१३ वर्षदेखि लघु उद्यम सङ्घर्ष, सहकारीबाट ऋण लिएर उद्योग व्यवस्थापन गर्ने योजना रोकियो

<p>काठमाडौं । घरेलु तथा साना उद्योग सञ्चालनका सुख र दुःखको कथा यामबहादुर भुजेलसँग लामो छ । बागलुङको बडिगाड गाउँपालिकाका–१ तुम्डाँडाका भुजेलको उद्यम सङ्घर्षमा धेरै उतारचडाव आयो । वैदेशीक रोजगारी, र होटल व्यवसायबाट अघाएका भुजेलले १३ वर्षदेखि खर्बाङ चिउरी हर्बल साबुन उद्योग सञ्चालन गर्दै आएका छन् । साना उद्योगमा सञ्चालनमा आफूले जति दुःख अरुले नभोगेको बताउँदै [&hellip;]</p>

काठमाडौं । घरेलु तथा साना उद्योग सञ्चालनका सुख र दुःखको कथा यामबहादुर भुजेलसँग लामो छ । बागलुङको बडिगाड गाउँपालिकाका–१ तुम्डाँडाका भुजेलको उद्यम सङ्घर्षमा धेरै उतारचडाव आयो ।

वैदेशीक रोजगारी, र होटल व्यवसायबाट अघाएका भुजेलले १३ वर्षदेखि खर्बाङ चिउरी हर्बल साबुन उद्योग सञ्चालन गर्दै आएका छन् । साना उद्योगमा सञ्चालनमा आफूले जति दुःख अरुले नभोगेको बताउँदै भुजेलले उचित लगानी र निरन्तरता भएमा घरेलु उद्योगमा राम्रो कमाई हुने बताए ।

विदेशी सामग्री र पशुको बोसो प्रयोग गरेर बनाएको साबुनभन्दा स्थानीय जडिबुटीबाट बनेका उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न निकै समस्या भएको झुजेल बताउँछन् । भुजेलले स्थानीय च्यूरीको घ्यूसहित जडिबुटीको प्रयोगबाट उत्पादन गरिएको खर्बाङ चिउरी हर्बल साबुन पछिल्लो स्थानीयको रोजाइमा पर्न थालेको बताउँदै लघु उद्यम सञ्चालनमा निरन्तरता पाउन सकेमा मात्रै फाइदा पुग्ने अनुभव सुनाए ।

‘लघु उद्यममा मैले जति दुःख अरुले कमै गरे होलान र, रोजगारीका लागि भारत गए, त्यसपछि आएर पसल तथा होटल सञ्चालन गरे, पछि लघु उद्यम विकास कार्यक्रमअन्र्तगत समूहको अध्यक्ष बनेर उद्योग स्थापना गर्याँै, उद्योगले तत्कालै नाफा दिने अवस्थामा थिएन, सबै लगानी ममार्फत नै भइरहेको थियो, समूहका अन्य ९ जनाले उद्योगबाट हात झिके,’ भुजेलले भने, ‘अहिले उद्योगलाई एकल स्वामित्वमा यो अवस्थामा ल्याएको उत्पादन गर्न सके बिक्री नहुने चिन्ता छैन, ठूलो लगानी गर्न नसक्दा उतपादन थोरै छ, लागतमा २० प्रतिशत नाफा कमाई हुन्छ, अहिले बजार व्यवस्थापनको जिम्मा जीवन काउचाले लिएका छन् ।’

उनले लघु उद्योगमा फाइदाभन्दा बढी चुनौती रहेको भन्दै साबुन उद्योगमा हालसम्म १२ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताए । जिल्ला लघु उद्यमी समूह सङ्घको जिल्ला अध्यक्षसमेत रहेका भुजेलले लघु उद्यम सञ्चालन र निरन्तरताका लागि सरकारको साथ आवश्यक रहने बताए । सहकारीबाट ऋण लगेर उद्योग व्यवस्थापन गर्ने योजना बनाए पनि आर्थिक सङ्कटका कारण उनको योजना स्थगन भएको छ ।

उनले अहिले बजारमा खर्बाङ चिउरी हर्बल साबुनको माग बढ्दै गए पनि कच्चा पदार्थको आयातमा समस्या हुँदा उत्पादनमा ह्रास आएको बताए ।

‘गाउँकै जङ्गलमा चिउरी उत्पादन हुन्थ्यो, स्थानीयले बिक्रीका लागि आफ्नो उद्योगमै ल्याउने गर्दथे, अहिले स्थानीय जङ्गल जान छोडे, हिमाली जिल्लाबाट चिउरीको घ्यूको आयात गर्न थालिएको छ, स्थानीय जडिबुटी प्रयोग गरेर उत्पादन गरेको साबुनको फाइदा धेरै छ, स्थानीयले साबुनको महत्त्वसमेत बुझ्दै आएका छन्,’ लघु उद्यम कर्ता भुजेलले भने, ‘अझै उद्योगका लागि लगानीको अभाव छ, परिवारको समस्याका कारण लगानी थप्ना नसक्दा समस्यामा छु, अहिले वार्षिक ६ देखि ७ लाखसम्मको साबुन उत्पादन गरेर बिक्री गर्दै आएको छुु, साबुन उत्पादनभन्दा प्याकेजिङको समस्या छ, त्यसैले बजारीकरणको जिम्मा अर्कैलाई सुम्पेको छु ।’

बजारमा पशुको बोसोबाट उत्पादन भइरहेको साबुनलाई प्रतिस्पर्धा गर्न जडिबुटी साबुनले नसक्दा साबुन उद्योगले समस्या झेलिरहेको भए पनि उद्योगलाई थप परिमार्जनसहित निरन्तरता दिने योजना बनाएको भुजेलले बताए । अहिले भुजेलले उत्पादन गरेका हर्बल साबुनको बागलुङ बजारका जीवन काउचाले बजारीकरण गर्दै आएका छन् ।

५२ वर्षका भुजेलले सामूहिक लगानीमा उद्योग सञ्चालनमा समस्या आएपछि निजीकरण गरेका थिए । खर्बाङ चिउरी हर्बल साबुन उद्योग २०६७ सालमा दर्ता गरेर सञ्चालन गर्दै आइएको हो । साबुन स्थानीय चिउरीको घ्यूसँगै अन्य जडिबुटीको समिश्रणबाट बनेको छ । साबुनको प्रयोगबाट छाला चर्केको, फुटेको सन्चो गराउने, छालालाई मुलायम बनाउने र घाउ, खटिरा र लुतोलगायतका रोगबाट छुटकारा पाइने भुजेलको भनाइ छ ।

५ लाखबाट शुरु भएको साबुन उद्योगबाट आएको नाफाले परिवारको शिक्षा दिक्षा गर्न सकिएको भुजेलको भनाइ छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि राज्यले नीति ल्याउन आवश्यक रहेको खर्बाङ चिउरी हर्बल साबुनको बजारीकरण गर्दै आएका जीवन काउचाले बताए । उनले उपभोक्ताले स्थानीय सामग्रीको छनौटमा ध्यान दिन सके बजारको अभाव नरहने बताउँदै आर्युवेद साबुन कोरिया र जापान निर्यात गर्न सकिने बताए ।

‘प्याकेजीङमा ठूलो खर्च छ, अहिले प्याकेजीङलाई केही परिमार्जन गरेका छौँ, कोरीया र जापान पुगेका नेपालीले साबुन मगाइ राख्नुभएको छ,’ काउचा मगरले भने, ‘अब भुजेलले उत्पादन गर्ने र मैले बजारीकरण गर्ने हो, उत्पादनलाई बढाउँदै व्यापकरुपमा साबुनको निर्यात गर्न आवश्यक छ ।’ पुँजी वृद्धिका लागि निरन्तररुपमा विभिन्न निकायमा पहल गरिरहेको उद्यमी भुजेलले बताए ।

Share News