विकासन्युज

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने

तनहुँ । तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो । दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए । नगरपालिकाले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन, २०७९ स्वीकृत गरेको छ । भानु–२ मा गरिबसँग विश्वश्वर कार्यक्रमअन्तर्गत कार्यरत सामाजिक परिचालक जानुका बस्नेतको पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता थप गरेको छ । त्यसैगरी, स्वास्थ्यतर्फका तीन प्राविधिक करारका कर्मचारी बन्दना कार्की, पुष्पाञ्जली जोशी र रश्मा पौडेलको सोही तहका अन्य कर्मचारीसरह हुने गरी मासिक पारिश्रमिक बीस हजार रुपैयाँ कायम गरेको छ । बेरुजु नियमित गर्ने पारित गरेको छ भने प्रवक्तामा ईश्वरबहादुर घिमिरेलाई तोकेको नगरप्रमुख त्रिपाठीले बताए । रासस

आईएमई पे पनि एनपीएसमा आवद्ध

काठमाडौं । आईएमई प नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आईएमई पेले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो । सम्झौतामा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात आईएमई पेको आन्तरिक भुक्तानी प्रणालीलाई (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत आईएमई पेले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् । आईएमई पेले यसअघि नै प्राविधिक सदस्य आरपीएसमार्फत एनसीएचएलका विभिन्न सेवाहरू प्रयोग गर्दै आएको छ । एनपीआई हाल ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र ८० भन्दा बढी गैर(बैंक संस्थाहरू जस्तै पीएसपी पीएसओ, बीमा कम्पनी, रेमिट्यान्स, मर्चेन्ट बैंक, सरकारी, अर्ध(सरकारी संस्थाहरू, ठूला कर्पोरेटहरु आवद्ध छन् ।

गुल्मीमा भेटिए तीन सय १२ प्रजातिका चरा

गुल्मी। विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ । यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन् । जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताए । योसँगै गुल्मीमा चरा तीन सय १२ प्रजाति पुगेका छन् । हाल मदाने क्षेत्रमा दुई सय ७२ र रेसुङ्गा क्षेत्रमा दुई सय ५८ प्रजातिका चरा भेटिएका हुन् । यी दुवै क्षेत्रमा पाइने दुई सय १८ प्रजातिका चरा छन् । नेपालमा हालसम्म आठ सय ९२ प्रजातिका चरा पहिचान भएकोमा गुल्मीमा ३५ प्रतिशत चरा छन् । चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठूँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन् । रेसुङ्गा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन् । गुल्मीमा विश्वकै दुर्लभ छ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो । यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्ध रहेका छन् । रेसुङ्गामा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । उनका अनुसार रेसुङ्गालाई थप संरक्षणका लागि काम गरिनेछ । डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताए । चराको वासस्थान मानिने रेसुङ्गा क्षेत्र आफूहरुले संरक्षण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो तर, रेसुङ्गा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ । मदाने र रेसुङ्गा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन । मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुङ्गा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो । वन विनास, वासस्थान परिवर्तन र चोरी शिकारीका कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ । रेसुङ्गा वन संरक्षण क्षेत्र १९ हजार दुई सय ८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार सात सय ६१ हेक्टरमा फैलिएको छ । रासस

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।    

गुण एयरको जहाज ग्राउण्डेड, आईतबारदेखि उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयर चार दिनदेखि ग्राउण्डेड भएको छ । ७ थान जेट स्ट्रीम विमानबाट आन्तरिक उडान गर्दै आएको गुणले जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको जनाएको छ । एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको बताउँछन् । ‘हाम्रो जहाजमा केही प्राविधिक समस्या देखियो, आवश्यक पास्र्टहरु विदेशबाट ल्याउनुपर्दा समय लागेको हो, पास्र्टहरु आउने क्रममा छन्, आईतबारदेखि नियमित उडान सुरु गर्ने हाम्रो तयारी छ’, उनले भने । उनले जहाजमा प्राविधिक समस्या आउनु र क्यापटेनहरुलाई तालिम दिनु एकै समयहुँदा सबै उडान रोकिन गएको बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणले गुणको जहाजमा प्राविधिक समस्या आउँदा चार दिनदेखि उडान रोकिएको जनाएको छ । २०७८ को असोज देखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले हाल काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको थियो । गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।

कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

पाल्पा । घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक मान्दै ग्राहकले खरिद गर्दछन् । ग्राहकको मनै लोभ्याउने बुट्टा भरेर बनाइएका सामग्री आवश्यकता परिपूर्तिका लागि मात्र नभई घर तथा कोठा सजावट गर्न घरेलु सामग्रीमै ग्राहक लोभिन्छन् । पाल्पाको रामपुरमा हाल सञ्चालित व्यापार मेलामा हस्तकलाका सामग्रीप्रति ग्राहकको आकर्षण बढेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा दैनिक हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड देखिन्छ । बजारमा झट्ट उपलब्ध नहुने भएकाले ग्राहकले मेलामा आफूले खोजेको सामग्री पाइएपछि उत्साहित हुँदै खरिद गर्ने गरेको रामपुरका स्थानीय व्यापारी मणि भट्टराईले बताए । ‘घरेलु उत्पादन भनेपछि ग्राहकले हेर्ने नजर बेग्लैछ, हिजोआज घरेलु उत्पादन कम हुँदै गएको छ, यहाँ रोजी रोजी सामग्री लिन पाइएको छ, यसमै ग्राहकलाई सन्तुष्टि मिलेको छ’, उनले भने । कलात्मक स्वरुप दिएर घरेलु सामग्रीबाट उत्पादन भएका सामग्री ग्राहकको रोजाइमा परेका छन् । पाल्पा कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला अवलोकन गर्न पुगेका दर्शकले आकर्षक मान्दै सामग्री खरिद गर्ने गरेका छन् । घरेलु उत्पादन, कारागारका कैदीबन्दीको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किनमेल गरेर फर्कने गरेका छन् । यहाँ मुढा, ढँकिया, नाम्लो, नाङ्लो, ठेकीलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । कारागारका कैदीबन्दीले उत्पादन गरेको सामग्री घरेलु तथा साना उद्योग कार्यालयमार्फत प्रोत्साहन गर्दै व्यवसायी बालकृष्ण अर्यालले सामग्री खरिद गरी मेलामा बिक्री गगर्छन् । कार्यालयले कक्षको व्यवस्था गरेपछि धेरै सजिलो भएको व्यवसायी अर्याल बताउँछन् । पाल्पाको तानसेनस्थित सुजन जनरल स्टोर्सका सञ्चालकसमेत रहेका अर्यालले कारागारमा कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला महोत्सव तथा पसलबाटै बिक्री गर्दै आएका छन् । यहाँको मेलामा घरेलु उत्पादनका सामग्री भएकाले टिकाउ र गुणस्तरीय, हेर्दै आकर्षक रहेको हुँदा राम्रै व्यापार भइरहेको अर्याल बताउँछन् । ‘घरेलु सामग्रीको महत्व बुझ्नेले खोजी खोजी किनेर लैजाने गर्नुहुन्छ’, उनले भने, ‘मेलामा दैनिकजसो व्यापार बढ्दै गएको छ, बजारमा पछिल्लो समय घरेलु उत्पादन कम पाइने भएकाले पनि मेलामा आउने व्यक्तिले घर सजावट तथा दैनिक प्रयोगका लागि सामग्री खरिद गरिरहनुभएको छ ।’ मेलामा प्रति मुढा न्यूनतम ३ सय ५० देखि सात सय रुपैयाँसम्म, नाङ्लो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म, जुटको नाम्लो एक सय रुपैयाँ, ठेकी आठ सय रुपैयाँ, मादल दुई हजार पाँच सय रुपैयाँ र बेतको ढँकिया एक सय रुपैयाँ मूल्य कायम गरिएको छ । मेला सुरु अवधिदेखि नै हस्तकलाका सामग्रीमा ग्राहकको आकर्षण बढिरहेको छ । हस्तकलाका सामग्री गुरुङ, मगर, राई, लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा धेरै खपत हुने गरेको व्यवसायी अर्यालको अनुभव छ । कोभिड–१९ भन्दा अघि पाल्पामा उत्पादन भएको हस्कलाका सामग्री चीनमा समेत निर्यात गरिँदै आएकामा कोरोना महामारीमा सामग्री खपत हुन छाडेको उनले बताए । एक वर्षमा कारागारमा रहेका कैदीबन्दीबाट तयार भएका विभिन्न सामग्री गरी २० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरी अन्यत्र बिक्री वितरण भइरहेको अर्यालले जानकारी दिए । उनको तानसेनस्थित पसलमा हस्तकलाका सबैजसो सामग्री, सिलौटो, खैजडी, गिटार, मादललगायत वाद्यवादनका सामग्री उपलब्ध छन् । करिब तीन दशकदेखि तानसेनमा हस्तकलाका सामग्रीको व्यापार गर्दै आएका अर्यालले गाउँघरमा पाइने विभिन्न सामग्री प्रयोग गरी हातले तयार पारेका सामग्री खोज्ने ग्राहक पछिल्लो समय बढ्दै गएको बताउँछन् । कारागारमा रहेका करिब तीन सय ५० कैदीबन्दीले ती सामग्री उत्पादन गरेका हुन् । लुम्बिनी प्रदेशका सबै जिल्लासहित अन्य जिल्लामा पनि सामग्री खपत भइरहेको छ । हाल यहाँको मेलामा नाम्लो ग्राहकको मागअनुसार पुर्याउन सकिएको छैन । स्थानीय सामग्रीबाट उत्पादन भएका सामग्रीलाई प्रवद्र्धन गर्दै उत्पादन बढाएर आयस्रोत वृद्धि गर्ने गरी कार्यालयले मेलामा कक्षका लागि व्यवसायीलाई प्रोत्साहनस्वरुप सहयोग गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देवीराम भण्डारी बताउँछन् । स्थानीय उत्पादनमा कार्यालयले जोड दिँदै खरिद बिक्रीमा व्यवसायीलाई प्रोत्साहन दिँदैआएको उनको भनाइ छ । रासस

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् । शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताए । उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन् । उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् । ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ, कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ, डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन्, बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन, जग्गा बेचेको छ, ऋण लिएको छ, घर जग्गा यी कुराहरु केही पनि होइनन्, पढाइका अगाडि घर, जग्गा केही होइनन्, आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पती हो, छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ, स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन, शिक्षा व्यापार भएको छ, पहिला त्यस्तो थिएन, पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो, गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो, अब अहिले पैसा नभइ केही पनि हुँदैन, आर्यघाटमा जल्न त महंगो भइसक्यो, कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ,’ उनले भनिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् । उनले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गरिन् ।

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनी बताउँछन् । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ । लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिख पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबीचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन रादानीबाट सुरु गरिएको यो अभियान विस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उनले बताए । ‘अब सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने छैन । समय र टोकन लिई बुक गरेको समयमा कार्यालयमा आएर आफ्नो काम गरेर जान सक्ने छन्’, उनले भने । कार्य सहजताका लागि वाणिज्य बैंकको काउन्टर बिदाको दिन पनि खोल्ने र सेवाग्राहीले आफूले पाएको समयमा मात्र गर्न सकिनेसमेत कार्यालयले जनाएको छ । रासस