विकासन्युज

उच्च करदाता सदस्यहरुलाई परिसंघले गर्यो सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये ८ जना नेपाल उद्योग परिसंघका सदस्यहरु छन् । राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आर्थिक वर्ष २०७७÷७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग प्रा.लि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस प्रा.लि., कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी. फुड्स एण्ड फिड्स प्रा.लिलाई परिसंघले सम्मान गरेको हो । यसैगरी बैंक वित्तीय संस्थाको कारोवार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रा.लि., रेमिटेन्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रा.लि.लाई परिसंघले सम्मान गरेको छ । साेमबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने परिसंघका सदस्यहरुलाई सम्मान गरे । उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए । ‘उच्च करदाता हुनु व्यक्तिगत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको छ, आगामी वर्षमा समेत परिसंघ सदस्यहरु सरकारबाट सम्मानित हुँदै जाने विश्वास छ,’ उनले भने । कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्नुभएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले कोभिड महामारी, तरलताको अभाव, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए । कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, उपाध्यक्षहरु राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु सहभागी थिए ।

बैंकको भन्दा बढी ब्याज दिँदै राष्ट्र बैंक, ब्याजदर अझै नघट्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका बेला नेपाल राष्ट्र बैंकले अझै ब्याजदर नघट्ने संकेत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिरहेको ब्याजदर सरह नै राष्ट्र बैंकले बचतपत्रको ब्याजदर तोकेपछि अझै केही समय ब्याजदर नघट्ने संकेत देखिएको हो । राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो हो । राष्ट्र बैंकले ५ वर्षका लागि २ अर्ब ५० करोड रुपैयाँ बचतपत्र बिक्री खुला गर्ने भएको हो । जसको ब्याजदर ११.५० प्रतिशत तोकेको छ । राष्ट्र बैंकले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बिक्री खुला गर्नेछ । उक्त ऋणपत्र चैत ६ गते निष्काशन गर्नेछ भने २०८४ चैत ६ गते साँवा भुक्तानी गर्नेछ । राष्ट्र बैंकले वर्षमा कति ऋणपत्र बिक्री गर्ने भनेर योजना बनाएको हुन्छ । सोही अनुसार यसपटक उच्च ब्याजदरमा बचतपत्र बिक्री गर्न लागेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर तोकेका छन् भने ऋणपत्रमा ११.३० प्रतिशत मात्रै ब्याजदर तोकेका छन् । यसले गर्दा बजारमा नकारात्मक असर परेको जानकारहरु बताउँछन् । राष्ट्र बैंकले उच्च ब्याजदरमा बचतपत्र बिक्री गर्ने सूचना जारी गरेपछि सेयर बजारमा असर परेको लगानीकर्ता बताउँछन् । राष्ट्र बैंकले उच्च ब्याजदरमा बचतपत्र निष्काशन गर्ने भएपछि पुँजी बजार ओरालो लाग्न थालेको लगानीकर्ता अन्जिव तुलाधर बताउँछन् । राष्ट्र बैंकले बिक्री गर्ने बचतपत्रका कारण पुँजी बजारमा नकारात्मक असर परेको उनको भनाइ छ । बचतपत्रमा तोकिएको ब्याजदरका कारण नै पुँजी बजारका लागनीकर्तामा मनोवैज्ञानिक प्रभाव पारेको उनले बताए । ब्याजदर बढ्ने कुनै आधार नभएपनि राष्ट्र बैंकले भने घट्न नसक्ने संकेत गरेको उनको बुझाइ छ । ‘अब ब्याजदर बढ्ने कुनै आधार छैन, यो भन्दा बढी ब्याजदर उद्योगी व्यवसायीहरुले थेग्न सक्दैनन्, उनीहरु आन्दोलन गरिरहेका छन्, १८ प्रतिशतसम्म ब्याज तिरेर कुनै पनि उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘राष्ट्र बैंकले बजारको ब्याजदर अनुसार निर्धारण गरेको हुन सक्छ, यसले लगानीकर्तामा मनोवैज्ञानिक असर पारेको छ किनभने बजार २ दिन निरन्तर घटिसक्यो, लगानीकर्तामा ब्याजदर घट्दैन भन्ने लागेको छ, लगानीकर्ताले बचतपत्र खरिद नगरे पनि दिमागमा त्यसको असर परिरहन्छ ।’ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.६० अंकले घटेको छ । जुन राष्ट्र बैंकको बचतपत्रमा तोकिएको ब्याजदरका कारण घटेको लगानीकर्ताहरुको बुझाइ छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकाल सरकारले उच्च ब्याजदरमा पैसा उठाउनु भनेको दूरदर्शी नै रहेको बताउँछन् । यसरी सरकारले नै उच्च ब्याजदर निर्धारण गर्दा बैंकको ब्याजदर नघट्ने संकेत देखिएको बताए । ‘बजारमा पैसा छैन, तरलताको अभाव छ भन्ने संकेत गरेको हो, बैंक तथा वित्तीय संस्थाको पैसा बचतपत्रमा लगानी गर्छन्, बैंकमा लगानीयोग्य पुँजी कम भएपछि अनुत्पादक क्षेत्रमा लगानी गर्दैनन्, त्यसैले बढी ब्याज तोकेको हो, बैंक तथा वित्तीय संस्थाले डबल डिजिटमा लाभांश दिन सक्दैनन्, सरकारले १२ प्रतिशतसम्म दिएपछि आकर्षण बढ्छ,’ उनले भने । यस्तै, पूर्व बैंकर अनलराज भट्टराई राष्ट्र बैंकका पोलिसी रेट, ट्रेजरी बिलको रेट उच्च भएको हुँदा सरकारी बचतपत्र पनि बढेको हुन सक्ने बताए । दीर्घकालमा ब्याजदर घट्न नसक्ने संकेत राष्ट्र बैंकले गरेको उनको भनाइ छ । ‘साढे ११ प्रतिशतको ब्याजमा पैसा उठाउँदा ‘मनी मार्केट’ र अर्डिनरी लोन मार्केट महँगो छ भन्ने यसले संकेत गरेको हो, यो ब्याजदर उच्च भएको नै हो तर अहिलेको परिपक्षेमा साढे ११ प्रतिशत ब्याजदर भनेको सामान्य नै हो,’ उनले भने । सरकारको बचतपत्रमा नै यति धेरै ब्याजदर पाइने भएपछि बैंकको ऋणपत्रमा आकर्षण कम हुने उनको भनाइ छ । एसएलएफमा ऋण लिन ऋणपत्र कूल निक्षेपको १ प्रतिशत सीमा तोक्दा ब्याजदर बढेको हुन सक्ने उनले बताए । ब्याजदर तत्काल घट्न सक्ने संकेत भने नरहेको उनको भनाइ छ । यस्तै, पूर्व गभर्नर चिरञ्जिवी नेपाल राष्ट्र बैंकले बचतपत्रमा साढे ११ प्रतिशत ब्याजदर दिएर लगानीकर्तालाई आकर्षण गर्न खोजेको बताउँछन् । उनका अनुसार ब्याजदर उच्च भएपछि बचतपत्रमा सर्वसाधारणको आकर्षण बढ्छ । ‘राष्ट्र बैंकले ब्याजदर बढी दिएर आकर्षण गर्न खोजेको हो, बजारबाट रकम उठाउनका लागि बढी ब्याजदर दिएको हो, यसले दीर्घकालमा ब्याजदर नघट्न सक्ने संकेत राष्ट्र बैंकले दिएको हो,’ उनले भने । बैंकहरुको ऋणपत्रभन्दा बढी ब्याजदर राष्ट्र बैंकको बचतपत्रमा पाइने भएपछि लगानीकर्ताको आकर्षण बढ्ने उनले बताए । ‘जति वर्ष बढी अवधिको हुन्छ त्यहि अनुसार ब्याजदर निर्धारण हुन्छ, लामो अवधिका लागि धेरै ब्याजदर हुन्छ, ब्याजदर निर्धारण गर्दा वर्षले अर्थ दिन्छ, धेरै ब्याजदर भएको ऋणपत्र छिटो बिक्री हुन्छ,’ उनले भने । नेपालमा बचतपत्र बिक्री गर्ने चलन खासै कम रहेको उनले बताए । बचतपत्रबाट संकलित रकम ठूल्ठूला आयोजनामा लगानी गर्ने गरेको उनको भनाइ छ । विदेशमा सरकारले ठूला आयोजना निर्माण गर्न यस्तै बचतपत्र बिक्री गरेर रकम उठाउँछ ।

थाइ एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज, वार्षिक ३ अर्ब रुपैयाँ बाहिर जानबाट रोकियो

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । सोमबार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताएका हुन् । उनले आजको मितिदेखि थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको बताए । ‘थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको छ, अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा राेकिँदैन,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणको अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने उनले बताए । विमानस्थलका महाप्रबन्धक ठाकुरलाई घुस प्रकरणमा परेको थाइ स्माइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी रहेको छ । थाइ स्माइलले उडान संचालन सेवा दिएपनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्ध गरिएको प्राधिकरणले बताएको छ । साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको दिइने प्रावधान रहेको छ । विगतमा प्राधिकरणका महानिर्देशकले थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो । तर प्राधिकरणको सोमबारको निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकेको छ ।

नबिल बैंकले हरेक महिना आफ्नो कार्यालयमा महिला उद्यमीको स्टल राख्ने

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी भएकाे छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि उक्त साझेदारी भएकाे हाे । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए । यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ । समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बैंकले जनाएकाे छ । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने बैंक बताउँछ । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।

सिसिटिभीको सहायताबाट ४ हजार ३१४ जनालाई ट्राफिक प्रहरीले गर्यो कारवाही

काठमाडाैं । ट्राफिक प्रहरीले सात महिनामा सिसिटिभीको सहायताबाट चार हजार ३१४ जनालाई कारवाही गरेकाे छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको सिसिटिभी कन्ट्रोल रुमले तत्काल दिएको सुचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई काठमाडौँ उपत्यकाको बिभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो । जसमा साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना, पुषमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालकहरू रहेका छन् । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा रहेको सिसिटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् । ट्राफिक नियम उलंघन गरि फरार रहेका चालकलाई भने सिसिटिभी फुटेजका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले यातायात व्यवस्था कार्यालयबाट विवरण लिएर सवारी चालक वा धनिलाई कार्यालयमै बोलाएर कारबाही गर्दै आएको छ । प्रविधिमैत्री बन्दै गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन वि.सं. २०७४ सालबाट सिसिटिभी र वि.सं. २०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको छ ।

‘लघुवित्तको लाभांश वितरणमा कडाई गरे धेरै समस्या समाधान हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताएका छन् । सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताएका हुन् । नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागको पनि बताए ।  उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताए । ‘लघुवित्तका ३३ लाख बढी ऋणी छन्, वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन सकेन,’ उनले भने । यस्तै, उनले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताए । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे । ‘लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण छ, सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम लाग्दैन,’ उनले भने । उनले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी आग्रह गरेका छन् ।

संस्कृतिसहितको पर्यटन विकास आवश्यक : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धन’ विषयमा आयोजित अन्तक्र्रियामा उनले संस्कृतिसहितको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘संस्कृति, रैथाने ज्ञान र स्वादसहितको पर्यटन विकास गर्नुपर्छ, रैथाने स्वादलाई पर राखेर पर्यटन विकासको कल्पना गर्न सकिँदैन, हाम्रा होटल रेस्टुराँमा पनि नेपाली स्वाद पस्कने वातावरण बन्नुपर्छ, विदेशी परिकारको मात्र भर परेर पर्यटनको विकास हुँदैन ।’ पर्यटनमन्त्री किराँतीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवद्र्धनको रणनीति तयार गरिने उल्लेख गरे । उनले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने पनि जानकारी दिए । सातवटै सम्पदाको इतिहास र महत्वबारे आवश्यक जानकारीसहित ती क्षेत्रमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले सम्पदा बसयात्रा सुरु गर्न लागिएको उनको भनाइ छ । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेले नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि ‘टुरिज्म कूटनीति’ सम्भाव्यताको अध्ययन गरेर पर्यटन मन्त्रालयले नीतिगत योजना ल्याउन जरुरी भएको उल्लेख गरे। पूर्वराजदूत मधुरमण आचार्यले पर्यटनमा लगानी बढाएर सरकार र निजी क्षेत्रको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउनुपर्ने बताए । अर्का पूर्व राजदूत लक्की शेर्पाले एनआरएनएसँगको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धन गरिनुपर्ने सुझाए । कार्यक्रममा पूर्वराजदूतहरु दीपक धिताल, भीम उदास, डा अञ्जना शाक्यलगायतले पर्यटकीय पूर्वाधार विकास र प्रचुर सम्भावनाको सदुपयोग गरेर प्रवद्र्धन अभियान चलाइनुपर्नेमा जोड दिए ।

महालक्ष्मी विकास बैंकले गर्यो विद्यालय र टोल सुधार समितिलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्य गरेको हो । बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण गरेको छ । कक्षा एक देखि छ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराईरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीहरुको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुयाउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । त्यस्तै, बैंकको विजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडा नं २६ मा अवस्थित कडेनी प्रगती टोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण गरेको हो । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैकले जनाएको छ ।