विकासन्युज

पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन । यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए । यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधु सन्तको लागि हंस मण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ता चप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत मिलाइएको छ । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ता चप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गरिने छ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्षको शिवरात्रिमा शान्ति सुरक्षा व्यवस्थापनका लागि एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन् । मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । मारवाडी समाजको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम आज सम्पन्न हुँदैछ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा बिहीबार बिहान प्रभात फेरी कार्यक्रम गरिएको थियो । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज बिहान पशुपतिको पश्चिम द्वारबाट पशुपति विकास कोषका पदाधिकारी, कर्मचारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, नागरिक समाजका अगुवा, विद्यार्थी तथा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रभात फेरीमा सहभागी भएका थिए । रासस

गाँजाबाट जुत्तादेखि कोटसम्म, लाखौं आम्दानी गरेर भक्तपुरमा जोडे जग्गा

काठमाडौं । तपाईं हामीले प्रहरीले गाँजा (हेय) खेती नष्ट गर्याे भन्ने समाचार बेला बेलामा सुन्दै आएका छौं । गाँजालाई नेपालमा लागू औषधको रूपमा लिइने भएकाले पनि प्रहरीले यलाई बेला–बेलामा नष्ट गर्छ । गाँजाको विषयलाई लिएर विभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट यसको बैधानिकताको विषयमा पनि तर्क वितर्क हुने गरेको छ । कतिपयले गाँजालाई औषधीको रूपमा लिन्छन् त कतिपयले यसलाई सेवनको रूपमा प्रयोग गर्छन् । गैर कानुनी भएकोले पनि हो यसको खेलआम रुपमा खरिदबिक्री हुँदैन । गाँजोको प्रयोग गर्ने मान्छेलाई प्रहरीले ‘अन दि स्पट’ पक्राउ गर्छ । भनिन्छ नि सदुपयोग गर्न जाने अमृत दुरुपयोग गरे विष । हो, कतिपय मानिसहरु गाँजाकै सेवन गरेर बिग्रेका छन् भने कतिपयले यसको सदुपयोग गरेर घरखर्च मात्रै चलाएका छैनन् जीवनलाई सम्वृद्ध पनि बनाएका छन् । गाँजाको सदुपयोग गरी बाजुराका खडकसिंह बोगटीले लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेश बुढीगंगा नगरपालिका वडा नं. ४ घर भएका बोगटी गाँजाकै कपडा सामानहरु उत्पादन गरेर एक सफल उद्यमीको रूपमा परिचित छन् । बोगटी गाउँमा हुँदा उनकी आमाले गाँजाको धागो बनाइ कम्मरमा तान लगाइ कपडा बुन्थिन् । सो कपडा उनका बुबा बजारमा लगेर धानसँग साट्थे । र, त्यही धानबाट उनको घरपरिवारको गुजारा चल्थ्यो । सानैदेखि हस्तकलाका सामाग्री घरमा उत्पादन भइरहेको देखेका बोगटीलाई सोही किसिमका सामाग्री उत्पादन गर्नु कुनै गाह्रो कुरा थिएन । स्थानीय सीप र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले उनले गाउँमै वि.सं. २०५१ सालमा कोसेली घर सञ्चालनमा ल्याए । र, उनले बाजुराको चिनो स्वरुप गाँजाबाट निर्मित कपडाहरू बेच्न थाले । बोगटीले अल्लोका कपडा बनाउने काम पनि सँगसँगै अगाडि बढाए । उनलाई त्यत्तिले मात्रै पुगेन । साना तथा घरेलु उद्योग नै स्थापना गरेर काम गर्ने उनको दृढ इच्छा थियो । तर, उद्योग खोल्ने पैसा भएन । पैसा कमाउने सिलसिलामा बोगटी छिमेकी देश भारतमा काम गर्न गएको स्मरण गर्छन् । ‘केही समय बोगटीले भारतमा गएर काम गरेँ, भारतमा बस्दा खर खर्च टार्दै लगभग ५ लाख रुपैयाँ जम्मा गरेँ, पछि गाउँमै फर्केर केही गर्नु पर्छ भन्ने महसुस भयो, बचत गरेको ५ लाख रुपैयाँले बुढीगंगा नगरपालिकामा सुदूरपश्चिम हेण्डिक्राफ्ट उद्योग सञ्चालन गरँे, सुरुमै नगरपालिकाको ९ वटै वडाका ९ जनालाई रोजगारी पनि दिएँ,’ उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने । सबै वडामा एक एक जनालाई रोजगार दिएपछि स्थानीय तहबाट केही सहयोग मिल्छ भन्ने आशामा आफु रहेको उनी बताउँछन् । उनले स्थानीय कच्चा पदार्थ संकलन गर्दै हस्तकलाका सामान उत्पादन गर्दै उद्योग सञ्चालन गरे । उत्पादन बढ्दै गयो ।उत्पादनले बजार लिन थाल्यो तर त्यसको उपभोग गर्ने बजारको भने समस्या देखिन थाल्यो । उत्पादन गरेको सामानले बजार नपाएपछि बोगटीले काठमाडौंमा आफ्नो उद्योग सार्ने निर्णय गरे । बोगटीले अहिले बुढानीलकण्ठ नगरपालिकामा हिमालयन हेण्डिक्राफ्ट उद्योग सञ्चालन गरिरहेका छन् । बोगटीले गाँजाको मात्र हैन अल्लो, जुट, सनपाट, केरा, भेस्को र ह्याम लगायतका हस्तकलाका सामाग्री पनि बनाउँछन् । ‘हस्तकलाका सामाग्री हातबाट तयार गर्नुपर्ने हुन्छ, त्यसैले पनि सामानको मूल्य थोरै महँगो पर्न जान्छ, तर हामीले बजारमा धेरै मार्जिन नराखीकन उपलब्ध गराइ रहेका छौं,’ उनले भने । उनले अहिले स्थानीय तहले दिने विभिन्न सीपमुलक तालिमहरुमा पुगेर प्रशिक्षणको काम पनि गर्छन् । लाखौंको आम्दानी, विदेश पनि निर्यात बोगटीले बुढानीलकण्ठ हस्तकलाको सामान बनाउन थालेको १६ वर्ष भयो । उनले सो ठाउँमा बसेर आफूले उत्पादन गरेको हस्तकलाको सामान स्वदेशमा मात्र हैन विदेशमा समेत निर्यात गर्दै आइरहेका छन् । गाँजाबाट निर्मित हस्तकलाको सामानको माग विदेशी बजारमा समेत उच्च रहेको बोगटी बताउँछन् । बोगटीले प्रत्यक्ष १३ देशमा र अप्रत्यक्ष २६ देशमा हस्तकलाका सामाग्री पठाउँदै आएका छन् । बोगटीले देशभरका विभिन्न जिल्लाबाट कच्चा पदार्थ संकलन गरी गाँजाका कपडाहरूको उत्पादन गर्छन् । ‘गाँजा ओसार पोसारमा सरकारले रोक लगाएको छ, दुर्गम ठाउँ अथवा टाढाबाट यसका कच्चा पदार्थ ल्याउनु पर्ने हुन्छ, त्यसलाई सहज तरिकाले ल्याउन पाइँदैन, त्यसैले हामी त्यसलाई अल्लो भनेर ल्याउँछौं र सोही अनुरूप बन कार्यालयले सिफारिस गरिदिन्छ, अनि ल्याइन्छ,’ उनले मुस्कुराउँदै भने । बोगटीको आम्दानी अर्डरमा भर पर्छ । जति धेरै अर्डर त्यति धेरै आम्दानी । बोगटी कहिले धेरै कहिले थोरै अर्डर आउने बताउँछन् । बोगटीका अनुसार उनको वार्षिक आम्दानी ४० लाख रुपैयाँ हुन्छ । बोगटीले अहिले ६० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । भक्तपुरमा जोडे जग्गा बैंकबाट ऋण नलिई सञ्चालन भएको उद्योग बिरलै पाइन्छ । अहिले उद्योग मात्र होइन सायद ऋण नलिएका मान्छे पाउन समेत मुस्किल छ । तर, अचम्मको कुरा, बोगटीले हालसम्म बैंकबाट ऋण नलिएरै आफ्नो उद्योग सञ्चालन गरेका छन् । बैंकबाट ऋण नलिएर उद्योग सञ्चालन गर्ने पनि उद्योगी हुन्छ र ? बैंकबाट ऋण नलिई उद्योग कसरी चल्छ ? भन्नेहरूका लागि बोगटी एक उदारहरणी पात्र बनेका छन् । उद्योग सानो भएर पनि ऋणको आवश्यकता नपरेको हुन सक्ने उनी बताउँछन् । उनले बैंकबाट ऋण लिने जमर्को भने नगरेका पनि होइनन् तर, उनलाई बैंकको ब्याजको डर छ । अहिले बैंकको ऋण लिन पनि डर छ, ब्याज उच्च छ, पछि उच्च ब्याजकै कारण उद्योगमा समस्या आउला भन्ने डर छ, हामी जस्तो साना उद्योगीलाई बैंकले पत्याउँदैन, पत्याए पनि पक्रिया धेरै झन्झट छ, बैंकले ऋण दिए कसले लिन चाहँदैन र, ऋण दिए उद्योगको विस्तार गरी अझै धेरै रोजगारी सिर्जना गर्न सकिन्थ्यो,’ उनले भने । बोगटीले उद्योगबाट उत्पादित सामान काठमाडौंको विभिन्न ठाउँमा उपलब्ध छन् । उत्पादन गरेको सामान बेच्ने शाखा पनि रहेको बोगटी बताउँछन् । बोगटीले उद्योगमै आम्दानीबाट केही समय अगाडि भक्तपुरमा जग्गा पनि जोडेका छन् ।

आजको मौसम : केही भू–भागमा आंशिक बदली

काठमाडौं । आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

काठमाडाैं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा. सुनिल केस्वानी, डा. सन्दीप मिस्त्री र डा. अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एन्टिबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् । आज पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए । भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो । नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो । आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएकी थिइन् । हरिकलाको उपचारका क्रममा बिहीबार नै निधन भएको थियो । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया ठप्प

पर्वत । जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ। दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको हो । सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका बिरामीलाई शल्यक्रियाका लागि पोखरातर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ। शल्यक्रिया गर्ने एनेस्थेसियोलोजिस्ट चिकित्सक एक महिनाअघि सरुवा भएर छिमेकी जिल्ला बागलुङ गएपछि पर्वतमा महिनादिनदेखि बन्द भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डा बुद्धिबहादुर थापाले बताए। उनले शल्यक्रिया गर्नुपर्ने प्रसूति सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य भएको र अन्य सेवामा भने चौबिसै घण्टा सेवा दिन सकेको स्वीकार गरे। शल्यक्रिया सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक अन्यत्र सेवा सुविधा बढी पाएपछि गएको उनको भनाइ छ। जिल्लाभरि नै एक मात्र शल्यक्रिया सेवा शुरु गरेको जिल्ला अस्पताल पर्वतमा जिल्लाका पाँच गाउँपालिका तथा दुई नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिकजसो एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मासिक कम्तीमा पाँचदेखि सातजना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराएकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको छ । शल्यक्रिया सेवा शुरु भएको जानकारीको प्रचार गरिएपनि बन्द भएको जानकारी कसैलाई पनि दिइएको छैन। करार सेवाका लागि पुनः आवश्यकता खुलाउने तयारी भएकाले सेवा नभएको जानकारी नगराइएको डा थापाले बताए। ब्लड बैंकको समेत अभाव भएकाले शल्यक्रिया नियमित सञ्चालनमा समस्या छ । सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र शल्यक्रिया सेवा गरिएको भए पनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्ति पनि सम्पर्कमा राख्न नसकिएको उनको भनाइ छ। जिल्ला अस्पताल पर्वतले बिरामीलाई दिने सेवामा समेत गुनासो आउने गरेको छ । शल्यक्रिया सेवा शुरु भएपछि अहिलेसम्म ३५ भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक अस्पतालमा छ। रासस

ग्लोबल आइएमईको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि शुक्रबार बिक्री प्रक्रिया बन्द गरिने भएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आज फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित, यस्तो छ पदाधिकारी टिम

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले ९६२ तथा लामिछानेले ३५६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, नारायण घर्तीले ७५१, मर्यादा विष्ट ६७५ र धर्म गिरीले ५०१ मत ल्याएर निर्वाचित भए । महासचिवमा नरेश रोकाया ७३३ मत प्राप्त ल्याएर विजय भएका छन् । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् । अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी २ वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र ३ आयोग (अनुशासन, लेखा र निर्वाचन)मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा १ हजार ५८८ प्रतिनिधि सहभागी थिए ।

नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता १ हजार ३१४ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले महिला लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी २ लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २ हजार ७६५.४२ रूपैयाँ कायम हुने गरी समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ४ हजार ७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बोनस सेयर समायोजन पश्चात् लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ३१४ रुपैयाँ घटेको हो । यस्तै, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ९२१.७४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।