विकासन्युज

आशा लघुवित्तले दियो निशुल्क सिपमूलक तालिम

काठमाडौं । आशा लघुवित्तद्वारा निशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । आशा लघुवित्त वित्तीय संस्थाले पौष २४ गते देखि माघ २८ गते सम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन गरेको हो । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरेको हो । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा बिभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४,८७० जना विपन्न महिलाहरुलाई यस प्रकारका निशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघुब्यवसायमा बृद्धी भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब १६ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका  । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ ।’ संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले  राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङगाउनु राम्रो हुने बताए । प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यवधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे । सुदूरपश्चिममा नेकपा(एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । रासस

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)

काठमाडौं । सरकारले बजेटको आकार संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाईएको बताएका हुन् । आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाईएको बताएका हुन् । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ । १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेको छ । जसमा अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड ३ लाख रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ र दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल चार खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो । [pdf id=387873]

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

काठमाडौं । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालकाअनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो । फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिए । ‘अर्को हप्ता तय भएको बैठकमा मुख्यगरी दुई देशको ऊर्जा सहकार्य, अन्तरदेशीय विद्युत् व्यापार, अन्तरदेशीय प्रशारणलाइन पूर्वाधार निर्माणलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पावर पर्चेज एग्रिमेन्ट) को विषय पनि यो बैठकको प्राथमिकतामा छ’, प्रवक्ता भेटुवालले भने । हाल ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्ने अनुमति पाएको ढल्केबर(मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रशारणलाइनबाट थप विद्युत् पठाउने विषय पनि यो बैठकमा नेपालले राख्नेछ । त्यस्तै, चार सय केभी नयाँ बुटवल-गोरखपुर, दुहबी-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारणलाइनका बारे पनि छलफल हुनेछ । भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेस गरेका आयोजनालाई स्वीकृति दिने विषयलाई नेपालले भारतसँग आग्रह गर्नेछ । दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर चार सय केभी प्रसारणलाइन निर्माणको प्रगति र भारतीय कम्पनी सतलज जलविद्युत् निगमले नेपालमा बनाइरहेको विद्यु्त् आयोजनाको प्रगतीबारे पनि छलफल हुने उनको भनाइ छ । नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण निर्माणको काम नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इण्डिया लिमिटेडको संयुक्त उपक्रममा बनेको कम्पनीबाट अघि बढाउने गरी दुई देशबीच सहमति भइसकेको उनको भनाइ छ । गत वर्ष फागुन १२ मा काठमाडौँमा सम्पन्न भएको जोइन्ट स्टेयरिङ कम्पनीको नवौंँ बैठकबाट नेपाल र भारतबीच संयुक्त रुपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा दुवै देशबाट तीन–तीनजना सदस्य सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय भएको थियो । उक्त प्राविधिक टोलीको कार्यप्रगतीबारे पनि समीक्षा गरिने जनाइएको छ । रासस

मौद्रिक नीति समीक्षाको प्रभाव सेयर बजारमा, एकैदिन ६० अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि खुलेको पहिलो दिनको सेयर बजार ६० अंकले घटेको छ । आइतबारको नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको छ । आइतबारको सेयर बजार कारोबार खुलेदेखि नै निरन्तर रुपमा ओरालो लागेर बन्द भयो । यससँगै गत बिहीबारको तुलनामा परिसूचक २.७८ प्रतिशतले घट्न पुगेको छ । परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार २ अर्ब ६ करोडको कारोबार भएको सेयर आज आइतबार ३ अर्ब ४ करोडले बढेको छ । दिनभरको कारोबारमा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको छ । उच्च अंकले घटेको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, न्यादी ग्रुप पावरको ११ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । घटेको बजारमा केहीले मात्र कमाएका छन् भने अधिकांशले गुमाएका छन् । कमाउनेको अग्रस्थानमा खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ । यता टप लजुरको अग्रस्थानमा न्यादी ग्रुप पावर रहेको छ । जसको सेयर मूल्य ६.६० प्रतिशतले घटेर प्रतिकित्ता २९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ३५७.१३ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पुँजीबजार तथा पुँजीबजारका लगानीकर्ताको मागलाई सम्बोधन नगरेसँगै आइतबारको बजार उच्च अंकले घट्न पुगेको जानकारहरु बताउँछन् । लगानीकर्ताहरुले उक्त समीक्षा मार्फत सेयर धितोकर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउनु पर्छ भन्ने माग गरेका थिए ।

विसं २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाइने

चितवन । भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए । पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको सुझाव थियो । उनीहरुले वडामा रहेका हरेक टोल सुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका थिए ।  कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रँदै गएको अवस्थामा सुधारको आवश्कता रहेको बताए । भरतपुर महानगरभित्र दुई सय ५० र जिल्लाभर छ सयभन्दा बढी होटल सञ्चालनमा छन् । जिल्लामा भएका होटललाई चलायमान बनाएर जानुपर्ने उनको भनाइ थियो । भरतपुर महानगरका पर्यटनविज्ञ डा.विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए । बिग्रँदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उनको भनाइ छ ।  उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्षका क्रममा रात्रिकालीन मनोरञ्जनका कार्यक्रम तय गरेर अघि बढाउन सके राम्रो हुने सुझाव दिए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण वर्ष २०८० को कार्यकारी समिति सयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको स्पष्ट पारे । रासस

लघुवित्तको उच्च ब्याजदरले व्यवसायीले आत्महत्या गर्न थाले : सासंद भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तको उच्च ब्याजदरले व्यवसायीले आत्महत्या गर्न थालेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुवित्तको उच्च ब्याजदरको कारण व्यवसायीहरुले आत्महत्या गर्न थालेको बताएका हुन् । उनले लघुवित्तकै कारण हालसम्म ४० जनाले आत्महत्या गर्नु परेको बताएका छन् ।

इसेवाका सिइओ अजेश कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित

काठमाडौं ।  इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले कोइरालालाई सम्मान गरेको हो । नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो । समारोहमा सम्बोधन गर्र्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले विदेशमा रहेका नेपालीहरूको मायाँ र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए। उनले बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागेका कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहका छन्। इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ । विश्वका दुई सय बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै  आएको छ ।