दुई वर्षको सेवा सुविधासहित सिभिल बैंकबाट सीईओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए
काठमाडौं । सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका छन् । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् । यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको सञ्चालक अम्बिर बोगटीले विकासन्युजलाई बताए । उनीहरु स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् । हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने भएसँगै सिभिल बैंकका उच्च तहका ८ जना कर्मचारी भिआरएसमा बाहिरिएका हुन् । बाहिरिएका सीईओसहितका कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधा पाउने भएका छन् । उनीहरुले प्रयोग गरिरहेको सवारी साधन पनि बैंकले प्रदान गरेको जनाएको छ । यस्तै, मर्जरपश्चात् बैंकमा हिमालयनको सञ्चालक समिति कायम रहने भएसँगै सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र सम्भु प्रसाद पन्त बाहिरिएका छन् । बैंकले सीईओसहित सञ्चालकहरुको बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरेको छ । एकीकृत काराेबार कहिले ? शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिभिल बैंकसँग एकीकृत कारोबार सुरु गर्दैछ । हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुनेछ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बन्नेछन् । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको सीईओमा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांशसँगै मर्जर प्रस्ताव पारित
काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे लाभांश पारित गरेकाे छ । कम्पनीकाे १८औं वार्षिकसाधारण सभाले संचालक समितिले प्रस्ताव गरेको ७.३५ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गरेकाे छ । यस्तै, सभाले सगरमाथा इन्स्योरेन्स कम्पनी गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले लेखापरीक्षण वापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा आज २०७९ साल फाल्गुण ११ गते काठमाडौंमा सम्पन्न भयो । सभा औपचारिक रुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुख प्रकट गर्दै उहांको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरियो । सभामा कम्पनीका अध्यक्ष श्री मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराउनु भयो । त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १०० स् ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण ९म्म्ब्० बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। मा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरियो ।
वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी
बागलुङ । बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्याउने भएको हो । लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । ‘हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन’, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले भने । उनका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पुर्याउने लक्ष्य छ । प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने बताए । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीनपटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । शर्माले भने, ‘खानेपानी विभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताइरहँदा हामीले केही भुक्तानीका काममासमेत सहजीकरण र सहयोग गरेका छौँ ।’ बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरणपछि वितरण गर्नेगरी काम भइरहेको छ । रू ३२ करोड २५ लाखको लागतमा निर्माण थालिएको हो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए । अहिले बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो । रासस
चमेराको जीवनचक्र सङ्कटमा
लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्न सक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टो तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन् । कपिलवस्तुका चमेरा संरक्षणकर्ता शम्भु सैनी भन्छन्, ‘चमेरो कुकुर, बिरालो, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै एक स्तनधारी प्राणी हो । विस्तारै यसको लोप हुँदै जाँदा जैविक विविधतामा समस्या आउन थालेको छ ।’ पर्यावरणका लागि हितकर यस्ता जीव लोप भएमा अनेक समस्या आउनसक्ने उनको भनाइ छ । चमेरो संरक्षण समिति कपिलवस्तु नगरपालिका–३, देवानगढियाँका अध्यक्षसमेत रहेका सैनी भन्छन्, ‘चमेरोले लगाएका गुन त खासै थाहा छैन । तर चमेराले पर्यावरणीय सुरक्षा र विपद् पूर्वको सङ्केत अवश्य गर्छ ।’ नेपालका जीव वैज्ञानिकहरू चमेरो अनुसन्धानमा नलागेका पनि होइनन् । तर प्रोत्साहन र उचित कदरको खाँचो छ । चमेरोको संरक्षणका लागि एक हेक्टर वनमा अभ्यास सुरु गरिएको उनले बताए । पोथी चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ । चमेराको जीउमा भुत्ला हुन्छ तर प्वाँख हुँदैन । बच्चालाई गुँडमै छोडेर पोथी चमेरो अथवा आमा चमेरो एक्लै उडेर कतै जाँदैन् । पोथी चमेराले आफ्नो बच्चालाई आफ्नो जीउमै बोकेर उड्ने गर्छ भने बच्चा चमेरालाई आमाको जीउमा टाँसिएर बस्नुपर्ने हुन्छ । चमेराहरू खुट्टाका नङ्ग्राले रूखका हाँगा वा गुफाका चट्टानलाई च्यापेर झुण्डिन्छन् । तर दिसापिसाब गर्दा, भाले लाग्दा वा बच्चा पाउँदा भने हातका नङ्ग्राले च्यापेर बस्दछन् । त्यस अवस्थामा तिनको मुन्टो माथितिर नै फर्केको हुन्छ । दि न्यू योर्क टाइम्स (२०१८ को अप्रिल १७) मा प्रकाशित एक लेखमा चमेरोको बारेमा उल्लेख गरिएको छ । लेखमा चमेरोको स्वरूप र स्वभाव कौतूहलपूर्ण रहेको र यसको पर्यावरणीय महत्वका व्याख्या गरिएको छ । चमेराको तीखो कोणाकारका पखेटाहरू हेर्दा झण्डै झण्डै मानिसको हात र पाखुराजस्तै देखिन्छ । चमेरो एक यस्तो जीव हो, जो स्तनधारी भइकन आकाशमा उड्न सक्तछ । चमेराको आकार चङ्गा जस्तै हुने भएकाले यसलाई आकाशमा सजिलैसँग उड्न मद्दत पुग्दछ । चमेराहरू विभिन्न रङ्गका हुन्छन् । विशेषगरी यिनीहरू कालो र खैरो रङका हुन्छ तर केही चमेराहरू भने पहेंलो चम्किलो, चाँदी, सुन्तलालगायतका विभिन्न रङका चमेरा पनि पाइन्छन् । ‘रातिमा मात्र सक्रिय हुने चमेराले कृषिका लागि हानीकारक कीरा खाएर बालीनाली जोगाउन सहयोग पुर्याउँछ’, वन्यजन्तु विशेषज्ञ डा हेमसागर बरालले बताए । चमेरालाई दुई प्रकारका चमेराहरूमा वर्गीकरण गरिएको छ । एउटा मांशहारी चमेरो र अर्को फलाहारी चमेरो । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू मात्र खाएर जीवन निर्वाह गर्दछ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्दछ । आकारमा मांसहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूलो हुन्छ । मांसहारी चमेरोको सङख्या ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत मात्र फलाहारी चमेरा रहेको बताइन्छ । वन्यजन्तु विशेषज्ञ डा बरालका अनुसार विश्वमा एक हजार चार सय छ प्रजातिका चमेरा पाइन्छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ५५ प्रजातिका चमेरा भेटिएको छ । संसारमा ७० प्रतिशत मांशहारी र ३० प्रतिशत साहाकारी चमेरा भेटिएका छन् । ‘चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले निकै नै उपयोगी जीव हो । यसले वन जङ्गल जोगाउन र बिउबिजन परागसेचन गरेर फूललाई परागषेचन गर्नसमेत मद्दत गर्छ’, डा बरालले भने । चमेरा पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन् । खासगरी फलाहारी चमेराले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरूको परागषेचन गर्नसमेत मद्दत गर्दछ । त्यसैगरी मांशहारी चमेराले मानिस र अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर मद्दत पुर्याइरहेको हुन्छ । एउटा चमेरोले एक रातमा दुई हजारदेखि छ हजारसम्म कीरा खाएर बाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसको मल प्राङ्गारिक मलका लागि उत्कृष्ट मानिन्छ । लटरम्म झुन्डिएर बस्ने चमेरो कानले देख्ने प्राणी हो । चमेरोले आफ्नो कानको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ र देख्छ । चमेराबाट सिको गरेर ध्वनि र प्रतिध्वनिको सिद्धान्तअनुसार स्थान, वस्तु र तिनको दूरी पत्ता लगाउने प्रविधि विकास भएको मानिन्छ । समुद्र वा तालको गहिराइ नाप्न पनि यो प्रविधि प्रचलनमा छ । आकाशमा उडेका हवाईजहाज वा पानीमा चल्दै गरेका जहाज र पनडुब्बी ठम्याउने राडर प्रविधिको आधार चमेरोकै ‘इकोलोकेशन’ प्रविधि हो भन्ने धेरैको मान्यता छ । चमेरोको खुट्टा तुलनात्मक रुपमा सानो हुन्छ । यसको शरीर, पखेटा र खुट्टाका कारण जमिनबाट उडान भर्न सक्दैन । त्यसैले चमेरो रूख, गुफालगायतका ठाउँमा टाउको तल पारेर बस्ने गर्छ । यसरी बस्दा आफूलाई हुने असुरक्षा पनि उसले सजिलै थाहा पाउँछ र सुरक्षित उपाय खोज्छ । चमेराको बासस्थान विनाश हुँदै जाँदा र वातावरण अनुकूल नहुँदा चमेराहरूको बसाइ गुफामा बढ्न थालेको नेपाल पक्षी संरक्षण सङ्घका वन्यजन्तुविद् भूपाल नेपालीको भनाइ छ । वन्यजन्तुविद् नेपालीका अनुसार चमेरोले अन्धकारमा बाटो पहिल्याउनका लागि सुन्ने क्षमताको पनि प्रयोग गर्छ । आँखा मात्र होइन राति उडान भर्दा सुन्ने तीक्ष्ण क्षमतालाई पनि उसले उपयोग गर्छ । उनी भन्छन्, ‘अँध्यारोमा सिकार गर्दा चमेरोले उडेको समयमा अल्ट्रा सिग्नल पठाउँछ, जसले चमेरालाई सिकार गर्न सहज बनाउछ । अगाडि कुनै वस्तु छ भने उक्त सिग्नल फर्केर आउँछ । यसरी उसले अगाडि कुनै अवरोध नभएको निर्धारण पनि गर्न सक्छ ।’ चमेरो ४१ वर्षसम्म बाँचेको तथ्याङ्क छ । चमेरा जाडो मौसममा न्यानो स्थान खोज्दै बसाइसराइसमेत गर्छन् । एक दिनमा दुई सय ५० माइल्स उड्ने अनुसन्धानबाट देखिएको छ । प्रतिघण्टा ७० माइल उडान गर्नसक्ने चमेराले १० हजार फिट उचाइसम्म उडान भर्न सक्ने बताइन्छ । मानव ढुङ्गेयुगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै चमेरा र मानव जातिको अन्तरसम्बन्ध नजिकिँदै गएको मानवशास्त्रीको भनाइ छ । वन्यजन्तुविद् नेपालीले भने, ‘चमेराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, र बगैंचामा बस्न रुचाउँछन र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन् ।’ गुफामा बास बस्ने चमेरो साना खालका हुन्छन् र तिनको आहारा भनेको रातमा उड्ने कीटपतङ्ग, लामखुट्टेलगायत अनेकौँ ससाना प्राणी हुन् । एकातिर पुरानो र परम्परागत चमेरामैत्री घर नहुनु, रुख बिरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, आहाराको कमीको समस्या बढ्दै गएको छ भने अर्कोतिर यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने र धपाउने प्रवृत्तिले पनि चमेराको सङ्ख्यामा कमी आएको उनले बताए । एक अध्ययनले मोबाइल फोन र यसको टावरको विकीरणको कारणले पनि असर पारेको उनको भनाइ छ । सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको छ । चमेराको चर्चामा पोखराको चमेरे गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा विशेष उल्लेखनीय छन् । केही वर्षअघिसम्म काठमाडौँका नारायणहिटी, केशरमहल तथा भक्तपुरको सल्लाघारीमा बथानका बथान पाइने चमेरा आजभोलि देख्न मुस्किल भएको छ । बढ्दो सहरीकरणले निम्त्याएको धुलो, धुवाँ, बिजुलीका तार र रूखबिरुवाको विनाशले गर्दा रुपन्देही, कपिलवस्तु र काठमाडौँलगायत सबैतिर चमेराको सङ्ख्या दिनदिनै घट्दो छ । रासस
दुई घण्टामै २० लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । बिहीबार सेयर बजार खुलेको दुई घण्टामा धेरै लघुवित्त संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज १४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र ६ वटाको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसकाे असर सेयर बजारमा देखिएकाे जानकारहरु बताउँछन् । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै लघुवित्तहरुलाई कडाइ गरेकाे हाे । नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले ७ लाख बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यस्तै, लघुवित्तबाट ऋण लिँदा अब ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको स्वघोषणा गर्नुपर्नेछ । यति मात्र नभएर अब लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध देशभरि गतिविधि भइरहँदा पनि लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।
तनहुँ र लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । तनहुँको व्यास र लमजुङको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । तनहुँ जिल्लाको व्यास नगरपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमाका बारेमा राम्रो जानकारी नहुँदा बीमितहरु अन्यौलमा पर्ने गरेको उल्लेख गर्दै बीमा कम्पनीहरुले बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताए । प्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी प्रस्तुती गर्दै ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे । कार्यक्रममा सहभागीहरुले प्रलोभनमा परेर बीमा गर्दा बीमाशुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, एउटै बीमालेखको बीमाशुल्क कम्पनी अनुसार फरक फरक हुने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासो राखे । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव १०० जनाको सहभागिता रहेको थियो । यसैगरी, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा आयोजित बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा अतिथि, मध्यनेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरुले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एकद्वार प्रणालीमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।
सूचना र तथ्याङ्क सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छिन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन् । सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन् । उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनतालाई हुने लाभको लेखाजोखा गरेर यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।
सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन् । एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए । अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ । ‘विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ’, अध्यक्ष ओलीले भने । वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उनले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गरे । अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रलाई सुदृढ र परिणाममुखी बनाउन तथा जनतालाई परिवर्तनको अनुभूतिसहित सुशासन र समृद्धिको यात्रामा लैजान एमाले सदैव लागिरहेको बताए । उनले पार्टी राष्ट्रियहित, स्वाभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको दाबी गरेका छन् । साथै दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि उनको भनाइ छ ।