विकासन्युज

मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिता हुँदै

काठमाडौं । कराओके इन्टरटेनमेन्टले मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिताको आयोजना गर्न लागेको छ । राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवालाई सक्षम बनाउन यो कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ । कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए । संस्थाका प्रमुख सल्लाहकार पूर्व एसएसपी दीपक रञ्जितले आफू राष्ट्र निर्माणमा लागेका व्यक्तिहरूको साथमा रहेको बताए । पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफीमा हुन लागेको यो प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमण्डल ललितपुरमा र अन्तिम प्रतिस्पर्धा होटल यलो प्यागोडामा हुने भएको छ । रोजिन शाक्यको ग्रुमिङ्ग सेसन तथा अन्य विज्ञबाट विभिन्न विधाको तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा नेपाली र अंग्रेजी भाषामध्ये कुनै भाषाको छनोट गरी निर्णायकका प्रश्नको जवाफ दिनसक्ने प्रावधान राखिएको छ ।

‘विभिन्न आश्वासनमा जबरजस्ती ऋण लिए, असुली गर्दा अनेक दुःख पाए’

काठमाडौं । लघुवित्तले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवा शुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहार लगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ । काठमाडौँमा आयोजना गरेको ‘सङ्कटमा लघुवित्त : कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे । सिराहाकी पुनम कुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताइन् । लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाइ छ । ‘सानो व्यवसाय शुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो, नियमित किस्ता तिर्न सकिनँ, लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ’, उनले भनिन। लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उनको भनाइ छ । त्यस्तै, सिराहा देवीपुरका श्याम कुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताइन् । ‘मैले १ लाख रुपैयाँ ऋण लिँदा ८५ हजार रुपैयाँ मात्रै पाएँ, शुरुमै १५ हजार रुपैयाँ सेवा शुल्क भनेर काट्यो, हरेक महिना १० हजार रुपैयाँका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन, थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्यो’, उनले भनिन् । रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताइन् । ‘मिटरब्याजीले खाली चेक मागेर साढे ४ लाख ऋण दियो तर, उसले खाली चेकमा ११ लाख भरेर असुल्न खोज्यो, मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ, पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले’, कार्कीले भनिन्। अहिले आफू ६/७ वटा लघुवित्त कम्पनीको ऋणी रहेको उनको भनाइ छ । लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताइन् । सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आफू समस्यामा परेको बताइन्। ‘अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ, जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो ?’, प्रश्न गर्दै उनले भनिन् लघुवित्तले विभिन्न आश्वासन दिएर जबरजस्ती ऋण दिने गरेको र असुली गर्दा अनेक दुःख दिने गरेको काभ्रेपलाञ्चोकको पनौतीकी प्रिया खत्रीको भनाइ छ । ‘म ऋण लिन गएको होइन, उनीहरू आफैँ आउँछन्, अनेक लोभ देखाएर जबरजस्ती ऋण भिराए, मलाई १ लाख ऋण दिने भनेकोमा ८५ हजार मात्रै हात पर्यो’, उनले भनिन्। के भन्छन् नियामक र सरोकालवाला ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवती प्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताउछन् । ‘लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या होऽ यो एकैचोटि अहिले मात्रै देखिएको होइन’, उनले भने । लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताए । ‘अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ, लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन’, उनले भने, ‘राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको छ, लघुवित्त संस्था स्वशासनमा बस्नुपर्छ, लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभ केन्द्रित भए, केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ, अहिले बजारमा देखिएको तरलता सङ्कटका कारण पनि लघुवित्तमा समस्या भएको हो ।’ लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौँ संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ । एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ । लघुवित्त कम्पनीहरूले कर्जा प्रवाह सजिलै गर्ने तर असुलीमा कडाइ गर्ने गर्दा ऋणीलाई त्यसले समस्यामा पारेको पनि नेपालले बताए। लघुवित्त संस्थाहरू आफ्नो सिद्धान्त र अवधारणाभन्दा बाहिर काम गर्न थालेपछि समस्या देखिएको त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा बताउछन् । लघुवित्त संस्था सामाजिक पूँजी निर्माणमा कमजोर हुँदै गएको र नाफामा मात्रै बढी केन्द्रित हुन थालेको उनको भनाइ छ । ‘जहाँ सामाजिक पूँजी स्खलन हुन्छ, त्यहाँ लघुवित्तको हाम्रो मोडलले काम गर्दैन । नेपालको लघुवित्त मोडलले आपसी सद्भाव, सदाचारिता, सहकार्यसहितको सामाजिक पूँजी निर्माण हो भन्छ । तर संस्थाहरू नाफामुखी हुँदै गएर त्यो मोडल नै बिर्सिंदै गए,’  थापाले भने । लघुवित्तको अवधारणा पैसा लगानी गर्ने र नाफा आर्जन गर्ने भन्ने मात्र नभई यसले सामाजिक सद्भाव र भाइचारा कायम गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ । अहिले लघुवित्त क्षेत्रमा समस्या देखिनु भनेको समाजमा भाइचारा र सम्बन्ध बिग्रेको रूपमा बुझ्नुपर्ने उनले बताए । त्यस्तै, सुदखोर, महाजन, मिटरब्याजी, सहकारी र लघुवित्त कम्पनीका समस्या सबै एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ छ । लघुवित्तका कर्मचारीले ऋणीमाथि ज्यादती गरेको पनि उनले बताए । समुदायमा अर्काको हित चिताएर आपसी उन्नयनका लागि काम गर्न लघुवित्त कम्पनी स्थापना गरिएको भए पनि अहिले लघुवित्त कम्पनीहरूले ऋणीलाई पैसा दिने र असुल गर्ने मात्रै जानेको उनको भनाइ छ । लघुवित्त सङ्घ नेपालका अध्यक्ष जगत पोखरेलले कुनै लघुवित्तले ऋणीलाई दुःख दिएको भए त्यसका लागि नियामकीय निकाय राष्ट्र बैंकले कारबाही गर्न सक्ने बताए । तर ऋणी आन्दोलित भएर समस्याको समाधान नहुने उनको भनाइ छ । ‘कुनै कम्पनीले बदमासी गरेको भए त्यसका लागि कारबाहीको तरिका छ, कानून आफ्नो हातमा लिएर मात्रै समस्या समाधान हुँदैन’, उनले भने । नेपालमा लघुवित्तले गरेको लगानी मोडलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको उनको भनाइ छ । ‘धेरै लघुवित्त भएर हो वा धेरै समस्या भएर हो, अहिले केही लघुवित्त कम्पनीका ऋणी आन्दोलनमा हुनुहुन्छ, समूहमा लगानी गर्ने लघुवित्तको मोडलबारे छलफल गर्नुपर्ने देखिएको छ,’  उनले भने । लघुवित्त कम्पनीहरूले आफ्ना ऋणीलाई व्यवसाय गर्न ऋण परिचालन गर्ने र उत्पादनमा लगानी गरेर बजारको समेत सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । यसो गर्दा न्यून ब्याजदर कायम गर्न सकिने पनि पोखरेलको भनाइ छ । लघुवित्त कम्पनीले आफ्नो सिद्धान्त र अवधारणाअनुसार काम गर्न नसकेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन पन्त बताउँछन् । त्यस्तै, वित्तीय साक्षरता नहुँदा ऋणी मर्कामा पर्ने गरेको पनि उनको भनाइ छ । ‘समाजमा रहेको चरम गरिबीबाट पार पाउन स-सानो पूँजी लगानी गरेर त्यसलाई उत्पादनसँग जोड्न सक्नुपर्छ  तर, उनीहरूको उद्देश्य र काममा तालमेल नै मिलेको छैन’, उनले भने । लघुवित्त कम्पनीले थोरै नाफा लिएर सामाजिक कार्य बढी गर्नुपर्ने पनि उनको भनाइ छ । लघुवित्तबाट ऋणीले लिएको ऋणले उत्पादनलाई सघाउनुपर्ने पन्तको भनाइ छ । ‘ऋण लिएर उत्पादनमा लगाइएन भने त्यसले प्रतिफल दिँदैन, लघुवित्तले त कुनै व्यवसायमा लाग्न प्रेरित गर्ने हो र व्यवसायबाट आएको नाफाले ऋण तिर्ने हो’, पन्तले भने, ‘कुनै लघुवित्त कम्पनीले नियम विपरित काम गरेको पाइएमा नियामक नेपाल राष्ट्र बैंकले कारबाही गर्न सक्नुपर्छ ।’ त्यस्तै, ऋणीले लिएको ऋण कहाँ परिचालन भयो भनेर पनि हेरिनुपर्ने उनले बताए । ‘व्यवसाय गर्नका लागि दिइएको पैसाले ऋणीले कुनै वस्तुको उत्पादनमा लगाएको छ वा छैन भनेर स्वयं लघुवित्तले नै हेर्नुपर्छ । कर्जाको सदुपयोग गरिएन भने हामी गरिबीको दुश्चक्रमा पर्छौं’, उनले भने । रासस

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन बुटवलमा, विजेताले १ करोड पुरस्कार पाउने

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै भारतको सिलिगुरीमा हुने भएको छ । जसअनुसार बुटवलमा फागुन १० गते हुने तय भएको हो ।  यस्तै सिलिगुरीमा फागुन १४ र १५ गते दमकमा फागुन २० र २१ गते र काठमाडौँमा फागुन २७ र २८ गते हुनेछ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौँमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्ने नियम बनाइएको छ । त्यस बाहेक मेरो डान्स यूनिभर्सको संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनपर्ने आयोजकले जनाएको छ । ‘मेरो भ्वाइस यूनिभर्सुको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान  छन् । साथै मेरो डान्स यूनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार मेरो भ्वाइस यूनिभर्सका विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, मेरो डान्स यूनिभर्सको विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै डान्स यूनिभर्सको सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गरेका हुन् । सोक्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ ।’ धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं ४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।

डेढ लाखसम्मको करुवा बनाउँछन् शाक्य, विदेशमा पनि निर्यात

काठमाडौं । करुवाको लागि प्रसिद्ध ठाउँ हो संखुवासभाको चैनपुर । त्यही करुवा बनाई आफ्नो व्यवसाय अगाडि बढाउन व्यस्त छन् कनक शाक्य । शाक्यले करुवा बनाउन थालेको ४ दशक बढी भयो । चैनपुरे करुवा नामले मात्र होइन मूल्यका हिसाबले पनि उत्तिकै महँगो छ । करुवा पहिला पानी पिउनको लागि प्रयोग गरिन्थ्यो । अहिले उक्त कुरुवालाई घरमा सजाउनको लागि खरिद गर्ने अभ्यास छ । चैनपुरमा पाइने जस्ता करुवा अहिले विभिन्न ठाउँमा उत्पादन हुन्छन् । तर, चैनपुरमा निर्माण भए जस्तो गुणस्तरीय करुवा अन्य ठाउँमा नबन्ने शाक्य बताउँछन् । चैनपुरे करुवा शुद्ध काँसबाट तयार हुन्छ । शाक्यले हस्तकला केन्द्र नामक उद्योग खोलेका छन् । उक्त उद्योगबाट नै करुवाको उत्पादन हुन्छन् । त्यही करुवा बनाएर उनको दैनिकी बित्छ । लामो समयको अनुभवलाई मिसाउँदै शाक्य बुढेसकालमा पनि युवाको झै जोसका साथ काम गर्छन् । शाक्यको उद्योगमा कुरुवा मात्र नभई पानस, अन्ती, वाइकप, सुकुण्डा, बटुका र लोटा लगायतका सामाग्री बन्छन् । चैनपुरमा कुरुवा बनाउने उद्योग शाक्यको मात्रै छ । त्यसैले पनि माग बढी भएकोले शाक्यलाई करुवा बनाउन भ्याइनभ्याई हुन्छ । पुख्र्यौली पेशा अपनाएका शाक्य दिनभर करुवा बनाउनमै व्यस्त हुन्छन् । शाक्यका अनुसार एउटा करुवा बनाउन तीन महिना लाग्छ । ‘कुरुवा बनाउन सहज छैन, निकै मिहिनेत लगाउनु पर्छ, जोखिम पनि उतिकै छ, एउटा करुवा र सय वटा करुवा बनाउन पनि समय तीन महिना समय नै लाग्छ, एउटा मात्रै भन्दा सयौं संख्यामा करुवा बनाउँदा फाइदा हुन्छ,’ उनले भने । अहिले चैनपुरमा तयार भएका कुरुवा विदेशसम्म निर्यात हुन्छन् । तर, शाक्य आफैले भने निर्यात गदैनन् । उनीबाट उत्पादित बस्तुको खरिद गरेर अरूले निर्यात गर्ने शाक्य बताउँछन् । शाक्यको उद्योगमा कुरुवाको माग देश भरबाट आउँछ । उनले धेरै जसो सामान अर्डर अनुसार पनि तयार गर्ने गर्छन् । अर्डर आयो भने डेलिभरी देशभर गर्दै आएको उनी बताउँछन् । उनका अनुसार युरोपियन देशमा करुवाको निर्यात हुन्छ । चैनपुरमा जस्तो अन्य ठाउँमा करुवाको उत्पादन नहुने पनि शाक्य दाबी गर्छन् । ‘अन्य जिल्लामा पनि नबन्ने होइन, सबै ठाउँमा बन्छ, तर चैनपुर जस्तो बन्दैन, अरू तिर करुवा बनाई बाहिरबाट रङ्ग दल्छन्, यहाँ निर्मित करुवा शुद्ध काँसबाट तयार हुने भएकाले हेर्दै आकर्षक देखिन्छ, बजारमा पाइने करुवा नक्कली हो, त्यो पित्तलबाट बनेको हुन्छ,’ उनले भने । करुवा बनाउँदा कर्मचारी राखेर काम गर्न नमिल्ने शाक्य बताउँछन् । नजानेका मान्छेलाई काममा राख्यो भने करुवा बिग्रने डरले कर्मचारी राख्न नमिल्ने उनको तर्क छ । उनले हालसम्म कर्मचारी राखेका छैनन् । बरु उनी आफै दिनरात खटेर काम गर्छन् । एउटै करुवाको मूल्य डेढ लाख शाक्यले उक्त पेशा अपनाएपछि हजारौं करुवा बिक्री गरिसकेका छन् । उनका अनुसार एउटा करुवाको मूल्य एक हजार रुपैयाँदेखि डेढलाखसम्म पर्छ । करुवाको मूल्य केजी अनुसार निर्धारण हुने उनको भनाइ छ । शाक्यका अनुसार एक केजी बराबर करुवाको मूल्य ६ हजार रुपैयाँ पर्छ । जति बढी केजी र आकर्षक करुवा तयार गरिन्छ, त्यति नै बढी महँगो पर्न जाने शाक्य बत्ताउँछन् । ‘ठूलो करुवा छ भने त्यसलाई केजीले होइन, गोटाको हिसाबले शाक्य बेच्ने गरेको छु,’ उनले भने । ठूलोमा १०/१२ केजी सम्मको एउटा करुवा तयार पार्न सकिने पनि शाक्य बताउँछन् । करुवा हातैले तयार गर्नुपर्ने भएकाले पनि यसको मूल्य बढ्न गएको हो । डेढ लाख मूल्यका १५ वटा करुवा बनाएर बेचेको पनि शाक्य सुनाउँछन् । उच्च मूल्यका कुरुवा बनाउनको लागि जोखिम पनि धेरै मोल्नु पर्ने शाक्यको भनाइ छ । शाक्यका अनुसार ४० हजारसम्मको करुवा माग उच्च छ ।

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । उनले भने, ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’, उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने स्थितितिर जाँदैन ।’ ‘वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन’, उनले भने । विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए । आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।

दीक्षित विद्यार्थी भन्छन् : देशमै अवसर देऊ

पोखरा । स्याङ्जाका सुशील पंगेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका उनी सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए । पंगेनीले व्यवस्थापन संकायतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिएका उनले नेपालमै केही गर्ने सोच रहेको सुनाए । पंगेनीको पहिलो रोजाइ भने बैंकिङ सेवा हो । ‘राष्ट्र बैंकका लागि लोकसेवा तयारी गरिरहेको छु’, उनले भने, ‘विदेश जाने त्यस्तो कुनै सोच बनाएको छैन, सरकारी सेवामा पनि जागिरको अवसर छ, त्यसमै लागिरहेको छु ।’ उच्च शिक्षा हासिल गरेका विद्यार्थीका लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने पंगेनीले बताए । उनले दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण सिर्जना गर्ने मुख्य दायित्व सरकारको रहेको बताए । उपयुक्त वातावरण र रोजगारीको अवसर पाए कोही पनि नेपालीले विदेश ताक्नु नपर्ने उनको भनाइ छ । उनले झैँ अधिकांश दीक्षित विद्यार्थीले लोकसेवा पढेर सरकारी जागिरमा प्रवेश गर्ने इच्छा रहेको सुनाए । काठमाडौँकी श्रिया रिजाल पनि व्यवस्थापन विषयमै स्नातकोत्तर हुन् । उनले पनि बैंकिङ, परराष्ट्र सेवाजस्ता क्षेत्रमा अवसर खोजिरहेको बताइन् । ‘अवसर पाएसम्म विदेश किन जाने ?, यहीँ बस्ने वातावरण सरकारले बनाउनुपर्छ’, उनले भनिन् । उच्च शिक्षा पढेर पनि जागिर नपाउने स्थितिको अन्त्य गर्नुपर्ने रिजालले बताइन् । स्वास्थ्य विज्ञान संकायतर्फ फर्मास्यूटिकल साइन्समा स्नातक पोखरा–७ का जगदिश पौडेलले रोजगारी सिर्जनाका लागि स्वास्थ्य पूर्वाधारमा राज्यले लगानी बढाउनुपर्ने बताए । ‘औषधि उत्पादन, वितरणदेखि धेरै विषयहरू योसँग जोडिएको छ’, उनले भने, ‘सरकारले स्वास्थ्य संस्थामा रोजगारीको कोटा पनि थप्नुपर्छ, त्यो भयो भने हामीले पनि अवसर पाउँछौँ ।’ प्राविधिक विषयमा ठुलो शैक्षिक जनशक्ति उत्पादन भइरहे पनि नेपालले टिकाउन नसकेको पौडेलले बताए । ‘पढाइमा परिवारको ठुलो लगानी परिरहेको हुन्छ, शैक्षिक उपाधि लिन उस्तै मेहनत गर्नुपर्छ, तर रोजगारीको सुनिश्चितता छैन’, उनले भने, ‘भविष्यको खोजीमा बाहिर जानु नेपालीको बाध्यता हो ।’ उनले राजनीतिक नेतृत्व र राज्य संयन्त्रले शैक्षिक जनशक्तिको पलायनलाई रोक्न उचित नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । व्यवसाय प्रशासनमा स्नातक चितवनकी आस्था मगर पनि लोकसेवाको तयारीमा छन् । उनलाई पनि राष्ट्र बैंकको जागिरे बन्ने ठुलो रहर छ । ‘जागिरको तयारीसँगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु, विदेश जाने कुनै सोच अहिलेसम्म छैन, पाएसम्म नेपालमै अवसर खोज्ने हो, नत्र विकल्प त अपनाउनै पर्छ’, उनले भने, ‘मेरो परिवारको पनि सरकारी जागिरमै बढी जोड छ ।’ देशमै काम गर्ने उपयुक्त वातावरण भए विदेश जानै नपर्ने मगरले बताए । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शैक्षिक जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताए । दीक्षान्त समारोहमा उनले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे । ‘शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन’, उपकुलपति प्राडा अर्यालले भने । उनले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीहरूलाई राष्ट्रनिर्माण र परिवर्तनको संवाहकका रुपमा काम गर्न आग्रह गरे । ‘आर्जित ज्ञान र सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ’, उनले भने । विसं २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयहरूमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको छ । दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उतीर्ण विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षित गरेका हुन् । रासस

प्रदेशको सामर्थ्य बढाउने एकमात्र लक्ष्य : मुख्यमन्त्री अधिकारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकाे बताए । अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको जिसस ( जिल्ला समन्वय समिति)जस्तो हुने जनाउँदै उनले कर्मचारी समायोजनमा अझै पनि समस्या रहेको टिप्पणी गरे । संघीय सरकारले सयौँ टुक्रे योजना आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको उनकाे भनाइ थियाे ।  निजी क्षेत्रसँग मिलेर पुँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उनले बताए । कालीगण्डकी ‘डाइभर्सन’को विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ? उत्तरगङ्गा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’ संघीय सरकारका विभिन्न कानुनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको जनाउँदै उनले जग्गाप्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको प्रष्ट पारे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पुँजीको लागत कम गर्नुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्रमैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । पुँजीगत खर्च बढाउन, भौतिक पूर्वाधार निर्माणलाई गति दिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धनका लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे। उनले बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए ।