विकासन्युज

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन बुटवलमा, विजेताले १ करोड पुरस्कार पाउने

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै भारतको सिलिगुरीमा हुने भएको छ । जसअनुसार बुटवलमा फागुन १० गते हुने तय भएको हो ।  यस्तै सिलिगुरीमा फागुन १४ र १५ गते दमकमा फागुन २० र २१ गते र काठमाडौँमा फागुन २७ र २८ गते हुनेछ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौँमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्ने नियम बनाइएको छ । त्यस बाहेक मेरो डान्स यूनिभर्सको संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनपर्ने आयोजकले जनाएको छ । ‘मेरो भ्वाइस यूनिभर्सुको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान  छन् । साथै मेरो डान्स यूनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार मेरो भ्वाइस यूनिभर्सका विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, मेरो डान्स यूनिभर्सको विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै डान्स यूनिभर्सको सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गरेका हुन् । सोक्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ ।’ धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं ४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।

डेढ लाखसम्मको करुवा बनाउँछन् शाक्य, विदेशमा पनि निर्यात

काठमाडौं । करुवाको लागि प्रसिद्ध ठाउँ हो संखुवासभाको चैनपुर । त्यही करुवा बनाई आफ्नो व्यवसाय अगाडि बढाउन व्यस्त छन् कनक शाक्य । शाक्यले करुवा बनाउन थालेको ४ दशक बढी भयो । चैनपुरे करुवा नामले मात्र होइन मूल्यका हिसाबले पनि उत्तिकै महँगो छ । करुवा पहिला पानी पिउनको लागि प्रयोग गरिन्थ्यो । अहिले उक्त कुरुवालाई घरमा सजाउनको लागि खरिद गर्ने अभ्यास छ । चैनपुरमा पाइने जस्ता करुवा अहिले विभिन्न ठाउँमा उत्पादन हुन्छन् । तर, चैनपुरमा निर्माण भए जस्तो गुणस्तरीय करुवा अन्य ठाउँमा नबन्ने शाक्य बताउँछन् । चैनपुरे करुवा शुद्ध काँसबाट तयार हुन्छ । शाक्यले हस्तकला केन्द्र नामक उद्योग खोलेका छन् । उक्त उद्योगबाट नै करुवाको उत्पादन हुन्छन् । त्यही करुवा बनाएर उनको दैनिकी बित्छ । लामो समयको अनुभवलाई मिसाउँदै शाक्य बुढेसकालमा पनि युवाको झै जोसका साथ काम गर्छन् । शाक्यको उद्योगमा कुरुवा मात्र नभई पानस, अन्ती, वाइकप, सुकुण्डा, बटुका र लोटा लगायतका सामाग्री बन्छन् । चैनपुरमा कुरुवा बनाउने उद्योग शाक्यको मात्रै छ । त्यसैले पनि माग बढी भएकोले शाक्यलाई करुवा बनाउन भ्याइनभ्याई हुन्छ । पुख्र्यौली पेशा अपनाएका शाक्य दिनभर करुवा बनाउनमै व्यस्त हुन्छन् । शाक्यका अनुसार एउटा करुवा बनाउन तीन महिना लाग्छ । ‘कुरुवा बनाउन सहज छैन, निकै मिहिनेत लगाउनु पर्छ, जोखिम पनि उतिकै छ, एउटा करुवा र सय वटा करुवा बनाउन पनि समय तीन महिना समय नै लाग्छ, एउटा मात्रै भन्दा सयौं संख्यामा करुवा बनाउँदा फाइदा हुन्छ,’ उनले भने । अहिले चैनपुरमा तयार भएका कुरुवा विदेशसम्म निर्यात हुन्छन् । तर, शाक्य आफैले भने निर्यात गदैनन् । उनीबाट उत्पादित बस्तुको खरिद गरेर अरूले निर्यात गर्ने शाक्य बताउँछन् । शाक्यको उद्योगमा कुरुवाको माग देश भरबाट आउँछ । उनले धेरै जसो सामान अर्डर अनुसार पनि तयार गर्ने गर्छन् । अर्डर आयो भने डेलिभरी देशभर गर्दै आएको उनी बताउँछन् । उनका अनुसार युरोपियन देशमा करुवाको निर्यात हुन्छ । चैनपुरमा जस्तो अन्य ठाउँमा करुवाको उत्पादन नहुने पनि शाक्य दाबी गर्छन् । ‘अन्य जिल्लामा पनि नबन्ने होइन, सबै ठाउँमा बन्छ, तर चैनपुर जस्तो बन्दैन, अरू तिर करुवा बनाई बाहिरबाट रङ्ग दल्छन्, यहाँ निर्मित करुवा शुद्ध काँसबाट तयार हुने भएकाले हेर्दै आकर्षक देखिन्छ, बजारमा पाइने करुवा नक्कली हो, त्यो पित्तलबाट बनेको हुन्छ,’ उनले भने । करुवा बनाउँदा कर्मचारी राखेर काम गर्न नमिल्ने शाक्य बताउँछन् । नजानेका मान्छेलाई काममा राख्यो भने करुवा बिग्रने डरले कर्मचारी राख्न नमिल्ने उनको तर्क छ । उनले हालसम्म कर्मचारी राखेका छैनन् । बरु उनी आफै दिनरात खटेर काम गर्छन् । एउटै करुवाको मूल्य डेढ लाख शाक्यले उक्त पेशा अपनाएपछि हजारौं करुवा बिक्री गरिसकेका छन् । उनका अनुसार एउटा करुवाको मूल्य एक हजार रुपैयाँदेखि डेढलाखसम्म पर्छ । करुवाको मूल्य केजी अनुसार निर्धारण हुने उनको भनाइ छ । शाक्यका अनुसार एक केजी बराबर करुवाको मूल्य ६ हजार रुपैयाँ पर्छ । जति बढी केजी र आकर्षक करुवा तयार गरिन्छ, त्यति नै बढी महँगो पर्न जाने शाक्य बत्ताउँछन् । ‘ठूलो करुवा छ भने त्यसलाई केजीले होइन, गोटाको हिसाबले शाक्य बेच्ने गरेको छु,’ उनले भने । ठूलोमा १०/१२ केजी सम्मको एउटा करुवा तयार पार्न सकिने पनि शाक्य बताउँछन् । करुवा हातैले तयार गर्नुपर्ने भएकाले पनि यसको मूल्य बढ्न गएको हो । डेढ लाख मूल्यका १५ वटा करुवा बनाएर बेचेको पनि शाक्य सुनाउँछन् । उच्च मूल्यका कुरुवा बनाउनको लागि जोखिम पनि धेरै मोल्नु पर्ने शाक्यको भनाइ छ । शाक्यका अनुसार ४० हजारसम्मको करुवा माग उच्च छ ।

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । उनले भने, ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’, उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने स्थितितिर जाँदैन ।’ ‘वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन’, उनले भने । विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए । आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।

दीक्षित विद्यार्थी भन्छन् : देशमै अवसर देऊ

पोखरा । स्याङ्जाका सुशील पंगेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका उनी सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए । पंगेनीले व्यवस्थापन संकायतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिएका उनले नेपालमै केही गर्ने सोच रहेको सुनाए । पंगेनीको पहिलो रोजाइ भने बैंकिङ सेवा हो । ‘राष्ट्र बैंकका लागि लोकसेवा तयारी गरिरहेको छु’, उनले भने, ‘विदेश जाने त्यस्तो कुनै सोच बनाएको छैन, सरकारी सेवामा पनि जागिरको अवसर छ, त्यसमै लागिरहेको छु ।’ उच्च शिक्षा हासिल गरेका विद्यार्थीका लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने पंगेनीले बताए । उनले दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण सिर्जना गर्ने मुख्य दायित्व सरकारको रहेको बताए । उपयुक्त वातावरण र रोजगारीको अवसर पाए कोही पनि नेपालीले विदेश ताक्नु नपर्ने उनको भनाइ छ । उनले झैँ अधिकांश दीक्षित विद्यार्थीले लोकसेवा पढेर सरकारी जागिरमा प्रवेश गर्ने इच्छा रहेको सुनाए । काठमाडौँकी श्रिया रिजाल पनि व्यवस्थापन विषयमै स्नातकोत्तर हुन् । उनले पनि बैंकिङ, परराष्ट्र सेवाजस्ता क्षेत्रमा अवसर खोजिरहेको बताइन् । ‘अवसर पाएसम्म विदेश किन जाने ?, यहीँ बस्ने वातावरण सरकारले बनाउनुपर्छ’, उनले भनिन् । उच्च शिक्षा पढेर पनि जागिर नपाउने स्थितिको अन्त्य गर्नुपर्ने रिजालले बताइन् । स्वास्थ्य विज्ञान संकायतर्फ फर्मास्यूटिकल साइन्समा स्नातक पोखरा–७ का जगदिश पौडेलले रोजगारी सिर्जनाका लागि स्वास्थ्य पूर्वाधारमा राज्यले लगानी बढाउनुपर्ने बताए । ‘औषधि उत्पादन, वितरणदेखि धेरै विषयहरू योसँग जोडिएको छ’, उनले भने, ‘सरकारले स्वास्थ्य संस्थामा रोजगारीको कोटा पनि थप्नुपर्छ, त्यो भयो भने हामीले पनि अवसर पाउँछौँ ।’ प्राविधिक विषयमा ठुलो शैक्षिक जनशक्ति उत्पादन भइरहे पनि नेपालले टिकाउन नसकेको पौडेलले बताए । ‘पढाइमा परिवारको ठुलो लगानी परिरहेको हुन्छ, शैक्षिक उपाधि लिन उस्तै मेहनत गर्नुपर्छ, तर रोजगारीको सुनिश्चितता छैन’, उनले भने, ‘भविष्यको खोजीमा बाहिर जानु नेपालीको बाध्यता हो ।’ उनले राजनीतिक नेतृत्व र राज्य संयन्त्रले शैक्षिक जनशक्तिको पलायनलाई रोक्न उचित नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । व्यवसाय प्रशासनमा स्नातक चितवनकी आस्था मगर पनि लोकसेवाको तयारीमा छन् । उनलाई पनि राष्ट्र बैंकको जागिरे बन्ने ठुलो रहर छ । ‘जागिरको तयारीसँगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु, विदेश जाने कुनै सोच अहिलेसम्म छैन, पाएसम्म नेपालमै अवसर खोज्ने हो, नत्र विकल्प त अपनाउनै पर्छ’, उनले भने, ‘मेरो परिवारको पनि सरकारी जागिरमै बढी जोड छ ।’ देशमै काम गर्ने उपयुक्त वातावरण भए विदेश जानै नपर्ने मगरले बताए । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शैक्षिक जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताए । दीक्षान्त समारोहमा उनले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे । ‘शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन’, उपकुलपति प्राडा अर्यालले भने । उनले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीहरूलाई राष्ट्रनिर्माण र परिवर्तनको संवाहकका रुपमा काम गर्न आग्रह गरे । ‘आर्जित ज्ञान र सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ’, उनले भने । विसं २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयहरूमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको छ । दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उतीर्ण विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षित गरेका हुन् । रासस

प्रदेशको सामर्थ्य बढाउने एकमात्र लक्ष्य : मुख्यमन्त्री अधिकारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकाे बताए । अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको जिसस ( जिल्ला समन्वय समिति)जस्तो हुने जनाउँदै उनले कर्मचारी समायोजनमा अझै पनि समस्या रहेको टिप्पणी गरे । संघीय सरकारले सयौँ टुक्रे योजना आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको उनकाे भनाइ थियाे ।  निजी क्षेत्रसँग मिलेर पुँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उनले बताए । कालीगण्डकी ‘डाइभर्सन’को विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ? उत्तरगङ्गा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’ संघीय सरकारका विभिन्न कानुनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको जनाउँदै उनले जग्गाप्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको प्रष्ट पारे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पुँजीको लागत कम गर्नुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्रमैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । पुँजीगत खर्च बढाउन, भौतिक पूर्वाधार निर्माणलाई गति दिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धनका लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे। उनले बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए ।

‘देशमै पढौं, देशमै काम गरौं’

काठमाडौं । गरिवीले मानिसको मन बाट बिश्वास र भरोसाको सत्यानास गर्छ र मानिसले जीवन प्रति घृणा गर्छ। अहिले नेपालमा मानिसमा विश्वास र भरोसा छैन। उनिहरुले देखेका छ्न, बिचौलिया व्यापारीले अर्बौ रुपियाँ कतार र दुवई लगेका छ्न। बिचौलियाले देशमा केही अवसर छैन भनेर प्रचार गरेर, खोजी खोजी युवा विदेशमा पठाएका छ्न। उनिहरु युवा बेचेर धनी भएका छ्न। अहिले अरबबाट लाश ल्याएर राजनीति गर्नेको व्यापार पनि उत्तिकै चलेको छ। अरबमा नेताका भिल्ला छ्न भन्ने सुनिन्छ। कानूनले दिएको छैन, तर हाम्रा व्यापारीले विदेशमा अर्बौं लगानी गरेका छन्। हाम्रो समस्या देशको डरलाग्दो गरिवी हटाउने हो। यो गरिबी हटाउन जनतामा उत्पादन र सुखी जीवन देशमै निर्माण गर्न सकिन्छ भन्ने आँट जगाउनु हो भनेर विश्वास निर्माण गर्नु पर्ने अवस्था छ। मानिसको जीवन आवश्यकता र चाहनासँग जोडिएको हुन्छ। यी आवश्यकता र चाहना पूर्ती गर्न मानिसमा आशा र भरोसा निर्माण गर्न सक्नु पर्छ। बाटो बनाउन सकिन्छ । देशमा पैसा छैन भने विदेशीसँग माग्न सकिन्छ। पुल बनाउन पनि सकिन्छ। ठुला ठुला घर पनि बनाउन सकिन्छ। तर विकास यसो गर्नु मात्र होइन। विकासको अर्थ त मानिस बनाउनु हो। मानिस बनाउन सजिलो छैन। मानिस बनाउनु भनेको उनीहरुको दिमागमा नयाँ सोँच, नयाँ विचार र जिवनको नयाँ मूल्य भर्नु हो। प्रविधिको सिमा हुन्छ, विज्ञानको पनि सिमा हुन्छ। तर मानिसको आँट र भरोसाको सिमाना हुँदैन। विकास गर्न गरीवीका विरुद्ध सहज जीवनका लागि लडाईं गर्नु पर्छ। यो लडाईं लड्न मानिसमा आत्म विश्वास र भरोसा भर्नु पर्छ। १. देशमा योजनावद्ध ढंगले मानिसको आत्मविश्वास भत्काइएको छ। युवा शक्ति देशमा बस्यो भने नेता, व्यापारी र बिचौलियाले विदेश लगेको सम्पत्ति खोज्छ भन्ने डर छ। आजको स्कुलमा पढ्ने विद्यार्थीलाई देशमा भविष्य छैन भनेर सिकाएइको छ। आजको लडाईं यस विषाक्त सोँचका विरुद्ध हुनु पर्छ। व्यक्तिले दुनियाँ बदल्दैन केवल समस्याको सही पहिचान र तेस्लाइ समाधान गर्ने सोँचले मात्र सही बाटो बनाउँछ। २. देशबाट भारतमा खर्बौको रेमिट्यान्स गैरहेको छ। भारत गएको रेमिट्यान्स र खाद्यान्न किन्न मात्र ८ खर्ब जति विदेशिन्छ। विचौलिया, व्यापारी, सत्ताको दुरुपयोग गर्ने भ्रष्ट मन्त्री र कर्मचारीले खर्बौ विदेश लगेका छ्न्। अनैतिक व्यापारीले नेपालमा सामान ल्याउने भनी एलसी खोलेर विदेशबाट कच्चा पदार्थ, सुपारी, सुख्खा फलफुल ल्याएर भारत स्मग्लिङ गरीरहेका छ्न्। बिद्यार्थी बेच्ने प्रदर्शनी लाग्छ्न्। देश भित्र चलेका कलेज बन्द गर्न हाकिम विदेशी सँग पैसा लिन्छ्न्। यी सबै खोज्ने बेला आइरहेको छ। तर, आन्दोलन धर्म र तन्त्रतर्फ मोडने प्रयास भैरहेको छ। ३. देशमा विदेशीको जात्रा चलीरहेको छ। रास्ट्रपति को हुने भनेर भारतीयहरु पर्चा छाप्दैछ्न्। एकै महिनामा तीन पटक आएर विदेशी धम्की दिँदैछ्न्। राजदूत् घरमा मात्र होइन धर्म र जाती खोजेर भाषण गर्दै हिँडेका छ्न्। यदि देशलाई जोगाउने हो भने अब जवाफ खोज्ने बेला आयो। विदेशको दानापानी खाने र नेपाललाई लुट्नेहरुका हातबाट अर्थतन्त्र खोस्नु अबको आन्दोलन हो। गरीवी नफ्याँकेर लोकतन्त्र र राष्ट्रिय स्वतन्त्रता जोगाउन सकिन्न। हामीलाइ नेता होइन देश बनाउने अभियन्ता चाहीएको छ। नेपालमै उत्पादनको क्रान्ति शुरु गरौँ। नेपाली उत्पादन प्रयोग गरौं। उत्पादनसँगै बजार निर्माण गरौँ। देशमा पैसा राखौँ। देशमै पढौँ र देशमै काम गरौँ। युवराज सँग्रौलाको फेसबुक वालबाट ।

बागलुङमा भातको चाख छैन, भातखानेडाँडामा

ढोरपाटन । करिब एक दशक अगाडिसम्म बागलुङको ताराखोला गाउँपालिका– २ को भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पर्थ्यो । खाद्य सङ्कट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपर्थ्यो । पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ । पहिलेको जस्तो अहिले खाद्य सङ्कटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउँछन् । पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ। तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनी बताउँछन् । बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे। त्यो चलन अहिले पनि छ। यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गर्दै आएको उनको भनाइ छ । अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताए । यो पूजा परापूर्वकालदेखि चल्दै आएको उनी बताउँछन् । गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ। ‘पहिले दशैं, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा–टाढा जानुपर्थ्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्दै गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन,’ घर्तीले सुनाए । स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउँछन् । अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ। स्थानीय बाली पूजा गरेर मात्रै नयाँ बाली भित्र्याउने गर्छन् । ‘यो चलन त धेरै, सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामी पनि मनाउँछौँ, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौँ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो,’ घर्तीमगरले सुनाए, ‘बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ।’ ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यो ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए । गाउँमा चामल नआउँदा भातखानेडाँडामा बाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखानेडाँडा हुनु गएको उनको भनाइ छ । उनले भातखानेडाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताए। यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकला अहिले पनि हुने गरेको रोका बताउँछन् । भातखानेडाँडासँगै स्थानीयको जीवनस्तरसमेत परिवर्तन हुँदै गएको उनले सुनाए । परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयवासी नयाँ प्रविधिसँग जोडिएर पेसा–व्यवसाय गर्न थालेको र उनीहरूको आर्थिक अवस्था पनि सुदृढ गएको छ । अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ । जसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ । ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन् । स्थानीय देवबहादुर खत्री भन्छन्, ‘भातखानेडाँडा सुनसान थियो, पहिले यहाँ घर पनि थिएनन्, मान्छेको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नुपर्थ्यो ।’ उनले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरू घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानको जोहो गर्न पनि गलकोट झर्नुपरेको सुनाए । स्थानीय तलिकुमारी रोकाले भातखानेडाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाइन् । पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको भएपनि अहिले घर–घरमा धारा बनेको रोकाले सुनाइन् । रासस