हिमालयन-सिभिल मर्जर : सीईओ पोखरेल भिआरएसमा बाहिरिँदै, सिभिलबाट फर्ष्ट म्यान रायमाझी बन्ने
काठमाडौं । हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् । यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भिआरएस सुविधामा बाहिरिने भएका हुन् । सिभिल बैंक सञ्चालक समिति सदस्य अम्बिर बोगटीका अनुसार उनी भिआरएस सुविधामा बाहिरिने निर्णय पनि भइसकेको छ । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । हाल सीईओ पोखरले मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो । हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तह पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने । यद्यपि, सञ्चालक बोगटीले भने सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताएका छन् । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् । ‘सिभिल बैंकमा एसिस्टेन्ट पद ४ वटा छन् भने हिमालयनले ५ वटा बनाएको छ, हाम्रो ४ वटा पोस्ट हिमालयन बैंकमा पनि त्यहि हुन्छ,’ उनले भने । १० गते एकीकृत कारोबारकाे तयारी हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले बताए । ‘हामीलाई अहिले समस्या आएको छ, हिमालयन बैंकका सीईओको बुवा र सिभिल बैंकका सीईओ पोखरेलको आमाको निधन भएको हुँदा समस्या भएको छ, त्यसैले नै एकीकृत कारोबार मिति सार्नु परेको हो, राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ, हामीले फागुन १० गते एकीकृत कारोबार गर्ने निर्णय गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल राष्ट बैंकले फागुन १६ गतेसम्म एकीकृत कारोबार गर्न निर्देशन दिएको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको जानकारी दिए । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन् । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुङ्गो लागेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । एमालेका युवा नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे । प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका दश, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् ।
नेपाल चिकित्सक संघमा डा. कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
काठमाडौं । नेपाल चिकित्सक संघमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी भएका छन् । महासचिवमा डा. सन्जिब तिवारी विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह-कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सह-सचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट विजयी भएका छन्। सदस्यहरुमा डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र डा. स्मृती महत विजयी भएका छन्। संघको निर्वाचनमा छ हजार दुई सय ९१ जना मतदाताले मतदान गरेका थिए ।
सुनको मूल्य प्रतितोला एक लाख ४८ सय पुग्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३१५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
दाबी सम्बन्धी कागजात पेश गरी दाबी लिन नेको इन्स्योरेन्सको आग्रह
काठमाडौं । नेको इन्स्योरेन्सले बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गरी दाबी दिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमितहरुलाई बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गर्न आग्रह गरेको हो । यस कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमा दाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु सम्बन्धीत सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउन बाँकी भएका बीमा दाबी सम्बन्धी कागजपत्रहरु कम्पनीमा पेश गर्न भनेको हो । यस सुचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्रमा सम्बन्धित कागजपत्रहरु कार्यालयमा बुझाउन सबै बीमितहरुलाई कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोकेकाे समयमा पनि कागजपत्रहरु उपलब्ध नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले जनाएकाे छ ।
हिमालयन–सिभिल बैंक मर्जरमा कर्मचारीको असन्तुष्टि, एक तह पद घट्ने भएपछि देशभरका शाखा ठप्प
काठमाडौं । हिमालयन–सिभिल बैंकको मर्जर प्रक्रियामा सिभिल बैंकका कर्मचारीले असन्तुष्टि जनाएका छन् । मर्जरमा कर्मचारी समायोजनमा सिभिल बैंकका कर्मचारीकाे एक तह पद घट्ने भएपछि कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तहब पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने । उनका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू भएको हो । उनले लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई पनि यसले मर्कामा पार्ने भन्दै विरोध जनाएको बताए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यसअघि नै हुने भनिएपनि हालसम्म हुन सकेको छैन । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि पुनः सारेको हो । उनको अनुसार अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ । राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको दिन नै पत्र पठाए पनि स्वीकृति नपाएर ढिला भएको सञ्चालक बोगटीले बताए । ‘राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग
खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको जिल्लामा न्यून बासिन्दाले मात्रै घ्यू तथा आफैँले उत्पादन गरेका तोरी र सूर्यमुखी फूलको तेल प्रयोग गर्दै आएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी सूर्यमुखी फूलको प्रशोधित तेल खपत हुने गरेको छ । जिल्लामा सूर्यमुखी फूल, तोरी र भटमास गरी वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बढीको प्रशोधित खाने तेल खपत हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका महासचिव मनोज बजिमयले जानकारी दिए । तराईका विभिन्न जिल्लाबाट खरिद गरी ल्याएको सूर्यमुखीको तेल दिक्तेल बजारमा प्रतिप्याकेट आधा लिटर एक सय २५ रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ । सोही सूर्यमुखीको तेल दिक्तेल बजारबाहेक विकट गाउँमा प्रति प्याकेट एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको छ । जिल्लामा गाईभैँसीपालन गर्दै आएका स्थानीय बासिन्दाले समेत तोरी तथा सूर्यमुखी तेल नै प्रयोग गर्ने गरेका छन् । आफूले उत्पादन गरेको घ्यूभन्दा तेल सस्तो भएकाले प्रयोग गर्ने गरेको किसानले बताउँछन् । सबैभन्दा बढी जनसङ्ख्या रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वार्षिक ४० करोड रुपैयाँ बढीको खाने तेल खपत हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कले देखाएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढीको जनसङ्ख्या ४३ हजार दुई सय ९५ छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेल बजारमा स्थानीयभन्दा बाहिरबाट आएका व्यक्ति बसोबास गर्छन् । सम्पूर्ण सरकारी कार्यालय, अस्पताल, क्याम्पस र नीजि क्षेत्रका विद्यालय दिक्तेल बजारमा ५० हजार बढीको बसोबास छ । दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकामा ११ वडा छन् । सत्ताईस हजार २७४ जनासङ्ख्या रहेको यस नगरपालिकामा वार्षिक ३१ करोड रुपैयाँभन्दा बढीको खाने तेल खपत हुँदै आएको तथ्याङ्कमा उल्लेख छ । धार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकामा स्थानीयभन्दा बाहिरबाट आएकाको बाहुल्यता छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक उत्तिकै मात्रामा आउने गरेका छन् । ऐसेलुखर्क गाउँपालिकाको जनसङ्ख्या १३ हजार पाँच सय ८१ छ । सात वडा रहेको उक्त गाउँपालिकामा वार्षिक १५ करोड रुपैयाँ बराबरको खाने तेल आयात हुने गरेको छ । केपिलासगढी गाउँपालिकाको जनसङ्ख्या १३ हजार तीन सय ३९ रहेको छ । यहाँ वार्षिक सात करोड रुपैयाँको हाराहारीमा खाने तेल आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । नौ वडा रहेको खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या १६ हजार नौ सय ५२ छ । पुरानो सदरमुकामसमेत रहेको खोटेहाङमा वार्षिक १५ करोड रुपैयाँ बढीको खाने तेल खपत हुने गरेको उद्योग वाणिज्य सङ्घ शाखा खोटाङबजारले जनाएको छ । बराहपोखरी गाउँपालिकाको जनसङ्ख्या ११ हजार चार सय ६१ छ । यहाँ वार्षिक आठ करोड रुपैयाँको खाने तेल खपत हुने गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या १६ हजार पाँच सय ४९ छ । छ वडा रहेको उक्त गाउँपालिकामा वार्षिक सात करोड रुपैयाँ बढीको खाने तेल खपत हुने गरेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । एघार हजार दुई सय १८ जनसङ्ख्या रहेको रावाबेँसी गाउँपालिकामा सबैभन्दा बढी कृषिउपज उत्पादन हुन्छ । तर यहाँ पनि वार्षिक रु सात करोड बराबरको खाने तेल आयात हुने गरेको तथ्याङ्क छ । जन्तेढुङ्गा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६६ छ । यहाँ वार्षिक रु आठ करोड बराबरको खाने तेल आयात हुने गरेको छ । सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकाको जनसङ्ख्या नौ हजार छ सय पाँच रहेकामा यहाँ वार्षिक छ करोड रुपैयाँ बराबरको खाने तेल आयात हुने गरेको तथ्याङ्क छ । जिल्लामा हालसम्म खाने तेल उत्पादन गर्ने उद्योग तथा कच्चा पदार्थ नभएकाले करोडौँ रुपैयाँको तेल अन्यत्रबाट किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राई बताउँछन् । ‘आयातित तेललाई बिस्थापित गर्न केही स्थानीय तहले तोरी उत्पादन गर्न अनुदान दिन थालेका छन्’, उनले भने, ‘कच्चा पदार्थ अभावका कारण अहिलेसम्म खाने तेल उत्पादन गर्ने उद्योग स्थापना हुन सकेका छैनन् ।’ जिल्लाबाट तेल आयातका लागि रकम बाहिरिने गरेपछि केही स्थानीय तहले तोरी खेती प्रवद्र्धनमा चासो देखाउन थालेका छन् । केपिलासगढी, रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाले व्यावसायिकरुपमा तोरी खेती गर्ने किसानलाई चालू आवदेखि अनुदान उपलब्ध गराउन थालेका छन् । केपिलासगढीले कृषि विकास कार्यक्रमअन्तर्गत व्यावसायिकरुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको अनुदान पाउन किसानले कम्तीमा तीन रोपनीमा तोरी खेती लगाउनुपर्नेछ । कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार रुपैयाँ र कम्तिमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी दुई हजार पाँच सय रुपैयाँका दरले बिनाशर्त अनुदान उपलब्ध गराउने तयारी गरिएको कृषि शाखाले जनाएको छ । रावाबेँसीले तोरी खेती प्रवद्र्धनका लागि एक हजार दुई सय ६० किलो उन्नत जातको तोरीको बीउ कृषकलाई वितरण गरेको छ । गाउँपालिकाले आवेदन आह्वान गरेर छ सय ५० कृषकलाई आवश्यकताका आधारमा उक्त बीउ वितरण गरेको हो । ऐसेलुखर्कले पनि तोरी खेती गर्ने किसानलाई अनुदान दिन आवेदन आह्वान गरेको छ । हालसम्म छ सय २३ कृषकले तोरी खेती गर्न निवेदन दिएको गाउँपालिकाले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहले पकेट क्षेत्र निर्धारण गरेर ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम लागू गरेका छन् । रासस
सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र
सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । चार करोड ९७ लाख रुपैयाँको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए । ‘पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ’, उनले भने, ‘थप रकम नगरपालिकाले विनियोजन गर्नेछ ।’ उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३० कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । रासस