विकासन्युज

पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो- पर्यटन प्रवद्र्धन गर्ने । तुलसीपुर-१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट देख्न सकिन्छ । त्यहाँबाट दाङका फाँट देख्न सकिन्छ । रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृश्य हेर्न जानेहरू धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भए पनि मोटरसाइकलमा जाँदा धुलाम्मे हुने अवस्था छ । पन्ध्रौँ-सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा पर्यटनको आकर्षणको केन्द्र हो । त्यहाँ अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक गरेर दुई सडकबाट छिल्लीकोट पुग्ने गरिन्छ । त्यहाँबाट सात किलोमिटर हिँडेपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने गरिन्छ । बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्र हुँदैछ । त्यो सडक कालोपत्र भएपछि भने पर्यटक सहजै छिल्लीकोट पुग्न सक्नेछन् । सोनापुर सिमेन्ट उद्योगले रिचेगोदेबाट चुनढुङ्गा ल्याउनका लागि खनेको सडकमा अहिले छिल्लीकोट पुग्ने गन्तव्य बनेको छ । तर निकै धुलाम्मे हुन्छ । बिजौरी, बेलझुण्डीबाट हिँडेको मान्छेको स्वरुप छिल्लीकोट पुग्दा अर्कै भइसक्छ । चिन्न पनि हाम्मे–हाम्मे पर्छ । मोटरसाइकल, स्कुटरमात्रै होइन, तुलसीपुरबाट धुलाम्मे हुँदै छिल्लीकोट अवलोकन गर्नेको सङ्ख्या पनि कम छैन । कोही बाटोमा सिमेन्ट उद्योगका टिपर भेटिए पनि रोकेर त्यसमै चढेर पुग्छन् भने छिल्लीकोट पुग्ने जो–कोही गाडी भेटिए पनि रोक्दै गाडीमा चढ्दै गर्छन् । बिजौरी, बेलझुण्डीबाट छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः छिल्लीकोट पुग्ने पर्यटकको घुइँचो लाग्ने गर्छ । छिल्लीकोट पुग्ने सडक कालोपत्र भएपछि सहजरूपमा आवतजावत हुनेछ । यसले पर्यटकको सङ्ख्यालाई थप वृद्धि गर्ने स्थानीय पूर्ण पुनले बताए । उनले भने, ‘सडक व्यवस्थित भएमा यहाँ पर्यटकको घुइँचो लाग्ने गर्छ ।’ पन्ध्रौँ-सोह्रौँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाउँको नाम धार्मिक शास्त्रअनुसार (मल्लागिरि), पर्वत हो । अर्थात छिल्लीकोटको प्राचीन नाम मल्लागिरि हो । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौँको उत्तरी भू-भागमा पर्दछ । छिल्लीकोटमा कालिका-मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ । मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले बताए । छिल्लीकोटबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहासिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुङ्गाका अवशेष पनि हेर्न सकिन्छ । त्यसले त्यहाँको जीवनस्तर पनि निकै माथि उठाएको छ । सुमुद्र सतहदेखि एक हजार चार सय १० मिटर रहेको छिल्लीकोट तुलसीपुर–१९ मा पर्छ । जुन रोल्पाको रुटीगढी गाउँपालिकाको सिमाना पनि पर्छ । त्यहाँ कालिका, मालिका, गणेशथान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, बुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्रचोक, टुँडिखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाह नायक बनी नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो । छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान बुटवल शासन गर्नका नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार, मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि मालपोत कार्यालय माल अड्डाले हेर्ने टुङ्गो लागेको थियो । त्यो माल अड्डा कार्यालय तत्कालीन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । विसं २००६ सम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाण अहिले पनि सुरक्षित छन् । अर्कातर्फ धार्मिकरूपमा संसारमा रहेका तीनवटा गिरिमध्ये पूर्णागिरि भारतमा पर्दछ । चन्द्रागिरि काठमाडौंमा पर्दछ भने मल्लागिरि दाङको छिल्लीकोटमा पर्दछ । यहाँ सतीदेवीको अङ्ग पतन भई कालिका मालिका देवी भगवती उत्पत्ति भएको विश्वास गरिन्छ । पछि छिल्ली राजाले देवकोटा ब्राह्मणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पूजाआजा गर्ने चलनको सुरुआत गरेका हुन् । राजाले भोटबाट लामा गुरु बोलाई बुद्ध ढुङ्गाको समेत पूजा चलाएको किंवदन्ती छ । पछि आएर विसं २००६ देखि २०२२ सम्म यहाँकै भगवतीले रुचाएर अमृता घर्तीमगरलाई ओलप्पाई माताका रूपमा प्रकट गरेको मानिन्छ । यिनै कुरा छिल्लीकोटका सुन्दरता हुन् । ऐतिहासिक र धार्मिक कुरालाई लिएर अहिले सङ्घीय, प्रदेश र स्थानीय तहले छिल्लीकोटलाई दाङकै एउटा प्रमुख पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । सोहीअनुसार बर्सेनि बजेट विनियोजन भइरहेको छ । करोडौँ बजेट छिल्लीकोटमा गएको छ । यो बजेटले काम पनि भइरहेको छ । त्यहाँका नागरिकको जीवनस्तर सुधार हुँदै गएको छ । ‘कुनै समय बिजौरीबाट पैदल हिँडेर छिल्लीकोट पुग्नुपर्ने अवस्था थियो’, स्थानीय ओमप्रकाश पुनले भने, ‘अहिले हिलाम्मे, धुलाम्मे जे भए पनि छिल्लीकोटमै सडक पुगेको छ, यसले निकै सहज भएको छ ।’ रासस

नवलपरासीमा दूध उत्पादक किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो । अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’, उनले भनिन्, ‘किसानलाई प्रोत्साहान गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।’ उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने अध्यक्ष पाण्डेको भनाइ छ । गत आव २०७८÷७९ मा दुई सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको छ ।  गत वर्ष किसानले दुई लाख ५४ हजार दुई सय ३५ रुपैयाँ  प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए। ‘गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले ३० हजार २६ लिटर दूधको जम्मा एक लाख ५० हजार एक सय ३० रुपैयाँ र साना किसान कृषि सहकारी संस्थाले २० हजार आठ सय २१ लिटर दूधको एक लाख चार हजार एक सय पाँच रुपैयाँ अनुदान लगेका छन्’, उनले भने । यस वर्ष गत वर्षको भन्दा धेरै दूध उत्पादन हुने र अनुदान पाउने किसानको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको अध्यक्ष पाण्डेले बताइन् । ‘हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादमा आत्मनिर्भर बनाउने लक्ष्यानुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्’, उनले भनिन्, ‘गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा दूध उत्पादन कम भएको छ ।’ किसानको पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसान नयादत्त गौतमले बताए। सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ । दूधमा अनुदान पाउनुभएका किसान जीवन लम्सालले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । हुप्सेकोट गाउँपालिकाले पशु बीमाअन्तर्गत कृषकले तिर्ने प्रिमियममा ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । रासस

३ हजार ऋण नतिरे कालोसूचीमा, कृषि विकास बैंकका यी १५ ग्राहकले साँवाको दोब्बर तिर्नुपर्ने

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकको सिलगढी कार्यालयबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र सावाँ, ब्याज लगायतको रकम दाखिला गर्न आग्रह गरेको हो । यदि ३५ दिनभित्र कर्जा लिएर हालसम्म चुक्ता नगरे कालोसूचीमा राख्ने बताएको छ । बैंकले बारम्बार मौखिक, लिखित तथा कर्जा बुझाउन ताकेता गरेको र यसपटक पनि आलटाल गरे कालोसूचीमा राख्ने भएको हो । मष्टा कृषि तथा पशुपक्षी फर्मले लिएको १० लाख रुपैयाँ कर्जाको ब्याजसहित ११ लाख ४७ हजार ६३५ रुपैयाँ चुक्ता गर्न चम्फा देवी जोशी र नरेन्द्र राज जोशीलाई आग्रह गरेको हो । यस्तै, ललिता वाखपालन फर्मका प्रोपराइटर तथा धितो मन्जुरीनामा दिने प्रकाश बहादुर विष्ट र जितबहादुर विष्टको ७ लाख रुपैयाँ साँवाको ९ लाख २९ हजार ६९ रुपैयाँ रकम दाखिला गर्न बैंकले आग्रह गरेको छ । यस्तै, व्यक्तिगत कर्जा लिने ऋणीहरु शेर बहादुर भुलको ४४ हजार १० रुपैयाँ साँवाको ८९ हजार ५५ रुपैयाँ, दिपेन्द्र बहादुर कठायतको १७ हजार ५५० रुपैयाँ साँवाको ३० हजार ५५० रुपैयाँ, नरुली देवी के.सीेको २५ हजार ७०३ रुपैयाँ साँवाको ३९ हजार ८३ रुपैयाँ, अनिता दमाईको ३४ हजार ३३ रुपैयाँ साँवाको ६६ हजार ६९८ रुपैयाँ र बल बहादुर दमाईको ३९ हजार ७८९ रुपैयाँ साँवाको ९० हजार ५५ रुपैयाँ चुक्ता गर्नुपर्नेछ । यस्तै, विर बहादुर खड्काको ४९ हजार ९७३ रुपैयाँ साँवाको १ लाख २२ हजार ९२१ रुपैयाँ, सुशिला दासको ४४ हजार ९६८ रुपैयाँ साँवाको १ लाख ५ हजार २५७ रुपैयाँ, शिवराज गहतराजको ३६ हजार ३७३ रुपैयाँ साँवाको ६२ हजार ३६६ रुपैयाँ, कैलाश दमाईको १९ हजार ७४३ रुपैयाँ साँवाको २९ हजार ४४७ रुपैयाँ र लक्ष्मी कुमारी कठायतको ३ हजार २८३ रुपैयाँ साँवाको ५ हजार ७०९ रुपैयाँ रकम चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ । यस्तै, पदम बहादुर विष्टको ४९ हजार ९६६ रुपैयाँ साँवाको १ लाख २४ हजार २८७ रुपैयाँ, नरबहादुर विष्टको ४९ हजार ९६६ रुपैयाँ साँवाको १ लाख २४ हजार २८७ रुपैयाँ, दानी दमाईको ४९ हजार ९४८ रुपैयाँको १ लाख १६ हजार ८६२ रुपैयाँ, भोटु दमाईको १२ हजार २३१ रुपैयाँ साँवाको २१ हजार २०२ रुपैयाँ र बिर बहादुर विष्टको २९ हजार ६६९ रुपैयाँ साँवाको ६२ हजार २२३ रुपैयाँ चुक्ता गर्नुपर्नेछ । यी १५ जनाले युवा स्वरोजगारका लागि व्यक्तिगत कर्जा लिएका हुन् । माथि उल्लेखित कूल रकम माघ मसान्तसम्मको ब्याज जोडिएको छ ।

१३ वर्षदेखि लघु उद्यम सङ्घर्ष, सहकारीबाट ऋण लिएर उद्योग व्यवस्थापन गर्ने योजना रोकियो

काठमाडौं । घरेलु तथा साना उद्योग सञ्चालनका सुख र दुःखको कथा यामबहादुर भुजेलसँग लामो छ । बागलुङको बडिगाड गाउँपालिकाका–१ तुम्डाँडाका भुजेलको उद्यम सङ्घर्षमा धेरै उतारचडाव आयो । वैदेशीक रोजगारी, र होटल व्यवसायबाट अघाएका भुजेलले १३ वर्षदेखि खर्बाङ चिउरी हर्बल साबुन उद्योग सञ्चालन गर्दै आएका छन् । साना उद्योगमा सञ्चालनमा आफूले जति दुःख अरुले नभोगेको बताउँदै भुजेलले उचित लगानी र निरन्तरता भएमा घरेलु उद्योगमा राम्रो कमाई हुने बताए । विदेशी सामग्री र पशुको बोसो प्रयोग गरेर बनाएको साबुनभन्दा स्थानीय जडिबुटीबाट बनेका उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न निकै समस्या भएको झुजेल बताउँछन् । भुजेलले स्थानीय च्यूरीको घ्यूसहित जडिबुटीको प्रयोगबाट उत्पादन गरिएको खर्बाङ चिउरी हर्बल साबुन पछिल्लो स्थानीयको रोजाइमा पर्न थालेको बताउँदै लघु उद्यम सञ्चालनमा निरन्तरता पाउन सकेमा मात्रै फाइदा पुग्ने अनुभव सुनाए । ‘लघु उद्यममा मैले जति दुःख अरुले कमै गरे होलान र, रोजगारीका लागि भारत गए, त्यसपछि आएर पसल तथा होटल सञ्चालन गरे, पछि लघु उद्यम विकास कार्यक्रमअन्र्तगत समूहको अध्यक्ष बनेर उद्योग स्थापना गर्याँै, उद्योगले तत्कालै नाफा दिने अवस्थामा थिएन, सबै लगानी ममार्फत नै भइरहेको थियो, समूहका अन्य ९ जनाले उद्योगबाट हात झिके,’ भुजेलले भने, ‘अहिले उद्योगलाई एकल स्वामित्वमा यो अवस्थामा ल्याएको उत्पादन गर्न सके बिक्री नहुने चिन्ता छैन, ठूलो लगानी गर्न नसक्दा उतपादन थोरै छ, लागतमा २० प्रतिशत नाफा कमाई हुन्छ, अहिले बजार व्यवस्थापनको जिम्मा जीवन काउचाले लिएका छन् ।’ उनले लघु उद्योगमा फाइदाभन्दा बढी चुनौती रहेको भन्दै साबुन उद्योगमा हालसम्म १२ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताए । जिल्ला लघु उद्यमी समूह सङ्घको जिल्ला अध्यक्षसमेत रहेका भुजेलले लघु उद्यम सञ्चालन र निरन्तरताका लागि सरकारको साथ आवश्यक रहने बताए । सहकारीबाट ऋण लगेर उद्योग व्यवस्थापन गर्ने योजना बनाए पनि आर्थिक सङ्कटका कारण उनको योजना स्थगन भएको छ । उनले अहिले बजारमा खर्बाङ चिउरी हर्बल साबुनको माग बढ्दै गए पनि कच्चा पदार्थको आयातमा समस्या हुँदा उत्पादनमा ह्रास आएको बताए । ‘गाउँकै जङ्गलमा चिउरी उत्पादन हुन्थ्यो, स्थानीयले बिक्रीका लागि आफ्नो उद्योगमै ल्याउने गर्दथे, अहिले स्थानीय जङ्गल जान छोडे, हिमाली जिल्लाबाट चिउरीको घ्यूको आयात गर्न थालिएको छ, स्थानीय जडिबुटी प्रयोग गरेर उत्पादन गरेको साबुनको फाइदा धेरै छ, स्थानीयले साबुनको महत्त्वसमेत बुझ्दै आएका छन्,’ लघु उद्यम कर्ता भुजेलले भने, ‘अझै उद्योगका लागि लगानीको अभाव छ, परिवारको समस्याका कारण लगानी थप्ना नसक्दा समस्यामा छु, अहिले वार्षिक ६ देखि ७ लाखसम्मको साबुन उत्पादन गरेर बिक्री गर्दै आएको छुु, साबुन उत्पादनभन्दा प्याकेजिङको समस्या छ, त्यसैले बजारीकरणको जिम्मा अर्कैलाई सुम्पेको छु ।’ बजारमा पशुको बोसोबाट उत्पादन भइरहेको साबुनलाई प्रतिस्पर्धा गर्न जडिबुटी साबुनले नसक्दा साबुन उद्योगले समस्या झेलिरहेको भए पनि उद्योगलाई थप परिमार्जनसहित निरन्तरता दिने योजना बनाएको भुजेलले बताए । अहिले भुजेलले उत्पादन गरेका हर्बल साबुनको बागलुङ बजारका जीवन काउचाले बजारीकरण गर्दै आएका छन् । ५२ वर्षका भुजेलले सामूहिक लगानीमा उद्योग सञ्चालनमा समस्या आएपछि निजीकरण गरेका थिए । खर्बाङ चिउरी हर्बल साबुन उद्योग २०६७ सालमा दर्ता गरेर सञ्चालन गर्दै आइएको हो । साबुन स्थानीय चिउरीको घ्यूसँगै अन्य जडिबुटीको समिश्रणबाट बनेको छ । साबुनको प्रयोगबाट छाला चर्केको, फुटेको सन्चो गराउने, छालालाई मुलायम बनाउने र घाउ, खटिरा र लुतोलगायतका रोगबाट छुटकारा पाइने भुजेलको भनाइ छ । ५ लाखबाट शुरु भएको साबुन उद्योगबाट आएको नाफाले परिवारको शिक्षा दिक्षा गर्न सकिएको भुजेलको भनाइ छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि राज्यले नीति ल्याउन आवश्यक रहेको खर्बाङ चिउरी हर्बल साबुनको बजारीकरण गर्दै आएका जीवन काउचाले बताए । उनले उपभोक्ताले स्थानीय सामग्रीको छनौटमा ध्यान दिन सके बजारको अभाव नरहने बताउँदै आर्युवेद साबुन कोरिया र जापान निर्यात गर्न सकिने बताए । ‘प्याकेजीङमा ठूलो खर्च छ, अहिले प्याकेजीङलाई केही परिमार्जन गरेका छौँ, कोरीया र जापान पुगेका नेपालीले साबुन मगाइ राख्नुभएको छ,’ काउचा मगरले भने, ‘अब भुजेलले उत्पादन गर्ने र मैले बजारीकरण गर्ने हो, उत्पादनलाई बढाउँदै व्यापकरुपमा साबुनको निर्यात गर्न आवश्यक छ ।’ पुँजी वृद्धिका लागि निरन्तररुपमा विभिन्न निकायमा पहल गरिरहेको उद्यमी भुजेलले बताए ।

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी ३ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३१०.४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ३२६ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, ङादी ग्रुप पावरको ४.५७ प्रतिशत बोनस सेयरमूल्यमा समोायजन भएको हो । नेप्सेले प्रतिकित्ता २६३.४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रतिकित्ता २७६ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, स्वावलम्बन लघुवित्तको १५ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएर प्रतिकित्ता ९८२.६१ रुपैयाँ कायम भएको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

डिप्रोक्स लघुवित्तले १:१ स्वाप रेसियोमा आदर्शलाई गाभ्ने, तोक्यो साधारणसभा र बुक क्लोज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ८ गते बसेको बैठकले फागुन ३० गते होटल सेभेन स्टार सौराह चितवनमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.५२६३२ प्रतिशत नगद लाभांश गरी कूल २१.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेकोमा बोनस सेयर वितरणपश्चात् १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुनेछन् । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १९ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२१ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आदर्श लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ८ गते बसेको बैठकले फागुन ३० गते गौतम रिसोर्ट बनेपा काभ्रेमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेकोमा बोनस सेयरपश्चात् २ करोड ४८ लाख ४० हजार रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुनेछन् । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १६ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ । रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको माग अनुसार पुन: थप स्रोतको व्यवस्था गरिएको हो । रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउनुहुँदै अबिलम्ब आवश्यक प्रकृया सुरु गर्न आग्रह  गरेका थिए ।