काठमाडौं । नबिल बैंकले गत वर्षको नाफाबाट वितरण गरेको लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । सेयरधनीहरुले डिम्याट खातामा अद्यावधिक गराएको बैंक खाता नम्बरमा लाभांश जम्मा गरेको बैंकले जनाएको छ ।
बैंकको पुस २९ गते सम्पन्न ३८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले पुस २९ गतेदेखि नगद लाभांश नै सेयरधनीहरूको खातामा पठाएको जनाएको छ । बोनस सेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात् सेयरधनीहरुको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
हालसम्म अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई यथाशीघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको गरेको थियो । त्यसैले अघिल्लो दिनसम्ममा कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन् ।