मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कहिले सार्वजनिक हुन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबारसम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी काम अघि बढाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा चाँडै सार्वजनिक गर्ने तयारी काम गरिरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बताए । ‘राष्ट्र बैंक छलफलकै क्रममा छ, सकेसम्म यसै साताभित्र सार्वजनिक गर्ने तयारी छ तर, हालसम्म मिति तय भएको छैन, बोर्डले निर्णय गर्छ, यसै साता पनि हुन सक्छ,’ उनले भने । यदि यही साता सावृजनिक नभए अर्काे साता भने सार्वजनिक गर्ने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि माघ २० गतेसम्म सरोकारवालाहरुसँग सुझाव मागेको थियो । अहिले राष्ट्र बैंकले सरोकारवालाहरुबाट प्राप्त सुझावलाई अध्ययन गरिरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सेयर धितो कर्जामा कायम रहेको १२ करोडको सीमा हटाउने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४÷१२ को नीति लागू गरेको थियो । उक्त व्यवस्थालाई केही खुकुलो गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमालाई बढाएर १२ करोड पुर्याएको थियो ।
नेपाललाई ६ करोड डलर सहयोग गर्ने युएसएआइडीको घोषणा
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहेकी युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् । सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको यहाँस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ । नेपालमा यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ । यस कार्यमा अमेरिकाको साझेदारी रहने दूतावासले जनाएको छ । युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ । मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाएको छ । समावेशी लोकतन्त्रको सुदृढीकरण आज घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तबरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म समावेश गरिएको छ । नागरिक समाज र सञ्चार माध्यमको समर्थन उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समाविष्ट छ । सरकार र आमजनतासँग प्रभावकारीरूपमा संलग्न हुन आवश्यक सीप, विश्वसनियता र विधि विकास गर्दै गर्दा उक्त नागरिक समाजका सङ्गठनसँग युएसएआइडीले काम गर्नेछ । युएसएआइडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासलाई सहयोग गर्न सञ्चार माध्यमसँग पनि साझेदारी गर्ने जनाएको छ । कानूनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखन विरुद्ध लड्ने कानूनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पु¥याउन र मानव बेचबिखन विरुद्ध लड्न पनि युएसएआइडीले स्थानीय नेपाली सङ्घसंस्था र सरकारी संस्थासँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने जनाएको छ । यी नयाँ लगानी नेपालका लक्ष्य र आकाङ्क्षालाई टेवा पु¥याउन नेपालका सरकार र जनता, निजी क्षेत्र र अन्यसँग रहेको युएसएआइडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित छन् । साझेदारीप्रति युएसएआइडीको दृष्टिकोण नेपालीले आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनी राम्ररी जान्दछन् र सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र हामी नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित छ । नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्टलगायतका सरकारी प्राथमिकतासँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायसँगको साझेदारीमा काम गर्न युएसएआइडीले तत्पर रहेको उल्लेख गरेको छ । रासस
टिभिएसकाे स्कुटर किन्दा ६ हजारसम्मकाे छुट
काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरशट नगद छुट पाउनेछन् । यसका साथै ग्राहकहरुले जम्मा ३ हजार ९९९ रुपैयाँ र २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।
रिइन्स्योरेन्सको १० करोडको सेयर वैध पैसाबाट किनेको हुँ : कैलाश सिरोहिया
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आफुलै वैध रकमबाट नै हिमालय रिइन्स्योरेन्सको प्रमोटर सेयर किनेको बताएका छन् । अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाको जवाफ दिँदै उनले विज्ञप्तीमार्फत एक व्यवसायीका रूपमा हिमालय रिइन्स्योरेन्स १० करोड रुपैयाँ बराबरको प्रमोटर सेयर किनेको बताएका छन् । ‘लामिछानेले ‘कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई चढाउनुपर्ने’ भन्दै हिमालयन रिइन्सुरेन्स लिमिटेडमा रहेको मेरो लगानीबारे पनि प्रश्न उठाउनुभएको रहेछ । त्यसबारे मैले सामाजिक सञ्जालहरूमा पनि जिज्ञासाहरू आएको देखें । केही वर्षअघि त्यो कम्पनी खडा गरिँदा मैले पनि एक व्यवसायीका रूपमा १० करोड रुपैयाँ बराबरको त्यसको प्रमोटर सेयर खरिद गरेको हुँ । त्यो मैले कसैको निगाहमा होइन, आफैंले बकाइदा सरकारलाई कर तिरेको वैध रकमबाट किनेको हुँ । त्यो सेयर मैले कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेका मेरा खाताहरूबाट रकम निकाली, त्यहीँका चेक प्रयोग गरी पारदर्शी ढंगबाट खरिद गरेको थिएँ । त्यो के–कसरी–कति कारणले अवैध भयो रु के मैले कुनै व्यावसायिक कारोबार नै गर्न पाउँदिनँ ?,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, उनले चन्द्रागिरि हिल्समा आफ्नो र आफ्नो परिवारका कुनै पनि सदस्यको कहिल्यै एक कित्ता पनि सेयर नभएको बताएका छन् । उनले पब्लिक कम्पनी रहेको चन्द्रागिरि हिल्समा हालसम्म कस(कसको कति–कति सेयर छ भनेर जोकसैले सहजै चेक गर्न मिल्ने बताएका छन् । अध्यक्ष सिरोहियाले लामिछानेले धम्की दिएझैं कान्तिपुरको कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि भौतिक आक्रमण भए त्यसको जिम्मा रवि र उनकै पार्टीले लिनुपर्ने पनि बताएका छन् । लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गरी उनको विषयमा कानुनी रूपमा स्थापित तथ्यका आधारमा समाचार लेख्ने मूलधारका मिडिया, मिडिया सञ्चालक र पत्रकारहरूको नामै किटान गरी लाञ्छना लगाएका थिए । अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाको विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएकामा सर्वप्रथम म खेद प्रकट गर्दछु । उहाँले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोख्नुभएको होला । अथवा प्रहरीले अनुसन्धान गरिरहेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दालाई विषयान्तर र प्रभावित गर्न चाहनुभएको होला । कारणहरू जे–जे होऊन्, उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुनेछैन । लामिछानेले सोही पत्रकार सम्मेलनमा व्यक्तिगत रूपमा मलाई, मेरो परिवारका सदस्यलाई र म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपलाई जसरी लाञ्छित गर्न खोज्नुभएको छ, त्यसलाई पुष्टि गर्न म उहाँलाई निम्न चुनौतीहरू दिन चाहन्छु : १) चन्द्रागिरि केबलकारका बारेमा कान्तिपुरले आफ्नो व्यावसायिक धर्मअनुरूप समाचारहरू छापेको थियो । त्यसैलाई बहाना बनाएर मैले चन्द्रागिरिमा सेयर लिएको भन्दै लामिछानेले जसरी झुटो आक्षेप लगाउनुभएको छ, ‘चन्द्रागिरि हिल्समा उहाँले खाएको कसलाई थाहा छैन र ?’ भन्दै जसरी मेरो मानमर्दन गर्नुभएको छ, त्यसप्रति मेरो गम्भीर आपत्ति छ । उहाँलाई थाहा छ कि छैन— चन्द्रागिरि हिल्स पब्लिक लिमिटेड कम्पनी हो, जसमा सुरुदेखि हालसम्म कस–कसको कति–कति सेयर छ, त्यो जोकसैले सम्बन्धित सरकारी कार्यालयबाट सहजै चेक गर्न मिल्छ । चन्द्रागिरिमा मेरो वा मेरो परिवारका कुनै सदस्यको कहिल्यै एक कित्ता पनि सेयर थिएन/छैन । लामिछानेले झुटो आरोप लगाएकामा म घोर आपत्ति प्रकट गर्दछु । २) २०७२ मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा मेरा छोरा सम्भव सिरोहिया चढेको कार दुर्घटनामा परेको विषयलाई पनि लामिछानेले अतिरञ्जित ढंगबाट प्रस्तुत गर्नुभएको छ, मानौं— त्यहाँ कुनै ठूलै ‘काण्ड’ भएको थियो, जसलाई जबर्जस्ती लुकाउन खोजियो ! लामिछानेले चित्रण गरेझैं त्यो दुर्घटनामा परेको कारले न बाटोमा हिँडेका कुनै व्यक्तिलाई हिर्काएको थियो, न त अर्को कुनै गाडीलाई ठोक्काएको थियो । त्यहाँ आफू चढेको एक्लो गाडी दुर्भाग्यवश दुर्घटनामा परेको थियो, कारमा रहेका एक नातेदारलाई सामान्य चोट लागेको थियो, उनलाई छेवैको नर्भिक अस्पतालमा केही बेर उपचार गरिएको थियो । त्यसलाई कसैले लुकाएको पनि थिएन, लुकाउनुपर्ने कारण पनि थिएन । बरु त्यस घटनाबारे तत्कालै सम्भवले बग्गीखानास्थित ट्राफिक प्रहरीलाई औपचारिक जानकारी गराएका हुन् । प्रहरी रेकर्डमै रहेको त्यो घटनालाई लुकाउन खोजियो भन्दै गृहमन्त्री भइसकेका व्यक्तिले किन भ्रम छर्नुभएको हो, हामी आश्चर्यचकित छौं । यस्तो असत्य बोलेर व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने अधिकार तपाईंलाई कसले दियो ? ३) सोल्टी होटलमा कुनै महिलालाई कसैले दुर्व्यवहार गर्यो भन्ने बनावटी घटनामा मलाई समेत जोड्दै ‘सीधा कुरा’ नामको फेसबुक अकाउन्टबाट मेरो चरित्रहत्या गर्न खोजिएपछि मैले अगस्ट २७, २०२० मा त्यसको खण्डन गर्दै एउटा ट्वीट गरेको थिएँ । त्यसमा मैले त्यसरी दुष्प्रचार गर्नेविरुद्ध सख्त कानुनी कारबाही गर्न प्रहरीमा उजुरी दिएको समेत उल्लेख गरेको थिएँ । लामिछानेले दुर्व्यवहारको त्यही कपोलकल्पित घटनामा मलाई फेरि जोड्दै भन्नुभएको रहेछ, ‘त्यो ट्वीटमा भनिएजस्तो सिरोहियाले उजुरी कहाँ र कहिले दिएका हुन्, अहिलेसम्म कसैलाई थाहा छैन ।’ त्यसबारे २०७७ भदौ ११ गते हामीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेका थियौं । सोल्टी होटलले समेत त्यो कपोलकल्पित प्रचारबाजीमा उल्लिखित ९२८ नम्बरको कोठा नै आफ्नो होटलमा नरहेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो । र, ‘सीधा कुरा’मार्फत् झुटो सामग्री प्रकाशन गर्ने व्यक्तिलाई ‘तत्काल पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३, दफा ४७ को कसुरमा अनुसन्धान गरी सजाय गरी पाऊँ’ भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत दिएको थियो । यो यथार्थ हुँदाहुँदै गृहमन्त्री भइसकेका व्यक्तिले त्यो घटनामा उजुरी नै नदिएको भन्दै भ्रामक हल्ला फैलाउन मिल्छ ? ४) लामिछानेले ‘कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई चढाउनुपर्ने’ भन्दै हिमालयन रिइन्सुरेन्स लिमिटेडमा रहेको मेरो लगानीबारे पनि प्रश्न उठाउनुभएको रहेछ । त्यसबारे मैले सामाजिक सञ्जालहरूमा पनि जिज्ञासाहरू आएको देखें । केही वर्षअघि त्यो कम्पनी खडा गरिँदा मैले पनि एक व्यवसायीका रूपमा १० करोड रुपैयाँ बराबरको त्यसको प्रमोटर सेयर खरिद गरेको हुँ । त्यो मैले कसैको निगाहमा होइन, आफैंले बकाइदा सरकारलाई कर तिरेको वैध रकमबाट किनेको हुँ । त्यो सेयर मैले कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेका मेरा खाताहरूबाट रकम निकाली, त्यहीँका चेक प्रयोग गरी पारदर्शी ढंगबाट खरिद गरेको थिएँ । त्यो के–कसरी–कति कारणले अवैध भयो ? के मैले कुनै व्यावसायिक कारोबार नै गर्न पाउँदिनँ ? ५) व्यवसायी अजेय सुमार्गीले कुनै बेला मविरुद्ध ‘गोल्डेन सेयर’ लिने गरेको भनेर लगाएको निराधार आरोपलाई कोट्याउँदै रवि लामिछानेले ‘यो त्यस्तो सुनौलो सेयर हो, जुन ठूलो व्यवसाय सञ्चालन गर्दा कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानाबापत दिनुपर्ने हुन्छ’ भन्दै आपत्तिजनक आक्षेप लगाउनुभएको रहेछ । पहिलो कुरा, सुमार्गीसँग त्यही विषयमा परेको मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतले हाम्रो पक्षमा फैसला गरिसकेको यथार्थ सार्वजनिक जानकारीमै छ । दोस्रो कुरा, के लामिछानेले मुखमा जे आयो त्यो बोलेझैं गरी मैले त्यस्तो तथाकथित ‘गोल्डेन सेयर’ कहीँकतैबाट लिएको प्रमाणित गर्न सक्नुहुन्छ ? म उहाँलाई चुनौती दिन चाहन्छु— म र मेरो परिवारका कुनै सदस्यले वैध स्रोतबिनाको, सरकारी कर नतिरेको रकमबाट कहीँकतै पनि एक कित्ता सेयर लिएको तपाईले देखाउन सक्नुहुन्छ ? अनि उहाँले ‘कान्तिपुरलाई चलायो भने त मार्छ, ढाल्छ, सिध्याइदिन्छ’ भन्दै हाम्रोबारे अत्यन्त नकारात्मक प्रचारबाजी पनि गर्नुभएको छ । हामी कसैलाई ढाल्न होइन, लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासन स्थापित गर्न लड्दै आएका छौं । कान्तिपुर मिडिया हाउस लडेको सत्य हो— हिजो निरंकुश राजतन्त्रविरुद्ध जनआन्दोलनको मुखपत्र बनेर, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको हैकमविरुद्ध सुशासनको संवाहक बनेर तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रवृत्तिविरुद्ध जेल जान पनि तयार भएर । हिजो कसैको हुँकारविरुद्ध नडराएको कान्तिपुर आज र भोलि पनि निर्धक्क भएर आफ्नो पेसागत जिम्मेवारीमा डटिरहनेछ । अन्त्यमा, रवि लामिछानेले आफ्नोबारे अब समाचार लेखियो भने आफ्ना समर्थकहरू लिएर कान्तिपुर र अन्य मिडिया हाउसहरुका ‘कार्यालय घेर्न आउने’ र ‘आफ्नो ढंगले कारबाही गर्ने’ सार्वजनिक चेतावनी दिनुभएको छ । के यो स्वतन्त्र प्रेसमाथि खुला धम्की होइन ? के राज्यका निकायहरूले यसलाई प्रचलित कानुन हातमा लिने हर्कतका रूपमा उहाँमाथि कारबाही चलाउनुपर्दैन ? लामिछानेको धम्कीलाई हामीले उहाँको निजी धारणा मान्ने कि राष्ट्रिय स्वतन्त्र पार्टीकै आधिकारिक नीति ? के यसमा उक्त पार्टीका अन्य नेता र सांसदहरूले आफ्नो मत प्रस्ट पार्नुपर्दैन ? अन्यथा हामीले यसलाई उहाँहरूको पार्टीकै धारणा मान्नुपर्ने हुन्छ । म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु— लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ । कान्तिपुरले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ? मिति : २०७९ माघ २४ गते कैलाश सिरोहिया अध्यक्ष तथा प्रबन्ध निर्देशक, कान्तिपुर मिडिया ग्रुप ।
चुहावट भएको हप्तौँसम्म पनि मर्मत हुँदैन खानेपानीको पाइप
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन । सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन् । जमलको नेपाल चेम्बर अफ कमर्स र नबिल बैंकअघि पाइप फुटेर पानी बगिरहेको छ तर सरोकार भएका निकायले बनाउन ध्यान नदिएको महानगरपालिका–२७ का अध्यक्ष गोगेशकुमार खड्गीले जानकारी दिए । मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौंवासी भने धारामा हावामात्र आउने गरेको गुनासो गर्छन् । खानेपानीको पाइप ठाउँठाउँमा चुहावट भएका कारण पनि राजधानीवासीको घरको धारामा पानी पुग्न सकेको छैन । खानेपानी समस्याका बारेमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई जति पटक भने पनि समस्या समाधान नभएको वडा अध्यक्ष खड्गीको गुनासो छ । वडाको भम्लुटोल र त्यौडस्थित तरकारी बजार चोकमा पानी नआउने गरेको उहाँले सुनाउनुभयो । राजधानीको मुख्य सहर महाँकालचौर शाखाको पानी आउने अन्तिम बिन्दु हो । अन्तिम बिन्दु भएकाले पनि यहाँ पानी आइपुग्न गाह्रो छ । विगतमा महाराजगञ्ज शाखाबाट पनि मुख्य सहरी क्षेत्रमा पानीको पाइप ल्याइएको थियो । डेढ दशकअघिदेखि महाराजगञ्ज शाखाको पाइपबाट पानी बन्द गरिएको छ । दुईतिरबाट पानी छोड्दा दबाबले पानी आउने गरे पनि महाराजगञ्जको पानी बन्द गरेपछि खानेपानीको समस्या भोग्न मुख्य सहरी क्षेत्रका स्थानीयवासी बाध्य छन् । महाँकालचौर शाखाको ट्याङ्कीमा सात फिटभन्दा माथि पानी भए मुख्य सहरी क्षेत्रमा पानी आउँछ । सात फिटभन्दा तल पानी भएका बेला पानी खोले यस क्षेत्रमा पानी आउँदैन । सानो गौचरणको सरकारी धारामा पनि सात फिटभन्दा तल पानी हुँदा पानी झर्दैन । सानो गौचरणको सरकारी धारामा पानी आएपछि मुख्य सहरी क्षेत्रमा पानी पुगेको मान्नुपर्ने मानक पहिलेदेखि नै निर्धारण भएको छ । मुख्य सहरी क्षेत्रस्थित रत्नपार्क र विष्णुमती नदी किनारको दमैचाघाट क्षेत्रमा डिप ट्युववेल खनेको छ । यहाँबाट आएको पानी पिउन योग्य छैन । महानगरपालिका–१९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ ट्युववेलको पानी पिउन योग्य छैन भनी विज्ञहरूले सुझाव दिएको बताउनुहुन्छ । यसका लागि केयुकेएलले लाखौँ बजेट खर्च गरेको छ तर यो पानी फिल्टर प्लान्ट राखेर प्रशोधन नगर्दा घरायसी प्रयोजनका लागि मात्र प्रयोग भइरहेको छ । दमैचाघाटको पानी घरायसी प्रयोग गरेमा क्यान्सर लाग्छ भन्ने विज्ञको सुझावलाई लत्याउँदै अहिले त्यसैको प्रयोग भइरहेको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो । खानेपानी र डिप ट्युववेलबाट निकालिएको पानी एउटै पाइपबाट हालिँदा मिसिएर स्वास्थ्यमा समस्या हुने गरेको गुनासो पनि उनले गरे । रासस
एलआइसी नेपालका सीईओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको केन्द्रिय कार्यालय भारतले नेपालका लागि सीईओ नपठाए पछि माघ १५ गते नै कार्यकाल सकिसकेको दासको कार्यकारल थप गरिएको हो । २६ वर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेका सीईओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् ।
पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर
तनहुँ । पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर भएको छ । सहज यातायात पहुँचका कारण यस जिल्लाबाट उत्पादित अण्डा, कुखुरा र दूध अन्य जिल्लामा समेत निर्यात हुँदै आएको भेटेरिनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७० लाख ६० हजार ८ सय अण्डा उत्पादन भएको थियो । उत्पादित उक्त सङ्ख्या तनहुँवासीलाई प्रतिव्यक्ति प्रतिवर्ष ८२ दशमलव ५९ वटा अण्डा पर्न जान्छ । उक्त सङ्ख्या मापदण्ड भन्दा प्रतिव्यक्ति प्रतिवर्ष ३४ दशमलव ५९ ले बढी हो । विश्व खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रति बर्ष ४८ वटा अण्डा खपत दर तोकेको छ । आव २०७७/७८ मा जिल्लामा दुई करोड ५९ लाख ९५ हजार वटा अण्डा उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा कुखुराको अण्डाको अलावा हाँसको दुई लाख ९५ हजार, बट्टाईको एक लाख ५० हजार, कालिजको आठ हजार र टर्कीको दुई हजार अण्डा उत्पादन भएको केन्द्रले जनाएको छ । चालू यस आवमा पनि अण्डाको उत्पादन राम्रो भएकाले यस आवमा अण्डाको उत्पादन बढ्ने आंकलन गरिएको केन्द्रले जनाएको छ । जिल्लाको व्यास, भानु र शुक्लागण्डकी नगरपालिका अण्डा उत्पादन पकेट क्षेत्र रहेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा। बालकुमार श्रेष्ठले बताए । जिल्लामा उत्पादित अण्डामा आत्मनिर्भर भएको करिब पाँच वर्ष भएको उनले जानकारी दिए । तनहुँबाट उत्पादित अण्डा काठमाडौं, कास्की र स्याङ्जामा समेत खपत हुने गरेको छ । मासुजन्य उत्पादनमा आव २०७८/७९ मा तनहुँको योगदान चार हजार सात सय २३ मेट्रिक टन रहेको छ । उक्त उत्पादन दर अघिल्लो आवको भन्दा एक सय २३ मेट्रिक टन बढी हो । आव २०७७/७८ मा मासु उत्पादनमा तनहुँको योगदान चार हजार छ सय मेट्रिक टन रहेको थियो । अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्राम मासु आवश्यक पर्नेमा तनहुँमा आव २०७८/७९ मा १४ दशमलव ४१ किलोग्राम मासु उत्पादन भएको तथ्याङ्क छ । मासुको अलावा त्यस आवमा माछा उत्पादन ९४ मेट्रिक टन छ । मासु उत्पादनमध्ये राँगा, भैंसीको ४४ प्रतिशत, खसीबोकाको २५ प्रतिशत, कुखुराको १५ प्रतिशत, बङ्गुरको १५ प्रतिशत र भेडाको ० दशमलव १ प्रतिशत योगदान रहेको छ । जिल्लामै राँगा, भैंसी उत्पादन हुने भएपनि केही चितवनबाट समेत भित्रिने गरेको केन्द्रले जनाएको छ । खसीबोका उत्पादनको लागि व्यास, भानु, भिमाद, वन्दिपुर, रिसिङ र घिरिङ पकेट क्षेत्र मानिन्छ । जिल्लामा ३४१ वटा फर्ममार्फत पशु चौपाय उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । त्यसैगरी तनहुँ दूध उत्पादनमा राम्रो छ । तनहुँले अन्य जिल्लामा दूध निर्यात समेत गर्दै आएको छ । आव २०७८/७९ मा तनहुँमा ३८ हजार आठ सय ३८ मेट्रिक टन दूध उत्पादन भएको थियो । खाद्य तथा कृषि सङ्गठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा तनहुँमा भने गत आवमा एक सय १८ दशमलव ५ लिटर दूध उत्पादन भएको थियो । आव २०७७/७८ मा भन्दा गत आर्वमा नौ सय १० मेट्रिक टन दूध बढी उत्पादन भएको केन्द्रले जनाएको छ । आव २०७७/७८ मा ३७ हजार नौ सय २८ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा ठूला दुग्ध उत्पादक कृषकहरुको अलावा १८ वटा सहकारीबाट दैनिक दूध सङ्कलन हुँदै आएको छ । तनहुँबाट उत्पादित दूध कास्कीका विभिन्न कम्पनीहरुमा खपत हुँदै आएको छ । दूध उत्पादन बढाउन प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान दिने गरिएको केन्द्रले जनाएको छ । दूध, माछा, मासु र अण्डा उत्पादन बढाउन केन्द्रित भई कृषक लक्षित विभिन्न कार्यक्रम वर्सेनी तर्जुमा गरिदैं आइएको केन्द्रले जनाएको छ । ‘हामीले पशु स्वास्थ्य सेवा र पशु विकास गरी दुई खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ डा। श्रेष्ठले भने, ‘यी कार्यक्रमले गर्दा पशु जन्य उत्पादनमा राम्रो वृद्धि भएको छ ।’ पशु स्वास्थ्य सेवाअन्र्तगत बाख्रालाई भ्यागुते, चर्चरे, खोरेत वरुद्ध पिपिआर खोप, बङ्गुरलाई खोरेत र स्वाइन फिवर विरुद्धका खोप र कुकुरलाई रेविज विरुद्धको नियमित खोप कार्यक्रम गरिदैं आइएको उनले जानकारी दिए । केन्द्रबाट पशुचौपायाको पिसाब, रगत दूध, छाला, गोवर र शव परीक्षण सेवा सञ्चालन गरिएको छ । गतवर्ष दूधमा ४५ लाख रुपैंयाँ, पशु विमाको २० प्रतिशत प्रिमियममा ४५ लाख ४८ हजार रुपैयाँ, साना व्यवसायी फर्मलाई ८४ लाख रुपैयाँ, माछा उत्पादनमा प्रतिरोपनी २५ हजार रुपैयाँका दरले १५ लाख रुपैयाँ, पकेट क्षेत्रअन्र्तगतका कार्यक्रममा ८० लाख रुपैयाँ लगायत अनुदान प्रदान गरिएको केन्द्रले जनाएको छ । यस वर्ष पनि कृषकलाई प्रोत्साहन नीति केन्द्रले लिएको र छिट्टै दरखास्त माग गरी फर्म छनोट गर्ने र अनुदान प्रदान गर्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए । रासस
चीनले टर्कीका भूकम्प पीडितलाई ६० लाख डलर सहयोग गर्ने
चीन । चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रसले टर्कीए र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्कीए र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ । यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकीर्ए र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए । उद्धार टोली टर्कीए जाँदै भूकम्प प्रभावित टर्कीएलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित आज साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्कीए पठाइने रक्षा अधिकारीहरूले बताएका छन् । आगरास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीएको अदाना पुगेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका निम्ति ८५ सदस्यीय टोली टर्कीए पठाउने बताएका छन् । उनले फिलिपिन्सको टोलीमा स्वास्थ्यकर्मी र इन्जिनियर रहने आज पत्रकारहरूलाई जानकारी दिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न एक सयभन्दा बढी रुसी उद्धारकर्ता टर्कीए पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो । त्यसैगरी संयुक्त राष्ट्रसङ्घका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्कीए पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । रासस