भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।
भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग
काठमाडौं। प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए । सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक(पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गरेको हो । उनले भने, ‘म आफै पनि एक घण्टा सवारी जाममा परे । जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एक पटकको होइन’, उनले भने, ‘यो काम सुरक्षा संयन्त्रको हो । सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्र अनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ ।’ सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिए । सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाए । भिभिआइपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरे । बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन् । अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन् । उनीहरुले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य ।’ उनले औद्योगिक क्षेत्रको निर्माणलार्ई तीव्रता दिनसमेत माग गरे । सांसद मेनकाकुमारी पोखरेलले किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न माग गरे। सांसद राजकिशोर यादवले किसान र व्यापारी चर्को ब्याजदरका कारण मर्कामा परेको बताए । उनले भने, ‘व्यापारी बैंकबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजिरहेका छन् । किसान मल र बजार अभावका कारण उत्पादन सडकमा फाल्न बाध्य छन् । जनता र राज्यबीच विश्वासको खाडल कम गर्न राज्यले गरेको वाचा पूरा गर्न सक्नपर्छ ।’ सांसद रुपा सो शि चौधरीले किसानले कृषि उपजको मूल्य नपाएको तर बाह्य देशबाट कृषि उपजको आयात बढिरहेकोतर्फ ध्यानाकर्षण गराए । सांसद रेखा यादवले सिमानाका किसानलाई नेपाली सुरक्षाकर्मीबाटै अप्ठ्यारो भइरहेको बताए । बैठकमा सांसद रामहरि खतिवडाले भूकम्प पीडितलाई सरकारले उपलब्ध गराउने भनिएको रकम उपलब्ध नभएकोतर्फ ध्यानाकर्षण गराए । उनले प्रत्येक गाउँपालिकामा मोटररेबल सडक निर्माण गर्नुपर्नेमा जोड दिए । सांसद ज्ञानबहादुर शाहीले शैक्षिक सत्र सुरु भएसँगै देशभरका विद्यालयमा पुस्तक पुग्नपर्ने माग राखे । उनले भने, ‘फागुन १ बाट शैक्षिक सत्र सुरु हुँदैछ । यसपटक पनि हिमाली क्षेत्रका विद्यार्थीले समयमै पुस्तक पाउनेमा द्विविधा देखिन्छ । मतपत्र छाप्न सक्ने सरकारले किताब छाप्न किन सक्दैन ? ‘ सांसद मैनाकार्कीले जाजरकोट जिल्लामा चार सय १७ मेगावाट क्षमताको जलविद्युत् आयोजना लामोसमयसम्म निर्माण सम्पन्न नभएको बताए । सांसद योगेशकुमार भट्ट्राईले जग्गाको मूल्य समान राख्नुपर्नेमा जोड दिए । सांसद रनेन्द्र बरालीले दलित समुदायका व्यक्तिमाथि भइरहेको अपराधसम्बन्धीका घटनामा सरकारको ध्यानार्कषण गराउँदै दोषीलाई कारबाहीको माग गरे ।सांसद रमा कोइलारा पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभावप्रति सरकारले ध्यान दिनुपर्ने भनाइ व्यक्त गरे। उनले चिया उद्यानमा काम गर्ने श्रमिकका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने धारणा राखे । सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा विभिन्न समयमा शिलान्यास भएको सडक र पुलको निर्माण छिटो सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए । सांसद लक्ष्मी तिवारीले नागरिकले नागरिकता प्राप्त गर्न बेहोर्नु परेको सास्तीबारे भनाइ राखे । रासस
३ लाख मानिसले अवलोकन गरे क्यान इन्फोटेक
काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन् । आज मेलामा ३ लाख मानिसहरुले मेलाको अवलोकन गरेको कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले बताए । उनले क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए । उनले मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको बताए । उनले काठमाडौंमा आजबाट सकिने इन्फोटेक सात आगामी दिनमा सात प्रदेशमा पनि सञ्चालन हुने जानकारी दिए । उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र वागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ । क्यान इन्फोटेक २०२३ यही माघ २४ देखि २९ गते आजसम्म सञ्चालन भएको हो ।
‘भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन’
काठमाडौंं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् । आईतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताए । समितिको बैठमा सांसदहरुले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको बताए । उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको समेत जनाए । महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने उनको भनाई छ । साथै, उनले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थलकेन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिए । ‘भैरहवा र पोखराको विमानस्थलको कुरा छ, तत्काल हामीले बेनिफिट खोजेर हुँदैन, त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौं, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभूवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन, त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ, सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ, पोलिसी निर्माण गरेर भैरहवाकेन्द्रित गतिविधि निर्माण गराउनुपर्छ, रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन, हामीले भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो, यसलाई त कुटनीतिक पहल गर्नुपर्छ,’ उनले भने । महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्याण्डिङ प्रक्रिया शुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिट माथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्याण्डिङ गर्नुपर्ने नियम ल्याएको बताए । उनले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान भइसकेको उल्लेख गर्दै जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको बताए । अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुपूर्व नै रुटको सम्पूर्ण जानकारी लिनसक्ने उनको भनाइ छ । महानिर्देशक अधिकारीले उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने समेत बताएका छन् ।
१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि …..
गोलबजार । साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए । त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि टिकेन । बाह्र वर्ष खर्चेर निर्माण सम्पन्न हुँदै गरेको पुलका दुई पिलरमध्ये गत वर्ष असार १७ गतेको बाढीले सिरहातर्फको बसपिट्टामा र कात्तिक ३ गते धनुषातर्फको तीन नम्बर पिलर केही धक्कामै भाँसिए । भाँसिएको एक वर्ष बितिसक्दा पनि हुलाकी सडकको मेरुदण्ड र मधेश प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल निर्माण हुन सकेको छैन । वर्षौँपछि निर्माण सम्पन्न हुन लागेको पुल बाढीले भाँसिएपछि ‘हात्ति छि-र्यो पुच्छर अड्क्यो’ जस्तै अवस्था छ । त्यही अवस्था देखेर यस क्षेत्रका सर्वसाधारण निरास छन् । सिरहाको नवराजपुरका ७२ वर्षीय अशोक यादवले पुल निर्माणपछि वर्षौदेखि सास्तीबाट मुक्ति पाउने अपेक्षामा खुसी भएकामा त्यो पूरा हुन नपाउँदै भाँसिएको र अहिलेसम्म निर्माण सुरु नभएकामा चिन्ता व्यक्त गरे। ‘वर्षौँपछि पुल सम्पन्न हुँदैछ भन्ने सुनेर खुसी लागेको थियो, तर पिलर भाँसिएर अवरुद्ध भयो’, उनले भने ‘तीन वर्षमा बन्ने काम १२ वर्ष लाग्यो, पुल भाँसिएको पनि वर्ष दिन भइसक्यो, त्यो बन्न फेरि कति समय लाग्ने हो रु’ कमला पुल निर्माण हुँदा सिरहा सदरमुकामबाट छोटो दूरीमै मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्न सकिन्थ्यो । अहिले पूर्व–पश्चिम राजमार्ग हुदैँ लामो यात्रा गर्न बाध्य हुनुपरेको छ । सिरहा नगरपालिका–१ का मनिष यादवले अहिले भारतीय बजार जयनगर हुदैँ जनकपुर जानुपर्ने बाध्यता रहेको सुनाए । ‘पुल निर्माणपछि छोटो दूरीमै सिरहाबाट जनकपुरधाम जान पाइएला भनेर हामी खुसी थियौंँ, तर त्यो पूरा हुन पाएन’, उनले भने ‘एक वर्षसम्म पनि पिलर बनेन, कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?’ पुल भाँसिएपछि बाँसको भ-याङ प्रयोग गरी स्थानीयले सकसपूर्ण यात्रा गरिरहेको सिरहा–२२ हकपराका ललित यादवले सुनाए । ‘पुल बन्न फेरि १२ वर्ष पो लाग्ने हो कि’, उनले शंसय व्यक्त गरे, ‘एक वर्ष बितिसक्दा पनि प्राविधिक अध्ययन नै नभएको चर्चा छ, यिनै जिज्ञासा लिएर हामीले हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरलाई जानकारी माग ग-यौँ ।’ योजना प्रमुख इन्जिनीयर कृष्णकुमार गोइतलेका अनुसार पुल के कारणले भाँसिएको हो भन्नेबारे थाहा भएको छैन । ‘पुल भाँसिएको कारण पत्ता लगाउन अनुसन्धान चलिरहेको छ’, उनले भने । निर्माण कम्पनीले क्षति भएका स्थानको जग र अन्य संरचनाको पुनःनिर्माण गर्न नयाँ प्रस्ताव पेश गरी अहिले निर्देशनालयले स्वीकृतको प्रक्रिया सुरु गरिसकेको छ । हुलाकी सडक निर्देशनालयका आयोजना निर्देशक इन्जिनीयर धर्मेन्द्र झाले तीन दिनअघि निर्माण कम्पनीबाट आवश्यक निर्देशनपछि सुधारसहितको प्रस्ताव प्राप्त भएकाले त्यसको विस्तृत अध्ययनको काम भइरहेको बताए । उनले सडक विभागले स्वीकृत गरेपछि यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुलको बाँकी काम सुरु हुने बताए । उनका अनुसार पुलका चार स्पान नयाँ बनाउने र बाँकी पिलरलाई संरक्षण गर्ने गरी निर्माण कम्पनीले प्रतिवद्धता जाहेर गरी प्रस्ताव पेश गरेको छ । ‘ठेकेदारकै लगानीमा चार स्पान निर्माण गर्ने र बाँकी पिलरमा पुग्नसक्ने क्षतिलाई मध्यनजर गरी संरक्षणको काम हुनेछ’, उनले भने, ‘यस कार्यमा राज्यको थप लगानी नलाग्ने भए पनि नागरिकले दुख पाए, अब एक वर्षभित्रै पुल तयार हुन्छ ।’ राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत हुलाकी सडकको सप्तरी–सिरहा–धनुषा खण्डमा कालोपत्रको काम अन्तिम चरणमा भए पनि कमला नदीमाथिको पुल भाँसिएपछि सडक सञ्चालन हुन सकेको छैन । निर्माण कम्पनीले आगामी आवसम्म पुल निर्माण गरिसक्ने गरी समय माग गरेको छ । सिराहा–धनुषाको सीमा जोड्ने कमला नदीमा रु २४ करोड ९१ लाखको लागतमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले पाएको थियो । विसं २०६८ जेठ ३१ गते निर्माणको सम्झौता भएकामा पटकपटक म्याद थप गर्दा पनि पुल निर्माण हुन सकेन । त्यसै कारण पप्पु कन्स्ट्रक्सनलाई हटाएर २०७६ असोजमा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको थियो । लुम्बिनी बिल्डर्सले काम गरिरहेकै बेला पुल भाँसिएको हो । त्यसले सिरहा र धनुषालाई छोटो दूरीमा जोड्ने सपना चकनाचुर भएको छ । पुल पुनःनिर्माणका लागि हुलाकी सडक संघर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम भइरहेका छन् । संघर्ष समितिका संयोजक प्राध्यापक रामरिझन यादवले भाँसिएको पुल बनाउन दबाब दिन रिले अनसन, हुलाकी सडकमा पैदल यात्रा, अन्तरक्रिया, प्रर्दशनलगायत गर्दै आए पनि सुनुवाइ नभएको बताए । पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्पका रुपमा लिइएको हुलाकी राजमार्ग समयमै निर्माण गर्न जरुरी छ । रासस
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिए । उनले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमा नै निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने विषयलाई प्रमाणित गरेकामा आयोगलाई धन्यवादसमेत व्यक्त गरे । राष्ट्रपति भण्डारीले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य निरन्तररुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायकपर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले मतदानस्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाधरूपमा प्रयोग गर्नसक्ने स्थितिको सिर्जना गर्न तथा निर्वाचनको समयपूर्व मतदाता शिक्षालाई घर परिवारस्तरसम्म पु¥याउन देशभरका सबै माध्यमिक विद्यालयलाई लक्षित गरी निर्वाचनसम्मबन्धी विशेष जागरण अभियान सञ्चालन गर्न ध्यान दिन आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आर्थिक वर्षमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान तथा कानुनको अधिनमा रही कार्य सम्पादन गर्दै आएको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताएका थिए । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै निर्वाचन आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपथिति थियो । रासस
अब इसेवाबाटै केडका सामान किन्न सकिने
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तनी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनीबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् । सम्झौता कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरीद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने आउँदा दिनमा सहकार्यबाट बढी फाइदा दिन सकिने बताए । यस्तै, केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीतिक साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन् । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ८५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ । गुण समूहद्वारा स्थापित र प्रवद्धित केड कम्पनी प्रा.लि. ले विगत पाँच महिनादेखि केड ब्राण्डका फेशन प्रडक्ट उत्पादन गर्दै आएको छ । केडल दरबार मार्गको दरबार मलको पहिलो तल्लामा अवस्थित छ ।
चिराइतोको मूल्य बढेपछि किसान हर्षित, एउटा सिजनमा १३ लाख आम्दानी
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित भएका छन् । कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । त्यसैले यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने उनको योजना छ । लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गर्थे । कुल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गरेका उनले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । ‘प्रतिमन २१ हजार रुपैयाँका दरले एउटा सिजनमा ६५ मन चिराइतो बिक्रीबाट १३ लाख ६५ हजार रुपैयाँसम्म आम्दानी गरे’, उनले भने । कोरोना महामारअघि ताप्लेजुङ, पाँचथर, इलाम, तेरथुम, सङ्खरसभा भोजपुरलगायत जिल्लामा उत्पादन भएको चिराइतो टिप्पताला नाका हुँदै चिनियाँ बजारमा निर्यात हुन्थ्यो । टिप्पताला नाकासम्म हेलिकोप्टरबाट चिराइतो ढुवानी हुन्थ्यो । कोरोना महामारीमा उक्त नाका बन्द भएपछि चिराइतोको कारोबार ठप्प बनेको हो । चार वर्षसम्म चिराइतोको बजार ठप्प भएसँगै लिम्बूले चिराइतो खेती नै छोडेका थिए । ‘चार वर्षपछि अहिले चिराइतोले राम्रो बजार मूल्य पाएको अवस्था छ’, व्यवसायी गोविन्द बरालले भने, ‘चार वर्षअघि प्रतिमन पाँच हजार रुपैयाँमा झरेको चिराइतोको भाउ अहिले ३० हजारसम्म खरिदबिक्री भइरहेको छ ।’ उनका अनुसार पछिल्लो समय भारतीय बजारमा चिराइतोको माग बढ्न थालेको छ । मूल्य बढेसँगै व्यवसायीहरु चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुगन थालेका छन् । चिराइतो खोजी गर्दै गाउँगाउँमा व्यापारी आएसँगै लिम्बु जस्ता किसान फेरि चिराइतो खेतीमा फर्कन थालेका छन् । कोरोनाका कारण नाका बन्द हुँदा घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम बिक्री हुन थालेको छ । हिमाली भेगमा मात्र उत्पादन हुने चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने फक्ताङलुङ गाउँपालिका(४ इखाबुका चिराइतो किसान धनबहादुर लिम्बूको भनाइ छ । गाउँघरमा ज्वरो तथा रुघाखोकीका बिरामीलाई चिराइतो खुवाउने चलन छ । आर्थिक वर्ष २०७८र८९ मा पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङ निमित्त प्रमुख एवम् सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताउनुभयो । छुट पुर्जीका लागि प्रतिकेजी १५ रुपैयाँ राजस्व जम्मा गर्नुपर्दछ । पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार राजस्व जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०७७र७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलनबाट दुई लाख ४४ हजार पाँच सय रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको छ । रासस