६१ लख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ८ प्रतिशत घटेर ४२ करोड ४० लाख ६३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ९ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १९.२३ प्रतिशत बढेर २२ करोड ४५ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८३ लाख ६२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३०.५३ प्रतिशत बढेर १ अर्ब ४० करोड २६ लाख रुपैयाँ, जगेडा कोष ३५.५२ प्रतिशत घटेर ३० करोड ८ लाख रुपैयाँ, बीमा कोष १ अर्ब ९ करोड ३० लाख रुपैयाँ र महाविपत्ति कोष ६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.२७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५० गुणा रहेको छ ।
सानिमा लाईफको दाबी भुक्तानीमा १२६.५९ प्रतिशत छलाङ, नाफा २३ प्रतिशत बढ्यो
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.६२ प्रतिशत बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ०.८४ प्रतिशत बढेर १ अर्ब १७ करोड २० लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२६.५९ प्रतिशत बढेर ३१ करोड ३५ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ८ प्रतिशत बढेर ३५ करोड ९० लाख रुपैयाँ, जीवन बीमा कोष ४४.३८ प्रतिशत बढेर ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ र महाविपत्ति कोष ४ करोड ४८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.७८ गुणा रहेको छ ।