विकासन्युज

कोरियाली प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

  विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्र्रियासमेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपांगता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उनीहरूले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए । कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको उनीहरूको भनाइ छ । कला, शिक्षा तथा कानुन संकायका डिन प्रा डा अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौलालगायतको टोलीसँग कोरियाली प्राध्यापकको टोलीले छलफलसमेत गरेको छ । विशेष आवश्यकता शिक्षालाई प्रभावकारी बनाउने, यसमा स्नातक तह उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अवसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गत वर्षदेखि शिक्षा संकायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ । रासस

कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै शुरु हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेका हुन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै शुरु हुने सहमति भएको बताए । ‘कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ र कलंकीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको छ,’ उनले भने । मन्त्री श्रेष्ठले चिनियाँ राजदुत छन सङसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको जानकारी दिए । ‘यो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको छ, अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुन्छ, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारीमा छौं,’ उनले भने । उनले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको पनि जानकारी दिए ।

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।  हिजो बुधबार तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।  

मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

काठमाडौं । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो । सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो । त्यसपछि वि.सं. २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो । हाल रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामिण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । हालसम्म ५ वटा विकास बैंकलाई मिलेर बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार गरेको थियो । हाल बैंकको पुँजी ४ अर्ब २८ करोडभन्दा बढी रहेको छ । उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु बताउँछन् । ‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रिय स्तरका बैंकलाई टक्कर दिइरहेको छ, उपत्यका बाहिर पनि यो लेभलको संस्था चलाउन सकिन्छ भन्ने उदाहरण ज्वलन्त छ, उपत्यका बाहिर पनि यो लेभलको बजार छ ? बैंक सञ्चालन गर्न सकिन्छ ? भन्ने सोच अधिकांशको छ, यसको बावजुत पनि केन्द्रिय कार्यालय मोफसल बाहिर रहेर काम गर्न सक्छ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने । यो बैंकले पनि अन्य बैंक सरह आफ्नो बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । राजधानीमा केन्द्रिय कार्यालय रहेका बैंकले जस्तो हल्लाखल्ला यस बैंकले गर्दैन । यसका बाबजुत पनि बैंकले आफूलाई सफल वित्तीय संस्थाका रुपमा उभ्याएको छ । बैंकको अध्यक्षको रुपमा थानेश्वर पौडेलले नेतृत्व गरिरहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रकाश पौडेलले काम गरिरहेका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ छ । बैंकको जगेडा कोष १ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ छ । बैंकले पुस मसान्तसम्म ४९ अर्ब ४८ करोड ४५ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४० अर्ब ४५ करोड ७१ लख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशत रहेको छ । अर्गानिक व्यापार गरिरहेको यस बैंकले पछिल्लो समय भने डिजिटल बैंकिङ्गलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न खोजिरहेको छ । आफ्ना सम्पूर्ण व्यवसायलाई डिजिटलाइज गरेर ‘पेपरलेस बैंकिङ्ग’ सेवा प्रदान गर्ने लक्ष्य रहेको डीसीईओ पनेरुले बताए । ‘बैंकले आन्तरिक र बाह्य सेवालाई डिजिटलाइजेशन गरिरहेको छ, आन्तरिक कामहरु पेपरलेस भइरहेका छन्, बैंकले कर्जादेखि अन्य सेवाहरु पेपरलेस बनाएको छ,’ उनले भने । उनका अनुसार बैंकको वार्षिकोत्सवको अवसरमा क्रेडिट कार्ड पनि गरिने भएको छ । बैंकले डिजि बैंक बनाउन मोबाइल बैंकिङ्ग एपलाई आधुनिक बनाएको छ । ग्राहकलाई बैंकिङ्ग सम्बन्धी कुनै समस्या परेमा शाखा कार्यालय धाउनु नपर्ने उनले बताए । ग्राहकलाई डिजिटल बैंकिङ्ग सँगै जोखिमका बारेमा पनि सचेतना कार्यक्रम गर्दै आएको उनको भनाइ छ । ‘ग्राहकलाई बैंकसँग अन्तक्रिया गर्नु परेमा ‘डिजिटल च्याटबट’ बाट गर्न सकिन्छ, डिजिटल बैंकिङ्गमा प्रवेश गरेको हुँदा सचेतना फैलाउने काम भइरहेको छ, डिजिटल बैंकिङ्गको जोखिमका बारेमा पनि सचेतना दिन जरुरी भइसक्यो,’ उनले भने । शाखा विस्तारको रणनीति तीन जिल्लाबाट बैंकिङ्ग सेवा सुरु गरेको यस बैंकले हाल साढे ४ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकको पहुँच सातै प्रदेशमा नपुगेको भएपनि आगामी दिनमा भने आफ्नो सञ्जाल विस्तार गर्ने रणनीतिमा बैंक अघि बढेको छ । बैंकले हाल ८९ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्गसेवा दिइरहेको छ । प्रदेश नम्बर १ र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ । लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रिय कार्यालय रहेकाले अधिकांश शाखा सञ्जाल लुम्बिनी प्रदेशमा नै केन्द्रित छन् । बैंकले उपत्यकामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । गत वर्ष मात्रै बैंकले दर्जन बढी शाखा कार्यालय काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको हो । ‘बैंकले आवश्यकता हेरेर मात्रै शाखा विस्तार गर्नेछ, आगामी दिनमा आक्रामक भएर शाखा विस्तार गर्ने योजना छैन, जुन ठाउँमा आवश्यकता छ, सोही ठाउँमा मात्रै शाखा विस्तार गर्ने हो, सबै शाखा कार्यालयमा प्रविधि जोडिएका छन्, अधिकांश शाखाले अनलाइबाट सेवा दिइरहेका छन्,’ डीसीईओ पनेरुले भने । बैंकले आफ्नो सेवामा गुणस्तरीयता ल्याउन कर्मचारीको संख्या पनि बढाएको छ । बैंकका अनुसार हाल ८ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकतामा बैंकले ग्राहकलाई सबै प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्ने गरी काम गरिरहेको उनले बताए । ग्राहकको आवश्यकतालाई पुरा गर्न बैंकले प्रयास गरिरहेको उनको भनाइ छ । ‘अझै सेवालाई सुधार गर्ने योजना छ, नयाँ प्रडक्ट लञ्च गरेर होस् या भएका प्रडक्टका बारेमा ग्राहकलाई राम्रोसँग बुझाएर होस्, ग्राहकलाई सन्तुष्टि दिन्छौं, बैंकको सेवाबाट ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ, ग्राहकको संख्या, ग्राहकसँगको अन्तरक्र्रिया र विजनेशको भोलुमले नै ग्राहकको सन्तुष्टि देखाउन सकिन्छ,’ उनले भने । बैंकले ४ लाख ५० हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । डबल डिजिटमा लाभांश बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको लाभांश इतिहास हेर्ने हो भने अहिलेसम्म डबल डबल डिजिटमा मात्रै प्रतिफल दिँदै आएको छ । तर, गित वर्षहरुको तुलनामा भने बैंकको लाभांश दर घटेको देखिन्छ । बैंकहरुको पूँजी बढ्दै गएको हुँदा लाभांश दर घटेको पनेरुले बताए । ‘सानो पुँजी हुँदा अर्निङ र इपीएस बढी हुन्छ तर पूँजी बढ्दै गएपछि बेस ठूलो हुने भएकाले अर्निङ मेन्टेन गर्न गाह्रो हुन्छ, बैंकले दिएको औषत भन्दा बढी नै बैंकले लाभांश दिएको छ,’ उनले भने, ‘भविष्यमा बैंकका सेयरधनीहरुलाई बढी प्रतिफल दिने हाम्रो लक्ष्य छ, बैंकको आन्तरिक इफिसेन्सी, लागत, विजनेश ग्रोथ, आम्दानी बढाएर प्रतिफल बढाउने हो, अहिलेसम्म सिङ्गल डिजिटमा झरेको छैन, आशा गरेका छौं भविष्यमा पनि झर्दैन ।’ ५ वर्षे बिजनेस रणनीति बैंक तथा वित्तीय संस्था सबैले आफ्नो दीर्घकालको रणनीति बनाएर काम गरिरहेका हुन्छन् । सोही अनुसार शाइन रेसुङ्गा डेपलपमेन्ट बैंकले पनि आफ्नो ५ वर्षे रणनीति बनाएको छ । ‘अझै उत्कृष्ट बैंकका रुपमा उभ्याउने उद्देश्य छ, प्रत्येक वर्ष आजभन्दा भोलि, भोलिभन्दा पर्सी बेटर बनाउँदै जाने हो, सेयरधनी, ग्राहक, निक्षेपकर्ता, कर्जा ग्राहक, समुदाय, नेपाल राष्ट्र बैंक र नेपाल सरकार लगायत सबैको नजरमा राम्रो बैंकको रुपमा उभ्याउने लक्ष्य छ’ उनले भने, ‘सबै स्टेक होल्डरको अपेक्षा पुरा गर्छाै, गुड कर्पाेरेट सिटिजन बैंक बनाउने हो ।’ मर्जरको योजना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक विभिन्न ५ वटा संस्था मिलेर बनेको बैंक हो । पछिल्लो समय विकास बैंकहरु मर्जर हुँदै एउटा लेभलमा आइसकेका छन् । वाणिज्य बैंकहरु धमाधम मर्जर भइरहँदा विकास बैंकलाई भने मर्जरको खाँचो छैन । त्यसैले तत्काल बैंकले कुनै मर्जर तथा एक्विजीशनको योजना नलिएको उनले बताए । ‘वाणिज्य बैंकहरु मर्जर भएर ठूला भएका छन् भने संख्या कम हुँदैछन्, भोलिका दिनमा कमजोर वित्तीय अवस्था भएका ग्राहकहरु छुट्न सक्छन्, त्यस्तो ठाउँमा विकास बैंकहरुले भूमिका निर्वाह गर्छन्, विकास बैंकको भविष्य राम्रो छ,’ उनले भने, ‘विकास बैंकको बजार राम्रो छ, एउटा लेभलको ग्राहकलाई विकास बैंकहरुले राम्रो सेवा प्रदान गरिरहेका छन्, भविष्यमा वाणिज्य बैंक ठूला हुँदा कमजोर वित्तीय अवस्था भएका ग्राहकलाई सेवा दिन विकास बैंक आवश्यक छन्, विकास बैंकका लागि अहिले मर्जर आवश्यकता छैन ।’ सेवाको गुणस्तरमा नम्बर वान डीसीईओ पनेरुका अनुसार अहिले बिजनेसको भोलुमलाई मात्रै नम्बर वानका रुपमा हेर्ने चलन छ । तर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भोलुम बेसभन्दा पनि गुणस्तरीयतामा नम्बर वान बन्ने लक्ष्य लिएको छ । बैंकको उद्देश्य ग्राहको पहिलो रोजाइको विकास बैंक बन्ने रहेको उनले सुनाए । ‘भोलुममा मात्रै नम्बर वान हुने हो की ओभरल पर्फमेन्समा बेटर बनाएर नम्बर वान हुने भन्ने हो, बैंकको सेवा उपभोग गर्दा ग्राहकमैत्री र ग्राहकको आवश्यकता पुरा गर्न तिर जोड दिन्छौं,’ उनले भने । सामाजिक कार्यमा पनि अग्रसर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि राम्रो काम गर्दै आएको छ । बैंकका अनुसार वार्षिकोत्सवका अवसरमा सरकारी १५ वटा विद्यालयमा ई–कक्षा सञ्चालन गर्ने योजना छ । पहाडी र तराइका १५ वटा सरकारी विद्यालयमा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर लगायतका सामाग्री दिएर डिजिटल कक्षा बनाउने योजना रहेको उनले सुनाए । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न ठाउँमा १४ हजार बिरुवाहरु रापेको छ । अर्काे वर्ष १५ हजार विरुवा रोप्ने लक्ष्य रहेको उनले बताए । यस्तै, नयाँ उद्यमशीलता विकासका लागि यो वर्ष एउटा प्रोग्राम लञ्च गर्ने तयारी छ ।

नुवाकोटको खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालन

नुवाकोट । नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको ला आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार केन्द्रबाट आँखासम्बन्धी ससाना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराइएको छ । आँखाको स्वास्थ्य जाँच गराउन यसअघि नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको र यसबाट बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए । केन्द्रमा हाल नेत्र सहायक, अप्टिकलको सुविधा सहित आवश्यक औषधि र चस्मा सेवा उपलब्ध छ । केन्द्र सञ्चालनको लागि फर्निचरसहितको बन्दोबस्ती तादी गाउँपालिकाले मिलाएको हो । एक वर्षसम्मको लागि केन्द्रको आर्थिक व्यवस्थापन तिलगङ्गा आँखा प्रष्तिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको दायित्व हुने र त्यसपश्चात् सम्बन्धित तादी गाउँपालिकालाई हस्तान्तरण गरिने समझदारी भएको छ । नुवाकोटमा यसअघि सामुदायिक आँखा केन्द्रको समन्वयमा लिखुको चौघडा र दुप्चेश्वर गाँउपालिकाको समुद्रटारमा ग्रामीण आँखा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा रहेको छ । रासस

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

कुश्मा । सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ, आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ । तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यास लाग्दो रहेको जनाउँछ । यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन् । नजिकको सहर पोखरा, काठमाडौँ, चितवनजस्ता सुविधा सम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बन्न पुगेको हो । ‘घरमा आमा र बुबा बस्नु हुन्छ। हामी दुई बहिनी पोखरातिर बस्ने गर्छौं, कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो’, २१ वर्षीया सजना गुरुङले भने, ‘हाम्रा आफन्तको घर सबै रित्ता छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घर भत्किसकेका छन्, अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन ।’ गाउँको बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालले बताए । ‘मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्, विकास निर्माणका काम पनि दिन प्रतिदिन बढी रहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन । लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो।’ उनले भने । टपक्क मिलेका छपनी, ढुङ्गाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन् । गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ । ‘कुश्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ’, स्थानीय रुपा थापा गुरुङले भने, ‘गाउँमा मान्छे बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कला संस्कृति र ढुङ्गाका पुराना र घुमाउने घर समेटेर गुरुङ सङ्ग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्यो भने गाउँ पनि रमाइलो बन्नेथ्यो।’ आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर निर्माण गरेका छन्। ‘विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौँ’, कुश्मा बस्दै आउनुभएकी स्मृति गुरुङले भने, ‘सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुने गरेको छ।’ बिहेवारी र रमाइलो कार्यक्रममा मान्छेको भीड यसै हुने नै भयो । त्यसबाहेक मान्छे मर्दा पनि वरपरका गाउँबाट हुलका हुल मान्छे आउने ५० वर्षीया पार्वती गुरुङले सुनाए । ‘यस गाउँको कोही मर्यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे’, गुरुङले आफू १६/१७ वर्ष उमेर हुँदाको स्मरण गर्दै भने, ‘त्यो बेला अरघु (मृत्यु संस्कार) तीनचार दिनसम्म हुन्थ्यो, गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो। ठाउँठाउँमा खुद्रा होटल पनि खोलिन्थे, त्यो बेला केटीलाई केटाले पैसा खर्च गरेर खुवाउने चलन थियो । अहिले ती सबै कहानी भए, गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो ।’ रासस

बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए

बाँके । बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए । सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर ती घर टहरा भत्काएको उल्लेख गर्दै उहाँले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउको धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जानकारी दिए । जिल्लाको कोहलपुर सव डिभिजन वन कार्यालयअन्तर्गतको कोहलपुर–८ स्थित शीतलछायाँ सामुदायिक वन, कोहलपुर–७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यावासिनी सामुदायिक वन, बागेश्वरी सामुदायिक वन, ज्योति सामुदायिक वन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशील सामुदायिक वनमा अतिक्रमण गरी २० घर टहरा निर्माण भएको थियो  । सो अतिक्रमण विसं २०५८ देखिको भएको बताइएको छ । सिक्टा सव डिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामिडाँडा, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा अतिक्रमण भएको छ । सो अतिक्रमण हटाइएको र पुनः बसेकाले हटाइएको छ । त्यहाँ अतिक्रमण भएको वन करिब ४२ हेक्टर रहेको छ । नरैनापुर सव डिभिजन वन कार्यालयअन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समिर, सदावहारलगायतका सामुदायिक वनको करिब एक सय ७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको जिल्ला वन कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज सव डिभिजन वन कार्यालयअन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपूर्वा सामुदायिक वनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको बताइएको छ । राप्ती सव डिभिजन वन कार्यालयअन्तर्गत समयभवानी, सुनखोली, सिध्देश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुशुमिया, सिद्धबाबालगायतका सामुदायिक वनको करिब एक सय ९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालयअन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको जनाइएको छ । वर्षौंदेखि अतिक्रमण भए पनि स्थानीयस्तरमा राजनीतिक सहमति कायम नहुँदा अतिक्रमण हटाउन नसकिएको जिल्ला वन कार्यालयले जनाएको छ । ‘हामी अतिक्रमण हटाउन लागिपरेका छौँ, तर राजनीतिक सहमति खोज्ने प्रयास जारी छ’, सहायक वन अधिकृत खडकाले भने । केहीले अतिक्रमण गरेर घर निर्माण गरेर बसेका छन भने केहीले जग्गा मात्रै ओगटेर बसेको बताइएको छ । रासस

लालबन्दीबाट सात महिनामा १ अर्बको तरकारी निकासी

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा  एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए । उनका अनुसार आव २०७९/०८० को साउनमा २० करोड दुई लाख रुपैयाँ, भदौमा १८ करोड ८५ लाख ५२ हजार रुपैयाँ, असोजमा २७ करोड ८० लाख ८३ हजार रुपैयाँ, कात्तिकमा नौ करोड ६३ लाख ७८ हजार रुपैयाँ, मङ्सिरमा सात करोड १० लाख ६८ हजार रुपैयाँ, पुसमा १७ करोड १५ लाख ८८ हजार रुपैयाँ र माघमा २० करोड ९४ लाख ३७ हजार रुपैयाँ हाराहारी रकम सङ्कलन छ । चालु आवको सात महिनामा एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ । अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ । लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती,  मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ । त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ । चालु आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् । रासस