विकासन्युज

गुण एयरको जहाज ग्राउण्डेड, आईतबारदेखि उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयर चार दिनदेखि ग्राउण्डेड भएको छ । ७ थान जेट स्ट्रीम विमानबाट आन्तरिक उडान गर्दै आएको गुणले जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको जनाएको छ । एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको बताउँछन् । ‘हाम्रो जहाजमा केही प्राविधिक समस्या देखियो, आवश्यक पास्र्टहरु विदेशबाट ल्याउनुपर्दा समय लागेको हो, पास्र्टहरु आउने क्रममा छन्, आईतबारदेखि नियमित उडान सुरु गर्ने हाम्रो तयारी छ’, उनले भने । उनले जहाजमा प्राविधिक समस्या आउनु र क्यापटेनहरुलाई तालिम दिनु एकै समयहुँदा सबै उडान रोकिन गएको बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणले गुणको जहाजमा प्राविधिक समस्या आउँदा चार दिनदेखि उडान रोकिएको जनाएको छ । २०७८ को असोज देखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले हाल काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको थियो । गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।

कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

पाल्पा । घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक मान्दै ग्राहकले खरिद गर्दछन् । ग्राहकको मनै लोभ्याउने बुट्टा भरेर बनाइएका सामग्री आवश्यकता परिपूर्तिका लागि मात्र नभई घर तथा कोठा सजावट गर्न घरेलु सामग्रीमै ग्राहक लोभिन्छन् । पाल्पाको रामपुरमा हाल सञ्चालित व्यापार मेलामा हस्तकलाका सामग्रीप्रति ग्राहकको आकर्षण बढेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा दैनिक हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड देखिन्छ । बजारमा झट्ट उपलब्ध नहुने भएकाले ग्राहकले मेलामा आफूले खोजेको सामग्री पाइएपछि उत्साहित हुँदै खरिद गर्ने गरेको रामपुरका स्थानीय व्यापारी मणि भट्टराईले बताए । ‘घरेलु उत्पादन भनेपछि ग्राहकले हेर्ने नजर बेग्लैछ, हिजोआज घरेलु उत्पादन कम हुँदै गएको छ, यहाँ रोजी रोजी सामग्री लिन पाइएको छ, यसमै ग्राहकलाई सन्तुष्टि मिलेको छ’, उनले भने । कलात्मक स्वरुप दिएर घरेलु सामग्रीबाट उत्पादन भएका सामग्री ग्राहकको रोजाइमा परेका छन् । पाल्पा कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला अवलोकन गर्न पुगेका दर्शकले आकर्षक मान्दै सामग्री खरिद गर्ने गरेका छन् । घरेलु उत्पादन, कारागारका कैदीबन्दीको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किनमेल गरेर फर्कने गरेका छन् । यहाँ मुढा, ढँकिया, नाम्लो, नाङ्लो, ठेकीलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । कारागारका कैदीबन्दीले उत्पादन गरेको सामग्री घरेलु तथा साना उद्योग कार्यालयमार्फत प्रोत्साहन गर्दै व्यवसायी बालकृष्ण अर्यालले सामग्री खरिद गरी मेलामा बिक्री गगर्छन् । कार्यालयले कक्षको व्यवस्था गरेपछि धेरै सजिलो भएको व्यवसायी अर्याल बताउँछन् । पाल्पाको तानसेनस्थित सुजन जनरल स्टोर्सका सञ्चालकसमेत रहेका अर्यालले कारागारमा कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला महोत्सव तथा पसलबाटै बिक्री गर्दै आएका छन् । यहाँको मेलामा घरेलु उत्पादनका सामग्री भएकाले टिकाउ र गुणस्तरीय, हेर्दै आकर्षक रहेको हुँदा राम्रै व्यापार भइरहेको अर्याल बताउँछन् । ‘घरेलु सामग्रीको महत्व बुझ्नेले खोजी खोजी किनेर लैजाने गर्नुहुन्छ’, उनले भने, ‘मेलामा दैनिकजसो व्यापार बढ्दै गएको छ, बजारमा पछिल्लो समय घरेलु उत्पादन कम पाइने भएकाले पनि मेलामा आउने व्यक्तिले घर सजावट तथा दैनिक प्रयोगका लागि सामग्री खरिद गरिरहनुभएको छ ।’ मेलामा प्रति मुढा न्यूनतम ३ सय ५० देखि सात सय रुपैयाँसम्म, नाङ्लो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म, जुटको नाम्लो एक सय रुपैयाँ, ठेकी आठ सय रुपैयाँ, मादल दुई हजार पाँच सय रुपैयाँ र बेतको ढँकिया एक सय रुपैयाँ मूल्य कायम गरिएको छ । मेला सुरु अवधिदेखि नै हस्तकलाका सामग्रीमा ग्राहकको आकर्षण बढिरहेको छ । हस्तकलाका सामग्री गुरुङ, मगर, राई, लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा धेरै खपत हुने गरेको व्यवसायी अर्यालको अनुभव छ । कोभिड–१९ भन्दा अघि पाल्पामा उत्पादन भएको हस्कलाका सामग्री चीनमा समेत निर्यात गरिँदै आएकामा कोरोना महामारीमा सामग्री खपत हुन छाडेको उनले बताए । एक वर्षमा कारागारमा रहेका कैदीबन्दीबाट तयार भएका विभिन्न सामग्री गरी २० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरी अन्यत्र बिक्री वितरण भइरहेको अर्यालले जानकारी दिए । उनको तानसेनस्थित पसलमा हस्तकलाका सबैजसो सामग्री, सिलौटो, खैजडी, गिटार, मादललगायत वाद्यवादनका सामग्री उपलब्ध छन् । करिब तीन दशकदेखि तानसेनमा हस्तकलाका सामग्रीको व्यापार गर्दै आएका अर्यालले गाउँघरमा पाइने विभिन्न सामग्री प्रयोग गरी हातले तयार पारेका सामग्री खोज्ने ग्राहक पछिल्लो समय बढ्दै गएको बताउँछन् । कारागारमा रहेका करिब तीन सय ५० कैदीबन्दीले ती सामग्री उत्पादन गरेका हुन् । लुम्बिनी प्रदेशका सबै जिल्लासहित अन्य जिल्लामा पनि सामग्री खपत भइरहेको छ । हाल यहाँको मेलामा नाम्लो ग्राहकको मागअनुसार पुर्याउन सकिएको छैन । स्थानीय सामग्रीबाट उत्पादन भएका सामग्रीलाई प्रवद्र्धन गर्दै उत्पादन बढाएर आयस्रोत वृद्धि गर्ने गरी कार्यालयले मेलामा कक्षका लागि व्यवसायीलाई प्रोत्साहनस्वरुप सहयोग गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देवीराम भण्डारी बताउँछन् । स्थानीय उत्पादनमा कार्यालयले जोड दिँदै खरिद बिक्रीमा व्यवसायीलाई प्रोत्साहन दिँदैआएको उनको भनाइ छ । रासस

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् । शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताए । उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन् । उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् । ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ, कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ, डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन्, बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन, जग्गा बेचेको छ, ऋण लिएको छ, घर जग्गा यी कुराहरु केही पनि होइनन्, पढाइका अगाडि घर, जग्गा केही होइनन्, आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पती हो, छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ, स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन, शिक्षा व्यापार भएको छ, पहिला त्यस्तो थिएन, पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो, गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो, अब अहिले पैसा नभइ केही पनि हुँदैन, आर्यघाटमा जल्न त महंगो भइसक्यो, कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ,’ उनले भनिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् । उनले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गरिन् ।

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनी बताउँछन् । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ । लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिख पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबीचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन रादानीबाट सुरु गरिएको यो अभियान विस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उनले बताए । ‘अब सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने छैन । समय र टोकन लिई बुक गरेको समयमा कार्यालयमा आएर आफ्नो काम गरेर जान सक्ने छन्’, उनले भने । कार्य सहजताका लागि वाणिज्य बैंकको काउन्टर बिदाको दिन पनि खोल्ने र सेवाग्राहीले आफूले पाएको समयमा मात्र गर्न सकिनेसमेत कार्यालयले जनाएको छ । रासस

टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड

काठमाडौं । टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड पाएको छ । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपी’ले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड पाएको हाे । एक सय २५ सिसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको जनाइएको छ । स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको दाबी गरिएको छ । भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डुनट डिस्टर्बजस्ता फिचरहरू उपलब्ध रहेको उल्लेख छ । योे भोइस असिस्ट फिचरलाई टिभिएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटीले सपोर्ट गरेको जनाइएको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्युलइन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपिएमका साथ १०.२ पिएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । तीन बल्ब सिभिटिआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले टिभिएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो रहेको बताए । ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई आत्मसात् गरेकाले नै अवार्ड प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

काठमाडौं । भारतबाट पेट्रा्लियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएर पठाएको निगमले जनाएको हो । आईओसीले १६ फेब्रअरीमा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने भएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ । यसअघि गत माघ २३ गते आईओसीले मूल्य बढाएर पठाएको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । हरेक १५ दिनमा नयाँ मूल्य कायम गर्ने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरसनको सम्झौता छ ।

बाँकेको बैजनाथ गाउँपालिका कृषि पर्यटनको गन्तव्य बन्दै

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको बताए । गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि दृश्वालोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन् । ‘पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ’, खत्रीले भने । वैजनाथ गाउँपालिका–१ चिसापानीका वडाध्यक्ष रुपबहादुर मल्लले गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम अघि बढेको जानकारी दिए । उनले करिब दुई किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम बाँकी रहेको उल्लेख गर्दै सडक निर्माणको काम सुरु हुन लागेको बताए । ‘यस क्षेत्रको छुट्टै पहिचान छ, यसलाई पर्यटनसँग जोडेर पर्यटकलाई भित्र्याउन सकिन्छ’, उनले भने । वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि दृश्यावलोकन गर्न सकिने बताए । सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका अनुसार सो सडक निर्माण अघि बढाउन लुम्विनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्टाइएको छ । मानसरोबर उद्यानका लागि १० लाख रुपैयाँ मात्रै छुट्टाइएको र अर्को आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राखिने बताइएको छ । गाभरमा सडक निर्माण भएपछि पदयात्राका लागिसमेत महत्वपूर्ण कदम हुने स्थानीय बासिन्दा बताउँछन् । गाभरमा रहेको लायन्स उद्यान तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको छ । कोहलपुर नजिकैको चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ । रासस

राष्ट्रियताको रक्षाका निम्ति अग्रपङ्क्तिमा छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताएका छन् । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसित आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताए । सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उनको अडानले मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो । भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाका गरगहना लुट्नुका साथै चार जनाको हत्या गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । साथै अन्य जिल्लामा पनि गरगहना लुटपाटका घटना घटेको र महिला असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो ।